म मेरो बाल्यकाल सम्झन्छु जहाँ हामी साथीहरुसँग दैनिक साँझको समय खेल मैदानमा हुन्थ्यौं । आफन्तहरुकहाँ जान हामी दाजुभाइहरुबीच को जाने भनेर तँछाडमछाड नै चल्थ्यो । अहिले आएर विगत सम्झिंदा हामीसँग त्यो ताका प्रशस्त समय भएको अनुभूति हुन्छ ।
जाडोयाममा बिहानी पख बाहिर चौतारीमा आगो ताप्दै विभिन्न बहुआयामिक गफमा घण्टौं बितेको पत्तो हुँदैनथ्यो । अहिले समय फेरिएको छ । अहिले धेरैजसो खेल मैदानहरू खाली छन् र बालबालिकाहरू छिमेकी वा आफन्तसँग भेटघाटमा रमाउँदैनन् । धेरैजसो बालबालिका आफ्नो फुर्सदको समय डिजिटल उपकरण, विशेषगरी स्मार्टफोनमा बिताउँछन् ।
साँझ विद्यालयबाट आएपछि प्रायजसो बच्चाहरु मोबाइलमा झुण्डिने र आमाबुवाले ‘भैगो अब मोबाइल बन्द गर’ भन्नु अहिले प्राय: घरको दैनिकी बनेको छ । पहिले बच्चाहरुले मोबाइल चलाउँदा आफ्ना नानीहरु घर बाहिर नगई घरभित्रै रमाउँदा हामीलाई उनीहरु सुरक्षित भएको अनुभूति हुन्थ्यो । तर अत्यधिक मोबाइलको प्रयोगबाट सिर्जित समस्या हेर्दा र भोग्दा अहिले लाग्छ, जुन कुराले पहिले सुरक्षाको राहत दिएको ठानिन्थ्यो त्यही कुराले नै अहिले असुरक्षाको चिन्ता थपेको छ ।
डिजिटल उपकरणको इतिहास
सन् १९४६ मा पहिलो डिजिटल उपकरण कम्प्युटर संख्यात्मक समस्या समाधान गर्न निर्माण गरिएको थियो, त्यसबेला व्यक्तिगत प्रयोगका लागि डिजाइन गरिएको थिएन । सन् १९७४ मा कम्प्युटरलाई सामान्य प्रयोजनका लागि विकास गरियो र दैनिक कार्यका लागि एक अनिवार्य उपकरणको रूपमा प्रचार गरियो । सन् १९९१ मा इन्टरनेटको विकाससँगै कम्प्युटरको प्रयोग संसारभरि अन्य कुनै उपकरण भन्दा व्यापक भयो । डिजिटल प्रविधि अन्य प्रविधिहरूको तुलनामा असाधारण गतिले वृद्धि भयो ।
सन् २००० मा स्मार्टफोन प्रस्तुत गरियो र सन् २०२० सम्ममा यो संसारको ७५ प्रतिशत जनसंख्याको हातमा पुगिसकेको थियो । यी सुविधाजनक उपकरणहरूको कारण संसार सानो बनेको छ । हामी सेकेन्डमा विश्वको कुनै पनि जानकारीमा पहुँच गर्न सक्छौं । स्मार्टफोनहरू सबै उमेर समूहका मानिसका लागि विभिन्न आवश्यकता पूरा गर्ने साधन बनेका छन् ।
स्मार्टफोनको सकारात्मक प्रभाव
कोभिडको समयमा विशेषगरी विद्यालयका बालबालिकाका लागि स्मार्टफोनहरू आशीर्वाद सावित भए, जसले ती उपकरणको माध्यमबाट शैक्षिक वर्ष नै पूरा गरे । यो समयमा हामी स्मार्टफोनसँग अझ बढी अभ्यस्त भयौं र धेरै बालबालिका यसको प्रयोगको लतमा फसेका छन् ।
स्मार्टफोनले हाम्रो जीवनमा धेरै सकारात्मक प्रभाव पारेको छ । हामी कसैसँग पनि अडियो वा भिडियो कलका माध्यमबाट सम्पर्क गर्न सक्छौं, चाहे एक-एक गरेर होस् वा सामूहिक कलमा । उच्च गति इन्टरनेटले धेरै बैठकहरू अनलाइन सञ्चालन गर्न अनुमति दिन्छ । सञ्चार बाहेक स्मार्टफोनहरूले हामीलाई विशाल जानकारीहरूमा पहुँच प्रदान गर्छन्, जसले हाम्रो उत्पादकता र दक्षता बढाउँछ । यी बैंकिङ, शिक्षा, मनोरञ्जन र विभिन्न सेवामा प्रयोग हुन्छन् ।
अपाङ्गता भएका व्यक्तिका लागि पनि स्मार्टफोन लाभदायक भएका छन् । दृष्टिविहीनहरू अडियो बुकमा पहुँच गर्न सक्छन् वा स्क्रिप्टहरूलाई आवाजमा बदल्ने एपहरू प्रयोग गर्न सक्छन् । यसैले स्मार्टफोनहरू संसारको अभिन्न हिस्सा बनेका छन् र यसको विना आधुनिक युगमा जीवनको कल्पना गर्न गाह्रो छ ।
स्मार्टफोनको दुरुपयोग
तर जसरी मीठो खानेकुरा अत्यधिक खाँदा शरीरमा हानि पनि गर्छ, त्यसैगरी बालबालिकामा स्मार्टफोनको अत्यधिक प्रयोगले शारीरिक, मानसिक, सामाजिक र संज्ञानात्मक विकासमा नकारात्मक प्रभाव पारिरहेको छ ।
शारीरिक स्वास्थ्यमा असर
दृष्टिमा असर : आँखा धेरै समयसम्म स्मार्टफोनमा ध्यान केन्द्रित गर्दा थकान हुने, टाउको दुख्ने र दृष्टि धमिलो हुने समस्या हुनसक्छ । बालबालिकामा यो समस्याले मायोपिया (दूरदृष्टि कमजोरी) दिनानुदिन बढाउन सक्छ ।
निद्रा बिग्रिनु : सुत्नुअघि स्मार्टफोन प्रयोग गर्दा मेलाटोनिन उत्पादनमा अवरोध आउँछ, जसले गर्दा बालबालिकालाई निद्रा लाग्न गाह्रो हुन्छ ।
शारीरिक गतिविधि कमी : स्मार्टफोनमा धेरै समय खर्च गर्दा शारीरिक गतिविधि घट्छ, जसले मोटोपन, कमजोर शारीरिक स्थिति र अन्य स्वास्थ्य समस्या निम्त्याउँछ ।
मानसिक स्वास्थ्यमा असर
चिन्ता र डिप्रेसन : सामाजिक सञ्जालमा निरन्तर सन्देश र साइबर बुलिङका कारण बालबालिकामा चिन्ता र डिप्रेसन बढ्ने सम्भावना हुन्छ ।
लत : स्मार्टफोनको लतले बालबालिकामा मानसिक र भावनात्मक समस्या निम्त्याउँछ । स्मार्टफोन नभएको अवस्थामा उनीहरू चिन्तित र असहज महसुस गर्छन् ।
ध्यानको समस्या : लगातार आउने सूचना र मल्टिटास्किङले बालबालिकामा ध्यान केन्द्रित गर्न गाह्रो बनाउँछ ।
सामाजिक र भावनात्मक विकासमा असर
सम्बन्ध कौशल कमजोर हुनु : स्मार्टफोनको अत्यधिक प्रयोगले प्रत्यक्ष कुराकानी गर्ने क्षमता कम गर्छ, जसले बालबालिकाको सामाजिक र भावनात्मक विकासलाई असर गर्छ ।
समाजबाट अलग हुनु : बालबालिका वास्तविक जीवनको कुराकानीबाट टाढा हुनसक्छन्, जसले एक्लोपन र भावनात्मक समर्थनको कमी निम्त्याउँछ ।
चिन्तन क्षमता विकासमा असर
शिक्षामा असर : बालबालिकाले स्मार्टफोनको अत्यधिक प्रयोगले समस्या समाधान, स्मरण शक्ति र विचार प्रक्रियामा बाधा पुर्याउन सक्छ । यसले उनीहरूको शैक्षिक प्रदर्शनमा नकारात्मक प्रभाव पार्छ ।
स्मार्टफोनको दुरुपयोग रोक्ने उपाय
मोबाइल फ्री जोन बनाउनुस् : घरमा मोबाइल प्रयोग नगर्ने समय सुनिश्चित गर्नुस्, विशेषगरी खाना खाने र पारिवारिक समयका लागि ।
की प्याड फोन प्रयोग गर्नुस् : अभिभावकहरूले घरमा स्मार्टफोनको सट्टा की प्याड फोन प्रयोग गर्न सक्नुहुन्छ र बालबालिका पढिरहेको समयमा डिजिटल आवश्यकता पूरा गर्न ल्यापटपको प्रयोग गर्न सकिन्छ ।
अनुगमन गर्नुहोस् : बालबालिका इन्टरनेटमा के ब्राउज गर्दैछन् भनेर निगरानी राख्न आवश्यक छ ।
निष्कर्ष
स्मार्टफोन आजको संसारमा साथीका साथै एक शत्रु पनि बनिरहेको छ । तर समयमै हस्तक्षेप गरेर स्मार्टफोनको दुरुपयोग रोक्न सकिन्छ, जसले गर्दा बालबालिकाको सन्तुलित र स्वस्थ विकास सुनिश्चित गर्न सकिन्छ ।
प्रतिक्रिया 4