श्वासप्रश्वासमा दीर्घकालीन समस्या आएमा दम हुने सम्भावना हुन्छ । श्वासप्रश्वासको समस्याबाट मुख्यतः दुई प्रकारको दम हुन्छ, सीओपीडी (दीर्घ दम रोग) र ब्रोन्कियल अस्थामा (दम-खोकी) ।
दमको समस्यामा श्वासनली कडा वा साँघुरो हुन्छ र सुन्निन्छ । जसकारण सास फेर्न गाह्रो हुने र खोकी (विशेषगरी सुक्खा खोकी) को समस्या हुन्छ । छातीमा कसिलोपन महसुस हुनसक्छ र सास फेर्ने क्रममा छाती बज्न सक्छ । धुलो र धुवाँको एलर्जी भएमा दमको समस्या बढ्छ भने रुघाखोकी जस्ता संक्रमणले पनि समस्या बढाउँछ ।
दमको उपचार दुई किसिमले हुन्छ- मेडिकल उपचार र ‘नन मेडिकल’ घरेलु उपचार । दम यस्तो रोग हो, जसलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिन्छ । दमबाट पीडित व्यक्तिले आफ्नो जीवनशैलीलाई व्यवस्थित गरेर सामान्य जीवन बिताउन सक्छन् । यस्तोमा दमको समस्या भएका व्यक्तिले घरमै यी कुरामा ध्यान दिएर दमको जटिल अवस्थाबाट बच्न सक्छन् ।
स्वस्थकर र सन्तुलित खानपानमा जोड
दमको जटिल समस्या भएका व्यक्तिले घरमै दमलाई नियन्त्रण गर्नका लागि खानपानमा विशेष ध्यान दिनुपर्छ । दमको समस्या भएका व्यक्तिले स्वस्थकर र एन्टिअक्सिडेन्ट बढी भएको खानेकुरा खान दिनुपर्छ ।
दमको समस्यामा यो खान हुँदैन, त्यो खान हुँदैन भनेको धेरै सुनिन्छ । तर ती सब मिथ्या कुरा हुन् । दमको कारक खानेकुरा नभएकाले खासै बार्नु आवश्यक हुँदैन । तर धेरै चिल्लो, गुलियो र जंकफुड जस्तो खानेकुरा कम गर्नुपर्छ । अन्यथा यस्ता खानेकुराले मोटोपन बढ्छ र दमको लक्षण बढ्न सक्छ ।
फलफूल खान हुँदैन भनेको पनि सुनिन्छ त्यो पनि भ्रम मात्र हो । फलफूलमा प्रशस्त मात्रामा भिटामिन र एन्टिअक्सिडेन्ट हुन्छ । जसले दम लगायत विभिन्न रोगबाट बचाउन सहयोग गर्छ । एन्टिअक्सिडेन्ट भएका सागपात फलफूल बढी मात्रामा खानुपर्छ ।
नियमित व्यायाम गर्ने
दमको समस्या भएका व्यक्तिले आफ्नो अवस्था र रोगको जटिलताअनुसार सामान्य व्यायाम गर्न सक्छन् । यद्यपि दमको समस्या भएका व्यक्तिले धेरै गाह्रो खालको कसरत भने गर्नु हुँदैन । दैनिक सामान्य व्यायाम गर्नुपर्छ । दैनिक व्यायाम गर्न थालेपछि व्यायाम गर्न सक्ने क्षमता बढ्दै गएर सामान्य हिंड्ने, योग जस्ता व्यायाम गर्न सजिलो पनि हुन्छ । धेरै प्रदूषण बढेको बेलामा भने बाहिर हिंडडुल गर्नु हानिकारक हुनसक्छ । स्वस्थकर हावा भएको ठाउँमा भने हिंडडुल गर्न सकिन्छ ।
ओसिलो कोठामा नबस्ने
वर्षातको मौसममा घर ओसिलो हुनु सामान्य हो तर घरमा दमको समस्या भएका व्यक्ति छन् भने घरको भित्ता ओसिलो नहोस् भन्ने कुरामा ध्यान दिनुपर्छ । ओसिलोपनले फङ्गस बढाउँछ, जसले दमको समस्यालाई झनै बढाउँछ । त्यसैले दमको समस्या भएको व्यक्ति ओसिलो कोठामा बस्नु हुँदैन । राम्रो भेन्टिलेसन भएको, घाम लाग्ने रापिलो कोठामा बस्नुपर्छ ।
धुवाँधुलोबाट बचाउने
दमको समस्या भएको व्यक्तिलाई कडा एलर्जी उत्पन्न गर्ने धुवाँ, धुलोको सम्पर्कबाट पनि बचाउनुपर्छ । त्यसका लागि घरमा धुलो कम होस् भन्ने कुरामा ध्यान दिनुपर्छ र सरसफाइमा विशेष ध्यान दिनुपर्छ । साथै सबै किसिमको धुवाँबाट बचाउने प्रयास गर्नुपर्छ । धुम्रपान गर्ने बानी छ भने त्यसलाई छुटाउनुपर्छ, चुलोको धुवाँबाट टाढा राख्नुपर्छ ।
बाहिरी प्रदूषणबाट बचाउने
जुन मौसममा धुवाँधुलो बढी हुन्छ, बाहिरी प्रदूषण हुन्छ त्यो समयमा विशेष काम नपरी बाहिर निस्कनु हुँदैन । जानै परे मास्कको प्रयोग गरेर मात्र जाने बानी बसाउनुपर्छ ।
रुघाखोकी लागेको व्यक्तिबाट टाढा रहने
दमका बिरामीमा विशेषगरी यो जाडो मौसममा रुघाखोकी जस्ता फ्लुको जोखिम हुन्छ । त्यसैले दमको समस्या भएका व्यक्ति रुघाखोकी लागेको व्यक्तिबाट टाढा रहनुपर्छ ।
पानीको बाफ लिने
दमको समस्या भएका व्यक्तिले घरमा पानीको बाफ लिनु पनि लाभदायक हुन्छ । बाफ लिंदा नाक तथा घाँटी हुँदै फोक्सोसम्म तातो हावा पुग्छ । साथै बन्द नाक खुलाउन मद्दत गर्छ । यसले श्वास फेर्न गाह्रो हुने समस्यालाई तत्काल समाधान गर्न सक्छ ।
घरपालुवा जनावरबाट टाढा बस्ने
कतिपयलाई घरमा कुकुर वा बिरालो जस्ता घरपालुवा जनावर राख्न मनपर्छ । तर यदि घरमा दमको समस्या भएका व्यक्ति छन् भने घरमा पाल्तु जनावर राख्नु राम्रो हुँदैन । घरपालुवा जनावर भएका घरमा तिनीहरूको रौं जताततै झरेको हुन्छ । घरपालुवा जनावरको रौं एलर्जिक हुन्छ । यस्तो अवस्थामा तिनीहरूको रौंले दमको आघात बढाउँछ र समस्या निम्त्याउन सक्छ ।
पुराना सिरक र कम्बल प्रयोग नगर्ने
पुराना सिरक, कम्बल र गलैंचामा ‘डस्ट माइट’ भन्ने जीवाणु हुन्छ । जसले एलर्जी गराउँछ र दमको लक्षणलाई बढाउँछ । त्यसैले यस्ता पुराना सिरक कम्बलको प्रयोग नगर्नु नै राम्रो हुन्छ ।
खोप लगाउने
दमको समस्या भएका व्यक्तिले प्रत्येक वर्ष फ्लु विरुद्धको तथा पाँच वर्षमा निमोनियाको खोप लगाउनुपर्छ । मौसमी फ्लुको संक्रमण भएमा पनि श्वासप्रश्वासमा समस्या हुनसक्छ । त्यसैले फ्लुबाट जोगाउन उनीहरूले प्रत्येक वर्ष फ्लुको खोप लगाउनु उचित हुन्छ । किनभने यसले फ्लुको जोखिमबाट बचाउँछ । साथै निमोनियाको खोपको निमोनियाको जोखिमबाट बचाउँछ ।
चिकित्सकले दिएको औषधिलाई नियमित सेवन गर्ने
दमको समस्यामा चिकित्सकले दिएको औषधिलाई आफूखुसी छोड्नु हुँदैन । कसैले लक्षण कम भएपछि दम निको भयो भनेर औषधि छोड्ने गरेको पाइन्छ । तर आफूखुसी औषधि छोड्न हुँदैन, यसले थप जटिलता निम्ताउन सक्छ । चिकित्सकले सुझाएअनुसार औषधिको नियमित सेवन गर्नुपर्छ । केही समस्या भए चिकित्सकको परामर्श लिनुपर्छ ।
प्रतिक्रिया 4