+
+

कांग्रेसले संसद अवरोध गर्दा महत्वपूर्ण विषय ओझेलमा : मन्त्री भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २ गते १६:५०

२ जेठ, धनगढी । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गर्दा महत्वपूर्ण कुरा ओझेलमा परेको बताएका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै कांग्रेसले संसद अवरोध गर्दै आएको छ ।

बुधबार प्रेस चौतारी कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले संसद अवरुद्ध नगरेर पनि कांग्रेसले माग उठाउन सक्ने बताए ।

‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेर जुन विषय उठाइरहेको छ । त्यो संसद सुचारु गरेर पनि उठाउन सकिन्छ । संसदमा वार्ता, संवाद र छलफलबाट समस्या समाधान गर्न सकिन्छ’, भण्डारीले भने, ‘त्यो सम्भावना हुँदाहुँदै एउटा व्यक्ति केन्द्रित गरेर बखेडा निकालिएको छ । कांग्रेस जनजीविकाका सवालमा प्रवेश गर्नुपर्नेमा मौन छ ।’

मन्त्री भण्डारीले संकल्प प्रस्ताव ल्याएर वा कानुन नै बनाएर सहकारीका समस्या सामाधान गर्न सकिने विकल्प रहेको बताएका छन् ।

सरकारले मंगलबार ल्याएको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण आयोजनालाई प्राथमिकता दिइएको उनले बताए ।

‘नीति तथा कार्यक्रममा महाकाली करिडोर, सेती लोकमार्ग, दोधाराचाँदनी सुक्खा बन्दरगाह सञ्चालन, शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, वेतन कर्णाली, पश्चिम सेती परियोजनालाई प्राथमिकतामा राखिएको छ’, मन्त्री भण्डारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?