११ कात्तिक, मनाङ । बिहानैदेखि उत्साहित मुद्रामा हिँडेका चितवनका विजय थापा (२७) तिलिचो ताल हेर्नमा आतुर थिए । तर बेस क्याम्पबाट २२ घुम्तीतर्फको यात्रामा उनको स्वास्थ्यले एक्कासि धोका दियो ।
सुरुमा सामान्य थकाइ लागेजस्तो मात्रै भएको थियो । तर, एक्कासि शरीर काँप्न थालेपछि उनी तर्सिए । उचाइको असरले थापाको स्थिति क्षणक्षणमा बिग्रँदै गयो । पटकपटक वान्ता हुन थाल्यो । हिमालको चिसो हावामा उनको शरीर झन् कमजोर बन्दै गयो ।
केही क्षणमै उनी अर्धचेत अवस्थामा पुगे । ‘उभिन पनि गाह्रो भइसकेको थियो । मलाई त्यतिबेला लाग्यो अब यही मर्छु,’ थापाले त्यो क्षणको स्मरण गर्दै भने, ‘‘.श्वासप्रश्वास तीव्र गतिमा बढ्यो । पेट यति बेसरी निमठियो कि त्यही ठाउँमै दोब्रिएँ ।’
साथीभाइले जसोतसो घोडामा राखेर तल बेसक्याम्पमा झारे ।
मनाङ ङिस्याङ गाउँपालिका–९ मा अस्थायी हेल्थ सेन्टरमा राखेरमा उपचार सुरू भयो । सामान्तया वेसक्याम्पमा अक्सिजनको लेबल ७० भन्दा तल झर्नु हुँदैन । तर उनको अक्सिजन लेबल ५० मा झरिसकेको थियो । तुरुन्तै अक्सिजनको पाइप उनका नाकमा जोडियो । अनवरत दुई घन्टा अक्सिजन दिएपछि उनी सामान्य रूपमा फर्किए ।
उनीमात्रै होइन, तिलिचो ताल हेर्न जाने अधिकांशलाई लेक लाग्ने समस्या देखिन्छ । उनीहरुकै लागि स्वास्थ्यकर्मी कल्पना पौडेल त्यहाँ छिन्, र धेरैको ज्यान बच्छ ।
कल्पना हिमाली क्षेत्रको विकट भूगोलमा स्वास्थ्य सेवा पुर्याउन समर्पित छिन् । मनाङको तिलिचो बेसक्याम्पमा ‘एचए’का रूपमा कार्यरत उनले पर्यटक र स्थानीयबासीको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्यारहेकी छन् ।
समुद्री सतहबाट करिब ४४०० मिटरको उचाइमा रहेको तिलिचो बेसक्याम्प नेपालकै अग्लो स्थानमा रहेको ताल तिलिचो पुग्ने पदमार्गमा पर्छ । यहाँ आउने पर्यटकलाई उच्च पहाडी रोग (एक्युट माउन्टेन सिकनेस) लाग्ने सम्भावना धेरै हुन्छ । यस्तो अवस्थामा कल्पना पौडेलको सेवा अमूल्य छ ।
***
‘आज त तिलिचो पुग्नैपर्छ ! बुटवलबाट आएका २२ वर्षीय रमेश गिरीले बेसक्याम्पमा टाउको दुख्दादुख्दै पनि जिद्दी गरे ।
स्वास्थ्यकर्मीको सल्लाह नमानी उनी आफ्नो साथी समूहसँग अघि बढे । तर केही घण्टा नबित्दै उनलाई लेक लाग्न सुरु भइहाल्यो । चाहँदाचाहँदै पनि उनी माथि उक्लिन सकेनन्, बेसक्याम्प झर्नैपर्यो ।
मनाङको तिलिचो तालमा बढ्दो पर्यटकीय चापसँगै यस्ता घटना दैनिकजसो घट्न थालेका छन् । स्वास्थ्य केन्द्रकी कल्पना पौडेल भन्छिन्, ‘दैनिक ५–६ जना गम्भीर (अक्सिजन दिर्नुपर्ने) र ५० भन्दा बढी सामान्य बिरामी आउँछन् । कहिलेकाहीं त उपचार कक्षमा ठाउँ नै अपुग हुन्छ ।’
विडम्बना धेरैजसो पर्यटक, विशेषगरी नेपाली आवश्यक सावधानी अपनाउँदैनन् । गोजीमा औषधि बोकेर हिंड्छन् तर खाँदैनन् । एक दिनमा बढीमा ५०० मिटर मात्र उकालो चढ्न स्वास्थ्यकर्मी सुझाउँछन् । तर धेरैजसो यात्री यसलाई बेवास्ता गर्छन् ।
‘विदेशी पर्यटकहरु भने फरक छन्,’ पौडेल थप्छिन्, ‘उनीहरु नियमित औषधि खान्छन्, बिस्तारै हिंड्छन् र शरीरलाई नयाँ वातावरणमा घुलमिल हुन समय दिन्छन् ।’
कल्पना दिनरात नै पदयात्रीको सेवामा तल्लिन हुन्र्छिन् । स्वास्थ्य उपचारसँगै परामर्श दिइरहेकी हुन्छिन् । ‘कहिलेकाहीँ रातको समयमा पनि आकस्मिक बिरामी आउँछन् । त्यस्तो बेला उनीहरूको ज्यान बचाउन सक्दा अपार खुशी मिल्छ,’ उनी भन्छिन् ।
दुर्गम भूगोलमा सेवामा खटिएकी कल्पनाको काम देखेर धेरै पर्यटक सन्तुष्ट छन् । ‘यस्तो विकट ठाँउमा यस्तो सेवा पाइन्छ भन्ने सोचेको थिइन् । तर लेक लागेर थलिएको बेलामा उहाँको सहयोगले नयाँ जीवन नै पाएँ,’ पदयात्री सुनिता थपलिया भन्छिन् ।
कल्पनाको दैनिक जीवन चुनौतीपूर्ण छ । एक्लै धेरै बिरामीको हेरचाह गर्नुपर्ने, सीमित स्वास्थ्य सामग्रीको व्यवस्थापन र कठोर मौसमसँग जुध्नुपर्ने बाध्यता छ । तर उनको दृढ संकल्प र सेवाभावले यी सबै चुनौतीलाई पार गर्न सक्षम बनाएको छ ।
‘बिहान उठ्दा कहिले कडा चिसो त कहिले हिमपात, उनी आफ्नो अनुभव सुनाउछिन्, ‘यहाँका मानिसहरूको मुहारमा देखिने खुशी र कृतज्ञताले सबै थकान बिर्सन लगाउँछ ।’
दुर्गमकी चम्किली तारा
मनाङको खाङसार स्वास्थ्य चौकीमा पदस्थापन हुँदाको त्यो पहिलो दिन उनको मनमा अनेक प्रश्न र आशंका थिए । ‘पहिलो पटक यहाँ आउँदा मैले सोचेको थिएँ (के यहाँ बस्न सकूँला ?’ कल्पना दुई वर्ष अघिको स्मृति सम्झिँदै भन्छिन् ।
हिमालले घेरिएको ठाउँमा न त राम्रो सडक छ, न त आधुनिक सुविधा । घोडा र खच्चरको पिठ्युँमा सामान बोकाएर साँघुरो र जोखिमपूर्ण बाटोबाट हिँड्नुपर्ने बाध्यता ।
भिन्न भाषा, भिन्न संस्कृति र कठोर भौगोलिक अवस्था । सुरुका दिनहरुमा निद्रा नलाग्ने, खान मन नलाग्ने जस्ता समस्याले सताए । तामाङ बाहुल्यता भएको बस्तीमा पुग्दा उनलाई लाग्यो–केही महिना पनि बस्न गाह्रो हुनेछ ।
तर समय बित्दै जाँदा उनको यो धारणा फेरियो । ‘यहाँका मानिसहरुको सरल र सहयोगी स्वभावले मलाई छक्क पार्यो,’ उनी भन्छिन् । चार वर्ष अघि स्थापना भएको यो स्वास्थ्य संस्था गाउँपालिका र होटल व्यवसायी समितिको सहकार्यमा सञ्चालित छ ।
गाउँपालिकाले नपुर्याएका औषधिहरु समितिको कोषबाट खरिद गरिन्छ । विशेषगरी पर्यटकीय सिजन असोज, कार्तिक र मंसिर महिनामा बिरामीको चाप बढ्छ । तीन महिना मात्रै बेसक्याम्पबाट सेवा दिन्छिन् । बाँकी समय खाङसार स्वास्थ्य चौकीबाट स्थानीयको सेवा गर्छिन् ।
‘बिरामी परेपछि कोही मर्न नपरोस् भन्ने मेरो एउटै चाहना हो,’ भावुक हुँदै भनिन् । दरबन्दी भए पनि कोही आउन नचाहने यो ठाउँमा आफ्नो कर्तव्य निभाइरहेकी छन् । ‘मलाई यहाँका मानिसहरूको मायाले बाँधेको छ,’ उनले मुस्कुराउँदै भन्छिन्, ‘कसरी छोडेर जान सक्छु र ?’
चिसो मौसममा घर फर्कन मन लागे पनि दुर्गमका मानिसको सेवा गर्न पाउँदाको सन्तुष्टिले उनलाई यही रमाउन सिकाएको छ ।
मोदी गाउँपालिका, पर्वतकी कल्पनाको समर्पणले डाँडाकाँडा र हिमालको बीचमा रहेको स्वास्थ्य चौकी खाङसारका बासिन्दा र पर्यटक दुवैको भरोसाको केन्द्र बनेको छ ।
हिमालय क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउने काममा कल्पना जस्ता समर्पित स्वास्थ्यकर्मीको योगदान अतुलनीय छ । उनको सेवा र समर्पणले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको एउटा ज्वलन्त उदाहरण प्रस्तुत गरेको छ । साँच्चै भन्ने हो भने, उनी हिमालयकी एक चम्किली तारा हुन् ।
स्वास्थ्य सावधानी आवश्यक
‘माथि चढ्दा टाउको दुख्यो होला नि, केही हुँदैन !’ धेरैले यसरी नै सोच्छन् । तर यो सोचाइले कहिलेकाहीं ज्यानै जान सक्छ । हिमाली क्षेत्रमा हुने यस्तै लापरवाहीका कारण बर्सेनि धेरैले ज्यान गुमाउने गरेका छन् ।
‘लेक लाग्ने रोग साधारण होइन । सामान्य रुपमा लिँदा कतिपयको ज्यान तलमाथि भएको छ,’ कल्पना भन्छिन् ।
उकालो चढेको ८ देखि ४८ घण्टाभित्र यसका लक्षणहरू देखिन थाल्छन् । सुरुमा हल्का टाउको दुखाइ, थकान र रिँगटा लाग्छ । क्रमशः हिँड्न गाह्रो हुने, निद्रा नलाग्ने, सास रोकिएजस्तो हुने, जोडले टाउको दुख्ने, खान मन नलाग्ने र वाकवाकी लाग्ने हुन्छ ।
उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घ रोगी र जेष्ठ नागरिकलाई यो झनै जोखिमपूर्ण हुन सक्छ ।
उचाइमा पुगेका बिरामीको सबैभन्दा पहिले अक्सिजनको मात्रा जाच्नुपर्ने हुन्छ । केही गरी अक्सिजनको मात्रा घटेको वा शरीरमा फरकपन महसुस गरेमा तत्काल कम उचाइमा झर्नु सबैभन्दा राम्रो उपाय हो ।
तर कतिपय मानिस रोगका प्रारम्भिक लक्षणहरू लुकाउँछन् । ‘युवाहरूमा एउटा गलत धारणा छ । उनीहरू सोच्छन् – लेक बूढापाकालाई मात्र लाग्छ,’ पौडेल भन्छिन्, ‘लेक सबैलाई लाग्छ । सबैले सावधानी अपनाउनुपर्छ ।’
केही अवस्थामा फोक्सो र मस्तिष्कमा गम्भीर असर पर्न सक्छ । एक्सरे गर्दा छातीमा समस्या देखिन सक्छ, मस्तिष्कमा दबाब बढ्न सक्छ । यस्तो अवस्थामा भेन्टिलेटरको सहायता लिनुपर्ने हुन्छ । समयमै उपचार नपाए ज्यान समेत जान सक्छ ।
तर सावधानी अपनाए यस्ता जोखिमबाट बच्न सकिन्छ । उनी सल्लाह दिन्छिन्, ‘हिमाली क्षेत्रमा जानुभन्दा १–२ दिन अघि नै एसिटाजोलामाइड जस्ता औषधि सेवन गर्नुपर्छ । बीचबीचमा विश्राम लिने गरेमा जोखिम कम हुन्छ । तर औषधि सेवन गर्दा स्वास्थ्यकर्मीको सल्लाह अनिवार्य छ ।’
गिदी वा फोक्सो सुन्निएमा अवस्था झनै जटिल बन्छ । गिदी सुन्निएमा जोडले टाउको दुख्ने, बान्ता आउने जस्तो हुन्छ । फोक्सो सुन्निएमा खोकी लाग्ने, स्वाँस्वाँ हुने र खकारमा रगत देखिन सक्छ । यस्तो अवस्थामा तत्काल चिकित्सकीय उपचार नपाए ज्यान जान सक्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा – एकै दिनमा धेरै उचाइ चढ्ने प्रयास गर्नु हुँदैन ।
‘हिमाल चढ्ने रहर राम्रो हो,’ उनी भन्छिन्, ‘तर यो रहरले ज्यान नलिओस् भन्नका लागि सावधानी अपनाउनै पर्छ ।’
लेक लागेपछि के गर्ने त ? सबैभन्दा पहिलो उपाय (तुरुन्त तल झर्नुपर्छ । सुुरुकै अवस्थामा आराम गरे पनि लक्षण हराउन सक्छन् । पानी, झोलिलो र लसुन मिसिएको खानेकुरा फाइदाजनक हुन्छन् । गम्भीर बिरामीलाई अक्सिजनको आवश्यकता पर्छ । उनी भन्छिन्, ‘उचाइमा पुग्नुअघि शरीरलाई विस्तारै अभ्यस्त गराउनु जरुरी छ ।’
प्रतिक्रिया 4