मानिसको शरीरमा असल र खराब गरी दुई किसिमका जीवाणु हुन्छन् । असल जीवाणुहरु आन्द्राका लागि लाभदायक हुन्छन् र खराब जीवाणुसँग लड्न मद्दत गर्छ । असल जीवाणुमा प्रो–बायोटिक, प्रि–बायोटिक आदि पर्छन् ।
स्वास्थ्यप्रति सचेत व्यक्तिलाई प्रो–बायोटिक्सयुक्त खानेकुरा खानुपर्छ भन्ने कुरा थाहा हुन्छ । तर प्रि–बायोटिकयुक्त खाना पनि स्वास्थ्यका लागि उपयोगी हो भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।
प्रो–बायोटिक राम्रो जीवाणु भएको खानेकुरा हो, जसले प्राकृतिक पाचन रस र इन्जाइमलाई उत्तेजित गरेर पाचन अङ्गलाई राम्रोसँग काम गर्न मद्दत गर्छ । हाम्रो पाचन प्रणालीमा विभिन्न प्रकारको सूक्ष्म जीवाणु ‘माइक्रो फ्लोरा’ जन्मजात नै हुन्छ । जसले खानेकुरा पचाउन, हाम्रो पाचन प्रणाली सफा गर्न र सञ्चालन गर्न सहयोग गर्छ । जुन दही वा फरमेन्टेड खानेकुरामा पाइन्छन् ।
प्रो-बायोटिक भन्दा पृथक प्रि-बायोटिक पच्न गाह्रो हुने शाकाहारी खानामा हुने तत्त्व हुन् । जुन पेटमा गलेर बहुउपयोगी जीवाणुको (प्रो-बायोटिक) संख्या वा गतिविधि बढाउन र पेटको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न मद्दत गर्छन् । प्रि-बायोटिकले हानिकारक जीवाणुको वृद्धि विकास हुन पनि दिंदैनन् । जीवाणुका संरचना परिवर्तन गर्दै प्रि-बायोटिकले सुजनको प्रतिकूलता कम गर्ने वा निष्क्रिय पार्ने गर्छ ।
प्रि-बायोटिक प्राकृतिक रुपमा वनस्पतिजन्य खानेकुरा जस्तै चोकर सहितका अन्न, गेडागुडी, तरकारी, फलफूल आदिमा पाइन्छन् ।
प्रि–बायोटिक खाना
धेरै मानिसले प्रि-बायोटिक प्राप्त गर्न पूरकहरू पनि लिन्छन्, तर यो खाना मार्फत प्राप्त गर्न सकिन्छ । धेरै खानाहरू छन्, जसमा प्रि-बायोटिक फाइबर राम्रो मात्रामा उपलब्ध हुन्छ ।
लसुन
लसुन प्रि-बायोटिकको राम्रो स्रोत हो । यसमा इनुलिन र फ्रुक्टो–ओलिगोस्याकाराइड्स जसले स्वस्थ ब्याक्टेरियाको वृद्धिलाई प्रवर्द्धद्द गर्छ । लामो समयदेखि लसुन समग्र स्वास्थ्यका लागि प्रयोग गरिन्छ । विशेषगरी काँचो लसुन खाँदा धेरै फाइदा हुन्छ । खाना पकाउँदा पनि यसको प्रयोग गरेर फाइदा लिन सकिन्छ, तर यसलाई धेरै मात्रामा खान भने हुँदैन । धेरै मात्रामा लसुन खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ ।
केरा
केरा पनि प्रि-बायोटिक खानाको सूचीमा पर्छ । केरामा विभिन्न भिटामिन, मिनरल्स र फाइबर हुन्छ, जसमा इन्सुलिनको थोरै मात्रा पनि हुन्छ । यो फलले पेटमा स्वस्थ ब्याक्टेरिया बढाउन र पेटको सुजन कम गर्न मद्दत गर्छ । केरा काँचो वा पकाएर खान सकिन्छ । काँचो केरामा रजिस्टेन्ट स्टार्च हुन्छ, जसले ब्याक्टेरियाहरुको लागि ऊर्जा स्रोतको रुपमा काम गर्छ । यसलाई सलादको रूपमा वा काँचो केराको तरकारी बनाएर खान सकिन्छ ।
जौ
यस अन्नमा बिटा ग्लुकान धेरै मात्रामा पाइन्छ । यो एक प्रकारको घुलनशील प्रि-बायोटिक फाइबर हो जसले पाचन पथमा अनुकूल ब्याक्टेरियाको विकासलाई बढावा दिन्छ । यसले पेटलाई नरम बनाउछ र नियमित पाचनलाई सहयोग पुर्याउँछ । जौमा रहेको प्रि-बायोटिक फाइबरले आन्द्रामा फ्याट र कोलेस्टेरोलको पुनः शोषणलाई रोक्छ ।
प्याज
प्याजमा प्रि-बायोटिकको मात्रा राम्रो पाइन्छ, त्यसैले यसलाई प्रि-बायोटिक खाद्य पदार्थको सूचीमा समावेश गरिएको छ । साथै प्याज एन्टिअक्सिडेन्ट र फ्लेभोनोइड्सको राम्रो स्रोत हो । प्याजमा पाइने इनुलिनले पेटलाई बलियो बनाउने मात्र नभई प्रतिरक्षा प्रणालीलाई पनि मद्दत गर्छ ।
मुसुराको दाल
दाल पनि प्रि-बायोटिक खानाको सूचीमा समावेश हुन्छ । विशेषगरी मुसुराको दाल प्रि-बायोटिकको राम्रो स्रोत हो । प्रोटिनको राम्रो स्रोत हुनुका साथै यसले आन्द्रालाई राम्ररी चलाउन पनि मद्दत गर्छ ।
स्याउको बोक्रा
स्याउमा भिटामिन सी, एन्टिअक्सिडेन्ट र फाइबर प्रचुर मात्रामा हुन्छ । स्याउमा पाइने फाइबरमा पेक्टिन हुन्छ, जसले आन्द्रामा स्वस्थ ब्याक्टेरिया बढाउँछ र हानिकारक ब्याक्टेरिया घटाउँछ । स्याउको गुदीको स्वास्थ्य लाभ भएसँगै स्याउको बोक्रामा धेरै महत्त्वपूर्ण पोषक तत्त्व हुन्छन् । जसले स्वास्थ्यलाई फाइदा पुर्याउन सक्छ, त्यसैले यो पूरै स्याउ खानु फाइदाजनक हुन्छ ।
कफी
कोको बिन्सबाट बनेको कफीले हाम्रो शरीरमा राम्रो ब्याक्टेरिया उत्पादन गर्छ । पाचन प्रक्रियाको क्रममा कोको बिन्सले कोलोनमा फ्लाभानोलहरू उत्पादन गर्छ जसले प्रि-बायोटिक फाइदा बोक्छ । कफीलाई प्रि-बायोटिक खाद्य पदार्थहरूको सूचीमा समावेश गरिन्छ । यसको मतलब यो होइन कि यसलाई अत्यधिक मात्रामा उपभोग गर्नुपर्छ । अत्यधिक मात्रामा सेवन गर्नु हानिकारक हुनसक्छ ।
आलस
आलस प्रि-बायोटिकको राम्रो स्रोत हो । आलसमा रहेको फाइबरले खाएको खानेकुराबाट आहारको बोसो सोस्छ र आन्द्राको चाललाई बढावा दिन्छ । यसले पचाइएको र अवशोषित आहारको बोसोको मात्रा पनि कम गर्छ । आलसमा एन्टिअक्सिडेन्ट पनि पाइन्छ, जसले शरीरको कोलेस्टेरोलको स्तरलाई नियन्त्रण गर्छ ।
(भट्टराई पोषणविद् हुन् ।)
प्रतिक्रिया 4