+
+

नेपालमै बन्छ मोटरबोट

‘बाहिर उत्पादन भएका नेपालमा उत्पादन भएकामा गुणस्तरमा कुनै फरक छैन, हाम्रो स्टान्डर्ड क्वालिटी छ तर सरकारले कानुन नबनाउँदा बाहिर पठाउन निकै समस्या भइरहेको छ ।’

सुवास पण्डित सुवास पण्डित
२०८१ वैशाख २८ गते १५:१०
सुर्खेतको बुलबुले तालमा राइनो र फिस्टेल मोडेलका मोटरबोट ।

२८ वैशाख, चितवन । चितवन र नवलपुर भएर बग्ने नारायणी नदी किनारमा दर्जनौं मोटरबोटहरु आन्तरिक पर्यटकलाई लिएर घुइँकिरहेका देखिन्छन् ।

चितवनको उखरमाउलो गर्मी छल्न साँझपख नारायणीमा मोटरबोट चढ्नेहरु भिड नै लाग्ने गर्दछ । एक जनाको २ सय ५० सय र ५ सय रुपैयाँ लिएर मोटरबोट चढ्न पाइन्छ । धेरैलाई लाग्छ होला–यी मोटरबोट कतै विदेशमा बनेका हुन् । तर, होइन ।

नारायणीसहित देशका प्रमुख नदी तथा तालतलैयामा चल्ने अधिकांश मोटरबोट नेपालमै उत्पादन हुन्छन् । ‘सियोसमेत बन्दैन’ भाष्य चलेको देशमा मोटरबोट नै बन्छ भन्दा आश्चर्य लाग्नु स्वभाविक पनि हो ।

नारायणी नदी किनार पारिपट्टि रहेको गैंडाकोट नगरपालिका–५ मा नेपालमा चल्ने मोटरबोट बनाउने उद्योग नै छ । विगत ७ वर्षदेखि यो उद्योगले मोटरबोट उत्पादन गर्दै आइरहेको छ । यसको नेतृत्व गरेका छन्, विष्णु ढकालले ।

ढकाल स्वयंले पनि मोटरबोट उत्पादन सँगसँगै विभिन्न नदी तथा तालतलैया र ड्यामहरुमा मोटरबोट पनि चलाइरहेका छन् । ‘नेपाल शिप एन्ड बोट बिल्डिङ’ उत्पादक कम्पनी हो भने बोटेबोरा प्रालि मोटरबोट चलाउँदै आएको कम्पनी हो ।
ढकालको कम्पनीले अहिले १९ वटा मोटरबोट चलाइरहेको छ । सर्लाहीको भरत ताल र नारायणी नदीमा ५/५ वटा, देवघाटमा २ वटा, आँबुखैरेनीको विद्युत ड्याम्पमा २ वटा, सुर्खेतको बुलबुल ताल लगायतका स्थानमा मोटरबोट चलाएका छन् ।

विष्णु ढकाल

गैंडाकोटमा रहेको मोटरबोट कम्पनी ‘नेपाल शिप एन्ड बोट बिल्डिङ कम्पनी’ले वर्षमा ३० देखि ४० वटासम्म विभिन्न साइजका मोटरबोट उत्पादन गर्छ । कम्पनीले ४ सिटदेखि ६० सिटसम्म क्षमताका न्यूनतम् १५ लाखदेखि डेढ करोड रुपैयाँसम्म पर्ने मोटरबोट बनाउने गरेको ढकाल बताउँछन् ।

ढकालका अनुसार मोटरबोटको १० वर्षको र इन्जिनको २ वर्षको वारेन्टी दिइन्छ । बोटको मात्रै आयु करिब ४० वर्षको हुन्छ । इन्जिनमा लाग्ने पार्टसहरु सुजुकी जापान, अमेरिका, थाइल्यान्ड, फिलिपिन्सबाट ल्याउने गरिन्छ ।

यो कम्पनीले बनाएका करिब ११० वटा बोटहरू नेपालका नदी तथा तालमा चलिरहेका छन् । बोटको साइज र इन्जिनको हर्स पावरका आधारमा मूल्य तोकिने कम्पनीले जनाएको छ । अहिले धेरै चल्ने फिस्टेल ब्रान्डको ११ जना अट्ने ६० हर्स पावरको बोटलाई २१ लाख रुपैयाँ पर्नेगर्छ ।

कम्पनीले उत्पादन गरेका बोटहरू यातायातका साधानका रुपमा भन्दा पनि बढि मनोरञ्जन क्षेत्रका लागि बढी प्रयोग भएका छन् । कोशी नदीमा यातायातका साधानका रुपमा प्रयोग भएको छ ।

त्यहाँ ६० सिट क्षमताको र कर्णालीमा ३० सिट क्षमताको बोटहरु चलिरहेका छन् । उनका अनुसार इञ्जिनभित्र भएको, इञ्जिन बाहिर भएको र जेट इन्जिन जडान गरिएको गरी ३ थरीका बोट उत्पादन हुन्छन् । अरुभन्दा जेट इन्जिन भएको मोटरबोट बढी महंगो पर्छ । यो आधा फिटमात्रै गहिरो पानीमा पनि चलाउन मिल्छ ।

हप्तामा ७ वटासम्म मोटरबोट उत्पादन गर्न सकिने भए पनि त्यसको बजार नहुँदा अर्डरका आधारमा मात्रै बनाउने गरिएको सञ्चालक ढकालले सुनाए । कम्पनीले राइनो, फिस्टेल, किङफिसर र डाँफेको नाममा मोटरबोट उत्पादन गर्ने गरेको छ । कम्पनीले फाइबरका विभिन्न सामाग्रीहरुसमेत तयार गर्ने गरेको छ ।

विद्यालयका लागि आवश्यक पर्ने फाइबरका डेक्सबेन्चदेखि विभिन्न खेलाउने सामाग्री र स्वमिङ पुलसम्म बनाउन सकिने कम्पनीका सञ्चालक ढकालले बताए । फाइबर भने झोलका रुपमा भारतबाट आउँछ ।

उनका अनुसार होटलहरुको स्विमिङ पुल विभिन्न डिजाइनमा तयार गर्न सकिन्छ । यसको लागत अन्यभन्दा ४० प्रतिशत कम हुन आउँछ ।

उनको कम्पनीमा एक जना मरिन इन्जिनियर, एक जना मेकानिकल इन्जिनियर, २ जना प्राविधिकसहित झण्डै २० जना कर्मचारी कार्यरत छन् । यो कम्पनीमा उनीसँगै सुमन खत्री र अभिषेक कार्की पनि लगानीकर्ताका रुपमा छन् ।

सञ्चालक ढकालका अनुसार नदी वा तालको गहिराई र पानीको अवस्थाका आधारमा मोटरबोट बनाउने गरिन्छ । माग आएको ठाँउको अवस्थाको जाँच गरेपछि मात्रै सोही अनुसारको मोटरबोट बनाउने गरिएको ढकालले बताए ।

कहाँ चल्ने र कति सिटको चल्ने भन्ने निश्चित भएपछि मात्रै बोट बन्छ । अहिले अन्य कम्पनीहरूले पनि बोट उत्पादनमा प्रयासरत छन् । सुरुमा रेस्टुरेन्ट तथा किचनसम्बन्धी काम गरेका ढकालले विदेश घुम्न जाने नेपालीहरु समुद्र तथा वाटर एक्टिभिटिजमा रमाएको देखेपछि त्यसतर्फ आकर्षित बने ।

नेपालको खोलानाला र तालतलैया सुहाउँदो काम गर्न सके त्यसबाट मनग्ये आम्दानी लिन सकिने सोचेका ढकालले सुरुमा चिनबाट मोटरबोट ल्याएर सेनालाई बेचेका थिए । पछि उनले नेपालमा नै उत्पादन गरेर चलाउन सकिने बारे जानकारी लिए र प्राविधिक रुपमा पनि धेरै ठाउँमा गएर बुझे ।

थाइल्यान्ड, मलेसिया, न्युजिल्याण्ड लगायतका देशमा गएर त्यहाँ हुने वाटर एक्टिभिटिजबारे बुझेका ढकालले त्यहींबाट सिकेर नेपालमा कम्पनी खोले । अहिले उनले बोट चलाउने तालिम दिने एकेडेमी पनि खोलेका छन् ।

नेपालमा उत्पादन भएका मोटरबोट विदेश पठाउन सकिने भए पनि नेपालमा भरपर्दो कानुनको अभावमा समस्या भइरहेको ढकालको भनाइ छ । भन्छन्, ‘बाहिर उत्पादन भएका नेपालमा उत्पादन भएकामा गुणस्तरमा कुनै फरक छैन, हाम्रो स्टान्डर्ड क्वालिटी छ तर सरकारले कानुन नबनाउँदा बाहिर पठाउन निकै समस्या भइरहेको छ ।’

समुद्रमा चल्ने र नेपालका नदी तथा ताल तलैयामा मोटरबोट चढ्दा फरक खालको अनुभूति हुने भएकोले मानिसहरुले रुचाउने गरेको पाएको ढकालले बताए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?