+
+

फेला पर्‍यो संसारकै गहिरो खाडल, पातालसँग सिधा सम्बन्ध

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २० गते १३:५१

काठमाडौं । वैज्ञानिकहरुले विश्वकै सबैभन्दा गहिरो खाडल पत्ता लगाएका छन् । मेक्सिकोको युकाटन प्रायद्धिपमा रहेको चेतुमल खाडीमा उक्त खाडल रहेको छ । त्यसको नाम चाहीँ टाम जा ब्लू होल हो ।

यद्यपि अहिलेसम्म वैज्ञानिकहरुले यसको गहिराई मापन गर्न पाएका छैनन् तथापि सुरुवाती गणना अनुसार यो १३८० फिट भन्दा धेरै गहिरो छ । त्यो पनि समुद्री सतहभन्दा मुनि । अर्थात् यसको सिधा सम्बन्ध पातालसँग छ । शोधकर्ताहरु अहिलेसम्म यो खाडलको पिँधसम्म पुग्न नसकेको हुँदा यसको गहिराई अझै धेरै भएको पक्का छ ।

यसअघि सबैभन्दा गहिरो खाडलको रेकर्ड दक्षिणी चीन सागरमा रहेको ड्रागन होलको नाममा थियो । यो ९ सय ९० फिट गहिरो थियो । जबकि टाम जा ब्लू होल चीनको उक्त खाडल भन्दा ३९० फिट गहिरो छ । अघिल्लो वर्ष डिसेम्बर ६ मा गोताखोरहरुले यस खाडलको खोज गरेका थिए । त्यस बारेको रिपोर्ट यही अप्रिल २९ को फ्रन्टियर्स इन मरिन साइन्स जर्नलमा प्रकाशित भएको छ ।

वैज्ञानिकहरुले यसको गहिराई मापन गर्नका लागि कन्डक्टिभिटी, टेम्परेचर एण्ड डेप्थ प्रोफाइल (सिटिडी) प्रविधिको प्रयोग गरे । यसबाट समुद्रभन्दा मुनिको सतहको रियल टाइम डेटा प्राप्त हुन्छ र ब्लुहोलको गहिराई नापिन्छ । यद्यपि यो खाडलको पिँधसम्म गोताखोर वा सबमरिन पुग्न सकेका छैनन् ।

के हो ब्लू होल ?

सिटिडी प्रोफाइलरबाट यो खाडलमा विभिन्न गुफा तथा सुरुंगहरु प्नि रहेका पत्ता लागेको छ । ती गुफा तथा सुरुंगहरु आपसमा जोडिएका छन् । त्यहाँ तापक्रम तथा नुनको मात्रा क्यारेबियन सागरकै जस्तो छ । ब्लू होल अर्थात् सिंक होल । यो पानीभित्र हुन्छ र जमिनमा ठाडो खाडल हुन्छ । यस्तो खाडल मुनिपट्टि सुरुंगको जालसँग जोडिएको हुन्छ र कहिलेकाहीँ त्यस्ता सुरुंगहरु न्हुन पनि सक्छन् ।

यी खाडलको पिँधमा आमरुपमा चुनढुंगा, मार्बल तथा जिप्सन पाइन्छ । यस्तै एउटा प्रसिद्ध ब्लू होल बहमासको डिन्स ब्लू होल पनि हो । त्यस्तै इजिप्टको दहाब ब्लु होल तथा बेलिजको ग्रेट ब्लू होल पनि विश्वका अन्य चर्चित ब्लु होल हुन् ।

वैज्ञानिकहरुका अनुसार विश्वको सबैभन्दा गहिरो भनिएको मेक्सिकोको उक्त खाडलको वास्तविक गहिराई पत्ता लगाउनमा केही समय अझै लाग्नसक्छ । किनकि विद्यमान यन्त्रहरु त्यसको पिँधसम्म पुग्न सक्दैनन् ।

सिटिडी प्रोफाइलर १६ सय ४० फिटसम्म जानसक्छ तर पानीभित्रको तरंगका कारण त्यसको तार टुट्ने खतरा भएकाले त्यसलाई खाडलको पिँधसम्म नपूराई १३ सय ८० फिटबाटै बाहिर निकालिएको थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?