
२५ वैशाख, काठमाडौं । निजी क्षेत्रले मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर प्रणाली लागु गर्न माग गरेको छ ।
मंगलबारदेखि काठमाडौंमा सुरु मेक इन नेपाल स्वदेशी सम्मेलनको उद्घाटन समारोहमा बोल्दै नेपाल उद्योग परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले यस्तो माग गरेका हुन् ।
उनले मूल्य अभिवृद्धि करलाई बहुदर (०, ५, १३ तथा १८) गरी लागु गर्न उनले माग गरेका छन् ।
यस करमा आबद्ध हुनुपर्ने न्यूनतम कारोबारको सीमालाई समेत कम गरी सबै करदातालाई भ्याटमा आबद्ध गराउन उनले सुझाव दिए ।
उनले नयाँ आर्थिक वर्षबाट नेपालमा अनेक थरी करलाई एकीकृत गरी सिमित कर मात्र रहने व्यवस्था गर्न सुझाव दिए ।
जसमा आयकर, भन्सार, अन्तशुल्क र मूल्य अभिवृद्धि कर मात्र राखेर अन्य कर एकीकृत गर्न सुझाव दिइएको छ । यसबाट नेपाली वस्तुलाई भारतीय वस्तु तथा बजार मूल्यसँग प्रतिस्पर्धी बनाउन र अनाधिकृत व्यापार नियन्त्रण गर्न सहयोग पुग्ने सीएनआईको भनाइ छ ।
चालु आवको बजेट भाषणले २० प्रतिशतसम्म महँगो भए पनि नेपाली वस्तु उपयोग गर्नुपर्ने प्रावधान भए पनि यो व्यवस्था लागु गर्न नसकिएको उनले बताए ।
मेक इन नेपाल स्वदेशी अभियानमा १ सय ३५ भन्दा बढी स्वदेशी उद्योग आबद्ध भइसकेको उनले जानकारी दिए ।
स्वदेशी अभियानका सदस्य कम्पनीले आफ्ना वस्तुमा निश्चित मापदण्ड र प्रक्रियासहितको स्वदेशी लोगो गैंडा अंकित लोगो प्रयोग गरिरहेको समेत उनले जानकारी दिए ।
नेपालमा आयात हुने वस्तुको गुणस्तर मापदण्ड अनिवार्य लागु गर्न समेत उनले सुझाए ।
उनले भारत सरकारसँग भारतीय गुणस्तर तथा नेपाल गुणस्तर एक अर्कालाई मान्य हुने गरी सम्झौता वा समझदारी गर्न समेत माग गरिएको छ ।
प्रतिक्रिया 4