+

दुखाइ व्यवस्थापनमा अकुपञ्चर कति प्रभावकारी ? (भिडियोसहित)

२०८१ कात्तिक  १५ गते १२:२७ २०८१ कात्तिक १५ गते १२:२७
दुखाइ व्यवस्थापनमा अकुपञ्चर कति प्रभावकारी ? (भिडियोसहित)

अकुपञ्चर पद्धति नयाँ शब्द होइन । नयाँ उपचार प्रविधि पनि होइन । यो त परम्परागत चिनियाँ उपचार पद्धति हो । जुन तीन हजार वर्षदेखि चीन लगायत कैयौं देशमा उपयोग भइरहेको छ । पुरानो उपचार पद्धति भए पनि यसबाट मिल्ने उपचारबारे बिस्तारै बिस्तारै मानिस जानकार हुँदैछन् ।

यो यस्तो पद्धति हो, जसमा कुनै औषधि विना बिरामी निको हुन्छन् । औषधि नमिसाई गरिने यो उपचार सुरक्षित पनि छ ।

कस्तो रोगमा प्रभावकारी ?

टाउकोदेखि पैतालासम्मको जुनसुकै दुखाइ कम गर्ने क्षमता यो विधिमा छ । विशेषगरी दीर्घ दुखाइ माइग्रेनको टाउको दुखाइ, हाडजोर्नी सम्बन्धी दुखाइ कम्मर दुखाइ, हड्डी खिइँदा हुने दुखाइमा यो लाभदायक हुन्छ ।

के हो अकुपञ्चर ?

अकुपञ्चर दुई शब्दले बनेको छ । अकु भनेको सुई र पञ्चर भनेको छेड्नु हो । शरीरमा धेरै खालका अकुपञ्चर बिन्दु हुन्छन् । ती बिन्दु पत्ता लगाएर सुईले घोचेर गरिने उपचार अकुपञ्चर हो ।

दुखाव्यवस्थापनमा कसरी काम गर्छ ?

अकुपञ्चरको सिद्धान्त क्षी शब्दको प्रयोग हुन्छ । क्षी भनेको शक्तिको स्तर (एनर्जी लेभल) हो । सम्पूर्ण शरीरमा मेरिडियन भन्ने बाटो हुन्छ । त्यो बाटो हुँदै सो क्षी प्रवाह भइरहेको हुन्छ । क्षी प्रवाह गर्ने अकुविन्दु शरीरमा हुन्छन् । विशेषज्ञले शरीरको कुनै भागमा भएको दुखाइ कम गर्न शरीरमा रहेको सो अकुपञ्चर बिन्दु पत्ता लगाउँछन् ।

बिन्दु पत्ता लगाएर त्यसमा त्यसमा ‘फिलिफर्म’ नामक सियोले घोचिन्छ । यसरी अकुपञ्चर बिन्दुहरूमा सुईले क्षीलाई रिलिज गर्ने, केन्द्रीय स्नायु प्रणाली र मांसपेशीलाई प्रभाव पार्नुका साथै शरीरका धेरै भागमा रगतको प्रवाह पनि बढाउने, इन्डोरफिन हर्मोन रिलिज गराई प्राकृतिक पेन किलरको काम गर्छ । जसले गर्दा दुखाइ कम हुँदै निको हुन्छ । स्नायुट्रान्समिटर र मांसपेशी जाम हुने समस्यालाई पनि कम गर्छ ।

सेरोटोनिन, डोपामाइन भनेको दिमागलाई खुसी पार्ने हर्मोन हो । यसरी ती बिन्दुमा घोच्दा यी हर्मोनको निष्कासन बढ्छ । जसले दिमागलाई पनि आराम दिन्छ ।

के कस्ता दुखाइ कम हुन्छ ?

महिनावारीमा हुने पीडा, माइग्रेनको दुखाइ, शरीरको कुनै भागमा नसा च्यापिंदा हुने दुखाइ, हड्डी खिइँदा हुने दुखाइ, सायटिका, कम्मर तथा ढाड दुखाइ, मांसपेशी तथा कुहिनोमा हुने दुखाइ कम हुन्छ ।

दुखाव्यवस्थापनको चरण

अकुपञ्चरको पनि चरण हुन्छ । यो प्रक्रियाले एकैपटकमा निको पार्न सक्दैन । रोगको गम्भीरता र प्रकृति अनुसार अकुपञ्चरको चरण कति पटक गर्ने निर्भर रहन्छ । जस्तो कि माइग्रेनको समस्या छ भने ६ देखि सात पटक अकुपञ्चर गरे पुग्छ । तर हड्डी वा नसा च्यापिएको अवस्थामा भने १० देखि १५ चरण गर्नुपर्छ । यस्तो समय केही लम्बिन पनि सक्छ ।

त्यस्तै, पक्षघातको केसमा एक महिना वा सोभन्दा बढी लाग्न सक्छ । पुरानो र जीर्ण रोगमा धेरै समय लाग्छ ।

के हुन्छ प्रक्रिया ?

अकुपञ्चर गर्नुअघि समस्या मात्र होइन । यसअघि स्वास्थ्य परीक्षण गरिएको एक्स-रे लगायत सम्पूर्ण रिपोर्ट लैजानु उपयुक्त हुन्छ । यसले समस्या अनुसार अकुपञ्चर गर्न सहज हुन्छ । तर रिपोर्ट हेर्दा शल्यक्रिया गर्ने खालको केस छ भने अकुपञ्चर गर्नुअघि शल्यक्रिया गर्न सुझाइन्छ ।

अकुपञ्चर गर्न पहिला बिरामीलाई बेडमा सुताइन्छ । त्यसपछि अकुबिन्दुमा सुईले घोचिन्छ । करिब आधा घण्टा वा सोभन्दा बढी यो प्रक्रिया गरिन्छ ।

सुईले घोच्दा दुखाकतिको हुन्छ ?

यसमा प्रयोग हुने सुई निकै मसिनो २.५ एमएम डायोमिटरको हुन्छ । त्यसकारण खासै दुखेको अनुभव हुँदैन । कहिलकाहीं संवेदनशील बिन्दुमा राख्दा हल्का दुखाइ हुन्छ । जुन कमिलाले टोकेको वा चिमोटेको जस्तै हुनसक्छ ।

साइडइफेक्ट

अकुपञ्चरको साइड-इफेक्ट शून्य बराबर छ । यदि दक्ष तथा अनुभवी चिकित्सकले अकुपञ्चर गर्ने हो भने नतिजा प्रभावकारी र प्रक्रिया सुरक्षित हुन्छ । कुनै साइड-इफेक्ट पनि हुँदैन । तर अकुपञ्चर गर्ने व्यक्तिसँग योग्यता र अनुभव कम छ भने साइड-इफेक्ट देखिन सक्छ । जसमा अकुपञ्चर गरेको ठाउँमा सुन्निने, निलो हुने र दुख्ने समस्या हुन्छ ।

कसले नगर्ने ?

गर्भवतीको पहिलो वा अन्तिम चरण, मदिरा सेवन गरेको समय तथा सरुवा रोगमा गर्न मिल्दैन ।

दीर्घरोगको औषधि लिइरहेकाले अकुपञ्चर गर्न मिल्छ ?

अकुपञ्चर यस्तो पद्दति हो, जुन सबै चिकित्सा पद्धतिसँग मिसाउन मिल्ने भएकाले दीर्घरोग भएकाले पनि गर्न सक्छन् । तर रगत पातलो हुने समस्या छ भने रगत जाने सम्भावना हुन्छ । यस्तो अवस्थामा भने विशेष सावधानी अपनाएर मात्र गर्न सकिन्छ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

डा. नरेन्द्र लामिछाने दुखाइ हाडजोर्नी

धेरै कमेन्ट गरिएका

डा. नरेन्द्र लामिछाने
लेखक
डा. नरेन्द्र लामिछाने
अकुपञ्चर विशेषज्ञ

अकुपञ्चर विशेषज्ञ डा. लामिछाने हाल ललितपुरस्थित ब्लु लोटस अस्पतालमा कार्यरत छन्। अकुपञ्चरमा एमडी गरेका उनको नेपाल आयुर्वेद मेडिकल काउन्सिल दर्ता नम्बर ६६६ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय