+
+

सञ्चालनमा आयो नेपालगञ्ज एकीकृत जाँच चौकी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २४ गते १७:५७

२४ वैशाख, काठमाडौं । नेपालगञ्जस्थित एकीकृत जाँच चौकी सञ्चालनमा आएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जाँच चौकीको शुभारम्भ गरेका हुन् ।

शुभारम्भमा नेपालबाट प्लाइउड बोकेको दुई ट्रक भारततर्फ निर्यात भएको थियो । भारतबाट आएको एक ट्रक सोही अवसरमा नेपाल प्रवेश गराइएको थियो ।

कार्यक्रममा मन्त्री भण्डारीले एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि मध्य पश्चिम क्षेत्रको व्यापार बढ्ने र देशको अर्थतन्त्र उकास्न मद्दत पुग्ने बताए ।

कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेले एकीकृत जाँच चौकीको सञ्चालनले निर्यात प्रवर्द्धन र आयात–निर्यातलाई सहज बनाउने बताए ।

उनले एकीकृत जाँच चौकी निर्माणको लागि भारत सरकार, निर्माणकर्ता र आइसीपी निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा भन्सार विभागमा महानिर्देशक ढुण्डीप्रसाद निरौलाले आईसीपी सञ्चालनमा आएपछि सामान निकासी पैठारी सहज हुने बताए । चोरी निकासीमा नियन्त्रण भई राजस्व समेत बढ्ने उनको भनाइ छ ।

एकिकृत जाँच चौकीको निर्माणको काम २६ असोज २०७७ गते सुरु भएको थियो । यसको निर्माण २०८० फागुनमा सम्पन्न भएको हो । कुल ४५.८१ हेक्टर क्षेत्रफलमा फैलिएको यस एकीकृत जाँच चौकीमा पहिलो चरणमा १८.०५ हेक्टरमा संरचनाहरुको निर्माण भएको छ ।

एकीकृत जाँच चौकीमा कुल आयाततर्फ २०० वटा र निर्याततर्फ ७५ वटा ट्रकहरुको लागि पार्किङ क्षेत्र, भान्सार, अध्यागमन, क्वारेन्टिन, सुरक्षा, अपरेटर कम्पनी, बैंक लगायतका अन्य संरचनाका लागि भवन, आयातको ३ वटा गोदाम, एप्राइजल सेड, स्टफिङ/डिस्टफिङ सेड, धर्मकाँटा, विद्युतीय सबस्टेसन, बाउन्ड्री लाइट लगायतका महत्वपूर्ण पूर्वाधारहरू निर्माण भएका छन ।

२०० करोड भारु लागतमा निर्माण सम्पन्न भएको यस जाँच चौकीको उद्घाटन १८ जेठ २०८० मा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा गरेका थिए ।

एकीकृत जाँच चौकी भारत सरकारबाट ९ वैशाख २०८१ मा सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाइ बाँकेलाई हस्तान्तरण भएको थियो ।

एकीकृत जाँच चौकी व्यवस्थापन तथा सञ्चालन अनुमित टीआरएस एटलस लोजिपार्क प्रालिले पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?