+
+
दिलै खोलेर :

‘कहिलेकाहीं गर्दै नगरेको गल्तीको पनि मार खेप्नुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ८ गते १९:४६

‘लूट’ जस्तो फिल्म निर्देशन गरेर नेपाली फिल्ममा नयाँ ट्रेन्ड सेट गर्ने निर्देशक निश्चल बस्नेत चल्तीका कलाकार पनि हुन् । थुप्रै हिट गीत र म्युजिक भिडियोमा नाचेका निश्चलले गत वर्ष निर्देशन गरेको फिल्म ‘दिमाग खराब’ यसको राजनीतिक टिप्पणीका लागि पनि चर्चित भएको थियो । निश्चलले अनलाइनखबरसँग दिलै खोलेर गरेको कुराकानी :

हिजोआज

१. हिजोआज केमा व्यस्त हुनुहुन्छ ?

नयाँ फिल्म ‘बेहुली फ्रम मेघौली’को सम्पादनमा व्यस्त छु । साथै, अर्को फिल्म के विषयमा गर्ने भनेर आइडिया पनि खेलाइरहेको छु ।

२. पछिल्लो समय के कुराले वा कुन समाचारले खुशी हुनुभयो ?

म पत्रपत्रिका र अनलाइनका लेखहरू एकदमै धेरै पढ्छु । किताबमा चाहिं ८–१० पानाभन्दा बढी पढ्न सक्ने धैर्य छैन । किताब पढ्दा निद्रा लाग्ने मेरो स्कुलदेखिकै बानी हो । त्यो छुटेको छैन । फिल्मको स्क्रिप्ट भने आरामले पढ्छु ।

नेपालले क्रिकेट विश्वकप खेलेको कुराले । नेपाल विश्वकपमा क्वालिफाई भएर खेलेको हेर्न पाउँदा एकदमै खुशी लागेको छ ।

३. दिक्क बनाएको कुरा ?

दिक्क पनि त्यसैमा जोडिएको छ । त्यत्रो विश्वकपमा गएर खेले पनि हाम्रो तयारी पुगेको रहेनछ । हाम्रो प्रयास राम्रो हो तर प्रयासले मात्रै नपुग्ने रहेछ, एक्सपर्टिज् चाहिने रै’छ । क्रिकेटले विश्वमा देशलाई चिनाए पनि अब अरू खेलाडी निकाल्ने र तिनलाई निखारेर पठाउने वातावरण नभएको देखेर दिक्क लाग्यो । त्यसतर्फ प्रयास नभएको देख्दा फ्रस्टेड भइँदोरहेछ । खेलाडीलाई बधाई मात्र दिने कि, अर्को टुर्नामेन्ट जित्नलाई यो–यो काम गर्नुपर्छ भनेर त्यसको योजना बनाएर कार्यान्वयन गर्ने ? सोच्नुपर्नेले नसोच्ने रहेछन् । राजनीति जस्तै देश पनि पशुपतिनाथले नै चलाइरा’छन् कि जस्तो लाग्ने !

४. अबका योजना के छन् ?

एउटा फिल्मको स्क्रिप्ट लेख्नु छ । आफूले निर्देशन गर्ने फिल्मका लागि दुई–तीनोटा आइडिया खेलाइरा’छु । सबभन्दा ठूलो आपत् नै लेख्ने बेला हुन्छ । आइडिया पाकेपछि फिल्म बन्छ भन्ने हुन्छ । नपाकुञ्जेल दिमागमा घुमायो बस्यो । मलाई यो चिज यसरी भन्न मन छ भन्ने पत्ता लागेको दिन बल्ल फिल्म बनाउन सकिन्छ । त्यहाँसम्म पुग्न समय लाग्छ ।

५. आजका मितिमा तपाईंको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो ?

परिवार नै हो ।

६. अचेल सबभन्दा रोचक लागेको विषय वा व्यक्ति ?

म पहिलेदखि नै धेरैतिर रुचि राख्ने मान्छे हो । अहिले फुटसल खेल्ने निम्तो आ’को छ । पहिले खेलेको हो, जाउँ न त फेरि भनेर इच्छा भइरा’को छ ।

७. नेपाली समाजको सबभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?

राम्रो पक्ष पश्चिमा भन्दा हामी फरक छौं । व्यक्ति भन्दा पनि समूहमा विश्वास गर्छौं । परिवारमा पनि सबै आफैं गर्ने भन्दा पनि सामूहिक रूपमा, छलफल गरेर काम गर्ने हाम्रो परम्परा छ । साथीभाइको जमघट, साथीभाइसँग घुमफिर सबै राम्रो छ । ठूला संयुक्त परिवारमा बस्ने, सबै भेला हुने पनि एकदमै राम्रो कुरा हो । हामी धेरैभन्दा धेरै घुलमिल हुने र आत्मीयता बढाउने खालका छौं ।

नराम्रो चाहिं हामी नेपाली चाँडै प्रतिक्रिया जनाइहाल्छौं । आएको सूचना सही हो कि गलत नछुट्याइकन देख्नासाथ रियाक्ट गरिहाल्छौं । पछि त्यो अर्कै हुनसक्छ । हामी छिटो आवेगमा आइहाल्छौं ।

८. पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?

आजकल अनलाइन नहेर्ने त को होला र ? पहिला पत्रिका किनेर वा कसैले किनेको ल्याएर समय निकालेर पढ्नुपर्थ्यो । आजकल चाहिं मोबाइलमा यसरी आ’को छ कि, अब त्यसबाट आफ्ना लागि समय निकाल्नुपर्ने भएको छ । हामी मोबाइलमा एडिक्टेड छौं, त्यहाँ धेरै सूचना आइरहेको हुन्छ । पहिले पत्रिका थियो अहिले अनलाइन न्युज, फेसबुक, ट्रोलबाट समेत सूचना आउँछ । एकदमै धेरै एक्सपोजर छ । पहिले बाहरूले टिभीमा समाचार हेर्दा उठेर जान्थ्यौं, त्यतिबेला समाचार भन्ने थियो । अहिले सबै सूचना जति समाचार भएका छन् । कसैले मनमा लागेर फेसबुकमा लेखेको पनि समाचार बनिरहेको छ । पत्रकारितामा चाहिं उद्देश्य र नियत के हो भन्नेले धेरै फरक पार्दोरहेछ । उद्देश्य सूचना दिने र सत्यतथ्य दिने भयो भने पत्रकारिता राम्रो हुन्छ तर कसैको फाइदाका लागि पत्रकारिता गरिन्छ वा चटनी दलेर प्रस्तुत गरिन्छ भने त्यसले राम्रो गर्दैन ।

९. इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?

यसो हेर्दा जे गरियो, त्यो ठिक भएरै यहाँसम्म आइयो कि भन्ने लाग्छ । तैपनि, सुधार्ने मौका पाइयो भने पहिलेको आफ्नो रिसाहा स्वभावलाई सुधार्थें । पहिले म एकदमै रिसाहा स्वभावको थिएँ । सक्ने भए पहिले पनि अहिलेको जस्तै स्वभावको आफू बन्न पाए हुन्थ्यो । अहिलेको म त मलाई राम्रो लाग्छ ।

१०. आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?

सायद धैर्य भन्ने कुरा सिकाउनुपर्छ जस्तो लाग्छ । कुनै पनि चिज भन्नु वा गर्नुभन्दा अगाडि केही समय सोचविचार गरेर गर्दा त्यो केही समयले धेरै फरक पार्छ । यसका साथै, आउँदो पुस्तालाई बस्नलायक पृथ्वी बनाउने काम पनि गर्नुपर्छ । जलवायु परिवर्तनको असर काठमाडौंको गर्मीमा देखिइरहेको छ । यो ठूलो समस्या हो । यस बारे सचेतना र प्रकृतिको संरक्षण दुवै काम गर्नु आवश्यक छ ।

सौगात मल्ल अभिनय गर्नैका लागि जन्मे जस्तो लाग्छ । अभिनय बाहेक अरू केही नगर्ने सौगात मल्ल बाहेक कोही देखेको छैन ।

र, अर्को भनेको अब आउने पुस्ताले देश हाँक्ने नेतृत्व एकदमै राम्रो छान्नुपर्‍यो । अगाडिको र हाम्रो पुस्ता त नालायक भयौं भयौं, आउने पुस्ताले उदाहरणीय नेतृत्व छाने हुन्थ्यो भन्ने लाग्छ ।

किताब

१. किताब पढ्ने बानी छ कि छैन ? बानी कसरी बस्यो ?

म पत्रपत्रिका र अनलाइनका लेखहरू एकदमै धेरै पढ्छु । किताबमा चाहिं ८–१० पानाभन्दा बढी पढ्न सक्ने धैर्य छैन । किताब पढ्दा निद्रा लाग्ने मेरो स्कुलदेखिकै बानी हो । त्यो छुटेको छैन । फिल्मको स्क्रिप्ट भने आरामले पढ्छु । जसले लेखेको स्क्रिप्ट भए पनि यो मेरो संसार हो जस्तो लाग्छ । पहिले म कमिक्स धेरै पढ्थें । मलाई शब्दभन्दा बढी चित्रले आकर्षित गथ्र्यो । यसमा थोरै पढेर पनि धेरै बुझिने भइयो ।

२. पढ्न मनपर्ने विधा ?

पत्रपत्रिका र अनलाइनका लेखहरू नै हो बढी पढ्ने । अर्को त फिल्मको स्क्रिप्ट नै हो । मैले जतिवटा फिल्म बनाएको छु, ती सबैको रेफरेन्स पत्रपत्रिकाबाट आएका हुन् । समाचारमा धेरै कुरा लुकेको हुन्छ ।

३. सबभन्दा मनपरेको वा प्रभाव पारेको पुस्तक ?

‘ह्याम्लेट’ र ‘ग्रेट एक्सपेक्टेसन्स्’ ।

४. निराश बनाएको पुस्तक ?

त्यस्तो किताब पढ्न बाँकी होला ।

५. नेपालमा के कस्तो विषयमा धेरै पुस्तक लेखिनुपर्छ ?

इतिहासका बारे धेरै राम्रोसँग लेखिएको छैन, इतिहास सम्बन्धी धेरै लेखिए हुन्थ्यो जस्तो लाग्छ । फिल्मलाई चाहिएर रिसर्चका लागि खोज्दा पनि इतिहासका धेरै कुरा भेट्न गाह्रो पर्ने गरेको छ ।

६. तपाईंका प्रिय लेखकहरू ?

उपेन्द्र सुब्बाका कविता मलाई मन पर्छ । साधारण भोगाइलाई साधारण शैलीमा मजाले भने जस्तो लाग्छ । बुद्धिसागरका स्क्रिप्ट र उपन्यास दुवै मन परेको छ ।

८. फिल्ममेकर बन्न चाहनेहरूले पढ्नुपर्ने पुस्तक ?

अलिकति कल्पनाशीलता बढाउन मद्दत गर्ने पढ्नुपर्छ जस्तो लाग्छ । अनि, फिल्मको टेक्निकल विषयको ज्ञान पनि महत्वपूर्ण कुरा हो । फिल्म भावनात्मक कला भए पनि यसलाई बनाउन प्राविधिक ज्ञान उत्तिकै महत्वपूर्ण हुन्छ । कल्पनामा सृजना गर्नसक्ने शक्ति बढाउनका लागि त्यस्ता कुराहरू पढ्दा फाइदा हुन्छ । कल्पनाशीलता राम्रो भयो भने यथार्थलाई पनि फिल्ममा सृजनात्मक तरिकाले व्यक्त गर्न सकिन्छ ।

९. एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुनै पात्रसँग बिताउनुहुन्थ्यो ?

सानो छँदा स्कुलमा पढेका कथाको कुनै पात्र छान्थें होला । त्यतिबेला ती पात्रहरू गज्जब लाग्थे ।

सिनेमा

मौका मिलेसम्म घुमफिर गर्न मन पर्छ । धेरै समय हिंड्न चाहिं मन लाग्दैन । लामो पैदल यात्रा गर्न सक्दिनँ । कसैले हाइकिङ जाउँ भन्यो भने ‘तिमीहरू हिंड, म बाइकमा आउँछु’ भन्ने गरेको छु ।

१. पहिलोचोटि फिल्म हेर्दाको सम्झना कस्तो छ ?

सानो हुँदाखेरि ‘बाबा–पापा’ कार्टुन र ‘नाइट राइडर’ भन्ने इङ्गलिस सिरिज अरूको घरमा गएर टिभीमा चियाएर हेरेको सम्झना छ । सानैमा टिभीमा ‘रामायण’, ‘महाभारत’ हेरेको पनि याद छ । हलमा गएर हेरेको चाहिं ‘साइनो’ हो । जयनेपाल हलको अगाडिको सिटमा बसेर हेरेको थिएँ । मामाहरूसँग गए जस्तो लाग्छ ।

२. कस्ता फिल्म हेर्न मन पर्छ ?

मलाई एक्सन थ्रिलर मन पर्छ । यस्तो फिल्ममा मार–धाडसँगै फास्ट पेसको पटकथा हुन्छ । त्यस्ता फिल्म मलाई एकदमै मन पर्छ । बनाउन पनि त्यस्तै इच्छा लाग्छ ।

३. साह्रै मन परेका फिल्म ?

सानो हुँदा हेरेको र अहिलेसम्म दिमागबाट नगएको एउटा फिल्म छ– डब भर्सनमा हेरेको ‘नकिङ अन हेवन्स डोर’ । यो जर्मनीको फिल्म हो जस्तो लाग्छ । त्यसको धेरै भाषामा रिमेक पनि भएको छ । यो फिल्मको कथा पनि साधारण छ । ब्लड क्यान्सर लागेर मर्न आँटेका दुई जना साथीले अन्तिम दिन कसरी बिताउन चाहन्छन् भन्ने कथा हो ।

४. चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?

धेरै छन् तर भन्न मिल्दैन ।

५. हेर्ने फिल्म कसरी छान्नुहुन्छ ?

कुनै फिल्म त म पोस्टर हेरेरै यो हेर्छु भनेर तय गर्छु । कतिवटा ट्रेलर हेरेर छुटाउनुहुँदैन भन्ने हुन्छ । फरक–फरक कुराले अपिल गरिरहेको हुन्छ ।

६. मन परेका कलाकार वा फिल्ममेकर ?

फिल्ममेकरमा मलाई क्विन्टिन टोरन्टिनोको जनरा नै मन पर्छ । पछिल्लो समयमा म क्रिस्टोफर नोलानबाट पनि प्रभावित छु । उनको कथा भन्ने शैली दर्शकको दिमागलाई काम दिइरहने खालको छ । नेपालमा सुजित बिडारीको फिल्म ‘ऐना झ्यालको पुतली’ सारै मन परेको थियो । मीन भामका फिल्म पनि मलाई मन पर्छ । कलाकारमा सौगात मल्ल र स्वस्तिमा खड्का । सौगात मल्ल अभिनय गर्नैका लागि जन्मे जस्तो लाग्छ । अभिनय बाहेक अरू केही नगर्ने सौगात मल्ल बाहेक कोही देखेको छैन । स्वस्तिमा खड्काको पहिलो फिल्मदेखि अहिलेसम्म हेर्दा अभिनय र फिल्म छनोटको रेञ्जमा निकै ग्रो भएको छ ।

७. नेपालमा कस्ता फिल्म धेरै बनुन् जस्तो लाग्छ ?

सबैखाले बनुन् । प्रायः फिल्म मिक्स जनरामा बनिरा’का छन् । कमेडी फ्लेवरमा निकाल्न खोजे जस्तो लाग्छ । तर, अबचाहिं जनरा स्पेसिफिक फिल्म बन्नुपर्छ जस्तो लाग्छ । यसले हेर्नेलाई भिन्न स्वाद दिइरहन्छ ।

८. सिनेमाले मानिसलाई यथार्थसँग साक्षात्कार गराएको ठिक कि एकछिन भए पनि अर्कै संसारमा पुर्‍याएको ?

फिल्ममा देखाइने यथार्थ पनि बढाइँचढाइ नै हुन्छ । हामीले कुरा गरिरहेको फिल्म आफैंमा फिक्सन हो, डकुमेन्ट्री होइन । फिल्ममा देखाएको चित्र दर्शकले साँच्चै हो भनेर पत्याउने जस्तो बनाउनुपर्छ, जस्तोसुकै नक्कली कुरा पनि । संसारमा हुँदै नभएको कुरा पनि फिल्ममा विश्वसनीय तरिकाले देखाउन सकिन्छ । दुई घण्टाको फिल्ममा एकदमै नयाँ संसार सृजना गरेर, त्यसका पात्र र भोगाइ साँच्चिकै हुन् भन्ने विश्वास दिलाउन सक्नुपर्छ । राम्रो फिल्म विश्वसनीय हुनुपर्छ ।

घुमफिर र सोख

१. घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ ?

मौका मिलेसम्म घुमफिर गर्न मन पर्छ । धेरै समय हिंड्न चाहिं मन लाग्दैन । लामो पैदल यात्रा गर्न सक्दिनँ । कसैले हाइकिङ जाउँ भन्यो भने ‘तिमीहरू हिंड, म बाइकमा आउँछु’ भन्ने गरेको छु ।

२. सबभन्दा धेरै गएको र जान मन भएको ठाउँ ?

सबभन्दा धेरै गएको त पोखरा होला । र, जतिचोटि गए पनि जान मन लागिराख्ने ठाउँ पनि पोखरा नै हो ।

३. सबभन्दा मन परेको ठाउँ वा यात्रा ?

पहिलोचोटि मुस्ताङ जाँदा । ‘कबड्डी’को लोकेसन हेर्नका लागि गइएको थियो । नेपालमा पनि यस्तो ठाउँ छ र जस्तो लागेको थियो । मेरो आँखा नै क्यामेरा हो जस्तो लागेको थियो ।

हालै २०-२२ वर्षपछि जुम्ला मामाघर गएको थिएँ । वैशाख–जेठमा रारा पुगेर फर्किंदा बाटोमै हिउँ पर्‍यो । त्यहीं रोकिनुपर्‍यो । त्यतिखेर हिउँ पर्दाखेरिको दृश्य जता फर्के पनि फिल्मको क्यानभास जस्तो लागेको थियो । जाँदा त्यस्तो सुक्खा देखेको ठाउँ, फर्किंदा हिउँले अर्कै भइसकेको थियो । यति सुन्दर दृश्य देख्दा आफूलाई भाग्यमानी ठानियो ।

४. गीत कत्तिको सुन्नुहुन्छ ? सबभन्दा मन परेका गायक ?

गीत त सुनिरा’को हुन्छु । म नाच्नेखाले गीतमा धेरै देखिए पनि सुन्नचाहिं इमोसनल, स्लो गीत मनपर्छ । सुगम पोखरेलको आवाज मलाई एकदमै मन पर्छ । पछिल्लो टाइममा इन्द्रकला राईको स्वर पनि राम्रो लाग्छ ।

५. आजभोलि कस्ता गीत, कसको गीत सुनिरहनुभएको छ ?

अहिलेको युवाहरूका नयाँ शैलीका गीतहरू सुन्दैछु । सुरुमा शब्द र संगीत कस्तो हो यो जस्तो लाग्थ्यो, अहिले मजा लागिरा’छ । यस्ता गीतहरू सुनिराखेपछि आनन्द आउने रहेछ ।

६. के कुराको विशेष सोख छ ?

खासै सोख छैन । दिनको एकछाक दाल र भातचाहिं चाहिन्छ चाहिन्छ । तरकारी नभए पनि हुन्छ । दाल र भात खान पाइएन भने जति खाए पनि भोकै छु जस्तो लाग्छ ।

७. खानाको कत्तिको सौखिन हुनुहुन्छ ? मन पर्ने परिकार ?

सौखिन नै ठान्छु । मेरो श्रीमतीले मिठो खानेकुरा देख्यो भने कति चाँडो खान्छौ भनेर मलाई जिस्क्याइरा’को हुन्छ । मलाई राम्रोसँग सजाइएको डिस चाखिहाल्न पाए हुन्थ्यो भन्ने हुन्छ, टिभीमा देखेको पनि । मन पर्ने परिकार त सदाबहार दाल–भात नै हो ।

राजनीति

१. नेपालको राजनीतिलाई एक वाक्यमा भन्नुपर्दा ?

जुन जोगी आए पनि कानै चिरेका !

२. हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?

राजनीतिमा सबभन्दा ठूलो कुरा विचार हो । हरेक पार्टीले एउटा विचार र सिद्धान्त बोकेको हुन्छ । अहिलेको समयमा राजनीतिक पार्टीले आफ्नो सिद्धान्त नै बिर्से जस्तो लाग्छ । जुन विचारले त्यो पार्टी निर्माण भएर राजनीतिमा होमिएको हो त्यो विचार नै खोइ कहाँ छ जस्तो लाग्छ ।

३. नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुधार्नुहुन्थ्यो ?

त्यस्तो ठूलो केही होइन, झुटो कसैले बोल्नै नसक्ने बनाइदिन पाए हुन्थ्यो जस्तो लाग्छ ।

४. मनपरेका वा प्रभाव पारेका नेता/राजनीतिज्ञ ?

मलाई काठमाडौंका मेयर बालेनको काम गर्ने शैली ठिक लागिरहेको छ । धरानका मेयर हर्क साम्पाङको शैली पनि मलाई मन पर्छ । यिनको पहिलो प्राथमिकतामा काम, बाँकी सब तपसिल भन्ने शैली छ । दुवै जनाले कति ठिक तरिकाले काम गरिरहेका छन् भन्नेमा प्रश्न होला, मलाई पनि कुनैबेला यो ठिक भइरा’छैन कि भन्ने नलागेको पनि होइन । तर, म उनीहरूको पूरा कार्यकाल हेर्न चाहन्छु । र, उनीहरू जस्ता अरू पनि मान्छे आउन् भन्ने चाहन्छु ।

५. मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?

सप्पै राजनीतिज्ञसँग मलाई पाँच वर्ष काम गर्न दिइनेछ भन्ने मञ्जुरीनामा लिन्थें । अनि बल्ल काम थाल्थें । प्रत्यक्ष निर्वाचित हुने प्रधानमन्त्री भए काम गर्न सकिन्थ्यो, अहिलेको सिस्टममा त मञ्जुरीनामा लिएर मात्रै प्रधानमन्त्री हुनुपर्छ ।

६. एक दिन बिताउनुपर्‍यो भने नेपालको/संसारको कुन नेता छान्नुहुन्छ ?

मलाई एक दिनभरि शिक्षामन्त्री सुमना श्रेष्ठको काम हेर्न मन छ । एकजना काम गर्न खोज्ने मान्छेले दिनभरि के–के झेल्नुपर्दोरहेछ भन्ने थाहा पाइन्थ्यो होला !

सामाजिक सञ्जाल

१. दिनको कति घण्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?

तीनचार घण्टा त हुन्छ होला । फेसबुक नै धेरै चलाउँछु ।

२. बिहान उठ्नासाथ र राति सुत्नेबेला फोन हेर्ने बानी छ कि छैन ?

त्यो बानी नभा’को मान्छे हुनलाई त फोनै नभा’को मान्छे हुनुपर्छ !

३. सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?

राम्रो कुरा यसभित्र पूरै संसार छ । नराम्रो कुराचाहिं सबै कुरा भएरै त्यसमा गञ्जागोल भए जस्तो पनि लाग्छ । यहाँ चाहिने र नचाहिने सबै कुरा छन्, हामी चाहिने र नचाहिने छुट्याउन नसक्ने हुँदै गइरहेका छौं । देखिएका जति सबै कुरालाई समय दिइरहेका छौं, महत्वपूर्ण ठानिरहेका छौं । मान्छेको रुचि भन्ने नै सकिए जस्तो लाग्छ– स्क्रिनमा जे देखियो त्यही रुचि भए जस्तो । एकैचोटि सबै कुरा आउँदा मान्छेको अति धेरै समय र ध्यान त्यसले खिचिरहेको छ ।

४. सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना सञ्जालको काम बढी गरेको छ कि गलत सूचना बढी फैलाउने काम गरेको छ ?

दुइटै उत्तिकै छ जस्तो लाग्छ । गलत सूचना झिल्केमिल्के र बढाइँचढाइ गरेर प्रस्तुत गरिने भएकाले त्यो झन् आकर्षक देखिन्छ । मान्छेको ध्यान त्यही गलत सूचनाले तान्ने अनि सञ्जालको एल्गोरिदमले जसले जे बढी हेर्छ उसलाई त्यही देखाउँदा झन्–झन् गलत सूचना मात्रै देखाइदिने गरे जस्तो लाग्छ ।

५. सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?

लाग्दैन । यो भनेको ओटीटी आएर फिल्म हल विस्थापित हुन्छ भने जस्तो हो । दुवैका पाठक दर्शक फरक छन् । संख्यामा चाहिं तल–माथि हुनसक्छ । उदाहरणका लागि मेरो बुवाले मोबाइल हेरे पनि पत्रिका पढ्न छोड्नुहुन्न । हरेक दिन सबै पत्रिका ल्याएर पढ्नुहुन्छ ।

पेशा/व्यवसाय

१. कलाकार/फिल्ममेकर हुनुको सबभन्दा राम्रो र नराम्रो कुरा के छ ?

यसले ठूलो भीडमा पहिचान बनाउँछ । तर, तपाईंको सानो गल्ती पनि एकदमै ठूलो देखिन्छ त्यो भीडमा । त्यसैले गल्ती गर्ने छुट हामीलाई हुँदैन । कहिलेकाहीं गर्दै नगरेको गल्तीको पनि मार खेप्नुपर्ने हुन्छ ।

२. कुन समयमा तपाईंलाई फिल्मकेकर बन्नुपर्छ भन्ने लाग्यो ?

अस्ट्रेलिया हुँदा । मलाई फिल्म बनाउँछु भन्ने थिएन । ‘कागबेनी’ हेरेको थिएँ । साह्रै मन परेको थियो । पिक्चर क्वालिटी, लोकेसन सबै राम्रो थियो । तर, त्यसपछि हेरेका दुई तीनोटा फिल्म यति नराम्रा थिए, ५–१० मिनेटभन्दा हेर्नै सकिनँ । तिनका डीभीडी निकालेर फुटालेको छु । मलाई यति रिस उठ्यो ती फिल्म देखेर, योभन्दा राम्रो त मै बनाउँछु जस्तो लाग्यो । अनि म बनाएरै देखाइदिन्छु भनेर लागें । त्यसपछि फिल्म कसरी बन्छ भनेर पढ्न थालें । अनलाइनमा खोजी–खोजी पढ्न र हेर्न थालें ।

३. कलाकार/फिल्ममेकर नबनेको भए के बन्नुहुन्थ्यो होला ?

मैले बुबालाई ‘फिल्म बनाउँछु पैसा दिइस्यो, यसमा सफल भइनँ भने जे भन्यो त्यही गर्छु’ भनेको थिएँ । झापा गएर हलो जोत्थें होला, किसान बन्थें होला !

४. तपाईंको कोही रोलमोडल छ ?

यो जीवन नै रोलमोडल हो । चाहे आफ्नो होस् वा अरूको जीवनबाटै धेरै कुरा सिकिरहेका हुन्छौं । एकजना मान्छे भन्ने त छैन । जीवन भोगाइ नै सबभन्दा ठूलो कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?