हरेक ४ वर्षमा हुने अमेरिकी राष्ट्रपतिको चुनाव ढोकाको सँघारमै आइपुगेको छ। आगामी ५ नेभेम्बर, २०२४ मा अमेरिकाले आफ्नो ४७औं राष्ट्रपतिको चयन गर्नेछ। हामीमध्ये धेरैलाई थाहै छ, अमेरिकी राष्ट्रपतिको चयन प्रत्यक्ष मतदानबाट नभई, ‘इलेक्टोरल कलेज’बाट हुनेछ। इलेक्टोरल कलेजमा अमेरिकाको ५० राज्यबाट ५३५ सदस्य हुनेछन् भने सन् १९६१ को २११औं एमेन्डमेन्ट (संशोधन) बाट डिस्ट्रिक्ट अफ कोलम्बियालाई ३ जना थप सदस्य दिएर इलेक्टोरल कलेजलाई ५३८ सदस्यीय बनाइएको छ।
राष्ट्रपतिको चुनाव जित्न ती ५३८ मध्ये कम्तीमा पनि २७० मत प्राप्त गर्नुपर्छ। उक्त कलेजले उप-राष्ट्रपतिको पनि चयन गर्नेछ। यदि चुनावमा विजय हासिल गर्न भने जति मत प्राप्त भएन भने बल्ल हाउस अफ रेप्रेजेन्टेटिभले राष्ट्रपति र सिनेटले उप-राष्ट्रपतिको चयन गर्नेछ।
यदि, प्रत्यक्ष चुनावले उम्मेदवार राष्ट्रपति वा उप-राष्ट्रपति बन्न पाउने भएको भए, सन् २०१६ को चुनावमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्दा बढी मत ल्याएकी राष्ट्रपतिको उम्मेदवार हिलारी क्लिन्टन नै राष्ट्रपति हुने थिइन्।
अमेरिकी राष्ट्रपतिको पद, अमेरिकामा मात्रै नभई विश्वभर नै सबैभन्दा शक्तिशाली पद मानिन्छ। सन् १७८९ देखि सुरु भएको सो व्यवस्थामा उक्त पद अमेरिकी संघीय सरकारको सर्वोच्च कार्यकारी, अमेरिकी सेनाको कमान्डर-इन-चिफ हो। उक्त पदमा आसीन हुने पहिलो व्यक्ति जर्ज वाशिङ्टन थिए।
अमेरिकी चुनावी प्रक्रिया नेपालको भन्दा धेरै फरक देखिन्छ। त्यहाँ यहाँ जस्तो टोल-टोलमा भाषण गर्दै प्रचार/प्रसारमा हिंड्न पर्दैन। केही सीमित स्थानहरूमा आफू सम्बद्ध पार्टीहरूले आयोजना गरेको कार्यक्रमहरूमा, आफू र आफ्नो राजनैतिक दलले गरेको काम, आगामी नीतिहरूको बारेमा मतदाताहरूलाई भरोसा र विश्वास दिलाउने गरी बोल्न सक्नुपर्दछ। त्यो बाहेक, त्यहाँको चुनावको मुख्य प्रचारको माध्यम भनेको टेलिभिजन र पत्रपत्रिकाहरू नै हुन्।
अमेरिकामा जतिसुकै प्रेस फ्रिडम भए पनि, पत्रपत्रिकाहरूले त्यहाँको मुख्य दुई राजनैतिक दलका उम्मेदवारहरूलाई आफ्नो पत्रिकाको सम्पादकीय पृष्ठमा अनुमोदन गर्ने चलन छ। यो चलनको सुरुआत सन् १८६० मा अब्राहम लिंकनले चुनावमा भाग लिंदादेखि भएको रहेछ। यसरी राष्ट्रपतीय चुनावमा पहिलो पटक अनुमोदन गर्ने पत्रिका शिकागो ट्रिब्युन रहेछ।
पत्रिकाले चाहे रिपब्लिकन पार्टीको उम्मेदवारको पक्ष लेओस् या डेमोक्र्याटको, सम्पादकीय बाहेक अरू समाचारहरूमा पक्षपातपूर्ण काम भने पत्रपत्रिकाले गर्दैनन्। त्यसपछिका दिनमा, थुप्रै पत्रिकाहरूले आफूलाई मन परेको उम्मेदवारलाई साथ दिंदै आएका छन्।
त्यही क्रममा अमेरिकाको अर्को चर्चित पत्रिका वाशिङ्टन पोस्टले पनि ४८ वर्षदेखि राष्ट्रपतीय उम्मेदवारको पक्षमा आफ्नो पक्षधरता देखाउँदै आएको थियो। सो पत्रिकाको पहिलो अनुमोदन, तत्कालीन डेमोक्र्याट उम्मेदवार जिम्मी कार्टर थिए।
उपरोक्त क्रमबद्धता भङ्ग गर्दै राष्ट्रपतीय चुनावभन्दा ठिक ११ दिन अगाडि २५ अक्टोबर २०२४ को दिन द वाशिङ्टन पोस्टका प्रकाशक तथा सिईओ विलियम लेविसले अबदेखि चुनावमा राष्ट्रपतिको उम्मेदवारलाई पत्रिकाले अनुमोदन नगर्ने जानकारी दिए।
पत्रिकाले उक्त निर्णय गरेपछि पत्रिकाका पाठक/ग्राहकहरू, पोस्टका स्तम्भकारहरू तथा कतिपय राजनैतिक व्यक्तिहरूले पनि आक्रोश प्रकट गर्दै पत्रिकाको कार्यालयमा इमेल पठाएको समाचार पोस्टको २५ अक्टोबरको अनलाइन भर्सनमा नै पढ्न पाइन्छ।
‘द वाशिङ्टन पोस्ट सेज इट विल नट इन्डोर्स अ क्यान्डिडेट फर प्रेसिडेन्ट’ शीर्षकको आलेख अनुसार, पत्रिकाको उक्त निर्णयको लगत्तै पोस्टका स्तम्भकार तथा ‘एडिटर एट लार्ज’ रबर्ट कागनले विरोध जनाउँदै राजीनामा दिए; साथै, पोस्टका ११ जना स्तम्भकारले सामूहिक रूपमा एउटा लेखमा सही गरेर सो निर्णयको विरोध गरे।
स्थितिले कतिसम्म आक्रोश खडा गर्यो भने अक्टोबर २९ सम्ममा वाशिङ्टन पोस्टका २ लाख ५० हजार ग्राहकहरूले आफ्नो सदस्यता क्यान्सिल गरेको समाचार पनि पोस्ट आफैंले लेखेको छ।
हुनत, पोस्ट निजी कम्पनी भएकोले, कतिले सदस्यता लिए वा खारेज गरे भनेर सर्वसाधारणको जानकारीमा ल्याउने गरिएको रहेनछ; तर, त्यो समाचारलाई सबैभन्दा पहिले अमेरिकाको लोकप्रिय रेडियो, ‘नेशनल पब्लिक रेडियो’ (एनपीआर)ले पहिलो पटक जनमानसमा ल्याइदियो।
अनुमोदनको परम्परा हटाउनु परेको कारणमा प्रकाशक लेविसले एउटा उम्मेदवारको पक्षधरता लिएर अर्कोलाई छुट्याउनु भन्दा पोस्ट सधैं अमेरिकन मान्यताको पक्षमा साहस, चरित्र, रुल अफ लको पक्षमा उभिने तर्क गरेका छन्। र, मानव स्वतन्त्रतालाई सम्मान गर्ने उम्मेदवारको जरुरत भएको विचार अगाडि सारेका छन्। तर पनि, यसले पाठक तथा स्तम्भकारहरूलाई चित्त बुझाउन सकेको छैन।
फेरि अर्को कुरा, यो निर्णय, चुनावको एक/दुई वर्ष अगाडि नलिएर ‘नेक टू नेक’ प्रतिस्पर्धा भएको बेलामा लिएको देखिन्छ; र, डेमोक्र्याटहरूको विचारमा यो निर्णय गर्नमा रिपब्लिकन पार्टीका राष्ट्रपतीय उम्मेदवार डोनाल्ड ट्रम्पको हात रहेको बुझाइ छ।
हुनत, वाशिङ्टन पोस्टका मालिक जेफ बेजोसले, उक्त निर्णयले यति ठूलो विरोध होला भन्ने नसोचेका पनि हुनसक्छन्; त्यसैले होला, विरोधलाई साम्य बनाउन उनले अक्टोबर २८ मा पोस्टको विचार पृष्ठमा आफ्नो विचार लेखे। उनको भनाइ थियो, विगतका वर्षहरूको वार्षिक सर्वेक्षण अनुसार पत्रकार र मिडियाप्रतिको विश्वास र इज्जत घट्तै गएको देखिन्छ।
उनी लेख्छन्, भोटिङ मेसिनले दुइटा आवश्यकता पूरा गर्नुपर्छ; त्यो हो, पहिलो मत गणना सही हुनुपर्छ र दोस्रो, मानिसहरूले मेसिनले मत सही गणना गर्छ भनेर विश्वास गर्न सक्नुपर्छ। त्यस्तै पत्रिकाहरू पनि सही हुनुपर्छ; हामीले सही हुनुपर्छ भन्नेमा विश्वास गर्नुपर्छ। तर, हामी त्यो कुराबाट खस्किंदै गैरहेछौं। अरूलाई दोष लगाउन सजिलो हुन्छ तर, पीडित मानसिकताले मद्दत गर्दैन आदित्यादि।
तर, उनले जतिसुकै विद्वत्ता छाँटे पनि अर्को पक्षको विचारमा, कमला ह्यारिसलाई अनुमोदन नगर्नुमा, बेजोसको डोनाल्ड ट्रम्पसँगको सम्बन्ध नै हो भनिन्छ।
वाशिङ्टन पोस्टका सन् २०१२ देखि २०२१ सम्मका कार्यकारी सम्पादक मार्टि ब्यारूनले अक्टोबर २५ को ‘एक्स’को आफ्नो पोस्टमा लेखेका छन्, यो डेमोक्रेसीलाई क्षत–विक्षत बनाउने कार्यका साथै कायरता हो। यो संस्थाको लागि मेरुदण्डविहीन क्रियाकलाप हो।
हुनत, सन् २०१३ को अक्टोबरमा वाशिङ्टन पोस्ट किने लगत्तै भएको चुनावमा भने बेजोसले पत्रिकाको पोलिसीमा हस्तक्षेप नगरेको कुरा एनपीआरका कार्यक्रम प्रस्तोता स्टीव इन्सकीपसँग मार्टि ब्यारनले भनेका छन्। उक्त कुराकानी एनपीआरको वेबसाइटमा २८ अक्टोबर २०२४ मा प्रकाशित गरिएको छ।
उक्त कुराकानीमा मार्टिले भनेका छन्, ‘डोनाल्ड ट्रम्पको ज्यादै प्रेसर हुँदा पनि बेजोसले ट्रम्पको प्रेसरलाई महत्व दिएनन्।’
ट्रम्पले त्यतिबेला कतिसम्म गरे भने, जेफको एमेजनको व्यापारमा नै हस्तक्षेप गर्ने, पोस्टल रेट बढाउन कोसिस गर्ने, क्लाउड कम्प्युटिङ जस्तो ठूलो कन्ट्रयाक्ट बेजोसले नपाउन् भन्नेसम्म प्रयत्न गरे। तर, त्यति हुँदा पनि बेजोसले पत्रिकाको नीतिमा हस्तक्षेप गरेनन्।
अहिले आएर, पत्रिकाको मूल सिद्धान्तमाथि नै हस्तक्षेप गरेको आरोप मार्टि ब्यारोनले जेफ बेजोसमाथि लगाएका छन्।
हुनत, चुनावको केही दिन अगाडि आएर डेमोक्र्याट उम्मेदवारलाई अनुमोदन नगर्न आफ्नो पत्रिकाको परम्परा तोड्नेमा वाशिङ्टन पोस्ट मात्रै होइन, लस एन्जेल्स टाइम्सले पनि यसपटक कुनै पनि उम्मेदवारलाई अनुमोदन नगर्ने भनेर बसेको छ। उक्त पत्रिकाले भने अनुमोदन गर्ने कुरामा निरन्तरता नै दिएको भने रहेनछ। पहिले सन् १९७६ देखि २००४ सम्म यसले कसैलाई पनि अनुमोदन गरेनछ; तर, २००८ मा डेमोक्रेटिक उम्मेदवार बाराक ओबामालाई सपोर्ट गरेछ। त्यसपछि गर्दै आएको अनुमोदन अहिले रद्द गरेछ।
एशोसिएटेड प्रेसको २८ अक्टोबर २०२४ को अनलाइन भर्सन अनुसार, लस एन्जेल्स टाइम्सको उक्त निर्णयले चित्त नबुझेको कारण, त्यहाँ कार्यरत पुरानो तथा अनुभवी, पुलिट्जर पुरस्कार प्राप्त पत्रकार रबर्ट ग्रीने र क्यारिन क्लेनले राजीनामा गरेछन्।
ग्रीनेले कोलम्बिया जर्नालिज्म रिभ्यूलाई दिएको वक्तव्यमा भनेका रहेछन्, ‘ह्यारिसलाई अनुमोदन नगर्ने निर्णयले, उनी धेरै निराश भएका छन्। उनको भनाइ अनुसार, डेमोक्रेसीको सत्य, सम्मान र श्रद्धामा चोट पुर्याएर ट्रम्प जस्तो पत्रकारिताको सिद्धान्तप्रति राम्रो दृष्टिकोण नराख्ने व्यक्तिको पक्ष लिएकोमा चोट पुगेको छ। साथै, सोही पत्रिकाको सम्पादकीय पृष्ठकी सम्पादक मेरियल गार्साले पनि विरोधस्वरूप पत्रिका छाडिछन्।
जित र हार कसको हुन्छ, त्यो त नतिजाले नै देखाउला; तर, महिलाको लागि चुनावमा उम्मेदवार बन्न र बनिसकेपछि जित्न कति गाह्रो छ भन्ने तथ्य माथि उल्लिखित घटनाहरूले पनि प्रष्ट पार्दछ।
महिलाको लागि योग्यता र क्षमता मात्रै भएर पुग्दैन; उनीहरू सर्वसाधारणको दृष्टिकोणमा देख्दा आकर्षक र सौम्य पनि भैदिनुपर्छ। जुन कुरा, पुरुष उम्मेदवारबाट अपेक्षा गरिंदैन। कमला ह्यारिस धेरै हाँस्ने भनेर बारम्बार मेम बनाएर नकारात्मक प्रचार गरेको भिडियो र पोस्टहरू उनका प्रतिद्वन्द्वीहरूले सेयर गर्न कतै बाँकी राखेनन्।
सर्वसाधारणले एउटै योग्यता र क्षमता भएका पुरुष र महिलालाई तुलना गर्नुपर्यो भने पुरुषलाई भएको क्षमताभन्दा बढी क्रेडिट दिन्छन् भने, महिलालाई भएकै क्षमतामा पनि काम गर्न सक्छन् भनेर पत्याउँदैनन्। यो कुरा चुनावमा मात्रै होइन, घरबाहिर गरिने हरेक पेशागत कामहरूमा त्यसैगरी जज गर्छन्। त्यसले गर्दा महिलाले आफूलाई प्रमाणित गर्न दोब्बर काम गर्नुपर्छ।
मिडिया पनि त्यसैगरी बायस हुन्छ; जसको परिणाम माथि उल्लेखित तथ्यहरूले प्रमाणित गर्दछ। यसको वाबजुद, महिलाहरू हारेका छैनन्; थाकेका छैनन्। अब अमेरिकी चुनाव सम्पन्न हुन केही दिन मात्रै बाँकी छ; हेर्नुछ, गम्भीर मुद्दामा आवाज उठाउने कमला ह्यारिसको जित हुनेछ या, धाँधली (अगाडिको चुनाव हारेको कारणले क्यापिटल हिलमा नै आक्रमण गर्न उक्साउने) गर्न उद्यत, अनेक आरोप खेप्दै गरेका ट्रम्पको।
अर्को चर्चित पत्रिका ‘द न्युयोर्क टाइम्स’ले सिएना कलेजसँग गरेको पोलअनुसार ट्रम्प र ह्यारिसको पक्षमा ४८/४८ प्रतिशत मत प्राप्त गरेका थिए भनेर टाइम्सको २५ अक्टोबर २०२४ को अनलाइन भर्सनमा प्रकाशित भएको छ। अब बाँकी भनेको चुनावपछिको मतगणना नै हो।
यदि कमला ह्यारिसले जितिन् भने पहिलो पटक महिला राष्ट्रपति भएर इतिहास रच्नेछिन्; तर, मिडिया वा अझ किटेर भन्नुपर्दा, ठूला–ठूला मिडिया हाउसका बेजोस जस्ता मालिकहरूको महिलाप्रतिको नकारात्मक धारणाले, महिलालाई कहिले नेतृत्व तहमा स्थापित हुन साथ दिने हो, भविष्यले नै निर्णय गर्ला !
प्रतिक्रिया 4