+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

बालबालिकालाई संस्कार सिकाउने १९ सूत्र

अमर अधिकारी अमर अधिकारी
२०८१ साउन १८ गते १६:३८

बाल संस्कारको अर्थ हुन्छ- जन्मेदेखि वयस्क हुँदासम्म उसलाई शिक्षित तथा संस्कारित तुल्याइनु । बालबालिका शिशु हुँदादेखि नै आमाबाबुका साथमा रहन्छन् । बालबालिकाहरु बाबुभन्दा पनि आमासँग अझ बढी नजिक हुन्छन् । उनीहरुले धेरै कुरा आमाबाट नै सिक्ने, पछ्याउने र अनुसरण गर्ने गर्छन् ।

हाम्रो समाजमा बाबु कमाइमा व्यस्त हुने हुँदा बाबुभन्दा पनि आमा नै बालबालिकाको निकट हुन्छन् । कतिपय शिशुका साथमा हजुरबा र हजुरआमा पनि रहन्छन् । कसैको भने हजुरबा र हजुरआमामध्ये एक जना मात्र पनि हुन सक्छन् । हजुरबा र हजुरआमाबाट पनि शिशुहरु वयस्क नहुँदासम्म थप केही पुराना संस्कारहरु पनि सिक्न सक्छन् । बाबुआमा दुवै व्यस्त हुने अवस्थामा भने शिशुकक्षा तथा आजभोलिको चलनअनुसार मन्टेश्वरी स्कुलमा पनि बालबालिका जिम्मा लगाइन्छ ।

शिशुलाई सानैमा यस्ता संस्थालाई जिम्मा लगाउँदा कतिपय संस्कारबाट बालबालिका वञ्चित हुनसक्छन् । पैसा नै ठूलो कुरा होइन भनेर बाबुआमामध्ये कुनै एकजना घरमै रहँदा राम्रो हुन्छ । विशेषगरी आमाहरु बालबालिकाका लागि गम्भीर भएर उनीहरुको हेरचाह गर्न सक्छन् ।

बाल संस्कारका लागि आवश्यक १९ सूत्र

सकेसम्म बालबालिकालाई वयस्क नहुञ्जेल बाबुआमाका साथमा राख्नुपर्छ । केही नलागेमा मात्र शिशु स्याहार संस्थामा भर्ना गर्नुपर्छ । तर समय-समयमा बालबालिकाको अवस्थाका बारेमा संस्थासँग बुझ्नु जरुरी हुन्छ । त्यसका लागि संस्थाका सम्वद्ध जिम्मेवार व्यक्तिसँग समय-समयमा अन्तरक्रिया गर्नुपर्छ । बाल संस्कारका लागि देहाय बमोजिम कुराहरुमा ध्यान दिनु आवश्यक छ ।

आधुनिक जीवनशैलीलाई कम प्राथमिकता : आधुनिक जीवनशैलीले बालबच्चालाई जिद्दी स्वभावको बनाउन सक्ने हुँदा यसतर्फ विशेष चनाखो हुनु जरुरी छ । कृत्रिम पेयपदार्थ भन्दा शुद्ध र सफा पानी पिउने बानी बसाल्नुपर्छ । चकलेट र बिस्कुटमा भन्दा घरमै बनाएको रोटी खानमा जोड दिनुपर्छ । बालबालिकालाई सकेसम्म बजारको खानेकुराबाटै टाढै राख्नुपर्छ ।

अमर अधिकारी

शारीरिक विकास : साइकल चलाउन सकिने र साइकल किन्न पाइने ठाउँमा उमेरअनुसारको बनावट वा आकारका साइकल सिकाउनु राम्रो हुन्छ । जसले गर्दा व्यायाम हुने र खान पनि रुच्ने र पच्ने हुँदा उनीहरुको शारीरिक विकास सहज रुपमा हुन्छ । बालक ठूलो हुँदै जाँदा शरीरका लागि सन्तुलित भोजनको आवश्यकता पर्ने हुँदा सोही अनुसार खानपानमा ध्यान दिनुपर्छ । उनीहरुलाई खाली समयमा दौडिन र उफ्रिन पनि सिकाउनुपर्छ । घर वरपर वा छेउछाउमा भौगोलिक बनावट हेरेर उपयुक्त खालका खेल खेल्न लगाउनुपर्छ ।

मानसिक विकास : बालबालिकालाई बेलाबेलामा उनीहरुको मानसिक विकासका लागि उमेर र कक्षा अनुसारका प्रश्नहरु सोध्नुपर्छ । गलत जवाफ दिएमा रिसाएर होइन हाँसेर फेरि सोध्नुपर्छ । लुँडोभन्दा चेस खेलमा बढी लगाव हुने किसिमले सिकाउनुपर्छ । बाघचाल पनि मानसिक विकासका लागि उत्तम खेल मानिन्छ । सकेसम्म मोबाइलमा उपलब्ध डिजिटल गेमहरु खेल्नबाट बचाउनुपर्छ । मोबाइलमा गेम खेल्ने लत लागेपछि छुटाउन गाह्रो हुने र गर्धन दुख्ने, आँखा पोल्ने जस्ता शारीरिक समस्या उत्पन्न हुने हुँदा यसतर्फ पनि अभिभावकले विशेष ध्यान दिनु जरुरी हुन्छ ।

मोबाइलबाट टाढा राख्ने : हिजोआजका बालबालिकाले बाबुआमाको हातबाट मोबाइल खोस्ने र जिद्दी गर्ने देखिएको पाइन्छ । बालबालिकाको हातमा परेको मोबाइलमा कतैबाट फोन आएमा फोन नै काटिदिने र आफूखुसी किसिमले मोबाइल चलाउने गर्दा अभिभावकलाई समस्या थपिन सक्छ । वास्तवमा बालबालिकालाई मोबाइल दिनु गलत कार्य हो ।

बाबुआमा झगडा नगर्ने : बालबालिकाको अगाडि बाबुआमा विवाद गर्ने, झगडा गर्ने जथाभावी वाकयुद्ध गर्ने वा मनपरी बोल्ने र तल्लास्तरका शब्दहरु प्रयोग गर्नाले बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर पर्ने सम्भावना ज्यादा रहन्छ । त्यसैले यसतर्फ विशेष ध्यान दिनु आवश्यक छ । छिमेकका बालबालिकालाई समेत माया गर्दा आफ्ना बालबालिकामा सकारात्मक सन्देश जान्छ । बालकालिकाको संगत राम्रा साथीहरुसँग छैन भने यसतर्फ अभिभावकले गम्भीर विचार गर्नुपर्छ र त्यस्तो संगतलाई न्यूनीकरण गर्नेतर्फ ध्यान दिनुपर्छ ।

घरमै शिक्षा : बालबालिकाका लागि शिक्षादीक्षाका निमित्त पाठशालामा मात्र भर पर्नुहुँदैन । घरमा पनि बाबुआमाले उनीहरुलाई थप शिक्षा दिनुपर्छ । बाल संस्कारको यो महत्वपूर्ण पाटो पनि हो । उनीहरुका नराम्रा व्यवहारलाई हटाउने प्रयत्न गर्ने र राम्रा व्यवहारमा उत्प्रेरित गर्नुपर्छ ।

महंगो विद्यालय मात्र नरोज्ने : महंगो विद्यालय भन्दैमा स्तरीय शिक्षा प्राप्त हुन्छ भन्ने छैन । विद्यालयको स्वरुपभन्दा पनि त्यहाँका शिक्षकको योग्यता र दक्षताबारे जानकारी लिएर मात्र विद्यालयमा भर्ना गरिदिनुपर्छ ।

सकेसम्म बोर्डर्स नगर्ने : बोर्डर्स गरेका बालबालिका बोर्डर्स नगरेका बालबालिकाभन्दा फरक स्वभावका हुन्छन् । उनीहरुमा अभिभावकप्रतिको भावनात्मक सम्बन्ध कम हुन्छ । किनकि उनीहरु बाबुआमाको समीपमा नरहँदा आफूखुसी गर्ने बानी बसिसकेको हुन्छ । उनीहरुमा अटेरी गर्ने र भनेको नमान्ने तथा हँसमुखको अभाव हुने कुरामा कुनै सन्देह छैन ।

अभिभावकले कामलाई मात्र महत्व दिंदा र बालबालिकालाई विद्यालयमा बोर्डर्स गर्दा उनीहरुमा त्यसको नकारात्मक असर पर्छ । अभिभावकले पैसा मात्र सबथोक होइन भन्ने सोच राख्नुपर्छ ।

बाल मनोविज्ञानमा ध्यान दिने : शब्दकोश अनुसार मनोविज्ञानको अर्थ मनमा उब्जिने विविध विचार, मनको प्रकृति, अवस्था, क्रियाकलाप आदिको विस्तृत विवेचना गर्ने विज्ञान वा शास्त्र हो । मानिसको मनको अध्ययन गर्ने विज्ञान नै मनोविज्ञान हो । बालबालिकाको मनोविज्ञानलाई नै बाल मनोविज्ञान भनिन्छ । बालबालिकाको विचार, अवस्था र क्रियाकलापबारे जानकारी हासिल गर्नु कुनै पनि अभिभावकको कर्तव्य हुन आउँछ ।

सकारात्मक सोचको विकास : बालबालिकामा देखिने अस्वाभाविक अर्थात् नकारात्मक व्यवहारलाई न्यूनीकरण गर्नका लागि उनीहरुमा सकारात्मक सोचको विकास गर्नका निमित्त बाबुआमाले विशेष ध्यान दिनु आवश्यक हुन्छ । अभिभावकले आफ्ना बालबालिका खुसी छन् कि छैनन् उनीहरुको व्यवहार हेरेर थाहा पाउन कोसिस गर्नुपर्छ । अस्वाभाविक व्यवहार देखिएमा उनीहरुलाई सम्झाउने गर्नुपर्छ । यसका लागि बाबुआमामा कर्तव्यबोध हुनु जरुरी छ ।

नजिक विद्यालय भए बस नचढाउने : बालबालिकाको विद्यालय नजिक छ भने उनीहरुलाई घरबाट विद्यालयसम्म हिंडेर जाने बानी बसाल्नुपर्छ । साना बालबालिकाको हकमा सुरक्षित किसिमबाट विद्यालयसम्म लैजाने र ल्याउने गर्नु उपयुक्त हुन्छ । यसबाट उनीहरुको शरीरमा कसरत पनि हुने, पाचन प्रणाली सही हालतमा रहने र बसको लागि खर्च जोगिने हुन्छ ।

सरसफाइ : बालबालिकालाई बिहान समयमै उठ्ने बानी लगाउनुपर्छ । बिहान उठेपछि नियमित सरसफाइका लागि नियम बनाउनु उपयुक्त हुन्छ । बालबालिकाको शरीरको सरसफाइ र पोशाकको सरसफाइतिर पनि ध्यान दिनुपर्छ । साँझ-बिहानको खानापछि अनिवार्य रुपमा दाँत माझ्न लगाउनुपर्छ । गुलिया खानेकुरा कम खान लगाउने र त्यस्ता वस्तु खाँदा बित्तिकै कुल्ला गर्न लगाउने गर्नाले पछिसम्म दाँतमा समस्या नआउने हुन्छ ।

सुरक्षित भोजन : बालबालिकाका लागि मात्र होइन समग्र परिवारकै लागि भोजन सुरक्षित, सुपाच्य, स्वास्थ्यवर्द्धक र सफा हुनुपर्छ । शक्तिवर्द्धक, बोसोयुक्त र प्रोटिनयुक्त खानेकुरा धेरै खुवाउनुहुँदैन । किनकि त्यस्ता खाना तथा खाजाले बालबालिकाको शरीर मोटो हुन गई भद्दा देखिने हुन्छ । कसैकसैले बालबच्चा मोटोघाटो भएकोमा प्रसन्न देखिन्छन् । तर यो सोच गलत हो । आवश्यकताभन्दा बढी मोटाउनु राम्रो होइन । शरीर चुस्त, दुरुस्त र छरितो हुनुपर्छ । त्यसका लागि सन्तुलित खाना खुवाउनुपर्छ ।

उग्रता नियन्त्रण : बालबालिका जिद्दी र उग्र स्वभावका देखिएमा मीठो वचनले फकाइफुलाइ गरेर उनीहरुको मानसिकतामा परिवर्तन गर्न सकिन्छ ।

सिर्जनशील काम सिकाउने : बालबालिकालाई आफ्नो लुगा धुन सिकाउने, क्षमताअनुसार करेसाबारी वा बगैंचामा बोटबिरुवा गोडमेल गर्न लगाउन सकिन्छ । चित्र बनाउने, संगीत बजाउने, अंक गणना गर्न लगाउने गर्नुपर्छ । साथै कविता लेख्न पनि सिकाउन सकिन्छ ।

आफैं खान सिकाउने : कतिपय आमाले १० वर्षको उमेरका बालबालिकालाई समेत खाना आफैंले खुवाइदिने गरेको पाइन्छ । तर यसो गर्नु बालबालिकाको विकासका लागि राम्रो होइन । आमाको दूध खान छाडेपछि बच्चालाई आफैं खाना खान र पानी पिउन सिकाउनुपर्छ ।

ढोग र अभिवादन सिकाउने : घरमा मान्यजन, नातेदारहरु आउँदा हिजोआजका कतिपय बालबालिकाले अभिवादन गरेको देखिंदैन । त्यस्तै बाबुआमाका साथीहरु आउँदा र समाजका प्रतिष्ठित व्यक्ति घरमा आउँदा नमस्कार वा अभिवादन गर्ने गरेको कम पाइन्छ । बाबुआमाले भनेपछि मात्र ढोग र नमस्कार गर्ने बानीभन्दा पनि स्वतःस्फूर्त रुपमा ढोग र नमस्कार गर्ने बानी बसाल्न सकेमा उत्तम हुन्छ ।

गृहकार्यमा सघाउने : विद्यालय जाने बालबालिकालाई समयमा गृहकार्य गरे नगरेकोबारे पनि अभिभावकले चासो राख्नैपर्ने हुन्छ । गृहकार्य गर्नैपर्ने हाम्रो शिक्षा परिपाटीले गर्दा छुटेमा उनीहरुलाई नै भार पर्ने हुन्छ । त्यसैले समयमै गृहकार्य गराउन सहयोग पुर्‍याउनु राम्रो हुन्छ ।

समाजमा घुलमिल गराउने : बालबालिकालाई समाजमा घुलमिल हुने वातावरण सिर्जना गरिएमा उनीहरुमा धेरै ज्ञान हासिल गर्ने अवसर मिल्छ । घरमा मात्र सीमित राख्ने गरेमा उनीहरु पछि एकलकाँटे स्वभावको हुने सम्भावना पनि रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?