+
+

इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते १०:५०

७ जेठ, काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ ।

आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकप्टर पूर्णरुपमा जलेको र  हेलिकप्टरमा रहेका सबैको निधन भएको बताएका छन् ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा इरानी राष्ट्रपति इब्राहिम रायसी, विदेशमन्त्री होसेन अमीर-अब्दुल्लाहियान, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती, पाइलट, सुरक्षा प्रमुख र चालक दलका सदस्य थिए ।

राष्ट्रपति रायसी क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गर्न अजरबैजान गएका थिए । बाँध उद्घाटन लगत्तै उनी तबरिज सहरतर्फ लागेका थिए ।

इरानको पूर्वी अजरबैजान प्रान्तको राजधानी तबरिज जानेक्रममा हेलिकप्टर बाटैमा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटना भएको ठाउँमा भिजिबिलिटी निकै कम छ रहेको बीबीसीले लेखेको छ ।

बाक्लो कुहिरोका कारण भिजिबिलिटी कमजोर हुँदा उद्धार प्रभावित भएको थियो । उद्धारकर्मी सोमबार बिहान मात्र घटनास्थल पुगेका थिए । दुर्घटना स्थलको मौसम निकै खराब रहेकाले उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न निकै कठिनाइ भएको थियो ।

टर्कीले राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर पत्ता लगाउन ड्रोन पठाएको थियो। टर्कीको समाचार एजेन्सी अनादोलुले एक ठाउँमा अत्यधिक तापको स्रोत भेट्टाएको तस्वीर सार्वजनिक गरेको थियो । टर्कीले प्राप्त गरेको यो सूचना इरानलाई जानकारी गराएको थियो ।

उद्धारमा विभिन्न देशले रुचि देखाएका थिए । रुसी सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारका लागि ४७ विशेषज्ञको टोली र एक हेलिकप्टर पठाइएको थियो।
युएईले पनि सहयोग गरेको छ ।

केही इरानीहरूले सामाजिक सञ्जालमा काफिलाका दुई हेलिकप्टर सकुशल पुग्ने र राईसीको हेलिकप्टर कसरी दुर्घटना भयो भनेर प्रश्न उठाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?