+

आत्मसम्मान घट्ने र निराशा बढाउने कारक बनिरहेका सामाजिक सञ्जाल

२०८१ कात्तिक  १६ गते ८:४९ २०८१ कात्तिक १६ गते ८:४९
आत्मसम्मान घट्ने र निराशा बढाउने कारक बनिरहेका सामाजिक सञ्जाल

आजको डिजिटल युगमा सामाजिक सञ्जालको प्रभाव हाम्रो जीवनको लगभग हरेक पक्षमा फैलिएको छ । फेसबुक, इन्स्टाग्राम, टिकटक, ट्वीटर जस्ता प्लेटफर्महरूले विश्वव्यापी रूपमा मानिसलाई जोड्ने एक शक्तिशाली माध्यमका रूपमा काम गरेका छन् । विशेषगरी युवापुस्ताका लागि सामाजिक सञ्जाल आफन्त, साथी र संसारभरिका मानिससँग जोड्ने सहज तरिका बनेको छ ।

यद्यपि सामाजिक सञ्जालले सकारात्मक पक्षसँगै मानसिक स्वास्थ्यका लागि चुनौतीपूर्ण समस्या पनि  ल्याएको छ ।

आत्मसम्मान र तुलना

सामाजिक सञ्जालमा मानिसहरुले प्राय: आफ्ना जीवनका खुसी र उपलब्धिपूर्ण क्षण मात्र साझा गर्छन् । इन्स्टाग्राम जस्ता प्लेटफर्ममा आकर्षक तस्वीर र रमाइला पोस्टले आफ्नो जीवनलाई सफल र रमाइलो देखाउन प्रेरित गर्छन् । तर यसले एक गलत धारणाको सिर्जना गर्छ जहाँ अरूको जीवन सधैं राम्रो र आफ्नो जीवन कहिल्यै त्यति राम्रो हुँदैन जस्तो लाग्न सक्छ ।

यस्तोमा युवायुवतीहरूमा आत्मसम्मान घट्ने, निराशा बढ्ने र आफूलाई अरूसँग तुलना गर्ने प्रवृत्ति विकसित हुन्छ । आफ्नो शारीरिक रूप, सामाजिक स्थिति वा व्यक्तिगत उपलब्धिहरूलाई अरूसँग तुलना गर्ने प्रवृत्ति अत्यधिक हुन्छ । यसले चिन्ता र डिप्रेसनसम्मका गम्भीर मानसिक स्वास्थ्य चुनौती निम्त्याउन सक्छ ।

सामाजिक दबाब र चिन्ता

सामाजिक सञ्जालमा निरन्तर उपस्थित रहनुपर्ने दबाब युवायुवतीहरूले महसुस गर्ने अर्को ठूलो समस्या हो । ‘फोमो’ (फियर अफ मिसिङ आउट) अर्थात् कुनै महत्वपूर्ण घटना वा गतिविधिबाट आफू बाहिर रहेको डर, सामाजिक सञ्जालका कारण बढ्दो चिन्ताको स्रोत बन्न सक्छ । जसले गर्दा युवायुवतीहरू निरन्तर अनलाइन रहन बाध्य हुन्छन् र आफूलाई अपडेट राख्न समय खर्च गर्छन् ।

सामाजिक सञ्जालमा बारम्बार जाँच गर्नुपर्ने आदतले वास्तविक जीवनका गतिविधिमा ध्यान नदिने, काम, पढाइ र व्यक्तिगत सम्बन्धहरूमा कमी ल्याउन सक्छ । यो प्रवृत्तिले समयको व्यवस्थापनमा समस्या ल्याउनुका साथै मानसिक थकान र भावनात्मक उथलपुथलको कारक बन्न सक्छ ।

साइबर बुलिङ र मानसिक स्वास्थ्यमा असर

साइबर बुलिङ, सामाजिक सञ्जालमा गाली, धम्की वा अनावश्यक आलोचनाको सामना गर्नुपर्ने अर्को महत्त्वपूर्ण चुनौती हो । साइबर बुलिङको सामना गर्दा युवाहरूले मानसिक तनाव, आत्मसंकोच र एक्लोपनको अनुभव गर्न सक्छन् । लगातार आलोचना वा नकारात्मक टिप्पणीले उनीहरूको आत्मसम्मानमा गहिरो असर गर्न सक्छ, जसले डिप्रेसन, चिन्ता वा आत्महत्याका विचारसम्म जन्माउन सक्छ ।

समाधान र सचेतनाको महत्व

युवाहरूले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत र सन्तुलित दृष्टिकोण अपनाउन आवश्यक छ । निम्न सुझावहरूले यस समस्याको समाधानमा सहयोग पुर्‍याउन सक्छन् ।

सामाजिक सञ्जालको सीमित प्रयोग : निश्चित समय मात्र सामाजिक सञ्जाल प्रयोग गर्ने, अनलाइन उपस्थिति नियन्त्रण गर्न दिनभरिमा तोकिएको समय मात्र प्रयोग गर्ने प्रयास गर्न सकिन्छ । यसले अनलाइन संसारमा बिताएको समयलाई नियन्त्रणमा राख्छ ।

सकारात्मक सामग्रीमा ध्यान : नकारात्मक वा आत्मसंकोच उत्पन्न गराउने सामग्रीबाट टाढा रहन र सकारात्मक, प्रेरणादायी सामग्रीमा ध्यान केन्द्रित गर्नुपर्छ ।

स्वस्थ सञ्चारको विकास : वास्तविक जीवनका सम्बन्धलाई बलियो बनाउन, प्रत्यक्ष भेटघाट र संवादलाई प्रोत्साहन गर्नुपर्छ । सामाजिक सञ्जालभन्दा वास्तविक सम्बन्धहरूमा ध्यान दिनु मानसिक स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

मनोवैज्ञानिक सहयोगको खोजी : यदि सामाजिक सञ्जालको प्रयोगले मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको छ भने विशेषज्ञहरूबाट मनोवैज्ञानिक परामर्श लिने कुरा महत्त्वपूर्ण हुनसक्छ ।

जीवनशैली सामाजिक सञ्जाल

धेरै कमेन्ट गरिएका

डा. अनमोलबन्धु कार्की
लेखक
डा. अनमोलबन्धु कार्की
टाउको, नसा तथा मानसिक रोग विशेषज्ञ

डा. कार्की भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसका लेक्चरर समेत हुन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २२६१४ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय