+

तिहारमा दिइने भाइमसलाका के छन् फाइदा ?

२०८१ कात्तिक  १५ गते १६:४६ २०८१ कात्तिक १५ गते १६:४६
तिहारमा दिइने भाइमसलाका के छन् फाइदा ?

तिहारमा दिदीबहिनी भाइमसला किन्न र तयार पार्न व्यस्त छन् । यो तयारी विशेषगरी भाइटीकाको दिनका लागि हो । सो दिन आफ्नो दाजुभाइलाई टीका लगाएपछि दिदीबहिनीले बाह्र मसलाको मिश्रण दिन्छन् ।

ब्राह मसलामा बदाम, काजु, ओखर, नरिवल, पिस्ता, मखाना, छोकडा, किसमिस लगायत गरी थरीथरी खानेकुरा मिसाइन्छ । जुन स्वास्थ्यको दृष्टिकोणले पनि फाइदाजनक छ । यी मसाला खाएर दाजुभाइमा रोगप्रतिरोधात्मक क्षमता बढोस् र उनीहरू बलियो होउन् भन्ने कामनाका साथ भाइमसला दिइने प्रचलन छ ।

केके छन् फाइदा ?

बदाम

बदाम विश्वभर सबैभन्दा लोकप्रिय ड्राइफ्रुट्समध्ये एक हो । यसको दैनिक सेवनले मुटुलाई फाइदा गर्छ । किनकि यसमा मोनोअनस्याचुरेटेड फ्याट, फाइबर र एन्टिअक्सिडेन्टमा भरपुर हुन्छ । बदामले एलडीएल (खराब) कोलेस्टेरोलको स्तर कम गर्न मद्दत गर्छ । जसले हृदयघातबाट बचाउने काम गर्छ । भिटामिन ई, म्याग्नेसियम, क्याल्सियम र फाइबरको ठूलो स्रोत बदाम हो ।

त्यसैगरी यसमा पाइने उच्च फाइबरले पाचन स्वास्थ्यलाई सुधार गर्दै फाइदा गर्छ । थोरै खाँदा पनि अघाए जस्तो हुने भएकाले वजन नियन्त्रणमा समेत मद्दत गर्न सक्छ ।

ओखर

ओखरमा मस्तिष्कलाई तेज बनाउने तत्व हुन्छन् । मुख्यतया ओखरमा मस्तिष्कलाई चाहिने ओमेगा–३ फ्याटी एसिड उच्चस्तरको हुन्छ । साथै यसमा पाइने, विशेष अल्फालिनोलेनिक एसिड (एएलए)ले मस्तिष्कलाई राम्रोसँग काम गर्न सघाउँछ, जसकारण हाम्रो संज्ञानात्मक स्वास्थ्यलाई विकास गर्नका लागि ओखर एक उत्कृष्ट विकल्पमध्ये एक हो ।

त्यसैले बढ्दो उमेरका बालबालिलाई उनीहरुको शारीरिक तथा मानसिक विकासका लागि दैनिक रुपमा खानामा दिनु पोषणको दृष्टिकोणले उत्तम मानिन्छ । ओखरमा पोलिफेनोलहरू हुन्छन्, जसले पाचन प्रणालीमा सुधार गर्ने र रगतमा चिनीको स्तर सुधार गर्नुका साथै रगत जम्ने, हृदयरोग र केही क्यान्सरविरुद्ध सुरक्षा प्रदान गर्ने मद्दत गर्छ ।

काजु

काजुमा क्रिमयुक्त बनावट र मिठास स्वाद हुन्छ । जसमा शरीरलाई आवश्यक पर्ने खनिज पदार्थहरु जस्तै म्याग्नेसियम, तामा र जिङ्कले भरिएका छन् । जसले हड्डी बलियो राख्न मद्दत गर्छ ।

यसमा तामा, म्याग्नेसियम, जिंक र फस्फोरस प्रशस्त मात्रामा पाइन्छ । तामा र म्याग्नेसियम हड्डी निर्माण र मर्मतका लागि आवश्यक खनिज पदार्थ मानिन्छ । दैनिक काजु खाएमा शरीरको प्रतिरक्षा प्रणालीलाई चुस्त दुरुस्त राख्न  र स्वस्थ छाला बढाउन मद्दत गर्न सक्छ । काजुमा हुने उच्च म्याग्नेसियम तत्वले मांसपेशी लाई आराम र ऊर्जा प्रदान गर्छ ।

पिस्ता

पिस्ता उच्च फाइबर र प्रोटिनको भण्डार हो । यसले वजन व्यवस्थापन गर्नमा ठूलो भूमिका खेल्छ । पिस्तामा हुने एन्टिअक्सिडेन्टहरू लुटेन र जेक्सान्थिनले आँखालाई स्वास्थ्य राख्न सहयोग गर्छ । यो ड्राइफ्रुट्समध्ये सबैभन्दा कम क्यालोरी दिने तर पोषण दिने खानेकुरा हो ।

सुकेको छोकडा

छोकडा अर्थात् सुकेको खजुर पोषक तत्वहरूले भरिएको फल हो । जुन शताब्दीयौंदेखि प्राकृतिक मिठास र ऊर्जा बुस्टरको रूपमा चिनिंदै आएको छ । शरीरलाई आवश्यक पर्ने भिटामिन, खनिज, फाइबर र एन्टिअक्सिडेन्टले भरिएको सुक्खा खजुर शरीरका लागि फाइदाजनक हुन्छ ।

सुकेको छोकडामा पनि पोलिफेनोल प्रचुर मात्रामा पाइन्छ । यी यौगिकहरूले राम्रो पाचन, मधुमेह व्यवस्थापन, र क्यान्सर रोकथाम गर्छ । सुकेको खजुर छोकडा फाइबर, पोटासियम, म्याग्नेसियम, क्याल्सियम, आइरन र भिटामिन बी१, बी२ र सीको राम्रो स्रोत हो । सुकेको खजुरमा एन्टी–इन्फ्लेमेटरी, एन्टी–मधुमेह र एन्टी–माइक्रोबियल गुणहरू हुन्छन्, जसले पाचन र कब्जियतमा पनि मद्दत गर्न सक्छन् ।

सुकेको नरिवल

सुकेको नरिवलमा म्याग्नेसियम, तामा र सेलेनियम जस्ता महत्त्वपूर्ण खनिज हुन्छन् । जसले हड्डी स्वास्थ्य, रोगप्रतिरोधात्मक क्षमतालाई बढाउन मद्दत गर्छ । सुक्खा नरिवलमा हुने उच्च फाइबरको मात्राले पाचन प्रणालीलाई मजबुत बनाई आन्द्रालाई चलायमान गर्न मद्दत गर्छ ।

यसबाहेक शरीरमा एन्टिअक्सिडेन्ट र कोलाजेनको स्तर बढाउँछ, जसले छालालाई जवान बनाइराख्न मद्दत गर्छ ।

मखाना

मखानामा पाइने पोषक तत्वका कारण यसलाई सुपर फुड पनि भनिन्छ । मखानामा सोडियम र फ्याट कम हुन्छ । साथै यसमा प्रोटिन र फाइबरको मात्रा राम्रो हुन्छ । मखानामा भिटामिन सी, क्याल्सियम, आइरन, जिंक, म्याग्नेसियम, पोटासियम र फस्फोरस प्रशस्त मात्रामा पाइने हुँदा सबै व्यक्तिका लागि स्वस्थ खाजाको विकल्प हो । त्यस्तै मधुमेह नियन्त्रण, पाचन सम्बन्धी समस्या कम गर्ने, तौल नियन्त्रणमा मखानाले मद्दत पार्छ ।

त्यसैले भाइमसाला हरेकले दैनिक ठिक्क मात्रामा खाएमा शरीर स्वस्थ, चुस्त र फूर्तिलो हुन्छ ।

कति हो सही मात्रा ?

सामान्यतया प्रतिदिन एक हातभरि यी मसलाको मिश्रण खानु पोषणको हिसाबले सुरक्षित मानिन्छ । त्यो भन्दा बढी खाएमा फाइदाको साटो हानि गर्छ ।

तिहार भाइमसला

धेरै कमेन्ट गरिएका

बबिता अधिकारी
लेखक
बबिता अधिकारी
पोषणविद्

अधिकारीले बाल पोषण विकासमा स्नातक र ग्रामीण विकासमा स्नाकोत्तर गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय