+
+

नव-समाजवादी पूँजीवाद  : नेपालका लागि सुहाउँदो विकल्प

देश, जनता र भूराजनैतिक अवस्था अनुसार, जनताका आधारभूत आवश्यक वस्तु र सेवाहरुमा समान र न्यायसंगत पहुँच सुनिश्चित गर्न, देशमा हुने गरेका अनियमितताको न्यूनीकरण गर्न र दिगो आर्थिक र सामाजिक विकासको बाटोमा डोर्याउन, नव-समाजवादी पूँजीवाद देशको माटो सुहाउँदो एक उत्तम प्रणाली सावित हुनेछ।

डा. निर्मल कँडेल डा. निर्मल कँडेल
२०८१ असोज २४ गते ११:५६

विभिन्न दलहरु आ-आफ्नै समाजिक-आर्थिक सिद्धान्त र नीतिले प्रेरित छन् । कोही समाजवाद भन्छन्, कोही सम्यावाद ऊन्मुख समाजवाद भन्छन, कोही परिमार्जित राजतन्त्र भन्छन् र केही दलहरुले ‘यस्ता आर्थिक प्रणालीका सिद्धान्त र नीतिहरु पनि चाहिन्छ र ? भन्दै छन् ।

कतिले बुझेर कतिले नबुझि दलहरुका पछि लागेका छन् । त्यसमाथी प्राय कागजमा लेखेको सिद्धान्त र नीतिहरु एकथरी हुन्छ र व्यबहारमा अर्कै । समाजवाद र जनवाद भन्नेहरुका समूहमा सबै भन्दा धेरै पूजीवादका प्रखरहरु छन् र मुख्य ऐजेण्डा देश विकास भन्दा पनि निजी विकास बढि हावी भएको छ ।

तिनीहरु नै कि सरकारी उद्द्योगहरु निजीकरण गरिरहेका छन्, कि निजी कम्पनि, अस्पताल, शैक्षिक संस्थाहरु चलाएका छन्, कि जग्गा व्यापारी भएका छन् र प्राय अनेक किसिमका भ्रष्टचारमा संलग्न छन् । कोही अन्त्येष्टी भईसकेको राजतन्त्र चाहियो भन्दैछन् त कोही कुनै सिद्धान्त र नीती विना कहिले ‘राईट वा लेफ्ट’ पनि भन्दैछन् ।

चाहे नयाँ होस वा पुराना वा जे सुकै सिद्धान्तवाद हुन्, ठगी र भ्रष्टचारमा भने यिनका सिद्धान्त र नीतीहरु समान छन् र विचौलिया र सिन्डिकेट प्रणालीका अनुयायी हुन् । कागजमा नेपालको आर्थिक प्रणाली मिश्रित अर्थतन्त्रको रूपमा परिचित छ, जहाँ निजी क्षेत्र, सार्वजनिक क्षेत्र, र सहकारी संस्थाहरूले मिलेर काम गर्छन् भनेर भनिन्छ ।

नेपालमा सरकारको हस्तक्षेप आवश्यक क्षेत्रहरूमा हुने गर्छ भने बजारको स्वतन्त्रता पनि कायम छ भनिन्छ । तथापी, यथार्थमा विचौलिया र सिन्डेकेट प्रणाली बढि हावी छ र केही बिज्ञहरुले यस्तो अर्थतन्त्रलाई क्रोनी पूजीवाद भनेर व्याख्यf गर्दछन् । देश अनुसारको आर्थिक प्रणाली कस्तो हुनु पर्ने हो त्यसको समिक्षा गरौं ।

आर्थिक प्रणाली भनेको समाजभित्र उत्पादन, स्रोत विनियोजन र वस्तु तथा सेवाहरूको वितरण गर्ने प्रणाली हो । परम्परागत रूपमा, आर्थिक प्रणालीहरूलाई साम्यवाद, पूँजीवाद, र समाजवादका रूपमा विश्लेषण गरिएको पाईन्छ ।

केही अर्थशास्त्रीहरूले आर्थिक प्रणालीहरूलाई परम्परागत, आदेशात्मक, बजार वा मिश्रित आर्थिक प्रणालीहरूका रूपमा परिभाषित गर्छन् भने अन्य समूहका अर्थशास्त्रीहरूले पूँजीवाद वा नवउदारवादी पूँजीवाद (बजार), समाजवाद (आदेशात्मक) वा मिश्रित अर्थतन्त्र (समाजवाद, पूँजीवाद र परम्परागतको मिश्रण) रूपमा व्याख्या गर्छन् । विचारधाराहरू र राजनीतिक प्रणालीहरूले आर्थिक प्रणालीहरूसँग पुरक सम्बन्ध राख्छन् ।

डा. निर्मल कँडेल

विभिन्न देशहरूले आ-आफ्ना फरक आर्थिक प्रणालीहरू अपनाएका छन् । जस्तै, स्विट्जरल्यान्डमा स्वतन्त्र बजार पूँजीवादी संरचना छ, जहाँ कडा वित्तीय नियमन छ ।

यो सामाजिक कल्याण, स्वास्थ्य सेवामा सरकारी हस्तक्षेप, र सामाजिक सुरक्षामा जोड दिन्छ । संयुक्त राज्य अमेरिकाले सीमित सामाजिक सुरक्षाका साथ नवउदारवादी पूँजीवाद अनुसरण गर्छ । चीनमा समाजवादी बजार अर्थतन्त्र छ, जहाँ राज्यले प्रमुख उद्योगहरू नियन्त्रण गर्छ तर यससँगै बजार शक्तिहरूलाई पनि सञ्चालन गर्न अनुमति दिइन्छ ।

जर्मनी र स्वीडेनमा सामाजिक बजार अर्थतन्त्र छ, जसले स्वतन्त्र बजार पूँजीवादलाई कडा सामाजिक कल्याण र श्रम सुरक्षासँग सन्तुलनमा राख्छ ।

स्वीडेनमा अझ विस्तृत समाज कल्याण प्रणाली छ। क्युवामा केन्द्रीय योजना अनुसार चल्ने आदेशात्मक अर्थतन्त्र (कमाण्ड इकोनोमी) छ, जसले स्वास्थ्य सेवा र शिक्षाजस्ता सार्वभौमिक सामाजिक सेवाहरू प्रदान गर्न केन्द्रित गरेको छ ।

श्रीलंका र भारतमा मिश्रित अर्थतन्त्र छ, जहाँ सरकार र निजी क्षेत्रले दुवै आर्थिक गतिविधिहरूमा महत्त्वपूर्ण योगदान गर्छन् । अर्जेन्टिना, घाना, र रवाण्डामा पनि मिश्रित अर्थतन्त्र छ, जसमा सरकारको हस्तक्षेप र निजी क्षेत्रको विकासको फरक फरक स्तर पाइन्छ ।

आय असमानताको सूचक कोफिसियन्ट हेर्दा अर्जेन्टिना, चीन, भारत, संयुक्त राज्य अमेरिका, र थाइल्यान्डमा उच्च स्तरको असमानता देखिन्छ भने क्यूबा, घाना, स्विट्जरल्यान्ड, स्वीडेन, जर्मनी, रवाण्डा, र श्रीलंकामा कमदेखि मध्यम स्तरसम्मको असमानता देखिन्छ । स्वास्थ्य सेवाको पहुँच हेर्दा क्यूबा, जर्मनी, श्रीलंका, स्वीडेन, स्विट्जरल्यान्ड, र थाइल्यान्डमा सर्वव्यापी स्वास्थ्य सेवा प्रणाली छ, जबकि अन्य देशहरूमा आय समूहहरू वा ग्रामीण र शहरी क्षेत्रमा ठूलो भिन्नता र चुनौतीहरू छन् ।

शिक्षाको पहुँच हेर्दा अर्जेन्टिना, क्यूबा, जर्मनी, स्वीडेन, र स्विट्जरल्यान्डले सर्वव्यापी निःशुल्क शिक्षा प्रदान गर्छन्, जबकि रवाण्डा र श्रीलंका आफ्नो पहुँच सुधार्दै छन् । यद्यपि बाँकी देशहरूमा आय वा अवस्थाका कारण ठूलो असमानता छ ।

अन्त्यमा सामाजिक सुरक्षाको अवस्था हेर्दा चीन, क्यूबा, जर्मनी, स्वीडेन, श्रीलंका, र स्विट्जरल्यान्डमा बलियो सामाजिक कल्याण प्रणाली छ । यसको विपरीत, घाना, भारत र संयुक्त राज्य अमेरिकामा यी प्रणालीहरू कमजोर वा सीमित छन् । बाँकी देशहरूमा सुधार हुँदैछ । अर्जेन्टिनामा पहिला राम्रो समानताको अवस्था थियो, तर उच्च मुद्रास्फीतिका कारण यसले धेरै चुनौतीहरू सामना गरिरहेको छ ।

हरेक आर्थिक प्रणालीका फाइदा र बेफाइदा हुन्छन् तथापि, कुनै पनि प्रणालीको प्रमुख लक्ष्य उच्च घरेलु उत्पादन हासिल गर्नु र प्रत्येक नागरिकलाई कुनै आय, जातीयता, धार्मिक आस्था र सामाजिक वर्गका आधारमा कुनै भेदभाव नराखी वस्तु र सेवाहरूमा समानता र न्यायसंगत पहुँच सुनिश्चित गर्नु हो ।

प्रचलनमा रहेका आर्थिक प्रणालीहरूको मुख्य समस्या भनेको साझा वस्तु र सेवाहरूका लागि प्रणालीको निर्माण गर्न, बजार असफलताहरू समाधान गर्न, र सामूहिक लक्ष्यहरू पूरा गर्न कुनै दीर्घकालीन समाधान नहुनु हो ।

यस्ता असफलताहरू प्रायः प्रतिक्रियात्मक हुन्छन्, दुरदर्शी हुँदैनन्। जस्तै, २००८ को वित्तीय संकट, कोभिड-१९ महामारी, जलवायु परिवर्तन, र भूराजनैतिक झट्काहरू जस्तै वर्तमान द्वन्द्वहरू आदीले निम्ताएको संकटहरूलाई समाधान गर्न असफल भए ।

तसर्थ, राज्यले नागरिकको समृद्धिलाई लक्षित गर्दै आर्थिक गतिविधिहरूलाई निर्देशन दिनुपर्छ। केही अर्थशास्त्रीहरूले वास्तविक समयको सुचना र अनुकूलनशील प्रतिक्रिया आधारमा आर्थिक नीति लागू गर्न सुझाउँछन् र नव-समाजवादी पूँजीवादका सिद्धान्तले समय र आवश्यकता अनुसार जनतामा आधारभुत बस्तु र सेवाहरुको न्यायसंगत र समान पहुँचको परिकल्पान गर्दछ ।

नव-समाजवादी पूँजीवाद के हो ?

यो आर्थिक प्रणालीले समाजवादी सिद्धान्तको जगमा केही पूँजीवादी संयन्त्रहरूलाई साथमा लिएर सामाजिक समानता, आर्थिक वृद्धि, र दिगो विकासको लक्ष्य राख्छ । सरकारले सम्पत्ति पुनर्वितरण, सामाजिक कल्याणको सुनिश्चितता, र साझा वस्तु तथा सेवाहरूको व्यवस्थापनमा ठूलो भूमिका खेल्छ । सरकारले आर्थिक योजना बनाउँछ र सार्वजनिक वस्तु र सेवाहरू उत्पादन गर्ने प्रमुख उद्योगहरूको स्वामित्व वा नियन्त्रण गर्न सक्छ ।

यी सार्वजनिक वस्तु तथा सेवाहरूमा सुरक्षा, विद्युत्, इन्टरनेट पहुँच, सार्वजनिक सुरक्षा, शिक्षा, स्वास्थ्य सेवा, पूर्वाधार, सफा हावा, पानी, सरसफाइ, कृषि उत्पादन, सार्वजनिक पुस्तकालयहरू, आदी हुन् । सरकारले यी साझा वस्तु तथा सेवाहरूको उत्पादन र वितरणको व्यवस्थापन र नियमन गर्दछ ।

यद्यपि, निजी क्षेत्रले विलासिताका वस्तुहरू, आतिथ्य, पर्यटन, र विलासि सेवाहरु सरकरको नियमन र मापदण्ड अनुसार सम्हाल्छन् । निजी सेवा प्रदायकहरूले सरकारले निर्धारण गरेका मापदण्डहरू पूरा गरेमा थप सेवाहरू अतिरिक्त शुल्कको साथ प्रदान गर्न सक्छन् ।

उदाहरणका लागि, निजी अस्पतालहरूले अनिवार्य उपचार, शल्यक्रिया, वा प्रक्रियाहरू सरकारको मापदण्ड अनुसार अतिरिक्त शुल्क सेवा नलिइकन प्रदान गर्न सक्छन् र साथमा विलासिताका सुविधाहरूको थप शुल्क लिई प्रदान गर्न सक्छन् ।

त्यस्तै, सरकारले सार्वजनिक वा निजी यातायातका लागि मापदण्डहरू निर्धारण गर्छ, जबकि निजी क्षेत्रले विलासिता सेवाहरू, जस्तै विलासि बसहरू वा ट्याक्सीहरू थप शुल्कको साथ संचालन गर्न पाउनेछन् ।

नव-समाजवादी पूँजीवादका विशेषताहरू

सरकारको भूमिका: सरकारको अर्थतन्त्रलाई आकार दिने प्रमुख भूमिका हुन्छ । यो ऊर्जा, स्वास्थ्य सेवा, शिक्षा, कृषि, यातायात जस्ता आवश्यक वस्तु र सेवाहरूको उत्पादनको योजना र नियन्त्रण गर्दछ । सरकारले यी क्षेत्रहरू समाजको लाभका लागि सुनिश्चित गर्छ र सम्पत्ति पुनर्वितरण गरेर आर्थिक असमानतालाई सक्रिय रूपमा कम गर्छ ।

सबै नागरिकहरूलाई समान पहुँचको सुनिश्चितता गर्न शिक्षा, स्वास्थ्य सेवा, र सार्वजनिक सुविधाहरू जस्ता आवश्यक सामाजिक सेवाहरू प्रदान गर्छ । यो प्रणालीले अति आवश्यक वस्तु र सेवाहरुको विचौलिया र सिन्डिकेट प्रणालीलाई निस्तेज पार्छ र भ्रष्टचार न्यूनिकरणमा मद्दत पनि पुग्छ ।

सरकारले आर्थिक वृद्धिलाई सामाजिक न्याय, समानता, र वातावरणीय सुरक्षासँग सन्तुलनमा राख्ने लक्ष्य राख्छ । तिनीहरूले दिगो विकासका नीतिहरूलाई लागु गर्दै सामाजिक र पर्यावरणका समस्याहरुलाई सम्बोधन गर्छ ।

यसले उत्पादकता र नवप्रवर्तनलाई बढवा दिने वित्तीय रणनीतिहरू सिर्जना गर्दै विकासका लाभहरू समाजमा समान रूपमा विनिमय र वितरण सुनिश्चित गर्छ । साथै प्राकृतिक स्रोतहरूको प्रयोगलाई सीमित गर्न र प्रदूषणलाई कम गर्न नियमहरू बनाएर वातावरणलाई पनि सुरक्षित गर्दछ ।

बजार नियमन: बजारमा सरकारी नियमनले समानता, न्याय, स्थिरता, र आर्थिक दिगोपन सुनिश्चित गर्ने लक्ष्य लिन्छ। यसरी सामाजिक, आर्थिक, र सार्वजनिक कल्याणका लक्ष्यहरू प्राप्त गर्न सकिन्छ। उदाहरणका लागि, नियमनहरूले वातावरणीय सुरक्षा, श्रमिक अधिकार, र उपभोक्ता सुरक्षा सुनिश्चित गर्छन् ।

तिनीहरूले प्रगतिशील कर प्रणाली, प्रतिस्पर्धा विरोधी कानूनहरू, र कल्याणकारी कार्यक्रमहरू मार्फत उचित सम्पत्ति वितरणलाई प्रोत्साहित गर्छन् । उदाहरणको लागी सार्वजनिक शिक्षालाई समान पहुँचको ग्यारेन्टी गर्न नियमन गरिन्छ। सरकारहरूले पाठ्यक्रम, शिक्षक योग्यता, र शैक्षिक परिणामका लागि मापदण्डहरू स्थापित गर्छन् ।

यसले आर्थिक पृष्ठभूमि जे भए पनि प्रत्येक नागरिकलाई शिक्षाको पहुँच सुनिश्चित गर्छ। बिजुली, पानी आपूर्ति, र सार्वजनिक यातायात जस्ता आवश्यक सार्वजनिक सेवाहरू पनि नियमन गरिन्छ ताकि यी सेवाहरु सबैको लागि उचित मूल्यमा उपलब्ध हुन सकून्। यसले उपभोक्ताहरू माथि हुने शोषण रोक्छ र सार्वभौम पहुँच सुनिश्चित गर्छ ।

सम्पत्ति वितरण: सरकारले आर्थिक असमानतालाई कम गर्न सम्पत्ति पुनर्वितरणको सिद्धान्त अबिलम्बन गर्छ । यो प्रगतिशील कर प्रणाली मार्फत उच्च-आय भएका व्यक्तिहरू र कर्पोरेसनहरूलाई उच्च दरमा कर लगाइन्छ । उच्च-आय हुनेहरूबाट पुनःआर्जित सम्पत्तिलाई तल्लो-आय समूहहरूलाई लाभ हुने कार्यक्रमहरूको लागि प्रयोग गर्छ ।

सरकारले सक्रिय रूपमा आय असमानतालाई कम गर्छ, उत्पन्न राजस्वलाई सार्वजनिक सेवाहरू र सामाजिक कल्याण कार्यक्रमहरूमा लगानी गर्छ र सामाजिक स्थिरतालाई प्रवर्द्धन गर्दै अधिक सन्तुलित र समावेशी अर्थतन्त्र सिर्जना गर्दछ । साथै, सरकारले ऊर्जा, जमीन, कृषि, शिक्षा, र स्वास्थ्य सेवाहरू जस्ता महत्त्वपूर्ण स्रोतहरूलाई केही व्यक्तिहरूको हातमा केन्द्रित हुन नदिन नियन्त्रण पनि गर्छ।

सामाजिक कल्याण: राज्यले प्रायः पूर्ण रूपमा वित्त पोषण गरेका व्यापक सामाजिक कल्याण कार्यक्रमहरू समानता प्रवर्द्धन गर्न र जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण हुन्छन् । तिनीहरूले प्रत्येक व्यक्तिलाई स्वास्थ्य सेवा, शिक्षा, र आर्थिक सहायता जस्ता आवश्यक सेवाहरूको उपलब्ध गराउँछन। धेरै देशहरूमा, सार्वजनिक रूपमा वित्त पोषित स्वास्थ्य सेवा प्रणालीले सबैलाई सेवा प्रदान गरेको हुन्छ, चाहे उनीहरूको आय जे होस् ।

सार्वजनिक शिक्षा प्रणालीले निःशुल्क वा किफायती शिक्षा प्रदान गर्ने उद्देश्य राख्छ, जसले मानिसहरूलाई ज्ञान र सीप दिन्छ र गरिबी निवारणमा मद्दत गर्छ । सरकारहरूले सबै नागरिकलाई निश्चित, बिना शर्त आय दिन पनि विचार गर्न सक्छन्, जसले सुरक्षा जालको रूपमा कार्य गर्दछ, गरिबी घटाउँछ, र आर्थिक स्थिरतालाई प्रवर्द्धन गर्छ ।

पर्यावरणीय दिगोपन: प्राकृतिक स्रोतहरूको जिम्मेवारीपूर्वक व्यवस्थापन र पर्यावरण माथिको हानिलाई न्यून गर्नु सरकारको लागि आवश्यक छ। तिनीहरूले कार्बन उत्सर्जनलाई सीमित गर्ने, नवीकरणीय ऊर्जा प्रयोग गर्ने, र पर्यावरणको रक्षा गर्ने जस्ता दिगो अभ्यासहरूलाई प्रवर्द्धन गर्न नियमहरू लागू गर्छन् ।

सरकारले आर्थिक वृद्धिलाई वातावरणीय संरक्षणसँग सन्तुलनमा राख्छ । तिनीहरूले कार्बन कर, उत्सर्जन व्यापार योजना, र कडा वातावरणीय मापदण्डहरू जस्ता कानुनहरू सिर्जना गर्छन् । सरकारले जलवायु परिवर्तनसँग लड्न र प्रदूषण घटाउन रूख रोप्ने र स्वच्छ ऊर्जा लगानी गर्ने ठूला परियोजनाहरूको नेतृत्व पनि गर्छ ।

नवप्रवर्तन: सरकारले नवप्रवर्तनलाई मार्गनिर्देशन गर्न सक्छ, जस्तै नवीकरणीय ऊर्जा, स्वास्थ्य सेवा, र पूर्वाधार क्षेत्रमा । तिनीहरूले यसो गर्छन् ताकि नवप्रवर्तनले कार्बन उत्सर्जन घटाउने, भूमिको छय न्यूनिकरण गर्ने सार्वजनिक स्वास्थ्य सुधार गर्ने, र सेवाहरूमा पहुँच सुनिश्चित गर्ने जस्ता महत्त्वपूर्ण सामाजिक मुद्दाहरूमा मद्दत पुर्‍याओस् । यसले नवप्रवर्तनका सकारात्मक पक्षहरूलाई असमानता र वातावरणीय समस्याहरू सम्बोधन गर्न मद्दत गर्छ ।

भूमंडलीकरण: यो सावधानीपूर्वक घरेलु चासोहरूको रक्षा गर्दै भूमंडलीकरणलाई सन्तुलनमा राख्न केन्द्रित गर्छ । यसले अन्तर्राष्ट्रिय व्यापार र सहकार्यले स्थानीय उद्योग र सामाजिक कल्याणलाई फाइदा पुर्‍याउँछ भनेर सुनिश्चित गर्छ ।

यसले विकसित र विकासशील देशहरूबीच समानता सिर्जना गर्ने निष्पक्ष व्यापार अभ्यासलाई प्राथमिकता दिन्छ ।

आलोचना: बजार अर्थतन्त्रका समर्थकहरूले प्रमुख उद्योगहरूमा कडा सरकारी नियमनको आलोचना गर्न सक्छन्, जसले दक्षतामा कमी र नवप्रवर्तनमा अवरोध पुर्‍याउन सक्छ भन्ने वर्ग हुनेछन् । धेरै नियमनले निर्णय-प्रक्रियामा ढिलाइ गराउन सक्छ, लागत बढाउन सक्छ, र प्रतिस्पर्धालाई निरुत्साहित गर्न सक्छ भन्ने एक समूह हुने छन् ।

यो कसरी फरक छ

मिश्रित बजार अर्थतन्त्रमा, निजी र सार्वजनिक स्वामित्व सहअस्तित्वमा हुन्छन्, जहाँ सरकारले बजार असफलताहरू सच्याउन र निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्न नियमन गर्छ । यसले आर्थिक वृद्धि र सामाजिक कल्याण बीच सन्तुलन खोज्छ, कर प्रणाली र कल्याणकारी कार्यक्रमहरू मार्फत धन पुनर्वितरणलाई प्रवर्द्धन गर्छ ।

नवप्रवर्तनलाई बजार प्रोत्साहनहरूद्वारा प्रोत्साहन गरिन्छ, तर सरकारले सार्वजनिक चासोको रक्षा गर्न हस्तक्षेप गर्न सक्छ । सामाजिक कल्याण कार्यक्रमहरू, जसलाई निजी र सार्वजनिक क्षेत्रहरुले सेवा प्रदान गर्छन् र बेरोजगारीको व्यवस्थापन गर्छन् र वातावरणीय नीतिहरूले सार्वजनिक-निजी क्षेत्र सहकार्य मार्फत दिगो विकासमा जोड दिन्छन् ।

प्रगतिशील पूँजीवाद (जसलाई जोसेफ स्टिग्लिट्जले स्थापित गरेका हुन) र नव-समाजवादी पूँजीवादले दुवैले आर्थिक वृद्धि र सामाजिक समानताको सन्तुलन खोज्छन्, तर तिनीहरूको दृष्टिकोणमा भिन्नता छ । प्रगतिशील पूँजीवादले दिगो वृद्धिमा, असमानता घटाउन, र सरकारी हस्तक्षेपमार्फत बजार नियमन गरेर सामाजिक कल्याण सुनिश्चित गर्न ध्यान दिन्छ ।

यसले निगरानीसहित निजी स्वामित्वको वकालत गर्छ र निजी र सार्वजनिक क्षेत्रको सहकार्यद्वारा नवप्रवर्तनलाई जोड दिन्छ । यस मोडेलका उदाहरणहरूमा स्वीडेन र डेनमार्कजस्ता स्कान्डिनेभियन देशहरू छन्, जसले सामाजिक कल्याणलाई आर्थिक गतिशीलताको साथ प्राथमिकता दिन्छन् ।

नव-समाजवादी पूँजीवादले समाजवादी संयन्त्रमा केहि पूँजीवादी संयन्त्रहरूसँग मिलाउँछ, जसले सामाजिक समानता, आर्थिक वृद्धि, र वातावरणीय दिगोपनलाई प्राथमिकता दिन्छ।

यसले पनि निजी र सार्वजनिक स्वामित्वको मिश्रण समेट्छ, तर समाज कल्याण प्रवर्द्धन गर्न प्रमुख क्षेत्रहरूमा राज्यको बलियो नियन्त्रण हुन्छ। सरकारले आर्थिक योजना र सामाजिक कल्याणमा सक्रिय भूमिका खेल्छ ।

यसले बजारका असफलताहरू सुधार गर्नुभन्दा सार्वजनिक वस्तु र सेवाहरूको विस्तारमा ध्यान दिन्छ। सामाजिक लक्ष्यहरू प्राप्त गर्न, सम्पत्ति पुनर्वितरण सुनिश्चित गर्न, र सर्वव्यापी स्वास्थ्य सेवा र शिक्षा जस्ता विस्तृत सार्वजनिक सेवाहरू प्रदान गर्न बजारको कडा नियमन गरिन्छ ।

सरकारले आर्थिक वृद्धि योजना बनाउन प्रमुख भूमिका खेल्छ, जसले समान वितरण, दिगोपन, र असमानता घटाउन ध्यान दिन्छ । नवप्रवर्तन राज्य-द्वारा निर्देशित हुन्छ, जसले सामाजिक र वातावरणीय लक्ष्यहरूसँग समायोजन सुनिश्चित गर्छ, र स्थानीय उद्योगहरूको सुरक्षा गर्न भूमंडलीकरणलाई सावधानीपूर्वक अपनाइन्छ। सारमा राज्यले अर्थतन्त्रका महत्त्वपूर्ण क्षेत्रहरू व्यवस्थापन गर्छ, जबकि केही बजार स्वतन्त्रताहरूलाई अनुमति दिइन्छ।

सारमा, यी प्रणालीहरुले बजार-चालित अर्थतन्त्रका लाभहरूलाई सामाजिक कल्याण र समानतासँग सन्तुलनमा राख्न खोज्छन् । यद्यपि, नव-समाजवादी पूँजीवादले राज्यको नियन्त्रण, अनिवार्य वस्तु र सेवाहरूको समानता र न्यायसंगत विस्तार र पुनर्वितरणलाई जोड दिदैं दिगो विकासको लक्ष्य राख्दछ ।

यसले देशको विद्यमान विचौलिया र सिन्डिकेट प्रणालीलाई निश्तेज पार्दै भ्रष्टाचार न्यूनिकरण गर्न मद्दत गर्दछ, जबकि मिश्रित बजार अर्थतन्त्रले निजी र सार्वजनिक क्षेत्रबीच थप लचिलो सन्तुलन खोज्छ र जसले गर्दा विचौलिया र सिन्डिकेट प्रणालीलाई जान-अन्जानमा प्रोत्सहान गरिरहेको हुन्छ ।

देश, जनता र भूराजनैतिक अवश्था अनुसार, जनताका आधारभूत आवश्यक वस्तु र सेवाहरु समान र न्यायसंगत पहुँच सुनिश्चित गर्न, देशमा हुने गरेका अनियमिताका न्युनिकरण गर्न र दिगो आर्थिक र सामाजिक विकासको बाटोमा डोर्याउन, नव-समाजवादी पूँजीवाद देशको माटो सुहाउँदो एक उत्तम प्रणाली सावित हुनेछ।

(डा कँडेल जेनेभामा कार्यरत मेडिकल एपिडेमियोलोजिस्ट तथा मानवशास्त्री हुन् यहाँ व्यक्त विचारहरू लेखकका व्यक्तिगत हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?