+

समाजमा यौन शिक्षाबारे खुला बहस किन अपरिहार्य छ ?

२०८१ कात्तिक  ४ गते १२:५९ २०८१ कात्तिक ४ गते १२:५९
समाजमा यौन शिक्षाबारे खुला बहस किन अपरिहार्य छ ?

नेपालमा अझै पनि यौनका विषयलाई केवल अश्लीलताको दृष्टिले मात्र हेरिन्छ । तर यहाँका भूगोलभित्र रहेका यौन आचरण र व्यवहारलाई प्राय: नजरअन्दाज गरिएको छ । नेपाललाई एक सूत्रमा बाँध्ने नाममा बनाइने नियम कानुनले प्राय: काठमाडौ उपत्यका र केही विकसित सहरहरुको अवस्थालाई आधार मानेर निर्माण गरिएको देखिन्छ । देशका भिन्न भिन्न क्षेत्रमा रहेका फरक संस्कार र परिस्थितिलाई भने बेवास्ता गरिएको पाइन्छ ।

यौन र वैवाहिक प्रणाली एकअर्कासँग गहिरो रूपमा जोडिएका छन् । यौन क्रियाकलापलाई वैधानिक बनाउन नै विवाहको संस्था वा संस्कारको विकास भएको देखिन्छ । विवाहपछि पारिवारिक उतारचढावका कारण पारपाचुके तथा दोस्रो वा तेस्रो विवाहलाई कानुनी रूपमा केही सीमासहित मान्यता दिइए पनि सामाजिक रूपमा यसलाई आलोचनात्मक दृष्टिले हेर्ने र कानेखुसी गर्ने चलन अझै कायम छ ।

मानिस स्वतन्त्र र विवेकी प्राणी हो । त्यसैले उसले सामाजिक रूपमा समाजले निर्धारण गरेका सीमाभित्र रहनुपर्छ । धर्म, परम्परा र चलन हुँदै वर्तमानमा कानुनी रूपमा यी व्यवहारलाई लागू गरिएको छ । सिन्धु सभ्यताबाट आएका आर्य समुदायमा एक प्रकारको संस्कारको विकास भयो भने मंगोल समुदायमा फरक संस्कार देखा पर्‍यो ।

नेपालका केही ग्रामीण क्षेत्रमा अझै पनि बहुपति र बहुपत्नी प्रथा कायम रहेको पाइन्छ । यो प्रथा केवल जग्गा, जमिन र घरबासको अभावका कारण मात्र रहेको हो या यसको अन्य सामाजिक कारण पनि छन्, भन्ने विषयमा अझै गहिरो अध्ययन आवश्यक छ । विभिन्न कारणहरूका बाबजुद यी परम्पराहरूले समाजमा प्रभाव पारिरहेका छन् र यसको सामाजिक, सांस्कृतिक तथा कानुनी पक्षहरूलाई विचार गरेर विश्लेषण गर्नुपर्ने देखिन्छ ।

आजको युगमा पनि केही पुराना प्रथा र व्यवस्था कसरी टिकिरहेका छन् भन्ने प्रश्न महत्वपूर्ण छ । अहिलेको कानुनी व्यवस्थाअनुसार एक पटक विवाह दर्ता भएपछि अर्को विवाह गर्न चाहनेले छोडपत्र र नयाँ विवाह दर्ता अनिवार्य गर्नुपर्ने नियम छ । तर हाडनाता सम्बन्धी नियम पनि कहिलेकाहीं तोडिएको पाइन्छ, विशेषगरी केही समुदायमा । मामा-फुपूका छोराछोरीबीच विवाह हुनु र नहुनु जस्ता परम्परागत विभाजन भए पनि यसमा धेरै असमानता छन् ।

पछिल्ला केही वर्षमा अशिक्षा र चेतनाको अभावमा गरिने बाल विवाहहरू लगभग घट्दै गएका छन् र बहुविवाहलाई कानुनी रूपमा बन्देज लगाइएको छ । यौन र प्रजनन् शिक्षा पनि विस्तारै फैलिरहेको छ, तर यौनका विषयलाई हेर्ने सामाजिक दृष्टिकोणमा खासै परिवर्तन देखिएको छैन । शिक्षा र आत्मनिर्भरता बढ्दै जाँदा व्यक्तिगत स्वतन्त्रताको दायरा विस्तार भएको छ भने सामाजिक असमानताको अन्तर पनि अझै विद्यमान छ ।

सहरीकरणको प्रभाव गाउँगाउँमा पनि पुगेको छ र हिजोको जस्तो अनुदारता र साँघुरोपन केही कम भएको देखिन्छ । तर अहिलेको खुला पुस्ताले पनि यौनका बारेमा खुलेर कुरा गर्न चाहेको पाइँदैन । जब मैले यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धी अध्ययन र तालिमका सिलसिलामा देशका विभिन्न स्थानमा पुग्दा विभिन्न उमेर समूह र पेशाका व्यक्तिहरूसँगको अन्तरक्रियामा सबैलाई एउटै प्रश्न सोधें- ‘यौन के हो ? तपाईंको बुझाइमा आफ्नो अवधारणा दिनुहोस् ।’ उनीहरुमध्ये केवल केहीको जवाफ फरक थियो, बाँकी सबैको जवाफ लगभग उस्तै थियो- प्राकृतिक प्रक्रिया, जैविक आवश्यकता, विपरीत लिङ्गीप्रतिको आकर्षण, समर्पण, लिङ्ग र योनीको मिलन, वैवाहिक सम्बन्ध र सन्तानोत्पादन । यसले देखाउँछ कि यौनका बारेमा सामाजिक दृष्टिकोण र बुझाइमा अझै पनि धेरै परिवर्तन आवश्यक छ ।

यौनका बारेमा फ्रायड, वात्स्यायन, ओशो, नित्से, डी एच लरेन्स र जेम्स जोयस जस्ता दार्शनिक र साहित्यकारहरूले यौनलाई भिन्न-भिन्न कोणबाट व्याख्या गरेका छन् । यौनको विश्लेषण र यसको सामाजिक-सांस्कृतिक महत्त्वका बारेमा यिनका दृष्टिकोणहरूले सधैं नै बहस र विमर्शलाई उत्प्रेरित गर्दै आएका छन् ।

फ्रायडले यौनलाई मानव मनोविज्ञानको एक प्रमुख आधार मान्दै बाल्यकालदेखि नै यसले मानिसको व्यवहार र व्यक्तित्वमा प्रभाव पार्ने तर्क प्रस्तुत गरे । उनको विचारमा यौन असन्तुष्टि वा दमित यौन इच्छाहरू मनोविकारको उत्पत्ति हुनसक्छ । यसैगरी वात्स्यायनको ‘कामसूत्र’ जस्ता प्राचीन ग्रन्थले यौनलाई एउटा कला र जीवनको महत्वपूर्ण अंशका रूपमा प्रस्तुत गर्छ । ओशो भने यौनलाई आत्मिक जागरण र सन्तुलित जीवनको एक साधनका रूपमा हेर्नुपर्ने बताउँछन् ।

नित्सेको दृष्टिकोणले जीवनको वास्तविकता र यौनको भूमिका बीचको सम्बन्धलाई गहिरो रूपमा उठाउँछ । उनले आफ्नो उच्चतम् सम्भावना नचिन्ने र पूरा नहुने मान्छेले नै समाजमा कुरुपता ल्याउने तर्क गरे । उनका विचारमा, यौन एक प्राकृतिक आवश्यकता हो, जसबाट पूर्ण रूपमा निस्पृह हुनु मानिसका लागि कठिन छ । तर यौनमा निर्लिप्त हुने या यसको नियन्त्रणमा रहनु नै मानवीय चिन्तन र जीवनको महत्त्वपूर्ण प्रश्न हो ।

डी एच लरेन्स र जेम्स जोयसले यौन असन्तुष्टिलाई साहित्यमा मनोविज्ञान र मानवीय संवेदनाका रूपमा व्याख्या गरे । उनीहरूको विचारमा यौन असन्तुष्टिले मानिसको मानसिक अवस्था र व्यवहारमा गहिरो प्रभाव पार्छ, जसलाई साहित्यिक कृतिहरूमा चित्रण गरिएको छ ।

यौनलाई जीवनको गुरुत्व केन्द्र मान्दा यसको शक्ति र महत्त्वको बोध हुन्छ, तर यसलाई कुरुप बनाउने तत्त्वहरू पनि समाजमा व्यापक छन् । आधुनिक समयमा, यौन शिक्षाको विकास र सामाजिक चेतनाले केही हदसम्म परिवर्तन ल्याइरहे पनि यौनप्रतिको दृष्टिकोणमा अझै पनि पुरातन सोच र सांस्कृतिक सीमाहरु बाँकी नै छन् ।

यौनलाई प्राकृतिक प्रक्रिया र जीवनको एक अपरिहार्य अंशका रूपमा स्वीकार गर्नुपर्छ, किनकि यो मानवीय जीवन र विकाससँग सम्बन्धित छ । यौनको विषयमा समाजमा गहिरो संकोच र कुण्ठा विद्यमान छ, जसले मानिसलाई खुला रूपमा बोल्न र आफ्नो अनुभवहरू साझेदारी गर्न बाधा पुर्‍याउँछ । यसले व्यक्तिगत र सामाजिक स्तरमा समस्याको जडको रूपमा काम गर्न सक्छ ।

मानव स्वभाव र चेतनाको आधारमा प्रत्येक व्यक्तिले जीवनको कुनै न कुनै समयमा अरूभन्दा भिन्न देखिन वा नयाँ कुरा गर्न चाहन्छ । यस्तो चाहनाले कहिलेकाहीं मानिसलाई गलत कदम चाल्न प्रेरित गर्न सक्छ, विशेषगरी सकारात्मक ऊर्जा र मार्गदर्शनको अभावमा । यौनको बारेमा खुलेर कुरा नगर्दा र दमन गर्दा यसले मानिसको मनोविज्ञानमा कुण्ठा उत्पन्न गराउँछ, जसले अन्ततः समाजमा अपराध र हिंसा जस्ता समस्या निम्त्याउन सक्छ ।

समाजमा घटेका जघन्य अपराधहरू केवल नियम र कानुनको कडाइले मात्र समाधान गर्न सकिंदैन । नियमको पालना गराउनु र अपराधीलाई सजाय दिनु उचित भएपनि समस्याको जरोसम्म पुगेर यसको कारण पत्ता लगाउनु जरुरी छ । अपराध घट्नुको पछाडि सामाजिक संरचना, आधुनिकताको प्रभाव र शिक्षा र चेतनास्तरबीचको तालमेलको अभाव जस्ता कारण पनि हुनसक्छन् ।

सामाजिक संरचना र आधुनिकताको दौडबीचको असन्तुलनले मानिसहरुलाई थप द्विविधामा पार्न सक्छ । अनुशासन र स्वतन्त्रताबीचको तालमेल कायम गर्न नसक्दा, मानिसहरूले आफ्नो इच्छालाई दबाएर राख्न बाध्य हुन्छन् । यसरी दबिएका इच्छाहरू समयक्रमसँगै कुण्ठामा परिणत हुन्छन्, जुन अपराधको जड बन्छ ।

समाजले यौनको बारेमा खुलेर बहस गर्न संकोच मान्छ, जसकारण समस्या गहिरिंदै जान्छन् । जति खुला र स्पष्ट रूपमा बहस गर्न सकिन्छ, त्यति नै समस्याको स्तरीय समाधान निस्कन सक्छ । खुला समाजले पनि अपराधबाट पूर्णतः मुक्ति पाएको हुँदैन । तर खुला बहसले चेतना र समझदारीको स्तरलाई उचाइमा पुर्‍याएर सामाजिक परिवर्तनमा सकारात्मक योगदान पुर्‍याउन सक्छ ।

समाजको वर्तमान रूप भोलिका लागि अपरिवर्तित रहने छैन । त्यसैले यौन जस्तो महत्त्वपूर्ण विषयमा बोल्न, लेख्न र छलफल गर्न उदारता देखाउनु जरूरी छ । यसले व्यक्तिगत र सामूहिक रूपमा समाजलाई स्वस्थ र अपराधमुक्त बनाउने दिशामा कदम चाल्न मद्दत पुर्‍याउँछ ।

अन्त्यमा, नेपालमा यौनका विषयलाई अझै संकोच र कुण्ठाका साथ हेरिन्छ, जसले अपराध र मानसिक विकृति निम्त्याउन सक्छ । यौन शिक्षा र खुला बहसको आवश्यकता छ, जसले समाजको मानसिकता परिवर्तन गर्न, अपराध घटाउन र व्यक्तिगत तथा सामूहिक जीवनलाई स्वस्थ बनाउन सहयोग पुर्‍याउँछ । जैविक, सांस्कृतिक र सामाजिक दृष्टिकोणलाई समेटेर यौनको विषयमा खुला छलफल गर्नु आजको आवश्यकता हो, जसले समाजलाई समानता र न्यायको दिशामा अघि बढ्न मद्दत गर्नेछ ।

(अधिकारी यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा अनसन्धान, प्रशिक्षण तथा शिक्षण गर्छन् ।)

अनुप अधिकारी यौन शिक्षा समाज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

समाजमा यौन शिक्षाबारे खुला बहस किन अपरिहार्य छ ?

समाजमा यौन शिक्षाबारे खुला बहस किन अपरिहार्य छ ?

दिमाग शुद्धीकरण गर्ने विश्व प्रसिद्ध जापानी विधि

दिमाग शुद्धीकरण गर्ने विश्व प्रसिद्ध जापानी विधि

पुरुषले गर्नुपर्ने यी सात स्वास्थ्य परीक्षण

पुरुषले गर्नुपर्ने यी सात स्वास्थ्य परीक्षण

चिरफार नगरी पेटको क्यान्सरको शल्यक्रिया : कसरी गरिन्छ, कति लाग्छ खर्च ?

चिरफार नगरी पेटको क्यान्सरको शल्यक्रिया : कसरी गरिन्छ, कति लाग्छ खर्च ?

अहिलेका पाठ्यक्रमले बालबालिकालाई सजाय दिन्छ, खुशी हुन सिकाउँदैन

अहिलेका पाठ्यक्रमले बालबालिकालाई सजाय दिन्छ, खुशी हुन सिकाउँदैन

खानेकुरामा मिठास भर्ने ‘कर्न सिरप’ कति स्वस्थकर ?

खानेकुरामा मिठास भर्ने ‘कर्न सिरप’ कति स्वस्थकर ?