
News Summary
Generated by OK AI. Editorially reviewed.- निश्चल बस्नेतले सामाजिक सञ्जालमार्फत बालेन र हर्क साम्पाङलाई एकै ठाउँमा आइदिन आग्रह गरेका छन्।
काठमाडौं । थोरै नेपाली सेलिब्रेटीमध्येका एक हुन् निश्चल बस्नेत, जो समाजको कित्तामा उभिएर वकालत गरिरहेका हुन्छन् । समाजले के भन्दैछ ? समाज के चाहन्छ ? उनी त्यसलाई धैर्यपूर्वक सुन्दैनन् मात्र आफ्नो धारणा पनि राख्ने गर्छन् ।
खासगरी सामाजिक सञ्जालमार्फत उनी आफ्नो धारणा राख्छन् । त्यसले बेलाबखत ठूलै हलचल पैदा गर्छ । जस्तो कि, पछिल्लो उनको स्टाटसले पैदा गरेको छ । निश्चलको पछिल्लो स्टाटसमा बालेन र हर्क साम्पाङलाई एकै ठाउँमा आइदिन आग्रह गरेका छन् । जगजाहेर नै छ, केही समययता हर्क साम्पाङले निरन्तरजसो बालेनविरुद्ध स्टाटस लेखिरहेका छन् । बालेनले त्यसको प्रत्युत्तरमा एउटै स्टाटस लेखेका छन् । त्यो पनि प्रेममय ।
बालेनले हर्कको कुनै पनि आरोपहरू ख्ण्डन गरेका छैनन् । बरू आफूले सधैं हर्क साम्पाङलाई ‘माया’ गरिरहने उल्लेख गरेका छन् । यति हुँदाहुँदै पनि हर्क साम्पाङ थामिएका छैनन् । हरेक दिन उनी बालेन लक्षित कुनै न कुनै टिप्पणी गरिरहेकै हुन्छन् ।
त्यसै त मुलुकमा भ्रम र अफवाहको खेती मौलाएको छ । यसले समाजलाई अझ भ्रम र दलदलमा फसाउने जोखिम छँदैछ ।
यही पृष्टभूमिमा निश्चलले लेखेका छन्, ‘बालेनविरुद्ध फैलाइएका नकारात्मक कुराहरूको प्रमाण माग्नुहोला हल्ला फैलाउनेहरूसँग । प्रमाण भए सँगै जाउँला मुद्धा दर्ता गर्न ।बालेनमा देशप्रतिको माया उसको गीत शब्द र फेसबुक स्टाटसमा मात्र नखोज्नुहोला । बालेन आफू बदनाम हुन तयार छ तर देश बदनाम हुन कुनै पनि तत्वसँग मिल्दैन ।
देशलाई माया गर्ने तपाईं हामी बीचकै मान्छे हो बालेन । मेरो विश्वास हो बालेन ।’
त्यसपछि निश्चलले हर्क साम्पाङलाई सम्बोधन गरेका छन् । उनी लेख्छन्, ‘प्रिय हर्क सर, तपाईंको लागि भोट माग्ने म पनि एक हुँ । तपाईंलाई माया गर्ने म पनि एक हुँ । देशमा जेन जीले ल्याएको परिवर्तन तपाईंजस्तो देशभक्त जनसेवकले सरकार चलाउनुहुन्छ र आउने पुस्तालाई देशको फेरिएको स्वरुप देखाउनुहुनछ भनेर हो ।
बिन्ती गर्छु, देश र शहीद भाइबहिनीहरू सम्झेर दुवैजना एकठाउँमा आइदिनुहोला । अरूको कुरा सुनेर आवेग हैन, एक-अर्काको कुरा सुनेर योजना बुन्नुहोस् । सुन्दर शान्त नेपालको ।’
निश्चलको स्टाटसमा हजारौं रियाक्ट, कमेन्ट र सेयर छ । धेरैले उनको भनाइमा समर्थन जनाएका छन् ।
प्रतिक्रिया 4