+
+
कथा :

खुशी हराएका मान्छेहरू

प्रकाश तिवारी प्रकाश तिवारी
२०८१ असार २२ गते १४:५७

जन्मेर खुट्टा टेक्न नसकिरहेको दिन । मरेर अलविदा भन्न हिच्किचाइरहेको रात ! अलिकति उज्यालो । थोरै अँध्यारो । लाल थियो पूर्वी क्षितिज । घाम झुल्किसकेको थिएन ।

लेखक भावशून्य थियो त्यस बिहान । जीवनमा उसले दर्जनौं कथाहरू लेख्यो । लाखौं–लाख शब्दहरूलाई आख्यानको मालामा उन्यो । परन्तु त्यो बिहानको अवस्था भिन्न थियो । अनेकौं यत्नका बाबजुद उसको दिमागमा कथाको बीज अंकुरित हुनसकिरहेको थिएन । निराश लेखक कलमसँग सम्बन्धविच्छेद गर्ने टुङ्गोमा पुग्नै आँटेको थियो । उसको कानमा मानिसहरू चिच्याएको आवाज प्रतिध्वनित हुन थाल्यो । ऊ हतार–हतार कौसीमा निस्कियो अनि सडकतर्फ नजर दौडायो । लेखकले देख्यो–

‘सरकार हाम्रो जिम्मा ले
हराएको खुशी फिर्ता दे !’

एक हूल मानिस नारा लगाउँदै अघि बढिरहेका थिए ।

जुलूस केही मिनेटमा ‘खुशी मन्त्रालय’को गेट अगाडि पुगेर रोकियो । मन्त्रालय चौबीसै घण्टा खुला रहन्थ्यो । ‘खुशी मन्त्रालय’ सरकारी सेवाबाट अवकाशप्राप्त कर्मचारीहरूको तनाव व्यवस्थापन गर्दै अवकाश जीवनलाई सुखमय बनाउने उद्देश्यका साथ स्थापना भएको थियो । यो देशलाई लामो समय सेवा पुर्‍याई अवकाश पाएका कर्मचारीप्रति राज्यले गरेको जिम्मेवारीबोधको परिणाम पनि थियो ।

मन्त्रालयले अवकाशप्राप्त कर्मचारीहरूको मानसिक स्वास्थ्य परीक्षण गरी निःशुल्क उपचार सेवा उपलब्ध गराउँथ्यो । खुशी मन्त्रालयमा तनाव व्यवस्थापनको क्षेत्रमा विशिष्ट ज्ञान, अध्ययन तथा तालिम प्राप्त डाक्टरहरू थिए । खुशी मन्त्रालयको स्थापना प्रशासनिक इतिहासको विशिष्ट घटना थियो ।

खुशी मन्त्रालय पुग्ने प्रायः सबै पूर्व सरकारी कर्मचारीहरूमा विविध प्रकारको मानसिक समस्याहरू हुन्थे । डाक्टरहरू उनीहरूको रोग निदानका निम्ति तयारी अवस्थामा रहन्थे । त्यस दिनको मुख्य जिम्मेवारी डाक्टर अविनाशलाई सुम्पिएको थियो । डाक्टर अविनाश हँसिलो मानिस थियो । ऊ सधैं प्रसन्न मुद्रामा प्रस्तुत हुन्थ्यो । अविनाश यति प्रसन्न देखिन्थ्यो कि, लाग्थ्यो उसले दुःखी हुन जानेकै छैन ।

खुशी मन्त्रालयमा उपस्थित हुने पूर्व कर्मचारीहरूको अवस्था भने त्यसको ठीक विपरीत हुन्थ्यो । उनीहरू जीवन जिउने जोश जाँगर सकिए जस्ता देखिन्थे । त्यस दिन खुशी मन्त्रालयमा नाराबाजी गर्नेहरूको अवस्था पनि त्यस्तै थियो । अवकाश प्राप्त ती अधिकारीहरू हतास एवं निराश मुद्रामा थिए । तिनीहरूमध्येका कतिपय कडाखाले मानसिक समस्याको शिकार भएको अनुमान लगाउन सकिन्थ्यो ।

डाक्टर अविनाशले मन्त्रालयको ढोकामा नाराबाजी गरिरहेका सबैलाई हलमा लिएर गयो । डाक्टर अविनाशको रोग निदान गर्ने तरिका थोरै भिन्न थियो । ऊ अनुहार अध्ययन र सोधपुछमा विशेष ध्यान दिन्थ्यो । र त्यसकै आधारमा ठोस निष्कर्षमा पुग्थ्यो । उसले त्यो दिन पनि त्यसै गर्‍यो । यस्तैमा एक जना निराश अनुहारको व्यक्ति समस्या व्यक्त गर्न कुर्सीबाट उठ्यो ।

‘तपाइँको नाम ?’ सोध्यो डाक्टरले ।

‘आलोक बस्नेत ।’ जवाफ आयो ।

‘उमेर ?’

‘एकसट्ठी वर्ष ।’

‘तपाइँलाई के हुन्छ ?’

‘मन सहनै नसक्ने गरी दुख्छ । चित्त जोड्नै नसक्ने गरी फाट्छ । घाउमा अमिलो निचोरे जस्तो गरी छाती चहर्‍याउँछ ! जब पदमा बसेर मोजमस्ती गर्दाको दिन सम्झिन्छु, मुटुमा एसिड पोखेझैं जलन हुन थाल्छ ।’ उसले मनको बह पोख्यो ।

आलोक आसनमा बस्न भ्याएको थिएन । दोस्रो व्यक्तिले बोल्ने अनुमति माग्यो । ‘तपाइँको नाम ?’ डाक्टरले सोध्यो ।

‘म दिनेश शर्मा !’

आलोक जस्तै दिनेश पनि थकित र त्रसित देखिन्थ्यो । उसले लगलग काम्दै भनाइ राख्न सुरु गर्‍यो–

‘म जोगी भएँ ! म रित्तिएँ । म सिद्धिएँ । मेरो अर्थ भण्डार रित्तिंदै गइरहेको छ । सिद्धिंदै गइरहेको छ । झिकिने मात्र, नथपिने भएपछि हुने भनेकै त्यही हो । हिजो थपिएको थपियै हुन्थ्यो । आज झिकिएको झिकियै हुन्छ । आज बैंक गयो झिक्यो । भोलि बैंक गयो झिक्यो । सधैं–सधैं झिक्न थालेपछि जमिनमुनिको खनिज त रित्तिन्छ, पैसा नाथेको के कुरा ! अनि सोच्छु, मेरा सौभाग्यका दिन गएछन् । दुर्भाग्यका दिन सुरु भएछन् । एक सुका खर्च नगरी युरोप–अमेरिका घुमेको झल्को आउन थालेपछि त झन् धड्कनै रोकिएला जस्तो हुन्छ ।…..’ ऊ भन्दैथियो, ‘कुरो बुझें । अब अर्को….’ डाक्टरले भन्यो ।

दिनेशपछि सागर तामाङले हात उठायो । सागर सचिव पदबाट अवकाश भएको थियो । उसको पीडा पनि पूर्ववर्तीहरूसँग मिल्दोजुल्दो थियो ।

‘मेरो घरमा एक वर्षअघिसम्म गहकिलो ब्रिफकेस सहित उपस्थित हुनेहरूको ताँती लाग्थ्यो । चाकडीमा धाउनेहरूलाई भेट्न भ्याईनभ्याई हुन्थ्यो । आज ती दिन सपना भए । यतिखेर मेरो घर भूतबंगला जस्तो भएको छ । न कोही भेट्न आउँछ, न कसैले उपहार दिन्छ । हिजोसम्मको सुन म । एकाएक पित्तल भएँ ! त्यो सब भोग्दा छाती भत्भत् पोल्न थाल्छ । स्वार्थी मानिसहरूलाई देख्दा थुक्न मन लाग्छ ! अरू उपाय नदेखेपछि फेसबुक वालमा कुण्ठा पोख्नुलाई पेशा बनाउन थालेको छु’, उसले भँडास पोख्यो ।

कार्यक्रमको चौथो वक्ता थियो गणेश क्षेत्री । अविनाशले बोल्ने इशारा दिए लगत्तै उसले एक पटक लामो सास फेर्‍यो अनि भन्न थाल्यो–
‘म सेवाबाट अनिवार्य अबकाश भएको पाँच वर्ष भयो । सार्वजनिक प्रशासनका प्रायः सबै आकर्षक ओहोदामा बसेको मान्छे हुँ म । अनिवार्य अवकाशपछिका ५–६ महिना त रमाइलै बिते । त्यसपछि भने मन बैरागिंदै जान थाल्यो । एकान्तमा बसिरहन मन लाग्ने । रोउँ–रोउँ हुने । रिस उठिरहने । खान मन नलाग्ने । निद्रा नपर्ने । मनमा नकारात्मक चिन्तन आइरहने । आदि–इत्यादि हुन थाल्यो । फलतः म ……..’ गणेश यत्तिमै रोकियो ।

पूर्व कर्मचारीहरूले पीडा–व्यथा सुनाउने र डाक्टरले सुन्ने क्रम लामै समय चल्यो । अन्त्यमा उठेका मूलभूत सबालहरूको सम्बोधन गर्न डाक्टर अविनाश अघि सर्‍यो –

‘सर्वप्रथम त म खुशीको खोजीमा मन्त्रालय पाल्नुहुने सबैमा एकमुष्ट अभिवादन गर्न चाहन्छु । यहाँहरू हराएको खुशीको खोजीमा आउनुभयो । मैले यहाँहरूको परीक्षण, अध्ययन गरें । अध्ययनबाट म यो निष्कर्षमा पुगेको छु कि, तपाइँहरूको समस्या शारीरिक नभई मानसिक हो । यहाँहरू एक खाले ‘मेन्टल डिस्अर्डर’ को सिकार हुनुभएको छ । तपाइँहरू हिजो लाभको पदमा हुुनुहुन्थ्यो । पर्याप्त मान–सम्मान, इज्जत र आर्थिक लाभ प्राप्त गर्नुहुन्थ्यो । जब सेवाबाट रिटायर्ड हुनुभयो ती सबै एकादेशको कहानी बने । त्यस्तो परिस्थिति व्यहोर्नु पर्दा तपाइँहरू पानी विनाको माछा जस्तो हुनुभयो । आफूलाई नियन्त्रणमा राख्ने शक्ति गुमाउँदै जानुभयो ।

जहाँसम्म उपचारको सवाल छ, मेरो विचारमा तपाइँहरूको उपचार प्राकृतिक पद्धतिद्वारा गरिनु जरूरी छ । यसर्थ मैले तपाइँहरूलाई अलकापुरीस्थित ‘प्राकृतिक चिकित्सा केन्द्र’मा पठाउने प्रबन्ध मिलाएको छु । अलकापुरी यहाँबाट दश घण्टाको हवाई मार्ग पर अवस्थित छ । त्यहाँको प्राकृतिक सुन्दरता अति नै मनमोहक छ । तपाइँहरू अबको केही बेरमै विमानमा सवार भई अलकापुरी ‘प्राकृतिक चिकित्सा केन्द्र’तर्फ प्रस्थान गर्नुहुनेछ । ‘प्राकृतिक चिकित्सा केन्द्र’मा लाग्ने सम्पूर्ण उपचार खर्च खुशी मन्त्रालयले व्यहोर्नेछ ।’ भूमिका सहित डाक्टर अविनाशले भन्यो ।

त्यसपछि उसले सबैलाई विमानस्थल लिएर गयो र जहाज चढाएर फर्कियो । अलकापुरी प्राकृतिक चिकित्सा केन्द्र जाने हवाई मार्गको दृश्य अविनाशले बयान गरे जस्तै थियो । ‘हरियो जंगल । हरियै पहाड । मस्तकमा सेतो हिमाल । सुन्दर झरना । कलकल बगिरहेका खोलानाला । जल प्रवाहबाट निर्मित तालतलैया । थरीथरीका जंगली जनावर । रङ्गीविरङ्गी फूलहरू । विभिन्न प्रजातिका चराचुरुङ्गी र तिनको मृदु संगीत ।’

विमान राति एघार बजे अलकापुरी हवाईअड्डामा अवतरण गर्‍यो । त्यतिबेला अलकापुरीको रात्रि जीवन उत्कर्षमा थियो । ‘बिजुली बत्तीको झिपझिप उज्यालो । चिल्ला फराकिला सडकहरू । सडकको दुवै किनारामा घना हरिया वृक्षहरू । न गर्मी, न जाडो । सुन्दर महिला । सुन्दर पुरुष । सबै स्वस्थ । सबै तन्दुरुस्त । यत्रतत्र सर्वत्र साङ्गीतिक माहोल । गन्धर्वहरू गाइरहेका । अप्सराहरू नाचिरहेका ।’ अलकापुरीको रात्रि जीवनबाट मुग्ध नहुने कोही भएन ।

पूर्व कर्मचारीहरूलाई राति अबेर प्राकृतिक चिकित्सा केन्द्रमा पुर्‍याइयो । केन्द्रमा चराचर जगतका ख्यातिप्राप्त चिकित्सकहरू मौजुद थिए । जो उपवास, आहार, बिहार, ध्यान, व्यायाम, प्राणायाम, निद्रा, नृत्य, सङ्गीत, भिजुअलाइजेसन आदि माध्यमबाट बिरामीको मनोविकार (फ्रस्टेसन) बाहिर निकाल्ने कोसिस गर्दथे । दुई महिना लामो उपचारपछि पूर्व सरकारी कर्मचारीहरूको स्वास्थ्यमा गुणात्मक सुधार देखिन थाल्यो । तीन महिना पुग्दा सबै पूर्ण स्वस्थ र तन्दुरुस्त भए ।

अलकापुरी प्राकृतिक चिकित्सा केन्द्रमा तीन महिना लामो उपचारपछि पुनः उनीहरूलाई विमान मार्फत काठमाडौं ल्याइयो । डाक्टर अविनाश पूर्व बिरामीहरूलाई लिन विमानस्थलसम्मै पुग्यो । अविनाश उनीहरूको स्वास्थ्यमा आएको आमूल परिवर्तन देखेर औधी खुशी भयो ।

काठमाडौं अवतरणको भोलिपल्ट खुशी मन्त्रालयले पूर्व बिरामीहरूको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रममा स्वास्थ्य लाभ गरेर फर्केकाहरूले खुशी मन्त्रालय र उपचारमा संलग्न डाक्टरप्रति आभार व्यक्त गरे । आलोक बस्नेतले फर्किनेहरूका तर्फबाट छोटो मन्तव्य दियो–

‘…यो त्यही ठाउँ हो, कुनै दिन हामी खुशीको खोजीमा भौंतारिंदै आएका थियौं । हामी भ्रममा थियौं त्यतिबेला । हामीलाई लाग्थ्यो, खुशी नोटको ब्रिफकेशभित्र हुन्छ । सत्ता, शक्ति र धन खुशी उत्पादन गर्ने कारखाना हुन् । तर उपचारपछि हामीले थाहा पायौं, जीवनको निम्ति खुशीभन्दा ठूलो औषधि अरू केही रहेनछ । र त्यो भौतिक चिज वा वस्तुमा नभई मनभित्र हुने रहेछ । हराएको खुशीसँग साक्षात्कार गर्ने अवसर जुराइदिएकोमा खुशी मन्त्रालय र उपचारमा संलग्न डाक्टरसा’बहरूलाई धेरै–धेरै धन्यावाद !’ आलोकले भन्यो ।

उता, आनन्दमयी घटनालाई आख्यानको मालामा उन्न पाएकोमा लेखक पनि औधी खुशी भयो त्यो दिन । जीवनमा उसले दर्जनौं आख्यानमा बिट मार्‍यो । हजारौं हजार पात्रका सुख, दुःख, पीडा, व्यथा र आक्रोशलाई कथानकमा ढाल्यो । किन्तु उसलाई त्यो दिन जत्तिको आनन्द कहिल्यै मिलेन ।

लेखकको बारेमा
प्रकाश तिवारी

उपन्यास, समालोचनाका साथै प्रशस्तै कथा, लेख, निबन्ध, कविता प्रकाशित रहेका लेखक समसामयिक विषयमा कलम चलाउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?