केही दशक यता कर्न स्टार्च सिरप खानेकुराहरुमा व्यापक रूपमा प्रयोग भएको पाइन्छ । व्यापक प्रयोग हुनुको कारण भनेको सिरपले परिकारलाई हेर्दा आकर्षक र खाँदा जिब्रो लोभ्याउने स्वादिलो बनाइदिन्छ ।
पहिले यसको प्रयोग औद्योगिक खाद्य समाग्रीमा मात्र हुन्थे भने पछिल्लो समय हाम्रो भान्छामा समेत यसको प्रयोग भएको पाइन्छ । दैनिक जसो कर्न स्टार्च सिरप स्वास्थ्यको लागि हानिकारक छ । यसको प्रयोगले रोग माथि रोग थप्दै लान सक्छ ।
कर्न सिरप के हो ? कस्तो खानेकुरामा पाइन्छ ?
यो मकैको स्टार्चबाट बनेको एक प्रकारको कृत्रिम सिरप हो । जसमा ग्लुकोज र फ्रक्टोजक मात्रा उच्च हुन्छ।
ब्रेकफास्ट देखि खाजाको रुपमा समेत खाने परिकारहरु जस्तै केक, ब्राउन ब्रेड जस्ता बेकरी परिकार, मुसली, फलफूलका जुस, सफ्ट ड्रिंक्स, सस, सोडा जस्ता गुलियो पेय, दही, क्यान्डी, टुना माछा, क्यानमा पाइने गुलावजामुन जस्ता मिठाइमा कर्न सिरप प्रयोग हुन्छ ।
आइसक्रिम र चक्लेटहरुमा पनि यसको व्यापक प्रयोग हुन्छ । यी परिकारहरुलाई स्वादिलो पार्न, मात्रा बढाउन, आकर्षक र छिटो बिग्रन नदिन कृत्रिम सिरपको प्रयोग गरिन्छ ।
गाढा र हल्का गरी सिरप दुई प्रकारका हुन्छन ।
एउटा सिरप हल्का खालको हुन्छ । हल्का भन्नाले हेर्दा उज्यालो र पारदर्शी रङमा हुन्छन । स्वाद भने भेनिलाको जस्तो दिन्छ ।
अर्को उच्च फ्रुक्टोज प्रयोग भएको सिरप गाढा खालको हुन्छ । सख्खरको जस्तो स्वाद अनि कारमेलको जस्तो गाढा रङको देखिन्छ ।
यस्ता सिरपमा उच्च-फ्रुक्टोज, ग्लुकोज, माल्टोज र उच्च ओलिगोसाकराइड, ग्रेडको कर्बोहाइड्रेटको रुपमा विभिन्न प्रकारका चिनीहरू मिसाइएको हुन्छ ।
उच्च-फ्रुक्टोज कर्न स्टार्च सिरपले खानेकुराहरुमा मिठास भर्ने काम गर्छ । यसले ग्लुकोजको ठूलो अनुपातलाई मिठो उच्च फ्रुक्टोजमा रूपान्तरण गर्न एक प्रकारको डि अक्सिलोज आइसोमेरेज इन्जाइम को प्रयोग गरेर यसलाई प्रशोधित उच्च-फ्रुक्टोज कर्न सिरपको रुपमा परिणत गर्छ।
त्यसैकारणले स्वादलाई प्राथमिकता दिनेहरु माझ यस्ता खानेकुराहरु लोकप्रिय छ । साथै यसले माइक्रोबियल वृद्धिलाई नियन्त्रण गरेर प्रयोग गरिने उत्पादनहरूको शेल्फ लाइफलाई बढाउने गर्छ । अर्थात, यसले खानालाई लामो समय सम्म बिग्रन दिँदैन
कतिको जोखिमपूर्ण ?
धेरैजसो प्याकेज गरिएको र प्रशोधित खानाहरूमा प्रयोग हुने उच्च फ्रुक्टोज नै मकैको सिरप हो । तर यसको फ्रुक्टोजलाई बढाउन र उत्पादनबाट बढी भन्दा बढी फाइदा लिन सामान्य कर्न सिरप भन्दा बढी प्रशोधन गरिएको सिरप हालिएको हुन्छ जसले गर्दा यो स्वास्थ्यकर हुँदैन।
मोटोपना
हालै जति पनि बजारमा पाइने खानेकुराले मोटोपना बढाउँछ भनेर भन्ने गरिन्छ । यसको प्रमुख कारण गुलियो सिरप नै हो ।
विभिन्न अध्ययनहरूले देखाए अनुसार बढी फ्रुक्टोज भएको मकैको सिरपले मानिसहरुमा भोक बढाउने पनि काम गर्छ । एक चम्चा कर्न सिरपमा ५७ क्यालोरी हुन्छ। जसले तौल बढाउनमा ठुलो भूमिका खेल्छ। कर्न सिरप क्यालोरीमा उच्च हुन्छ र यसले अधिक तौल बढाइ मोटोपनलाई बढाउने काम गर्छ ।
मधुमेहको जोखिम
कुनै पनि प्रकारको कर्न सिरपको अत्यधिक उपभोग स्वास्थ्यको लागि हानिकारक हुन सक्छ। यसले रगतमा चिनीको मात्रा बढाउन सक्छ । दैनिक यस्ता खानेकुराको उपभोग गर्ने हो भने टाइप २ मधुमेह हुने जोखिम बढाउँछ।
मुटु रोग
उच्च-फ्रुक्टोज कर्न स्टार्च सिरप खानेकुराहरुले उच्च कोलेस्ट्रोल स्तर बढाउने देखि रक्त चाप बढाइ मुटु रोगको जोखिम बढाउँछ ।
फ्याटी लिभर
कर्न सिरपयुक्त खानाको लामो समय सम्मको सेवन गर्दा कलेजोमा बोसो जम्मा हुनको साथै मुटु सुन्निने, ट्राइग्लिसराइड्स बढ्ने, र नन अल्कोहलिक फ्याटी लिभर रोगलाई बढावा दिन्छ।
पोषणको अभाव
विशेषगरी उच्च-फ्रुक्टोज सिरप हालिएका खानाहरूमा क्यालोरीको मात्रा धेरै हुन्छ जसमा शरीरको लागि अति आवश्यक पर्ने सूक्ष्म पोषकतत्वहरु एकदमै कम हुन्छ। जसले शरीरलाई चाहिने कुनै पनि प्रकारको पोषण प्रदान गर्दैन।
त्यस्ता उत्पादनहरूको नियमित उपभोगले गर्दा जनमानस गुणस्तरहीन आहार प्रयोग गर्न बाध्य हुन्छन । अर्कोतर्फ, पोषण दिने खानालाई यसले विस्थापित गर्छ।
त्यसैले, सिफ्ट ड्रिंक्स, मसलाहरू, बेकरीका सामानहरू, फास्ट फुड, ब्रेकफास्ट सिरियल, डिब्बा बन्द खाना, दही र क्यान्डी जस्ता बाह्य खानेकुराहरुको मात्रालाई सीमित गर्न महत्त्वपूर्ण छ ।
विश्व स्वास्थ्य संगठनले उच्च फ्रुक्टोज मकैको सिरप सहित सबै थपिएको चिनीलाई दिनको ५० ग्राम भन्दा बढीमा उपभोग नगर्न सिफारिस गर्छ ।
विज्ञहरूले पनि उच्च फ्रुक्टोज कर्न सिरप र अन्य थपिएको चिनी लगायत क्यान्डी र सोडाहरू अत्यधिक खपतलाई सीमित गर्न र स्टोरमा किनेका खानेकुराहरूको सट्टा घरमा पकाइएको, बेकिङ गरिएको खानेकुरा खान सल्लाह दिन्छन्।
लेबल हेर्ने अभ्यास बसालौं
के खाने ? कस्तो खाने ? भन्ने बारे स्वयम उपभोक्ताहरू सचेत हुन आवश्यक छ। बजारमा पाइने खानेकुरा किन्दा स्वादलाई मात्र हेरेर किन्नुको साटो खानेकुराको बट्टा वा खोलमा लेखिएको लेबल हेर्ने बानी विकास गर्नु आवश्यक छ ।
लेबल विनाको कुनै खानेकुरालाई गुणस्तरयुक्तमा मान्न सकिँदैन । लेबलमा क्यालरी, कप सिरपको मात्रा र अन्य के कस्ता पदार्थ कति मात्रामा हालिएको छ हेरेर मात्र लिनु पर्छ ।
यसो गर्दा अनावश्यक क्यालोरी खपत गर्न र स्वास्थ्यको दृष्टिकोणले फाइदा नगर्ने खाद्य पदार्थबाट बच्न सकिन्छ ।
प्रतिक्रिया 4