+
+

भेट्टाइएको नागरिकताबाट कम्पनी खोलेर करिब ३ करोड ठगी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २१ गते १५:०४

२१ वैशाख, काठमाडौं । भेट्टाएको नागरिकताबाट कम्पनी खोलेर करिब तीन करोड रुपैयाँ ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ घर भई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-७ बिष्टगाउँ बस्ने ३५ वर्षीय राजन श्रेष्ठ र झापाको गौरादह नगरपालिका-१ घर भइ ललितपुरको भैसेपाटी बस्ने ४६ वर्षीय ईश्वरी पाण्डे छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई पेप्सीकोलाबाट र पाण्डेलाई अनामनगरबाट पक्राउ गरेको हो ।

उनीहरु उदयपुरका नारायणबहादुर राई र बाजुराका पर्वराज पाण्डेको नागरिकता भेट्टाएर त्यसमार्फत कन्सल्टेन्सी खोलेर करिब ३ करोड रुपैयाँ ठगी गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

२१९ जनाबाट २ करोड ७८ लाख रुपैयाँ ठगी भएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । प्रहरीले पक्राउ गरेपछि पीडितको संख्या अहिले थप भएको छ ।

प्रहरी सम्पर्कमा आएकाहरुको विवरण र यसअघि वैदेशिक रोजगारीमा परेको उजुरीको आधारलाई मान्दा अहिलेसम्म करिब ३ करोड रुपैयाँ ठगी भएको खुलेको हो ।

काठमाडौं पुतलीसडकमा नियोनी एडुकेशन कन्सल्टेसी खोली कामदार भिसामा जापान पठाउने भन्दै उनीहरुले ठगी गरेको आरोप छ ।

एडुकेशन कन्सल्टेन्सी खोल्न पनि भेट्टाएकै नागरिकता उनीहरुले प्रयोग गरेका थिए भने रकम लिनका लागि कामना विकास बैंकमा समेत भेट्टाएकै नागरिकताबाट खाता खालेको पाइएको छ ।

प्रहरीले उनीहरुबाट विभिन्न कागजातहरु बरामद गरेको छ । नारायणबहादुर राईको सक्कल नागरिता राजनको साथबाट बरामद भएको छ । नारायणबहादुर राईकै नामको सानिमा बैंकको एटीएम, चेकबुक, नारायणबहादुरलाई नियोनीको म्यानेजिङ डाइरेक्टर भनेर बनाइएको कार्ड, भिजिटिङ कार्ड बरामद भएको छ ।

त्यसैगरी राजन श्रेष्ठको सक्कली नागरिता, चेकबुकहरु ५ थान मोबाइल, राहदानी, शैक्षिक प्रमाणपत्रहरु बरामद भएका छन् । इश्वरी पाण्डेबाट भने विभिन्न व्यक्तिका ११ थान राहदानी, पर्वराज पाण्डेको सक्कली नागरिता, पर्वराज पाण्डेको नामको कामना विकास बैंकको चेक बुक बरामद भएको छ ।

ईश्वरी पाण्डेको विभिन्न बैंकको चेकबुकहरु, भारतीय बैंकको चार थान एटीएम कार्ड। भारतीय सीमकार्डहरु बरामद भएका छन् ।

जब पठाओ चाकलविरुद्ध जारी भयो ३ करोड ठगीको पक्राउ पुर्जी

उदयपुरका नारायणबहादुर राई करिब एक दशकअघि ज्यामीको काम गर्थे ।  भैसेपाटीबाट नारायणस्थानमा काम गर्न साइकलमा जाँदा उनको नागकिरतासहितको पर्स हराएको थियो । नागरिकता हराएपछि उनले केही समयमै प्रतिलिपि समेत बनाएका थिए ।

अहिले पठाओ चलाएर दैनिक गुजारा चलाउँदै आएका उनै राईविरुद्ध पक्राउ पूर्जी जारी भएपछि प्रहरीले उनलाई बोलाएर सोधपुछ गरेको थियो । २१९ जनाबाट करिब ३ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ पूर्जी जारी भएका राईलाईमाथि प्रहरीले अनुसन्धान अघि बढायो ।

सो क्रममा उनलाई सोधपुछ गरेपछि थाहा भयो उनी घटनामा संलग्न नभई उनको नागरिकता प्रयोग भएको रहेछ । यअसघि बाजुराका पर्वराज पाण्डेलाई त प्रहरीले पक्राउ गरेर एक दिन हिरासतमै राखेको थियो ।

उनकै नागरिकता प्रयोग भएर बैंक खाता खोलिएको र जापान जानेहरुले सोही बैंक खातामा रकम जम्मा गरेका थिए । तर अनुसन्धानका क्रममा भने पर्वराजको पनि हराएको नागकिरता प्रयोग गरेर बैंक खाता खोलेर ठगी गरेको खुलेपछि अनुसन्धानले नयाँ मोड लिएको थियो ।

उदयपुरका नारायणबहादुर राई

वैदेशिक रोजगार विभागमा उजुरी परेपछि विभागले अनुसन्धान नै नगरी बैंक खाताको विवरण अनुसार र कन्सल्टेन्सीको कसको नाममा छ उसैको नाममा पक्राउ पूर्जी जारी गरेपछि ठगीमा सम्बन्धित नै नभएका पठाओ चालक र आफूलाई कलाकार बताउने पर्वराज पाण्डेले केही समय सास्ती खेपेका थिए ।

प्रहरीले एक दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि बल्ल बैंक खाता खोल्दा पर्वराजको नागकिरता प्रयोग भएको तर फोटोमा भने अर्कै व्यक्ति फोटो टाँस गरेर ठगी भएको खुलेको थियो ।

भेट्टाएको नागरिकताबाट कन्सल्टेन्सीदेखि बैंक खातासम्म खोलेर ठगी गरेको खुलेपछि पर्वराज र नारायणबहादुरले छुटकारा पाएका थिए । अहिले भने प्रहरीले नारायणबहादुर राई बनेर ठगी गरेका राजन श्रेष्ठ र पर्वराज बनेका ईश्वरीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

कसरी सुरु भयो ठगीको धन्दा ?

नीमा एडुकेशन कन्सल्टेन्सका सञ्चालक दीपक तामाङ अध्ययनका लागि जापान जाने विद्यार्थीहरुलाई परामर्श दिई विदेश पठाउने काम गर्थे ।

एक दिन उनले सामाजिक सञ्जाल फेसबुकमा नियोनी एडुकेशन प्रालिबाट जापानका लागि अवसरहरु आएको देखे ।  त्यसपछि उनी उक्त कन्सल्टेन्सीको सम्कर्पमा पुगेका थिए ।

आफूलाई रमेश नाम बताउने व्यक्तिले जापानमा रहेको इन्टरनेस्नल युनिभर्सिटी हेल्थे वेलफेयरमा विद्यार्थीहरुको माग भएको भन्दै विश्वास दिलाएपछि उनै तामाङको सम्पर्कमा आएका विद्यार्थीहरुलाई उनले नियोनीमा सम्कर्प गराएका थिए । त्यसको केही समयपछि सीओई आईसकेको छ भन्दै नारायणबहादुर राईको सानिमा बैंकको खातामा र ईश्वरी पाण्डे नामको कामना विकास बैंकको खातामा रकम जम्मा गर्न लगाएर ठगी गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।

केहीलाई विद्यार्थी भिसामा र केहीलाई भने कामदार भिसामा समेत जापान पठाउने भन्दै रकम ठगी गरेपछि पीडितहरु वैदेशिक रोजगार विभागमा पुगेका थिए ।

विभागबाट ४ चैतमा नारायणबहादुर राई र पर्वराज पाण्डेविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । तर, प्रहरी अनुसन्धानका क्रममा  भने रामेछापका राजन श्रेष्ठ नारायणबहादुर राई र झापाका ईश्वरी पाण्डे पर्वराज पाण्डे बनेर ठगी गरेको खुलेको हो ।

पर्वतराज पाण्डे, जसको हराएको नागरिकता प्रयोग गरेर ३ करोड ठगी भएको थियो ।

 

वर्किङ भिसामा जापान जान ४ देखि ७ लाख रुपैयाँसम्म लाग्ने भन्दै रकम लिएको खुलेको छ । अर्कैको नागरिकता प्रयोग गरेर बैंक खाता खोले पनि उनीहरुले केवाईसी फारममा भने आफ्नो फोटो टाँस गरेका थिए ।

बैंकले भेरिफाइमा लापरबाही गर्दा सर्वसाधारणहरु ठगीएकाले यो प्रकरणमा बैंकमाथि पनि अनुसन्धान गर्नुपर्ने देखिएको अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकृतहरु बताउँछन् ।

उनीहरुले दीपक तामाङमार्फत १३ जनाबाट ३७ लाख रुपैयाँ बुझेको खुलेको छ । सुनिलकुमार नेपाली मार्फत २० जनाबाट ३२ लाख रुपैयाँ बुझेको देखिएको छ । अन्य व्यक्तिहरु भने आफैं सम्पर्कमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?