+
+

कुलमानलाई १५ बुँदे स्पष्टीकरण सोध्ने ऊर्जा मन्त्रालयको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २३ गते १३:१३

२३ असोज, काठमाडौं । ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको छ । ऊर्जामन्त्री दीपक खड्काको निर्देशनमा मंगलबार सचिव सुरेश आचार्यले घिसिङलाई १५ बुँदामा विभिन्न विवरण माग गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

‘प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोध्ने निर्णय भएको छ,’ मन्त्रालयका एक उच्च अधिकारीले अनलाइनखबरसँग भने, ‘स्पष्टीकरण सोधेर घिसिङलाई मन्त्रालयमा हाजिर गराउने तयारी छ ।’

ऊर्जामन्त्री खड्काले मन्त्रालय मातहतको निकायका गतिविधिबारे तालुक मन्त्रालयलाई जानकारी हुनुपर्ने सामान्य मान्यताका आधारमा विवरण माग गरिएको बताए ।

‘मन्त्रालय र प्राधिकरण फरक–फरक निकाय होइनन्, प्राधिकरण हामी मातहतको नियका हो,’ मन्त्री खड्काले भने, ‘प्राधिकरणले मन्त्रालयको समानान्तर गतिविधि गर्ने भन्ने हुँदैन, आफूले गरेका काम कारबाहीबारे मन्त्रालयलाई जानकारी दिनुपर्छ ।’

दुई महिनादेखि प्राधिकरण सञ्चालक सिमितिको बैठक नराखेकाे तथा मन्त्रालयले मागेका विवरणहरु नदिएकाे भन्दै घिसिङलाई विवरण पठाउने भन्दै स्पष्टीकरण सोधिएको मन्त्रालय स्रोतले बतायो ।

घिसिङलाई मन्त्रीपरिषद्ले नियुक्त गरेका कारण ‘स्पष्टीकरण’ सोध्ने कानूनी अधिकार  पनि मन्त्रिपरिषद्सँगै हुन्छ । त्यसो हुँदा मन्त्रालयले लेखेको पत्रमा ‘विवरण उपलब्ध गराउने सम्बन्धमा’ भन्ने विषय उल्लेख छ । तर, उनलाई सोधिएका बुँदाहरु भने स्पष्टीकरण शैलीका छन् ।

स्पष्टीकरण सोधेपछि मन्त्री खड्काले मन्त्रालयका सहसचिव शम्भु मरासिनी मार्फत प्राधिकरण सञ्चालक समितिका सदस्यलाई आज बुधबार बोर्ड बैठक रहेको भन्दै सूचना पठाएका थिए । तर, आज बिहान सबेरै प्राधिकरण सञ्चालक समितिको बैठक रद्द भएको जानकारी मन्त्रालयबाट आएको समितिका एक सदस्यले जानकारी दिए ।

‘खासमा सञ्चालक समितिका अध्यक्षसमेत हुने मन्त्रीले घिसिङलाई पटकपटक बोर्ड बैठक राख्न निर्देशन दिए पनि उनले मानेका छैनन्, सातामा कम्तीमा एकपटक हुने बोर्ड बैठक दुई महिनासम्म बस्न सकेको छैन । मंगलवार पनि घिसिङलाई बैठक डाक्न भनिएकोमा उनले उत्तर नै नदिएकाले उनीलगायत अन्य सञ्चालकलाई सहसचिव मरासिनीले सूचना पठाएका हुन्,’ मन्त्रालय स्रोतले बतायाे ।

तर, नेपाल विद्युत प्राधिकरण ऐनमा अध्यक्षको निर्देशनमा सदस्य सचिवले बैठक बोलाउने उल्लेख छ । बोर्डको सदस्य सचिव कार्यकारी निर्देशक घिसिङ नै छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मन्त्रालयबाट १५ बुँदे विवरण मागेर पत्र आएको बताए ।

‘ट्रान्सफर्मर खरिद लगायत विषयका विवरण मागिएको छ, त्यो स्पष्टीकरण हो जस्तो लाग्दैन,’ घिसिङले भने, ‘मन्त्रालयले मागेको विवरण चाँडै बुझाउँछु ।’

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल बक्यौता भुक्तानीबारे विद्युत् प्राधिकरण र उद्योगीबीच विवाद छ । कतिपयले यो स्पष्टीकरणलाई सोही विषयसँग लगेर जोडे पनि स्पष्टीकरणमा एउटा बुँदा मात्रै त्यससँग सम्बन्धित छ ।

ऊर्जा मन्त्रालयले घिसिङलाई सोधेको स्पष्टीकरण निम्नानुसार छन् :

 

१. नेपाल विद्युत प्राधिकरणको कर्मचारी सेवा, सर्तसम्बन्धी विनियमावली (संशोधन सहित) एवं आर्थिक प्रशासन विनियमावली (संशोधन समेत) र त्यससँग सम्बन्धित विगत चार वर्ष अवधिमा सञ्चालक समितिले गरेका विभिन्न मितिका निर्णय ।

२. नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले विगत चार वर्ष अवधिमा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरेको अधिकारको विवरण (निर्णय मिति खुल्ने गरी) ।

३. नेपाल विद्युत् प्राधिकरणले छिमेकी मुलुकका व्यावसायिक संस्थासँग गरेको विभिन्न मितिका सम्झौता एवं समझदारी पत्रहरूको विवरण ।

४. नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीमा रहेको प्राधिकरणको सेयर संरचना एवं ती कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरूको विवरण । साथै, ती कम्पनीमा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट हाल काजमा खटिएका कर्मचारीहरूका विवरण ।

५. नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीहरूको विगत चार वर्षको वित्तीय विवरण ।

६. नेपाल विद्युत् प्राधिकरणले विद्युत खरिद सम्झौता गरी सञ्चालनमा रहेका आयोजनाहरूबाट ‘पावर इभ्याकुएसन’ पूर्णरूपमा हुन नसकेको अवस्था भए वैकल्पिक मार्ग प्रयोग गरिएको आयोजनाहरूका विवरण

७. हिमाल पावर लिमिटेडद्वारा प्रवद्र्धित ६० मेगावाटको खिम्ती–१ जलविद्युत् आयोजनासँग स्वामित्व हस्तान्तरणबारे नेपाल विद्युत् प्राधिकरणले गरेको वार्तासँग सम्बन्धित विवरण÷प्रतिवेदनहरू ।

८. विगत चार आर्थिक वर्षदेखि त्यस प्राधिकरणका विभाग, निर्देशनालय र कार्यकारी निर्देशकबाट स्वीकृत भएका बोलपत्र सम्बन्धी विवरण (जस्तै, ठेक्काको नाम, स्वीकृत भएको रकम भुक्तानीको विवरण, ती ठेक्कासँग सम्बन्धित दायित्वहरूको विवरण आदि) । साथै, यदि विवाद पर्न गएको भए विवादका कारण र कार्य सम्पन्न हुन नसकेका ठेक्का सम्झौताको वर्तमान अवस्था ।

९. विगत चार वर्षमा भएका सञ्चालक समितिका सदस्यहरूको विदेश भ्रमण सम्बन्धी विवरण । ती भ्रमणसँग सम्बन्धित खर्चको विवरण एवं ती खर्च भुक्तानीको स्रोतसम्बन्धी विवरण ।

१०. डेडिकेटेड फिडर-ट्रंक लाइन सम्बन्धी नेपाल विद्युत् प्राधिकरणले उठाउन बाँकी रहेको महसुल सम्बन्धमा सञ्चालक समितिमा पेस भएका विभिन्न प्रतिवेदन एवं उक्त महसुल सम्बन्धमा सञ्चालक समितिबाट विभिन्न मितिमा भएका निर्णयहरू ।

११. नेपाल विद्युत् प्राधिकरणले विभिन्न बोलपत्र मार्फत खरिद गरी जडान हुन बाँकी स्टोरमा मौज्दात रहेका ट्रान्सफर्मरको अद्यावधिक विवरण (खरिदका लागि प्राप्त माग संकलन र खरिद योजना, खरिद नम्बर, खरिद मूल्य एवं हालको अवस्था सहित) ।

१२. हाल बोलपत्र आह्वानका लागि तयारी भइरहेको स्मार्ट मिटर लगायत वस्तु ÷सामग्रीको विवरण एवं प्रतिस्थापन कार्ययोजना (परिमाण एवं अनुमानित लागत रकम सहित) ।

१३. नेपाल विद्युत् प्राधिकरण आफैंले विभिन्न स्थानमा सिमेन्टेड पोल प्लान्ट स्थापना गरी उत्पादन गरेका पोलका लागत मूल्य, बोलपत्रबाट खरिद भए विभिन्न पोलको खरिद मूल्य एवं त्यस सम्बन्धी परिमाणको गत चार आर्थिक वर्षको अद्यावधिक विवरण ।

१४. महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औंल्याइएका बेरुजुमध्ये हालसम्म फछ्र्योट हुन बाँकी रहेका बेरुजुको अद्यावधिक विवरण ।

१५. नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय स्टोर प्रमुखका रूपमा गत पाँच वर्षदेखि को–को कार्यरत रहेका छन् ? उनीहरूको पद र योग्यता खुलेको विवरण ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?