+
+

‘ऐरी’ साइन गरेपछि सांगेले भने- फिल्मले नेपाल र भुटानको सम्बन्धलाई उचाइमा लैजान्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २० गते १४:१२

काठमाडौं । शाहरुख खान स्टारर बलिउड फिल्म ‘जवान’मा समेत अभिनय गरेका भुटानी अभिनेता सांगे सेल्ट्रिम गत सातासम्म काठमाडौंमा थिए ।

ललितपुर झम्सिखेलको मोक्ष रेस्टुरेन्टमा उनी अभिनेता प्रदीप खड्कासँगै देखिएका थिए । त्यसक्रममा खड्काले ‘ऐरी’को कामको लागि सेल्ट्रिम नेपाल आएको जानकारी दिएका थिए ।

यो फिल्मको कास्टिङलाई लिएर यतिबेला महत्वपूर्ण विकास भएको छ । अभिनेता सेल्ट्रिम र निर्देशक जीवन थापाबीच केही दिनअघि लिखित सम्झौता भएको छ । त्यसपछि सेल्ट्रिम भुटान उडिसकेका छन् ।

एकैवर्षमा चौथोपटक काठमाडौं उत्रिएका सेल्ट्रिमको यसपटकको भ्रमण चाहिं ‘ऐरी’प्रेरित रह्यो । स्रोतका अनुसार सेल्ट्रिमले अर्को एक नेपाली फिल्म खेल्ने पनि तयारी गरिरहेका छन् । यसबारे निधो भइसकेको छैन ।

‘ऐरी’मा अनुबन्धित भएपछि सेल्ट्रिमले भनेका छन्, ‘मैले यो फिल्ममा काम गर्नुको मुख्य कारण यसको कथावस्तु हो । कथावस्तु ऐतिहासिक छ । मलाई सधैं नै योद्धाको कथामा काम गर्न मन थियो । त्यसैले यो फिल्मबाट मेरो सपना पूरा हुँदैछ ।’

बलिउड र नेपाली फिल्म क्षेत्रको सहकार्य हुन लागेकाले पनि आफू यो फिल्ममा काम गर्न उत्साहित भएको सेल्ट्रिमले बताएका छन् । नेपाल र भुटानको सम्बन्धलाई अझै उचाईमा लैजानका लागि पनि आफूले यो फिल्म साइन गरेको उनको भनाइ छ ।

अहिले यो फिल्मको पि–प्रोडक्सनको काम चलिरहेको छ । फिल्मलाई नेपाली र हिन्दीका साथै दक्षिण भारतीय भाषामा पनि स्वरांकन गरिने भएको छ । फिल्ममा सुवास काले, प्रशान्त गुप्ता र राजन कुवँरको संयुक्त लगानी रहनेछ ।

छायांकन केही महिनापछि सुरु हुनेछ । अन्य सहायक कलाकारलाई कास्ट गर्ने तयारी भइरहेको जनाइएको छ । यो फिल्मको शीर्ष भूमिकामा प्रदीप खड्का यसअघि नै अनुबन्धित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?