+

घुँडा खिइने समस्या कसरी थाहा पाउने ? (भिडियोसहित)

२०८१ कात्तिक  १२ गते १५:२७ २०८१ कात्तिक १२ गते १५:२७
घुँडा खिइने समस्या कसरी थाहा पाउने ? (भिडियोसहित)

घुँडा खिइने समस्या विभिन्न कारणले हुन्छ । यसमा उमेर एक प्रमुख कारण हो । घुँडाको जोर्नीभित्र पनि एक प्रकारको नरम चिप्लो पदार्थ हुन्छ । यसलाई ‘कार्टिलेज’ भनिन्छ । त्यस्तै जोर्नीभित्र निश्चित मात्रामा एक प्रकारको तरल पदार्थ पनि हुन्छ, जसलाई ‘साइनोभियल फ्लुड’ भनिन्छ ।

‘कार्टिलेज’ र ‘साइनोभियल फ्लुड’को मद्दतले घुँडालाई हिंडडुल गर्ने बेलामा घर्षण हुनबाट बचाउनुका साथै राम्रोसँग घुँडा चलाउन मद्दत गर्छ । कुनै पनि कारणले घुँडाको ‘कार्टिलेज’ रगडिएर पातलो हुने अवस्थालाई सरल रुपमा बुझ्न घुँडा खिइएको भनिन्छ ।

कस्तो व्यक्तिमा यो समस्या देखा पर्छ ?

घुँडा खिइने समस्या मुख्यतया उमेरको कारण हुन्छ । तर अव्यवस्थित खानपान, पोषणयुक्त खानाको कमी, चोटपटक लाग्नु वा हड्डी भाँचिनु र हड्डी सम्बन्धी रोगले पनि घुँडा खिइन्छ । साथै तौल बढी हुने व्यक्तिमा पनि उमेरभन्दा अगावै घुँडा खिइने समस्या देखिन थाल्छ । सम्पूर्ण तौलको ७० देखि ८० प्रतिशत तौलको भार घुँडामा पर्ने भएकाले घुँडा खिइने समस्या देखिन्छ ।

दिनभरि उभिएर काम गर्ने शिक्षक, दिनभरि एउटै पोजिसनमा बसेर गाडी कुदाउने ड्राइभर जस्ता पेशामा संलग्न व्यक्तिमा पनि घुँडा खिइने समस्या देखिने सम्भावना अन्यको तुलनामा धेरै हुन्छ । किनकि लामो समयसम्म एउटै पोजिसनमा बस्दा, उभिंदा घुँडाको मासंपेशी र लिगामेन्टमा दबाब पर्छ । जसकारण यो समस्या निम्तिन सक्छ ।

बालबालिकामा पनि यो समस्या देखिन्छ ?

बढ्दो उमेरमा निम्तिने समस्या भएकाले यो समस्या बालबालिकामा खासै देखा पर्दैन । तर केही बालबालिकामा जन्मजात नै हड्डीको समस्या छ भने घुँडा खिइने समस्या देखिन सक्छ ।

घुँडा खिइएको कसरी थाहा हुन्छ ?

घुँडा खिइँदा असाध्यै दुख्छ । घुँडाको दुखाइ नै यसको प्रमुख लक्षण हो । साथै घुँडा बाङ्गो देखिनु, खुट्टा सुन्निनु, जोर्नी कडा हुनु, घुँडा चलाउँदा दुख्नु, बसेपछि उठ्न नसक्नु, भर्‍याङ उक्लिंदा-ओर्लिंदा समस्या हुनु, टुक्रुक्क बस्दा, पलेंटी कसेर बस्दा र ओरालो झर्दा कठिन हुनु यसका लक्षण हुन् ।

समयमै उपचार गरिएन भने के हुन्छ ?

समयमै उपचार गरिएन भने यसले दिनचर्यामा प्रत्यक्ष असर गर्छ, हिंडडुल गर्न गाह्रो हुने, सिंढी चढ्न गाह्रो हुने र खुट्टा चलाउन नै गाह्रो हुने अवस्था सिर्जना हुनसक्छ ।

उपचार के छ ?

धेरै दुख्यो भने एक-दुई हप्तासम्म एन्टी-इन्फ्लामेटरी औषधि सेवन गर्न सकिन्छ । त्यसपछि फिजियोथेरापी गर्न सकिन्छ । जोर्नी सुन्निएको छ भने चिसो तथा तातोले सेक्ने गर्न सकिन्छ । यसको उपचार खासगरी फिजियोथेरापी, औषधि सेवन र शल्यक्रिया गरी तीन प्रकारले गर्न सकिन्छ ।

यदि शल्यक्रिया नै गर्नुपरेमा अर्थोस्कोपी, ओस्टियोटोमी गरिन्छ । अर्थोप्लास्टी पनि गर्न सकिन्छ । अस्पतालहरूमा घुँडाको प्रत्यारोपण पनि हुन्छ ।

ध्यान दिनुपर्ने कुरा

घुँडा खिइने समस्याबाट बच्न केही कुरामा ध्यान दिन सकिन्छ । जस्तो- लामो समय पलेंटी मारेर नबस्ने, लामो समय निरन्तर हिंड्ने, टुक्रुक्क नबस्ने, सिंढीमा धेरै तलमाथि नगर्ने दैनिक व्यायाम गर्ने, खानपानमा विशेष ध्यान दिनुपर्छ ।

हिंडडुल गर्नु एकदमै राम्रो व्यायाम हो । यसले सम्पूर्ण स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । तर हिंडडुल गर्दा पनि कति समय हिंड्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । दैनिक दुई घण्टा बढी लगातार हिंडियो भने यसले जोर्नीमा असर गर्न सक्छ । त्यसैले कति समय हिंड्ने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।

घुँडाको दुखाइ छ भने आराम गर्नुपर्दछ । शरीरको तौल बढ्नाले घुँडा दुख्ने समस्या हुने भएकाले तौल घटाउनुपर्छ । त्यसबाहेक नियमित व्यायाम गर्नुपर्छ । व्यायामले घुँडाको वरिपरिको मांसपेशीलाई बलियो बनाउने र दुखाइ कम गराउँछ ।

कोही व्यक्तिहरूको भने काम नै धेरै हिंड्नुपर्ने, दौडिनुपर्ने हुन्छ त्यस्ता व्यक्तिहरूमा घुँडा खिइने सम्भावना बढी हुन्छ । यस्तोमा यो समस्याबाट बच्न हड्डीलाई बलियो बनाउन प्रकारको व्यायाम गर्ने, सन्तुलित खानपान अपनाउने गर्न सक्छन् ।

फिजियोथेरापिस्ट खड्का लाजिम्पाटको नर्सरी मार्गस्थित ब्रेन एन्ड स्पाइन अस्पतालमा कार्यरत छिन् ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

घुँडा खिइनु हाडजोर्नी
लेखक
सञ्जु खड्का, फिजियोथेरापिस्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

घुँडा खिइने समस्या कसरी थाहा पाउने ? (भिडियोसहित)

घुँडा खिइने समस्या कसरी थाहा पाउने ? (भिडियोसहित)

दमका बिरामीलाई घरमा कसरी हेरचाह गर्ने ?

दमका बिरामीलाई घरमा कसरी हेरचाह गर्ने ?

गर्भावस्थामा ग्यास्ट्रिकले सतायो, के गर्ने ?

गर्भावस्थामा ग्यास्ट्रिकले सतायो, के गर्ने ?

योगले तनावजन्य रोगबाट कसरी मुक्ति दिन्छ ?

योगले तनावजन्य रोगबाट कसरी मुक्ति दिन्छ ?

दुर्गममा पदयात्रीको स्वास्थ्य सेवामा तल्लीन कल्पना

दुर्गममा पदयात्रीको स्वास्थ्य सेवामा तल्लीन कल्पना

गर्भावस्थामा आमाको व्यवहारले शिशुको विकासमा कस्तो प्रभाव पार्छ ?

गर्भावस्थामा आमाको व्यवहारले शिशुको विकासमा कस्तो प्रभाव पार्छ ?