काठमाडौं । अक्सर डाक्टरहरूले कुनै पनि गम्भीर समस्या पत्ता लगाउन एमआरआई सिफारिस गर्छन् । एमआरआई भनेको के हो ? के कस्तो अवस्थामा एमआरआई गर्न सकिन्छ भन्ने जिज्ञासा धेरैको मनमा हुनसक्छ ।
एमआरआईको पूरा रूप म्याग्नेटिक रेजोनेन्स इमेजिङ हो । यो प्रविधिमा मानव शरीरमा रहेका पदार्थ तथा तत्त्वको चुम्बकीय गुण प्रयोग गरी शरीरका विभिन्न अङ्ग, भागको चित्रण र विभिन्न रोग एवं अवस्थाको पहिचान गरिन्छ ।
एमआरआई मुख्य रुपमा चिकित्सा विज्ञानमा विभिन्न रोग र अवस्थाहरूको निदान र चित्रणका लागि प्रयोग हुन्छ । मस्तिष्क, मेरुदण्ड, हाड जोर्नी तथा मांसपेशी, रक्तनलीहरु लगायत नरम तन्तुहरूको परीक्षण र चित्रणका लागि एमआरआई पहिलो रोजाइको प्रविधि हो । साथै विभिन्न खोज अनुसन्धानहरूमा पनि एमआरआई प्रयोग गरिने हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. सरोजकुमार सुवाल बताउँछन् ।
शरीरको टाउकोदेखि पैतालासम्मको भागको समस्याको पहिचान गर्न र उपचारमा निगरानी एमआरआईको प्रयोग गरिने सुवाल बताउँछन् ।
‘मेरुदण्ड, जोर्नी र हड्डीसँग सम्बन्धित रोग स्पष्ट रुपमा पहिचान गर्न, मुटुसँग सम्बन्धित रोग पहिचान गर्न, स्तन क्यान्सरको जोखिम पत्ता लगाउन, मस्तिष्क समस्याहरू (पक्षाघतपछि रगत नपुगेर क्षति पुगेको स्थानहरू हेर्न, छारेरोग, लगातार टाउको दुखाइ कारण) पत्ता लगाउन, पाठेघर र कलेजोको क्यान्सर निदान गर्न, बाँझोपन उपचार गराइरहेका महिलाको गर्भाशय अवस्था असामान्यता पत्ता लगाउन, शरीरका विभिन्न भागमा अल्सर, ट्युमर वा अन्य रोगको निदान गर्न एमआरआई गर्नुपर्छ,’ उनी भन्छन् ।
एमआरआई स्क्यान एक पीडारहित इमेजिङ प्रविधि हो । यसमा हानिकारक विकिरणको जोखिम हुँदैन । शरीरको नरम तन्तुको संरचना जस्तै– मस्तिष्क, मेरुदण्ड, जोर्नीहरू, क्यान्सर, मुटु, कलेजो र अन्य धेरै अङ्ग अन्य विधिबाट भन्दा एमआरआई छवि मार्फत थप स्पष्ट रूपमा पहिचान हुनसक्ने रेडियोलोजिस्ट डा. रेसम घर्ती बताउँछन् ।
सामान्य दुखाइमा पनि एमआरआई गर्नुपर्छ ?
सामान्य दुखाइमा एमआरआई गर्ने सल्लाह दिइँदैन । औषधिको सेवनबाट नै समस्या समाधान हुन्छ भने बिरामीलाई एमआरआई गर्ने सल्लाह दिइँदैन । तर कुनै चिकित्सकले सामान्य दुखाइको अवस्थामा पनि एमआरआई गर्ने सल्लाह दिन्छन् भने किन गर्नुपर्छ, गरिएन भने के हुन्छ लगायत प्रश्न बिरामीले चिकित्सकलाई सोध्न सक्ने नसा तथा हाडजोर्नी रोग विशेषज्ञ डा. सुवाल बताउँछन् ।
‘लामो समयदेखि अत्यधिक दुखाइ भइरहेको, औषधिको सेवनले पनि दुखाइ कम भएको छैन र झन् बढ्दै गएको छ । एक्सरेमा पनि केही देखिएको छैन भने मात्र एमआरआई गर्ने सल्लाह दिइन्छ,’ उनी भन्छन् ।
यदि कसैमा नसा च्यापिएको लक्षणहरु देखिएको छ र औषधिको सेवनले दुखाइ कम भएको छैन झन् बढेको छ भने पनि एमआरआई गर्ने सल्लाह दिइन्छ । साथै हड्डीको टिभी छ भने पनि एमआरआईबाट नै पत्ता लगाउन सकिने सुवाल बताउँछन् ।
‘नसाको समस्या भएर शल्यक्रिया गर्नुपर्ने छ भने कहाँ कसरी च्यापिएको छ, अन्य कतै पनि असर गरेको छ कि भनेर एमआरआई गर्ने सल्लाह दिइन्छ,’ उनी भन्छन् ।
एमआरआईको प्रक्रिया
एमआरआई गर्न सामान्यतया २० मिनेट समय लाग्छ । तर यो शरीरको कुन भाग स्क्यान गर्ने हो भन्नेमा भर पर्छ । यसमा बिरामीले खाली पेट बस्नु पनि पर्दैन । एमआरआई गर्नुअघि बिरामीलाई गाउन लगाउन लगाइन्छ । कुनै धातु लगाएको छ भने एमआरआई गर्नुअघि त्यसलाई हटाउनुपर्ने रेडियोलोजिस्ट घर्ती बताउँछन् ।
‘त्यसपछि बिरामीलाई टेबलमा सुताइन्छ । बिस्तारै टेबल गोलो आकारको म्याग्नेटको ट्युबतर्फ जान्छ । एमआरआईको उपकरणभित्रै आवश्यक तस्वीर निकाल्ने समयसम्म नहल्ली बस्नुपर्छ,’ उनी भन्छन्, ‘एक पटक परीक्षण पूरा भएपछि प्राविधिकले एमआरआईबाट आएको छवि हेरेर थप आवश्यक छ कि छैन भनेर सुनिश्चित गरिन्छ ।’
एमआरआई गर्दा ध्यान दिनुपर्ने कुरा
एमआरआई मेसिन खुला भएका बेला त्यसभित्र उच्च चुम्बकीय शक्ति हुन्छ । त्यसकारण कुनै पनि धातुजन्य वस्तु लैजान निषेध गरिएको हुने घर्ती बताउँछन् ।
‘एमआरआईमा प्रयोग हुने शक्तिशाली चुम्बकले धातुहरू आकर्षित गर्ने हुँदा सावधानी अपनाउनुपर्छ,’ उनी भन्छन्, ‘कपडामा भएका धातुका टाँक, जिपर, कपालमा हुने क्लिप, गहना, घडी, कलम, एटिएम कार्ड, मोबाइल, पर्स लगायतका सरसामानहरू एमआरआई कक्षमा लैजानु हुँदैन ।’
त्यस्तै मेडिकल उपचारसँग संलग्न मुटुको पेसमेकर, कान कम सुन्दा लगाउने मेसिन, कृत्रिम जोर्नी आदिले समेत एमआरआईमा प्रभाव पार्न सक्ने घर्ती बताउँछन् ।
प्रतिक्रिया 4