+
+

पहिले असुविधाले खेद्‍यो, अहिले बाँदरले

‘पहिले मान्छेहरूलाई असुविधाले खेद्‍यो, अहिले बाँकी रहेकालाई पनि बाँदरले खेद्दैछ । युवा विदेश जान थालेपछि धेरैलाई गाउँ छाड्न बाँदर बहाना बनेको छ’, रूपाकोट मैदान गाउँका कृष्णराज अधिकारीले भने ।

अमृत सुवेदी अमृत सुवेदी
२०८१ वैशाख २६ गते १४:३९
रुपा गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइका सहभागीहरु ।

२५ वैशाख, पोखरा । डेढ दशक अघिसम्म गुल्जार कास्की रुपाकोटका बस्ती यति छिट्टै उजाडिएला भन्ने कृष्णराज अधिकारीले चिताएकै थिएनन् । सुविधाको खोजीमा बजार झर्नेहरुको लर्को यसरी लाग्यो कि उनलाई सपना जस्तो लाग्छ ।

रुपाकोट मैदान गाउँमा पहिले करिब १०० घर थिए, अहिले तीमध्ये १५/२० घरमा मात्र मानिस बस्छन् । देशका धेरै पहाडी गाउँमा जस्तै रुपाकोटमा पनि युवा छैनन्, उनीहरु शहरमा वा बिदेशमा छन् । गाउँमा बुढाबुढीले रित्ता घरको पिँढी रुँघिरहेका छन् ।

‘पहिले मान्छेहरुलाई असुविधाले खेद्‍यो, अहिले बाँकी रहेकालाई पनि बाँदरले खेद्दै छ । युवा बिदेश जान थालेपछि धेरैलाई गाउँ छाड्न बाँदर बहाना बनेको छ’, अधिकारीले भने ।

‘जब मानिसहरू कमाउन पहिले खाडी र अहिले युके, अमेरिका, अस्ट्रेलियातिर जान थाले, परिवार गाउँमा दुख गर्न छोडेर शहर झरे ।’

पोखरादेखि नजिकैको यो डाँडामा हालै रुपाकोट रिसोर्ट खुलेको छ । सडक, बिजुली, पानी सबथोक सुविधा हुँदा पनि गाउँमा मानिस नअडिएका अधिकारी बताउँछन् ।

रुपा गाउँपालिका–२ थुम्कीका रामबाबु सुवेदीलाई पनि लाग्छ, सुविधा खोजेर मात्र मान्छे शहर झरेका होइन रहेछन् । सुविधाकै कुरा गर्ने हो भने अहिले गाउँमा घरघरै धारा बनेका छन् । सडक, बिजुली र सञ्चारको सुविधा पनि छ ।

तर गाउँमा गरेको खेतीपाती बाँदरल सखाप पार्न थाल्यो, युवाले बिदेशमा कमाएको पैसाले शहरमा घर घडेरी जोड्न थाले, छोराछोरी शहरकै निजी स्कुलमा पढाउन थाले, बाबुआमालाई पनि गाउँमा दुःख गर्न भन्दा शहर झर्न प्रेरित गर्न थाले ।

‘अहिले गाउँमा शिक्षा राम्रो छैन भनेर झरिरहेका छन्’, सुवेदी भन्छन्, ‘जब मानिसहरु कमाउन पहिले खाडी र अहिले युके, अमेरिका, अस्ट्रेलियातिर जान थाले, परिवारले गाउँमा दुख गर्न छोडेर शहर झरे ।’

रुपा गाउँपालिका थुम्कीकै रमादेवी ओझालाई बाँदरले यति दुःख दिएको छ कि कहिले गाउँ छोडेर हिँडौंजस्तो बनाएको छ । ‘शहर झर्नेहरु त झरिहाले । उनीहरु आए पनि कहिलेकाहीँ गाउँ आएर दुःखै साट्ने हुन् । युवाहरु विदेश गए, बाँकी भएका पनि पोखरा झरे’, रमादेवी भन्छिन्, ‘पहिलेजस्तो गाउँमा दुःख त छैन तर बाँदरले केही गर्न दिन्नँ । खेती गर्छु भने पनि दिनको भोक न रातको निन्द्रा हुन्छ ।’

रुपाकै नवराज सुवेदी गाउँमा सबैभन्दा धेरै दुःख बाँदरबाटै भएको बताउँछन् । अहिले शहरमा जग्गाजमिन किन्न नसक्ने र गाउँको माया मार्न नसक्ने बुढाबुढी मात्र गाउँको घरमा बसिरहेका छन् । कतिपय बुढाबुढी भने गाउँ–शहर आउजाउ गरिरहेका छन् ।

‘शहरमा पनि घरजग्गा छ र गाउँमा पनि छोडेका छैनन् । चाडबाड, कार्यक्रमहरुमा गाउँ उक्लिनेहरुको पनि ठूलो संख्या छ । छोराछोरी विदेश हुने पनि केही गाउँ छोड्न नसकेर माटोको मायाले नै बसेका छन्’, गाउँमै भेटिएका बद्री दमैले सुनाए, ‘गरिब त गरिब नै भइहाले, कहाँ जाने र ? तिनलाई पनि गाउँमा बाँदरले खेदिरहन्छ ।’

देशमा संघीयतापछि पहिलेका ७ गाविसहरु समेटेर अहिले कास्कीमा रुपा गाउँपालिका बनेको छ । रुपा त्यही गाउँपालिका हो, जसले गण्डकी प्रदेशमै पहिलो पटक बाँदर नियन्त्रणका लागि २०७५ सालमै १० लाख रुपैयाँ छुट्याएको थियो । गाउँपालिकाले बाँदर समाएर निकुञ्जमा पठाउने काम पनि गरेको थियो ।

‘अहिले गाउँमा आधारभूत आवश्यकता पूरा भएका छन् तर गाउँमै बसेर खेती गर्छु भन्नेलाई बाँदरले ठूलो सास्ती भएको छ’, गाउँपालिका अध्यक्ष नवराज ओझाले भने, ‘बाँदर गाउँको सबैभन्दा ठूलो समस्या भएकै कारण हामीले बजेट छुट्याउँदा देशभरि चर्चा भयो, कतिले खिसी पनि गरे । अहिले देशैभरि गाउँको प्रमुख समस्या बाँदर बनेको छ ।’

थुम्कीका तेजप्रसाद ओझालाई लाग्छ, सुविधाका लागि गाउँ छोड्नेहरुका लागि अहिले बाँदर गतिलो कारण बनिरहेको छ । ‘गाउँमा अहिले त खासै अरु समस्या छैन, लाखुकै पीर हो’, मंगलबार गाउँपालिकाले गरेको सार्वजनिक सुनुवाइमा ओझाले प्रमुख समस्या बाँदर नै भएको सुनाए । तेजप्रसादको मात्रै होइन, गाउँका मधुसुदन ओझा, शिवराज सुवेदी, बुद्धिबहादुर गुरुङका गुनासो पनि उस्तै छन् ।

अहिले छोराछोरी खाडी, युरोप र अमेरिका जान थालेपछि धेरै गाउँलेको शहरमा घर घडेरी छ । त्यसैले गाउँमा सुविधा पुगे पनि शहरमा बसोबासको बन्दोबस्त गरेकाहरु शहर नै झरेका छन् ।

गाउँमा नै बस्नुपर्नेहरुलाई भने बाँदर प्रमुख समस्या बनेको वडाध्यक्ष राजन सुवेदीको भनाइ छ । ‘बाँदर अहिले देशकै समस्या बनेको भए पनि रुपामा अलि बढी नै दुख दिएको छ । गाउँका धेरैले यही गुनासो गर्नुहुन्छ’, वडाध्यक्ष सुवेदीले भने, ‘बाँदर नियन्त्रण, बाटोघाटो स्तरोन्नतिजस्ता समस्या र गुनासा छन् अहिले गाउँलेका अरु ठूला गुनासा छैनन् ।’

रुपा गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइका सहभागीहरु ।

गाउँपालिका अध्यक्ष ओझाले बाँदर नियन्त्रण गर्न तत्काल असम्भव भए पनि बाँदरले नखाने खेती गर्न प्रोत्साहन गर्ने, सिप्लिकान खेती लगाउने, व्यवसायिक मौरी पालनमा सहायता गर्नेजस्ता काममा पालिकाले प्रोत्साहन गरिरहेको बताए । गाउँ छाड्नेहरुलाई रोक्न गाउँपालिकाले विभिन्न कार्यक्रम पनि ल्याएको छ तर त्यस्ता कार्यक्रमबाट धेरै मानिस आकर्षित भएका छैनन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि बरालका अनुसार यो आर्थिक वर्षमा मात्र १८९ परिवार बसाईँ सरेका गएका छन् । तर, फर्किने जम्मा ४२ जना छन् ।

नेपाली कांग्रेस रुपा गाउँ कार्यसमितिका सभापति विमल न्यौपानेले गाउँमा बस्नेहरुमा पनि पारिवारिक विखण्डन देखिएको विश्लेषण गरे ।

‘यो आर्थिक वर्षमा मात्रै रुपा गाउँपालिकामा करिब ४० वटा सम्बन्ध विच्छेदका घटना भएको तथ्यांकमा देखिन्छ । यो भनेको निकै चिन्ताजनक र त्रासदीपूर्ण चित्र हो । कसरी परिवार विखण्डन भइरहेको छ भन्ने उदाहरण हो’, न्यौपानेले भने, ‘यसको प्रमुख कारण गरिबीसँग जोडिएको छ ।’

पालिकाले आफ्ना जनतालाई आम्दानीसँग जोड्ने गरी दीर्घकालीन महत्वको कार्यक्रम ल्याएर आर्थिक उपार्जन बढाउन सके यस्ता घटना कम हुने न्यौपाने बताउँछन् । न्यौपानेको तर्कसँग गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङ पनि सहमत छन् । महिलालाई आर्थिक उन्नयनसँगमात्रै जोड्न सके पनि सामाजिक बिग्रह कम हुने लालसुब्बाको भनाइ छ ।

सार्वजनिक सुनुवाइमा सहभागी स्थानीयले व्यावसायिक कृषिमा अनुदान र टुक्रे योजनाभन्दा दीर्घकालीन महत्वको ठूला योजना ल्याउन पालिकालाई सुझाव दिए । पोखरादेखि नजिकै पर्ने हुनाले गाउँपालिकाले पर्यटनसँग जोडेर लगानी भित्र्याउन र उद्यमसँग जोड्ने कार्यक्रम ल्याउन गाउँलेको सझाव छ ।

‘सरकारी अनुदानको सदुपयोग हुनुपर्‍यो । सार्वजनिक सम्पत्तिको संरक्षण र संस्कृतिसँग जोड्न सक्नुपर्‍यो’, रुपा फेदीका गोपी जोशीको सुझाव छ, ‘सबैभन्दा धेरै मानिस अहिले स्तरीय शिक्षाको खोजीमा झरेका छन् । पालिकाले गाउँकै स्कुलमा पनि राम्रो भविष्य छ भनेर विश्वास दिलाउन सक्नुपर्‍यो ।’

शिक्षा, स्वास्थ्य, रोजगार र सुशासनमा मात्रै विश्वास दिलाउन सक्यो भने गाउँमै बस्नेको पनि आत्मबल बढ्ने र बाहिरकाहरु पनि आकर्षित हुने उनको सुझाव छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?