+
+

लन्डनको ‘डब्लूटीएम २०२४’ मा अतुलनीय पर्यटन सम्भावना प्रदर्शन गर्दै नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २१ गते १८:२३

२१ कात्तिक, काठमाडौं । साहसिक यात्रा, सांस्कृतिक विविधता र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यका रूपमा नेपालले बेलायतको लन्डनमा आयोजित ‘वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम) २०२४’ मा सहभागिता जनाउँदै विश्व पर्यटन बजारको ध्यान आकर्षित गरेको छ ।

यस वर्षको डब्लुटीएम २० देखि २२ कात्तिकसम्म हुनेछ । जसमा १ सय ८४ देशबाट ४३ हजार सहभागी, ३ हजार ८ सय ७५ प्रदर्शक र ८२ सम्मेलन सत्र आयोजना हुनेछन् । नेपाल पर्यटन बोर्डले गौरवपूर्वक आफ्नो ४० वर्षको सहभागिता वर्ष उत्सव मनाउँदै विश्व पर्यटन क्षेत्रमा लामो समयदेखिको योगदानलाई निरन्तरता दिइरहेको छ ।

हालै ‘लोनली प्लानेट’ द्वारा २०२४ का लागि ‘बेस्ट इन ट्राभल’ गन्तव्यका रूपमा घोषित भएपछि यस वर्ष डब्लुटीएममा नेपालको उपस्थिति थप महत्त्वपूर्ण बनेको छ । यसले विश्वभरिका पर्यटक र पर्यटन व्यवसायी सामु नेपालको अनौठो सम्पदालाई प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको बोर्डले जनाएको छ ।

नेपालको सहभागिताबारे पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले डब्लूटीएममा सहभागिताले नेपाललाई यो उच्च सम्भावनायुक्त बजारसँग प्रत्यक्ष संलग्न हुन सघाउने बताए ।

‘डब्लूटीएममा सहभागी हुँदा यसले शीर्ष अन्तर्राष्ट्रिय गन्तव्यका साथ नेपाललाई उभ्याउँछ । यसले नयाँ व्यावसायिक अवसर विकास गर्दै, हाम्रो समृद्ध संस्कृति, अनुपम प्राकृतिक दृश्य र पर्यावरणमैत्री पर्यटनमा रुचि राख्ने वातावरणीय सजग पर्यटकसँग सम्बन्ध स्थापित गर्ने अनौठो अवसर प्रदान गर्दछ,’ जोशीले भने ।

जोशीले नेपाललाई बेस्ट इन ट्राभल गन्तव्यका रूपमा सम्मानित गरेकोमा लोनली प्लानेटलाई धन्यवाद दिए । ‘लोनली प्लानेटको यो मान्यताले नेपालको पर्यटन सेवालाई थप विश्वसनीयता प्रदान गर्दै, प्रतिस्पर्धी गन्तव्यहरूबाट यसलाई अलग बनाउँछ,’ उनले भने, ‘यस मान्यताले उत्कृष्ट गन्तव्यका रूपमा हाम्रो स्थितिलाई थप मजबुत बनाउँछ र गहिरो तथा दिगो यात्रा अनुभव खोज्ने आगन्तुकलाई आकर्षित गर्ने हाम्रो लक्ष्यसँग पूर्णरूपमा मेल गराउँछ ।

डब्लूटीएममा रहेको नेपाल स्ट्यान्डले देशका अनुपम परिदृश्य (प्रख्यात हिमालदेखि प्राचीन सांस्कृतिक स्थल) समेटेको छ । यसले आगन्तुकलाई नेपाली सम्पदाका विशिष्ट तत्वसँग प्रत्यक्ष अन्तक्र्रिया गर्ने अवसर दिने छ।

‘डब्लूटीएममा हाम्रो उपस्थिति साहसिक यात्रा, अध्यात्म र सम्पदा संयोजन भएको गन्तव्यका रूपमा नेपाललाई परिचित गराउनका लागि हो,’ उनले भने, ‘जसले २०२४ र त्यसपछिका लागि आकर्षक गन्तव्यका रूपमा हाम्रो छविलाई बलियो बनाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?