एकाध वर्ष यता भने ल्याप्रोस्कोपिकबाट क्यान्सरको शल्यक्रिया हुन थालेको छ । यस प्रविधिबाट ठूलो आन्द्रा, सानो आन्द्रा, मलद्वार नजिकको आन्द्रा, पाठेघर, पित्तथैली र कलेजो क्यान्सरको शल्यक्रिया हुँदै आएको थियो । यसवर्ष भने आमाशय क्यान्सरको शल्यक्रिया हुन थालेको छ, चिरफार नगरी ।
त्यसो त शल्य चिकित्सामा ठूलो फड्को मारेको प्रविधि हो, ल्याप्रोस्कोपिक । जबकि यो प्रविधि नेपालमा एक दशकअघि मात्र भित्रिएको हो । त्यसमा पनि क्यान्सरको शल्यक्रियामा यो प्रविधि प्रयोगमा आएको थिएन ।
यो सुविधा अहिले पाटन अस्पलतामा उपलब्ध छ । यस्तो शल्यक्रिया गर्ने नेपालमै पहिलो अस्पताल हो, पाटन अस्पताल ।
कुनै चिरफार नगरी शल्यक्रिया गरिने भएकाले यो उपचार अरुभन्दा प्रभावकारी छ । त्यसमाथि सहज र सुरक्षित त छँदैछ । नेपालमै सहज र सुरक्षित हुने आशा छाएको छ । किनकी यो चिरफार शल्यक्रियाभन्दा प्रभावकारी छ ।
चिरफार शल्यक्रिया भन्दा ल्याप्रोस्कोपिक किन प्रभावकारी छ ?
चिरफार गरेर गर्ने शल्यक्रियाको लागि ठूलो घाउ बनाउनु पर्छ । जति ठूलो घाउ त्यति जटिलता बढ्छ । आमाशय जस्तो जटिल अंगमा चिरफार गरेर शल्यक्रिया गर्दा दुखाइ बढी हुने र निको हुन समय लाग्छ । उपयुक्त स्याहार नपुगे घाउ पाक्न पनि सक्छ । कहिलेकाहीँ अर्को अंग पनि काटिने डर रहन्छ ।
तर, ल्याप्रोस्कोपिकबाट गरिने शल्यक्रियामा सानो घाउ बनाएर त्यसबाट दूरबिन छिराएर मोनिटरमा हेर्दै क्यान्सर लागेको भाग निकाल्न सकिन्छ । जसले रक्तस्राव कम हुने, दुखाइ कम हुने, दाग सानो हुने र निको हुन कम समय लाग्ने हुन्छ । छिटो डिस्चार्ज भई सामान्य दिनचर्यामा फर्कन सकिने भएकोले यो सेवालाई प्रोत्साहन गरिन्छ ।
चाहे जस्तो विधि होस्, शल्यक्रिया गर्नुअघि दुवैको फाइदा र बेफाइदाबारे जानकारी गराएर बिरामीकै रोजाइमा शल्यक्रिया गराइन्छ ।
कस्तो अवस्थामा गर्ने ?
क्यान्सरको उपचार कुन चरणमा पुगेको छ । त्यसलाई मध्यनजर गरेर सुरु गरिन्छ । यदि सुरुवाती र अन्तिम चरणमा पुगेको छैन भने दूरबिनबाट निकाल्न सकिन्छ । शल्यक्रिया नगर्दा खानेकुरा खान वा पच्न सकेको हुँदैन । त्यसकारण बाइपास शल्यक्रिया दूरबिनबाट गर्न सकिन्छ ।
एडभान्स वा अन्तिम चरणको अन्य भागमा पनि फैलिसकेको अवस्थामा शल्यक्रिया गरेर पनि क्यान्सर निको हुँदैन । यस्तोमा ओपन शल्यक्रिया र औषधि चलाएर लक्षणलाई रोकथाम गरिन्छ ।
शल्यक्रिया कसरी गरिन्छ ?
शल्यक्रिया गर्दा बिरामीलाई बेडमा सुताइन्छ । बिरामीको पोजिसन परिवर्तन गर्दै शल्यक्रिया सुरु गरिन्छ । त्यसपछि एनेस्थेसिया दिएर बेहोस बनाएर शल्यक्रिया सुरु हुन्छ ।
त्यसपछि ३ वटा ठाँउमा प्वाल पारेर दूरबिन छिराएर शल्यक्रिया गरिन्छ । दूरबिनसँगै प्रकाश र क्यामरा पनि जडान गरिन्छ ।
सो क्यामराको सहायताले निकाल्न पर्ने भाग मोनिटरमा हेर्दै उपचार गरिन्छ ।
शल्यक्रिया पछि
शल्यक्रिया गरेको ५ घण्टा पछि हिँड्न लगाइन्छ । अर्को दिनबाट सहजै हिँड्न सक्छन् । शल्यक्रिया पछि आन्द्राको चालमा बिस्तारै सुधार आउँछ ।
जोखिम
यो प्रविधिबाट शल्यक्रिया गर्दा सावधानीपूर्वक गर्दा कुनै जोखिम हुँदैन । तर, कहिलेकाहीँ शल्यक्रिया गर्दागर्दै जटिलता बढेमा तुरुन्त चिरेर शल्यक्रिया गरिहाल्नुपर्छ । यस्तोमा ल्याप्रोस्कोपीबाटै पुरा गर्छु भनेर बस्दा अवस्था गम्भीर बन्न सक्छ ।
खर्च कति लाग्छ ?
खर्चको हिसाबले पनि यो त्यति महँगो पर्दैन। शल्यक्रिया शुल्क बढी भए तापनि यसका फाइदाहरुसँग तुलना गर्दा यो विधि महँगो पर्दैन किनभने अस्पताल बसाइ कम हुन्छ, संक्रमणको जोखिम न्यून हुने र औषधि कम खानुपर्छ ।
उपचार शुल्क अस्पतालपिच्छे फरक फरक हुन्छ । पाटन अस्पतालमा भने शल्यक्रिया गर्दा एक लाख देखि एक लाख ५० हजारसम्म लाग्न सक्छ ।
पाटनमा कुन कुन दिन यो सेवा लिन सकिन्छ ?
पाटनमा क्यान्सरको शल्यक्रिया गर्नुपर्ने बिरामी आएको खण्डमा फिर्ता नपठाउने हरसम्भव प्रयास हुन्छ ।
त्यसैले, शल्यक्रिया जति सक्दो चाडो गर्न अरु तालिकालाई पछि सारेर पनि गरिन्छ । यो सेवा बुधबार अस्पताल विदाको दिन पनि यस्तो बिरामी आएमा शल्यक्रिया गरिन्छ ।
आमाशय क्यान्सरको ल्याप्रोस्कोपीसर्जरीका लागि विशेष तालिम चाहिन्छ
क्यान्सरको शल्यक्रिया तालिम बिना गर्न सकिँदैन । यसको लागि ग्यास्ट्रिक क्यान्सर उपचारको शैक्षिक योग्यता, एडभान्स ल्याप्रोस्कोपिक सर्जरीको विशिष्ट तालिम र थुप्रै सामान्य शल्यक्रियाको अनुभव भए पछि मात्र यो शल्यक्रिया गर्न सकिन्छ । अध्ययनको दायरा लामो भएकै कारण नेपाल जस्तो देशमा दक्ष जनशक्ति कम छ । यही कारणले गर्दा अस्पतालहरुले यो सेवा राख्न नसकेको अवस्था छ ।
नेपालमा ल्याप्रोस्कोपीको विकास
नेपालमा ल्याप्रोस्कोपी प्रविधि ढिलो तथा ठूलो स्तरमा प्रक्षेपण नभएको देखिन्छ ।
कारण भनेको बिरामी वा उपभोक्तामाझ यो विधिको ज्ञान, यसको फाइदाको जानकारी निकै न्यून मात्रामा हुनु हो । अधिकांश चिकित्सक नै यसमा प्रशिक्षित नहुनु, उपकरण सहितको अस्पताल कम हुनु, ठूला सहरका केही बिरामी बाहेक, विस्तृत विज्ञापनको कमीले उपभोक्तामाझ यो विधि लोकप्रिय बनेको छैन ।
फोटो : चन्द्र बहादुर आले
प्रतिक्रिया 4