+
+

तिहारमा धेरै खाँदा हुन सक्छ फुड पोइजनिङ, कसरी बच्ने ?

प्रा. डा. विद्यासागर प्रसाद प्रा. डा. विद्यासागर प्रसाद
२०८१ कात्तिक १६ गते १६:३६

१६ कात्तिक, काठमाडौं । तिहारको उमंगलाई झनै भव्य बनाउने खाद्य परिकारहरु हुन्, चिनी रोटी, फिनी रोटी, अनरसा, अर्सा, सेल आदि ।

साथीहरु र परिवारसँग बसेर यी परिकार खाँदाको आनन्द अर्कै हुन्छ । तर, धेरै खाँदा पाचन प्रणाली गडबडी हुने खतरा हुन्छ । पाचन शक्ति खराब हुँदा पेट दुख्ने, अपच हुने जस्ता धेरै समस्या आउन सक्छ । यस्ता समस्याले रमाइलो चाड तिहारको माहोल नै बिगार्न सक्छ । त्यसैले तिहारमा धेरै खानबाट जोगिनुपर्छ ।

तिहारमा परिवार र साथीभाइसँग भेट हुने भएकाले मिलेर खाना पकाउने र खाने गरिन्छ । यस्तो वातावरणमा स्वादिष्ट खाना खाने लोभ धेरै बढ्छ र अन्य समयको भन्दा धेरै खाना खाइन्छ ।

तर सकेसम्म नियमित खानाको तालिका बिगार्नु हुँदैन । समयमा खाना खाइएन र अत्याधिक भोकाएको बेला खाइयो भने धेरै खाना खाइन्छ ।

तिहारमा मिठाइको परिकार घरमा प्रशस्त मात्रामा हुन्छ । मिठाइहरुको स्वाद लोभलाग्दो हुन्छ जसले गर्दा आफूलाई नियन्त्रण गर्न सकिँदैन ।

चाडपर्वमा धेरै प्रकारका कामहरू हुन्छन् जसले तनाव निम्त्याउँछ । तनावमा हुँदा, हामी प्रायः खाना खाएर तनाव कम गर्ने प्रयास गर्छौ र त्यही कारणले शरीरलाई आवश्यक पर्ने भन्दा धेरै मात्रामा खाना खाइन्छ ।

ओभरइटिङबाट बच्ने उपाय

खाना खाँदा ठूलो गाँस खानुको सट्टा सानो सानो गाँस विस्तारै खानुपर्छ । यसो गर्दा छिट्टै पेट भरिन्छ र धेरै खानबाट बच्न सकिन्छ । त्यस्तै खाना खानुअघि र बीचमा पानी पिउने । यसो गर्दा पेट छिट्टै भरिन्छ र धेरै खाना खानबाट बच्न सकिन्छ ।

मिठाइ र अन्य भुटेको खानेकुराको सट्टा सलाद र फलफूललाई प्राथमिकता दिनुपर्छ । यसले शरीरलाई पोषण पनि दिन्छ र भोक पनि कम गर्छ । जसले गर्दा ओभरइटिङको समस्याबाट पनि बचिन्छ ।

खाना खाइसके पछि पनि मिठाइका परिकार खान मन लाग्न सक्छ, यस्तोमा आफूलाई व्यस्त राख्ने प्रयास गर्नुपर्छ । जब काममा व्यस्त भइदैन तब धेरै खान मन लाग्छ । त्यसैले फुर्सदको समयमा किताब पढ्ने, गीतहरू सुन्ने वा साथीसँग कुरा गरेर आफूलाई व्यस्त राख्न सकिन्छ ।

फाइबर युक्त खानाले लामो समयसम्म पेट भरि राख्छ र धेरै खाना खानबाट बच्न सकिन्छ । खाना जति धेरै चपाएर खाइन्छ, त्यति नै राम्रोसँग पाचन हुन्छ । पाचन क्षमता बढाउन खानालाई राम्ररी चपाउनु राम्रो हुन्छ । पाचन प्रणली राम्रो हुँदा शरीरमा बोसो जम्मा हुनबाट पनि बच्न सकिन्छ ।

तिहारमा खानपानसँगै नियमित व्यायामले पाचन प्रणालीलाई स्वस्थ राख्नुका साथै तौल पनि नियन्त्रणमा रहनेछ ।

तिहारमा घरमा गुलियो परिकार धेरै हुने भएकाले धेरै खाइने सम्भावना हुन्छ । यस्तोमा मिठाइको मात्रालाई सीमित गर्नुपर्छ र अन्य स्वस्थकर खानेकुरालाई प्राथमिकता दिनुपर्छ ।

धेरै चिल्लो वा गुलियो खानेकुराको विकल्पमा फलफूल, दही वा बदामजस्ता स्वस्थ खानेकुराहरु छनोट गर्नुपर्छ । यसो गर्नाले ओभरइटिङ र फुडपोइजनिङको समस्याबाट बच्न सकिन्छ ।

पर्याप्त निद्राले मेटाबोलिजम राम्रो राख्छ र तौल पनि नियन्त्रणमा रहन्छ । त्यसैले तिहारमा खानपानसँगै पर्याप्त निद्रा पनि लिनु जरुरी हुन्छ ।

लेखक मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा कार्यरत छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?