+
+

अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेका छन् : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १९ गते १७:१२

१९ वैशाख, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन् ।

राजधानीमा बुधबार आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै उनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेको बताएका हुन् ।

विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३, एसियाली विकास बैंकले ३.६ र राष्ट्रिय तथ्यांक कार्यालयले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि अर्थ मन्त्रालयले ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको उनले बताए ।

अर्थतन्त्रमा थोरै शिथिलता रहेको र यसमा आन्तरिक र वाह्य कारण रहेको उनले बताए । तथ्यांकहरुले विस्तारै त्यसमा सुधार देखाएको भन्दै मन्त्री पुनले बाँकी अवधिमा पूँजीगत खर्च बढाउन पहल गर्ने बताए । यद्यपि अझै पनि ढुक्कसँगै अर्थतन्त्र राम्रो भयो भन्ने अवस्था नरहेको उनले बताए ।

मन्त्री पुनले विश्वको आर्थिक र राजनीतिक केन्द्र, श्रम बजारको अवस्था, श्रम शक्ति, आन्तरिक प्राकृतिक श्रोत तथा भूराजनीतिमा टेकेर आर्थिक नीति बनाउनुपर्ने बताए ।

नेपाल विश्व अर्थतन्त्रका दुई उदयीमान मुलुक भारत र चीनको बीचमा रहेकाले ती मुलुकको बजार हेरेर नीति बनाउनु पर्ने समेत उनले बताए ।

भारत र चीनबाट ठूलो संख्यामा मध्यम वर्ग भ्रमणमा निस्कने गरेको तथ्यांक प्रस्तुत गर्दै उनले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको बताए ।

आर्थिक शिथिलताकै बीचमा पनि चालु आर्थिक वर्षमा होटल तथा पर्यटन क्षेत्रमा २१ प्रतिशत र ऊर्जा क्षेत्रमा १७ प्रतिशतको आर्थिक वृद्धि भएको पुनको भनाइ छ ।

निर्माण क्षेत्रमा भने नकारात्मक अवस्था रहेकाले त्यसमा सुधार गर्न सरकार प्रयासरत रहेको बताए । उनले नेपालमा राजनीतिक अस्थिरताका कारण विकास हुन सकेन भन्ने स्वीकार्न आफू तयार नरहेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा ०६४ सालमा अख्तियार गरिएको ऊर्जासम्बन्धी नीतिको निरन्तरताका कारण नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गर्न सक्ने अवस्था आएको चर्चा उनले गरे ।

‘प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले ऊर्जा क्षेत्रमा लिएको नीतिको निरन्तरता अझै छ । यो बीचमा १५ वटा सरकार फेरिए होलान् तर नीति फेरिएको छैन’, मन्त्री पुनले भने, ‘नेपालमा स्थिरता छैन भन्ने हल्ला सरकार, निजी क्षेत्र, सञ्चार माध्यम र वौद्धिक व्यक्तित्वहरु मिलेर चिनुपर्छ ।’

उनले नेपालमा सूचना प्रविधि र कृषि क्षेत्रमा पनि राम्रो सम्भावना रहेको बताए । फरक प्रसंगमा मन्त्री पुनले नेपालमा वैदेशिक लगानीको समेत राम्रो सम्भावना रहेको बताए ।

वातावरण राम्रो भएकै कारण बहुराष्ट्रिय कम्पनीहरु नेपालमा लगानी गर्न आइरहेको उल्लेख गरे । हालसम्म नेपालमा लगानी गरेका कम्पनीहरुले घाटा ब्यहोरोको आफूले थाहा नपाएको चर्चा गर्दै उनले त्यही नै नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको प्रमाण रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?