+

‘आईभीएफको सफलता महिलाको उमेर र बाँझोपनको कारणमा निर्भर हुन्छ’ (भिडियो)

२०८१ कात्तिक  १८ गते ९:४२ २०८१ कात्तिक १८ गते ९:४२
‘आईभीएफको सफलता महिलाको उमेर र बाँझोपनको कारणमा निर्भर हुन्छ’ (भिडियो)

काठमाडौं । निःसन्तानपनको समस्या किन हुन्छ ? यसमा एउटा मात्र जवाफले पुग्दैन । कारण अनेक हुन सक्छन् । पुरुष वा महिला दुईमध्ये जसमा समस्या भए पनि निःसन्तानपन हुनसक्छ ।

यस्तोमा लामो समय प्रयास गर्दा पनि प्राकृतिक रुपमा गर्भधारण भएको छैन भने गर्भधारणका लागि अन्य उपाय के छ ? के कस्तो अवस्थामा आईभीएफ गर्न सकिन्छ ? लगायत विषयमा स्त्रीरोग, प्रजनन् तथा आईभीएफ विशेषज्ञ डा. अर्चना शाक्यसँग अनलाइनखबरकर्मी सुमित्रा लुईटेलले गरेको कुराकानी :

कतिपय दम्पतीले वर्षौ प्रयास गर्दा पनि गर्भधारण भएको हुँदैन, त्यसको विकल्प के छ ?

कुनै पनि महिला ३५ देखि ४० वर्षसम्मको उमेरका छन् र प्राकृतिक रुपमा गर्भधारण भइरहेको छैन भने अण्डाको भण्डारण राम्ररी भएको छ कि छैन भनेर अल्ट्रासाउन्ड गरेर हेरिन्छ । त्यसपछि महिला र पुरुष दुवैको अन्य परीक्षण पनि गरिन्छ । के समस्या हो भन्ने कुरा पत्ता लगाएपछि गर्भधारणका लागि आईयूआई र आईभीएफ दुई तरिका अपनाएर गर्भधारण गर्न सकिन्छ ।

ईयूआई र आईभीएफ भनेको के हो ?

पाठेघरमा सोझै पुरुषको शुक्रकीट राख्ने विधि नै आईयूआई (इन्ट्रा यूटेरिन इन्सेमिनेशन) हो । उमेर बढ्दै जाँदा महिलाको अण्डा समयमा नबन्ने भएकाले अण्डा बन्ने औषधिहरू दिने, शुक्रकीटको मात्रा कम भएकाहरूको शुक्रकीटलाई सफा गरेर स्वस्थ शुक्रकीटलाई पाठेघरमा राख्ने विधिलाई आईयूआई भनिन्छ ।

आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) प्रक्रियामा पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई कृत्रिम तरिकाले निकालेर प्रयोगशालामा मिलाएर भ्रूण विकास गराएपछि पाठेघरभित्र राखिन्छ ।

कस्तो अवस्थामा आईभीएफ गर्नुपर्छ ?

ढिलो बच्चा जन्माउने, बच्चा बस्ने नली बन्द भएमा, पाठेघरमा मासु पलाएको छ, प्राकृतिक तरिकाले बच्चा नबसे, आईयूआई धेरै पटक असफल भएमा, शुक्रकीटको मात्रा, चाल र बनोटमा समस्या भएमा पनि आईभीएफ प्रक्रियाबाट बच्चा जन्माउन सकिन्छ ।

ईभीएफका लागि पनि उमेरहद हुन्छ ?

आईभीएफ प्रक्रियाले कति सफलतापूर्वक काम गर्छ भन्ने कुरा महिलाको उमेर र उसको बाँझोपनको कारणमा निर्भर हुन्छ । कम उमेरका महिलामा सफल गर्भधारण गर्ने सम्भावना बढी हुन्छ । आईभीएफ प्रक्रिया सामान्यतया ५० वर्ष भन्दा अघि नै गर्नु राम्रो हुन्छ ।

ईभीएफ मार्फत जन्मिएको बच्चा प्राकृतिक जति स्वास्थ्य हुँदैन भनेको सुनिन्छ नि ?

 

आईभीएफ मार्फत जन्मिएको बच्चा पनि प्राकृतिक रुपमा जन्मिएको बालबालिका जस्तै स्वस्थ हुन्छन् । यदि कसैमा वंशाणुगत रोगको जोखिम छ भने त्यो त प्राकृतिक रुपमा जन्मिएकामा पनि हुन्छ ।

ईभीएफ मार्फत गर्भधारण गर्दा जुम्ल्याहा बच्चा जन्मिन्छन् ?

आईभीएफ मार्फत गर्भधारण गर्दा जुम्ल्याहा बच्चा नै जन्मिन्छ भन्ने छैन । तर आईभीएफ मार्फत गर्भधारण गर्दा आमाको गर्भमा भ्रूण हस्तान्तरण गर्ने हो । पाँचौं दिनको भ्रूण गर्भमा राख्दा दुईवटा राखिन्छ सफलता दर बढोस् भनेर । यस्तोमा दुईवटै इम्प्लान्ट भयो भने जुम्ल्याहा हुने हो । एउटा मात्र इम्प्लान्ट भयो भने त एउटा नै बच्चा हुन्छ ।

ईभीएफ मार्फत गर्भधारण गर्दा आमाले नौ महिना नै बेडरेस्ट गर्नुपर्छ ?

आईभीएफ मार्फत गर्भधारण गर्दा नौ महिना बेडरेस्ट गर्नुपर्छ भन्नु पनि भ्रम नै हो । आईभीएफ मार्फत गर्भधारण गर्दा नौ महिना बेडरेस्ट गर्नु पर्दैन । रक्तस्राव भयो वा अन्य कुनै जटिलता निम्तिएको खण्डमा मात्र बेडरेस्ट गर्नुपर्छ, जुन जटिलता नर्मल गर्भधारणमा पनि हुनसक्छ ।

पहिलो सन्तान आईभीएफ मार्फत जन्माइयो भने दोस्रोको पालोमा पनि आईभीएफ नै गर्नुपर्छ ?

पहिलो सन्तान आईभीएफ मार्फत जन्माइयो भने दोस्रोको पालोमा पनि आईभीएफ नै गर्नुपर्छ भनेको पनि सुनिन्छ । यदि महिलाको अण्डाशयको दुईवटै नली बन्द भयो छ भने दोस्रो पटक पनि आईभीएफ गर्नुपर्ने हुन्छ । तर यदि पीसीओएसको कारण पहिलो सन्तान आईभीएफ गर्नुपर्‍यो भने दोस्रो प्राकृतिक पनि हुन्छ । त्यसैले पहिले के कारणले आईभीएफ गरेको हो भन्ने कुराले दोस्रो आईभीएफ गर्ने कि नगर्ने भन्ने कुरा निर्भर गर्छ ।

पुरुषमा नि:सन्तापनको समस्या देखा पर्नुको कारण के हो ?

शुक्रकीटको गुणस्तर खराब भएमा, शुक्रकीटको संख्या कम भएमा, शुक्रकीट गतिशीलता कम भएमा, शरीरको हर्मोनमा गडबडी भएमा, तनाव र अन्य कुनै दीर्घरोगको कारण शुक्रकीटको संख्या कम हुँदा पुरुषमा बाँझोपनको समस्या देखा पर्छ ।

धुम्रपान, रक्सी सेवन बढी मात्रामा गर्दा शुक्रकीटको गुणस्तरमा ह्रास आउँछ । पुरुषमा पनि विवाह तथा सन्तान योजनामा ढिलाइ गर्दा बाँझोपनको समस्या निम्तिने सम्भावना धेरै हुन्छ ।

वैदेशिक रोजगारीमा गएका पुरुषहरूमा पनि यो समस्या बढ्दै गएको देखिन्छ । विदेश त्यसमा पनि खाडी मुलुकबाट फर्किने पुरुषमा त्यहाँको वातावरण, खानपिन लगायत कारणले उनीहरूको शुक्राणुलाई असर गरेको हुन्छ ।

मधुमेह, थाइराइड, उच्च रक्तचापको समस्या भएकाहरूमा पनि निःसन्तानपनको समस्या हुन्छ ?

मधुमेह, उच्च रक्तचाप र थाइराइड नियन्त्रणमा छैन भने यसले गर्दा पनि शुक्रकीट र अण्डाको गुणस्तरमा ह्रास आएर निःसन्तानपनको समस्या देखा पर्छ ।

पुरुषमा नि:सन्तापनको उपचार ?

शुक्राणुमा कमी हुँदा पुरुषबाट सन्तान उत्पादन हुन सक्दैन, पुरुषको वीर्यमा प्रतिमिलिमिटर शुक्राणुको संख्या डेढ करोडभन्दा कम हुनु शुक्राणुको सङ्ख्या कम भएको बुझिन्छ । कम वीर्यका कारण गर्भधारण भएको छैन भने इनभिट्रो फर्टिलाइजेसन वा इन्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन जस्ता प्रविधिको मद्दत लिन सकिन्छ ।

पछिल्लो समय खराब खानपान र जीवनशैलीले विभिन्न स्वास्थ्य समस्या बढाएको छ निःसन्तानपनको समस्या निम्ताउन यो कति जिम्मेवार छ ?

खराब जीवनशैली र खानपानको कारण पनि निःसन्तानपनको समस्या बढ्दो छ । हामीले खाने अधिकांश खानेकुरा प्रशोधित हुन्छ । विभिन्न रसायन प्रयोग भएको हुन्छ यस्ता खानपानले हाम्रो समग्र स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ । साथै धुम्रपान मद्यपानको सेवन, व्यायाम नगर्ने बानीले पनि निःसन्तानपनको समस्या बढ्दै गएको छ ।

नि:सन्तापनको समस्याबाट बच्न केके कुरामा ध्यान दिनुपर्छ ?

निःसन्तानपनको समस्याबाट बच्न मानसिक तनावलाई व्यवस्थापन गर्ने, सानैदेखि खानपानमा विशेष ध्यान दिने र शारीरिक वजन नियन्त्रणमा राख्ने, रक्सी चुरोट अत्यधिक मात्रामा नखाने, दैनिक व्यायाम गर्ने गर्नुपर्छ ।

आईभीएफ नि:सन्तानपन

धेरै कमेन्ट गरिएका

डा. अर्चना शाक्य
लेखक
डा. अर्चना शाक्य
स्त्रीरोग, प्रजनन् तथा आईभीएफ विशेषज्ञ

डा. शाक्य हाल काठमाडौंको सिनामंगलस्थित हार्दिक आईभीएफमा कार्यरत छिन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ८७८० हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय