+

‘नेपालमा यौन समस्याबारे छलफल हुँदैन, यसले सम्बन्ध बिगार्न सक्छ’

२०८१ कात्तिक  २१ गते १७:५० २०८१ कात्तिक २१ गते १७:५०
‘नेपालमा यौन समस्याबारे छलफल हुँदैन, यसले सम्बन्ध बिगार्न सक्छ’

एक दिन अपरिचित व्यक्तिले टेलिफोनमा सोधे, ‘मलाई यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा सहयोग चाहिएको छ ।’

मैले सोधेँ, ‘कस्तो सहयोग ?’

‘एउटा परिवारमा सम्बन्ध विच्छेदको कुरा उठेको छ । त्यो परिवारलाई म राम्ररी चिन्छु, उनीहरुबीच यौन समस्याको बारेमा पनि सुनेको थिएँ ।’

आफूले काम गर्दै गरेको र अध्ययनको क्षेत्र पनि भएकाले मैले सकेको सहयोग गर्न तयार छु भनेँ । ती टेलिफोन गर्ने व्यक्तिले नै सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क गराइदिने कुरा भयो ।

यस्ता समस्या समाजमा धेरै छन्, तर बाहिर आउन सकेका छैनन् ।

नेपाली दम्पतीको यौन जीवनमा देखापरेको मूल समस्या यौन दुर्बलता, अर्थात् यौन चाहना नहुनु हो । यसका साथै, पुरुषहरूमा शीघ्र स्खलनको समस्या र महिलामा सेतो पानी बग्ने समस्या पनि धेरै छन् ।

यौन समस्याबारे दम्पतीबीच खुला कुराकानी नहुँदा असमझदारी र तनाव बढ्ने गर्छ ।

जब पार्टनरले यौन समस्याबारे खुलासा गर्दैन, तब अर्को पार्टनरले अनावश्यक शंका गर्न थाल्छ । यदि श्रीमान् या श्रीमतीलाई यौन दुर्बलता भएको छ र उनले यो कुरा आफ्नो पार्टनरलाई भनेका छैनन् भने, समस्या सिर्जना हुन सक्छ ।

यस्तो अवस्थामा, श्रीमान् वा श्रीमतीले सोच्न थाल्छन्, ‘उसले किन मसँग सम्पर्क राख्न चाहँदैन ? के उसको अरूसँग कुनै सम्बन्ध छ ?’

यसरी शंका र असमझदारीको चक्रमा परेर, दम्पतीको यौन जीवनमा समस्या उत्पन्न हुन्छ । यदि यिनीहरूले समयमै समस्या समाधानको प्रयास नगर्ने हो भने यो असमझदारीले गम्भीर रुप लिन सक्छ र सम्बन्ध बिग्रिने जोखिम पनि हुन्छ ।

नेपालमा धेरै जसो दम्पतीहरूमा यौन समस्याबारे खुलेर कुरा गर्ने परम्परा छैन । यौन विषयलाई ट्याबु (निषेधित) ठानिने हुँदा, दम्पतीबीच यौन सम्बन्धी समस्याका बारेमा छलफल नहुनु स्वाभाविक हुन्छ ।

यौन इच्छामा कमी भए पनि, श्रीमान् वा श्रीमती लाज, डर वा अपमान भावका कारण आफ्नो समस्या व्यक्त गर्न चाहँदैनन् । यसको परिणामस्वरूप, सम्बन्धमा दूरी बढ्न थाल्छ, र दाम्पत्य जीवनमा अन्य चुनौतीहरू थपिन्छन् ।

यस्ता समस्याबारे खुला छलफल गर्न र समाधान खोज्न प्रोत्साहन गर्ने वातावरण नहुँदा धेरै दम्पतीहरू मनोवैज्ञानिक तथा शारीरिक अस्वस्थताको शिकार बन्ने गरेका छन् ।

यौन सम्बन्धी विषयले केवल व्यक्तिगत मात्र होइन, दम्पतीको भावनात्मक सन्तुलन र आपसी सम्बन्धमा पनि महत्वपूणर् भूमिका खेल्छ । शीघ्र स्खलन पुरुषहरूमा हुने यौन समस्यामध्ये एक हो, जसले यौन सन्तुष्टिमा कमी ल्याउँछ र दाम्पत्य जीवनमा असन्तुष्टि पैदा गर्न सक्छ ।

नेपालमा ३० प्रतिशतभन्दा बढी पुरुषमा शीघ्र स्खलनको समस्या

अध्ययनहरूका अनुसार नेपालमा ३० प्रतिशतभन्दा बढी पुरुषहरूले कुनै न कुनै समयमा यो समस्याको सामना गरेका छन् । शीघ्र स्खलनको समस्याले आत्मविश्वासमा कमी ल्याउन सक्छ, जसको प्रभाव दम्पतीबीचको सम्बन्धमा पनि पर्न सक्छ ।

यो समस्या हुँदा, पुरुषमा हिनताबोधको भाव उत्पन्न हुन सक्छ र पार्टनरसँगको सम्बन्धमा तनाव र असमझदारी बढ्न सक्छ । यौन जीवनमा देखिने असन्तुष्टि अन्य समस्याहरू जस्तै भावनात्मक दूरी, तनाव र मानसिक स्वास्थ्य समस्यासँग जोडिन सक्छ ।

यस्ता अवस्थामा शीघ्र स्खलनको उपचार र परामर्शको माध्यमबाट सकारात्मक परिणामहरू प्राप्त गर्न सकिन्छ । उपचारका विकल्पहरूमा थेरापी, औषधोपचार र व्यवहारजन्य परिवर्तनहरू पर्छन् ।

यौन परामर्श सेवाहरूले दम्पतीलाई समस्या समाधानमा सहयोग पुर्‍याउन सक्छ र दुवैजनालाई सन्तुष्टि प्राप्त गर्न सक्षम बनाउन सक्छन् ।

महिलामा सेतो पानी बग्ने समस्या (ल्युक्रिया) पनि एक यौन स्वास्थ्य समस्या हो । यो धेरै कारणले उत्पन्न हुन सक्छ, जस्तै यौन सङ्क्रमण, हर्मोनल असन्तुलन, पोषणको कमी वा पेल्भिक क्षेत्रमा कुनै अन्य समस्या आदि ।

यो समस्याले महिलाहरूमा शारीरिक असहजता, लाज वा संकोचको भावना, तथा आत्मविश्वासमा कमी ल्याउन सक्छ ।

सेतो पानी बग्ने समस्या लामो समयसम्म सम्बोधन नगरे महिलाको यौन जीवनमा नकारात्मक प्रभाव पार्न पार्छ । असहजता र लाजका कारण महिलाहरू यौन सम्पर्क गर्न हिचकिचाउन सक्छन्, जसले दाम्पत्य जीवनमा असमझदारी र दूरी पैदा गर्न सक्छ ।

समस्याको समाधान खोज्नुपर्छ

माथि उल्लिखित समस्यालाई स्वीकार गरी समाधान खोज्नु स्वस्थ यौन जीवनको लागि महत्वपूणर् हुन्छ । समाजमा यौन समस्यासँग सम्बन्धित कलंकलाई हटाएर, यस्ता समस्याहरूको समाधानका लागि मानिसहरूलाई जागरूक र सशक्त बनाउन आवश्यक छ ।

नेपालमा यौन समस्याबारे खुलेर कुरा गर्नु अझै पनि सामाजिक रूपमा अस्वीकार्य मानिन्छ ।

यौन समस्याहरूलाई लाज, डर वा सामाजिक विकृतिका दृष्टिकोणले हेर्ने प्रवृत्ति छ, जसले गर्दा धेरै दम्पतीहरू आफ्ना यौन स्वास्थ्य सम्बन्धी समस्याहरूको बारेमा परामर्श लिन हिचकिचाउँछन् ।

अध्ययनहरूले देखाएका छन् कि नेपालमा करिब ४० प्रतिशत दम्पतीलाई यौन समस्याका विषयमा कुराकानी गर्न हिचकिचाहट हुन्छ ।

यसले समस्याको समाधानमा ढिला गराउँछ, किनभने यौन समस्या खुलस्त व्यक्त नगर्दा उपचार खोज्न पहल हुँदैन । समस्या निरन्तर रहिरहँदा दाम्पत्य सम्बन्धमा असमझदारी, तनाव र दूरी बढ्न सक्छ ।

परिणाम स्वरुप दुवैको मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ ।

समाजमा यौन स्वास्थ्यबारे खुला छलफल र यौन समस्या समाधानको महत्वबारे चेतना अभिवृद्धि गर्न आवश्यक छ । यौन शिक्षाको पहुँच बढाउनु, परामर्श सेवाहरूलाई सहज र गोप्य बनाउनु र लाजका कारण उत्पन्न बाधाहरूलाई हटाउनका लागि चेतनामूलक सार्वजनिक कार्यक्रमलाई प्रोत्साहन गर्नुपर्छ ।

यसरी मात्र दम्पतीहरूलाई समयमै सहयोग लिन स्वस्थ दाम्पत्य जीवन जिउन मद्दत मिल्छ ।

(अधिकारी यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा अनुसन्धान, प्रशिक्षण तथा शिक्षण गर्छन्।)

यौन तथा प्रजनन स्वास्थ्य यौन समस्या

धेरै कमेन्ट गरिएका

लेखक
अनुप अधिकारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय