News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वास तिम्सिनाको लेखन तथा निर्देशनमा बनेको वेब-सिरिज 'हरामी' पाँच भागमा युट्युबमा सार्वजनिक भएको छ।
- 'हरामी' सिरिजमा निश्चल बस्नेत, आयुष्मान जोशी, आना शर्मा लगायत स्थापित कलाकार अतिथि रूपमा प्रस्तुत भएका छन्।
- सिरिजले युवा पुस्ताको जीवनशैली, सोच र सम्बन्धलाई केन्द्रमा राखेर प्रेम, करिअर र सम्बन्धका विभिन्न आयाम प्रस्तुत गरेको छ।
काठमाडौँ । नेपाली फिल्म तथा कन्टेन्टको रोचक समीक्षा गर्दै दर्शकमाझ ‘बिटी कान्छा’ उपनामले परिचित विश्वास तिम्सिनाको लेखन तथा निर्देशनमा बनेको वेब-सिरिज ‘हरामी’ युट्युबमा सार्वजनिक भएको छ ।
५ भागमा निर्माण गरिएको यो वेब-सिरिज ‘बिटी कान्छा’ नामक युट्युब च्यानलमार्फत हेर्न सकिन्छ । प्रत्येक भाग करिब २५ मिनेट लामो छ ।
‘हरामी’ को प्रत्येक भागमा नेपाली फिल्म क्षेत्रका स्थापित कलाकारलाई अतिथि कलाकारका रूपमा प्रस्तुत गरिएको छ । सिरिजका विभिन्न भागमा निर्देशक निश्चल बस्नेत, अभिनेता आयुष्मान जोशी, अभिनेत्री आना शर्मा, गौमाया गुरुङलगायतका कलाकार देखिएका छन् ।
युवा दर्शकलाई लक्षित गर्दै फरक स्वादको कन्टेन्ट प्रस्तुत गर्ने उद्देश्यले सिरिज निर्माण गरिएको निर्देशक तिम्सिनाले बताए । उनका अनुसार ‘हरामी’ ले घरेलु दर्शकमा सीमित नभई युवा पुस्ताको जीवनशैली, सोच र सम्बन्धलाई केन्द्रमा राखेको छ ।
‘प्रत्येक भागमा स्थापित कलाकारलाई समेटेर दर्शकलाई नयाँ सरप्राइज दिने प्रयास गरेका छौँ’, उनले भने, ‘विश्वभर वेब-सिरिज लोकप्रिय भइरहेका बेला नेपालमा पनि नयाँ प्रयोग गरेका हौँ ।’
सिरिजको कथा एउटै फ्ल्याटमा बस्ने तीनजना युवाको जीवन वरिपरि घुम्छ, जहाँ प्रेम, करिअर र सम्बन्धका विभिन्न आयाम प्रस्तुत गरिएका छन् । प्रत्येक भागमा फरक विषयवस्तुलाई उठान गर्ने प्रयास गरिएको छ । ‘हरामी’ निर्माणको प्रेरणाबारे निर्देशक तिम्सिनाले सिरिजका एक पात्र निकुन श्रेष्ठको जीवनबाट आइडिया आएको खुलासा गरे ।
मन प्रोडक्सनसँग आबद्ध निकुन श्रेष्ठ सिरिजका कार्यकारी निर्माता हुन् । यसमा सफल केसी निर्माता र प्रतीक गुरुङ क्रिएटिभ प्रोड्युसर हुन् । यी दुवै फिल्म ‘हरि’ का लेखक तथा निर्देशक हुन् । सिरिजका नियमित कलाकारमा निकुनसँगै ऋषिकेश बस्याल, सशांक बोहरा र रक्षा थापा छन् ।
प्रतिक्रिया 4