बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच भइरहेको उच्चस्तरीय वार्तालाई ताइवानले निकै चासोका साथ हेरिरहेको छ। अमेरिका र ताइवानबीच कुनै औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि बलियो अनौपचारिक सम्बन्ध रहेको पृष्ठभूमिमा ताइवानी नेतृत्वले यो भ्रमण र ट्रम्पको पछिल्लो अभिव्यक्तिको सूक्ष्म विश्लेषण गरिरहेको छ।
अमेरिकी सञ्चारमाध्यम फक्स न्युजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकाले युद्ध नचाहेको स्पष्ट पारेका छन्। उनले वर्तमान स्थिति कायम रहेमा चीन पनि सन्तुष्ट रहने विश्वास व्यक्त गर्दै अमेरिकाको समर्थन छ भन्दैमा कसैले एकतर्फी रूपमा स्वतन्त्रताको घोषणा गरोस् भन्ने पक्षमा आफू नरहेको बताएका छन्।
ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा भनेका छन्, ‘म कोही स्वतन्त्र भएको हेर्न चाहन्न। र तपाईंलाई थाहै छ, युद्ध लड्नका लागि हामीले ९,५०० माइल यात्रा गर्नुपर्ने हुन्छ, म त्यस्तो अवस्थाको खोजीमा छैन। म चाहन्छु कि उनीहरू शान्त होऊन् र चीन पनि शान्त रहोस्। हामी युद्ध चाहँदैनौँ, र यदि तपाईंले यसलाई अहिले जस्तो छ त्यस्तै राख्नुभयो भने मलाई लाग्छ चीन पनि यसमा सन्तुष्ट रहनेछ। तर हामी यो चाहँदैनौँ कि कसैले आएर ‘अमेरिकाले हामीलाई समर्थन गरिरहेको छ, त्यसैले आउनुहोस् स्वतन्त्रताको घोषणा गरौँ’ भनोस्।’
ट्रम्पको यस अभिव्यक्तिप्रति टिप्पणी गर्दै ताइवानका उप-विदेशमन्त्री चेन मिङ-चीनले शनिबार ट्रम्पको भनाइको वास्तविक अर्थ बुझ्न ताइवानलाई अझ बढी स्पष्टता आवश्यक पर्ने बताएका छन्। साथै उनले ताइवानलाई अमेरिकी हतियार बिक्री गर्नु अमेरिकी कानुन अन्तर्गत स्वीकृत व्यवस्था भएको स्मरण गराउँदै ताइवान–अमेरिका हतियार सम्झौता सधैँ क्षेत्रीय शान्ति र स्थिरताको आधारशिला रही आएको दाबी गरेका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति लाईका प्रवक्ताले पनि अमेरिकी हतियार बिक्री ताइवानप्रतिको अमेरिकी सुरक्षा प्रतिबद्धताको हिस्सा भएको र यसले क्षेत्रीय खतराहरू विरुद्ध साझा प्रतिरोधको काम गर्ने उल्लेख गरेका छन्। ताइवानका विदेशमन्त्री लिन चिया-लुङले आफ्नो टोलीले अमेरिका-चीन शिखर वार्तामा निरन्तर नजर राखिरहेको र अमेरिका तथा अन्य मित्रराष्ट्रहरूसँग राम्रो संवाद कायम राखेको जानकारी दिएका छन्। उनले ताइवान क्षेत्रमा सधैँ शान्ति र स्थिरताको रक्षक रहेको दाबी गर्दै चीनमाथि आफ्नो आक्रामक सैन्य कदम र सत्तावादी दमनमार्फत क्षेत्रीय खतरा बढाएको आरोप लगाएका छन्।
ताइवानमा अधिकांश नागरिकहरू चीनसँगको सम्बन्धमा हालकै यथास्थिति कायम रहोस् भन्ने चाहन्छन्। यसअघि पनि ताइवानको स्वतन्त्रताको मुद्दामा अमेरिकाले आफ्नो अडान नरम बनाएको भन्दै चीन आक्रोशित भएको थियो। सन् २०२५ को फेब्रुअरीमा अमेरिकी विदेश मन्त्रालयले आफ्नो वेबसाइटबाट वासिङ्टनले ताइवानी स्वतन्त्रताको विरोध गर्ने पुरानो प्रतिबद्धता दोहोर्याएको खण्ड हटाउँदा चीनले कडा आपत्ति जनाएको थियो।
प्रतिक्रिया 4