+
+

भूपू लाहुरे परिवारको कथामा ‘पेन्सनपट्टा’ निर्देशन गर्दै माओत्से

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ४ गते १३:१६

काठमाडौं । माओत्से गुरुङ निर्देशित पहिलो कथानक फिल्म ‘दयारानी’ गत वर्ष घरेलु बक्स अफिसमा सुपरहिट रह्यो । न्यून लगानीको फिल्मले ४ करोड रुपैयाँ कमाइ गर्‍यो । फिल्मको कथावस्तु र परिवेशलाई दर्शकले रुचाए ।

उनै अभिनेता तथा निर्देशक गुरुङ नयाँ फिचर फिल्मसहित फर्किने भएका छन् । आइतबार उनले नयाँ फिल्म ‘पेन्सनपट्टा’ निर्देशनको घोषणा गरेका छन् ।

भूतपूर्व लाहुरे परिवारको वास्तविक कथावस्तुमा गुरुङले यो फिल्म बनाउन लागेका हुन् । एउटा लोभी युवक कसरी दानी हुन पुग्छ भन्ने कथावस्तुमा फिल्म बन्नेछ ।

‘यो मेरी सानीआमालाई हेरेर लेखेको कथा हो । यसमा भूतपूर्व लाहुरे सन्तानको कथा छ । लाहुरे परिवेश यसमा चित्रण छ’ फिल्मबारे उनले भने, ‘मेरी सानीआमालाई हेरेर लेखिएको कथा हो । यस्तो समस्या आज पनि भूतपूर्व लाहुरेको परिवारले भोगिरहेको छ । कथालाई मासमा ल्याउन खोजेको हुँ ।’

आफ्ना हजुरबुवा र बुवा पनि भूतपूर्व इण्डियन आर्मी भएकाले निजी अनुभवको आधारमा कथा लेख्न सजिलो भएको उनी बताउँछन् । ‘लाहुरे बितिसकेपछि श्रीमतीका लागि पेन्सनको लागि जाँदा नाम नमिलेका उदाहरण छन् । कथा पनि सानी आमालाई हेरेर कोरिएको हो’ उनले भने ।

माओत्सेकै पटकथा तथा निर्देशन रहने फिल्मको निर्माण माओत्से गुरुङ प्रोडक्सनको ब्यानरमा हुँदैछ । यसैसाता माओत्सेसहित भोजबहादुर गुरुङले छायांकन थलो हेरेका छन् । फिल्मलाई पोखरा र अन्नपूर्ण हिमश्रृंखला सामुन्नेको रमणीय गाउँ ताङतिङमा छायांकन गरिने भएको छ ।

फागुन वा चैतदेखि छायांकन तयारी छ । कलाकारको कास्टिङ जारी रहेको तर निधो भइनसकेको गुरुङले बताए । आठवटा गुरुङ फिल्म निर्देशन गरिसकेका माओत्सेले पहिलो नेपाली फिल्मको रुपमा ‘दयारानी’ निर्देशन गरेका थिए । उनले नेपाली फिल्म ‘पुरानो डुंगा’को निर्माणमा पनि सहकार्य गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?