१२ कात्तिक, बुटवल । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले प्रदेश सरकार र पार्टीका प्रदेश समितिलाई पूर्ण अधिकार नदिने हो सबै प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन् ।
केन्द्र सरकारले प्रदेश सरकारलाई तथा पार्टीका केन्द्रीय कमिटी र शीर्ष नेताहरुले प्रदेश समितिलाई अधिकार नदिएको भन्दै उनले यस्तो अवस्थामा प्रदेश संरचनाले काम गर्न नसक्ने बताए ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले सोमबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा सभापति पुनले संविधानले तोकेका अधिकार प्रदेश सरकारलाई दिन केन्द्र सरकारले कन्जुस्याई गरेको बताए । त्यस्तै प्रदेशको मुख्यमन्त्री र मन्त्री छनोटमा केन्द्रीय समितिले प्रदेश समितिलाई पुरै बाइपास गरेको सभापति पुनले बताए ।
‘एकातिर केन्द्र सरकारले प्रदेश सरकारलाई दिनुपर्ने अधिकार दिन आनाकानी गरिरहेको छ, अर्कोतिर प्रदेशको मुख्यमन्त्री र मन्त्री नियुक्तिमा पनि पार्टीका केन्द्रीय नेताहरुबाटै निर्णय हुन्छ भने प्रदेश सरकार र प्रदेश समितिहरुको के काम, के औचित्य भयो ?’, सभापति पुनले भने, ‘कांग्रेसमा मात्र हैन अरु पार्टीहरुमा पनि प्रदेश समितिलाई निर्णयको अधिकार दिन पार्टीहरु तयार छैनन्, यस्तै अवस्था रहे म सभापति पदबाट राजीनामा दिएर प्रदेशलाई अधिकार दिलाउन सडकमा आउँछु ।’
केन्द्र सरकार र दलहरुको केन्द्रीकृत मानसिकताका कारण प्रदेश संरचनाप्रति जनस्तरमा वितृष्णा र निराशा बढेको सभापति पुनले बताए ।
‘लुम्बिनीका पालिकाहरुमा चलिरहेको पालिका संवाद कार्यक्रममा कार्यकर्ता र जनस्तरबाट प्रदेश संरचनाको काम छैन, खारेज गर्नुपर्छ भन्ने बलियो आवाज उठेको छ, तर मैले प्रदेश सरकार र प्रदेश समितिलाई निर्णयको अधिकार दिने हो भने बल्ल प्रदेशका काम देखिन्छ र प्रदेशवासीले अपनत्व लिन थाल्छन् भनेर सम्झाएको छु’, उनले भने ।
लुम्बिनीमा मन्त्री छनोटमा प्रदेश समितिलाई बाइपास गर्दा मन्त्रीहरूले आफूलाई केन्द्रका नेताले बनाएका हुन्, प्रदेश समितिलाई किन महत्व दिने भन्ने मानसिकता विकास हुन गई समन्वयमा कमी भएको पुनले औंल्याए ।
सभापति पुनले प्रदेश सांसदको उम्मेदवारको टिकट वितरणको अधिकार प्रदेश कमिटीलाई, पालिका प्रमुख उम्मेदवार छनोटको अधिकार जिल्ला समितिलाई र वडाका जनप्रतिनधि उम्मेदवार छनोटको अधिकार पालिका समितिलाई दिनुपर्ने बताए ।
प्रदेश सरकार र प्रदेश कमिटीलाई अधिकार दिनुपर्ने विषयमा आफूले केन्द्रीय समितिलाई लिखित पत्र बुझाइसकेको तर जवाफ नआएको पुनले बताए ।
कांग्रेसकै नेतामाथि पनि अनुसन्धान हुनुपर्छ
प्रदेश सभापति पुनले सहकारी ठगी प्रकरणमा प्रश्न उठेका कांग्रेस र सत्ता पक्षका नेताहरुमाथि पनि अनुसन्धान हुनुपर्ने बताएका छन् ।
मुलुकको आर्थिक अवस्था तहसनहस भएको औल्याउंदै सभापति पुनले सरकारको ध्यान अर्थतन्त्र सुधार गर्न र नागरिकका जनजीविकाका सवालमा केन्द्रित हुनुपर्ने सुझाव दिए ।
सरकारमा रहेका मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै योजना र बजेट खन्याउने परिपाटीले विकासमा असन्तुलन देखिएको भन्दै सभापति पुनले ७५३ वटै पालिकाको गुरुयोजना बनाई आवश्यकताका आधारमा मात्रै योजना छनोट गरिनुपर्ने बताए ।
‘सरकार र मन्त्रीपिच्छे योजनामाथि योजना थपिंदा समयमा पूरा नहुने, वजेटको दुरुपयोग हुने र सन्तुलित विकास नहुने अवस्था अन्त्य गरी समानुपातिक विकासको मोडलमा जानुपर्छ’, सभापति पुनले भने ।
प्रतिक्रिया 4