+
+

स्पेनको बाढी आतङ्क भोगेका नेपाली भन्छन् – त्रासदीमा बाँच्यौं

वसन्त रानाभाट वसन्त रानाभाट
२०८१ कात्तिक २५ गते ६:४३

२५ कात्तिक, बार्सिलोना । पाल्पा मूल घर भएका कमल पराजुली  युरोप सपना बोकेर ८ वर्षअघि स्पेन आए । दु:ख-सुखसँगै काम सिके । स्पेनको कार्डसमेत बनाए । परिवारलाई समेत उनले यतै ल्याए ।

पत्रकार समेत रहेका पराजुलीले व्यवसाय सुरु गरेको पाँच महिना पनि पुगेको छैन । तीन जना नेपालीको साझेदारीमा उनले भ्यालेन्सियाको कातारोखा गाउँमा रेष्टुरेन्ट समेत खोले ।

जुन २१ देखि संचालन आएको ‘नमस्ते नेपाल रेष्टुरेन्ट’ राम्रै चलिरहेको थियो । तर, अक्टोबर २९ मंगलबार पूर्वी भ्यालेन्सीया प्रान्तमा अप्रत्यासित घटना भयो । भीषण बाढीका कारण उनी बस्दै आएको क्षेत्र कातारोखा क्षतविक्षत भयो ।

बाढीका कारण उनको रेष्टुरेन्टमा क्षति त पुग्यो नै । उनको परिवारले समेत बाढी आतङ्कको त्रासदी खेप्नुपर्‍यो । उनको रेष्टुरेन्टअघि माटो, भग्नावशेष र बगाएका कारहरुहरू आएर थुप्रिएका छन् । पत्रकार पराजुली भन्छन्, ‘लेदो माटो र हिलोले अहिले कातारोखाको रुप नै फेरिएको छ । देख्दा पनि मन असाध्यै रुन्छ । ’

आफ्नो व्यवसायमा परेको असरको चिन्ता त छदै छ । तर, आँफूहरु सकुशल रहेकोमा उनी धेरै खुशी छन् । बाढी प्रभावित क्षेत्रमा रहेका दुई परिवारसहित ९ जना नेपाली सुरक्षित रहेको उनले बताए । ‘रेष्टुरेन्टमा भौतिक रुपमा ठुलो क्षति त पुगेको छैन । तर, तत्काल संचालन गर्ने बातावरण नै छैन,’ पराजुलीले थपे, ‘मानिसहरू अहिले पनि हराइरहेका छन् । अन्डरग्राउण्डमा पसेको लेदो अझै पनि हटाइएको छैन । पूरै नगर नै क्षतविक्षत छ।’

बाढी आएको दिन

अक्टोबर २९ मंगलबार दिउँसो उनको रेष्टुरेन्ट बन्द नै थियो । साँझ ७ बजे रेष्टुरेन्ट खोल्ने तरखरमा थिए उनी । रेस्टुरेन्ट नजिकै एउटा सुख्खा खोला  छ । दिउँसो तीन बजेतिर उक्त खोलामा पानी बगेको देख्दा उनी छक्क परे । ‘यो ठाउँमा बस्दै आएको ४ महिना भइसक्यो । त्यो खोलामा एक थोपा पानी पनि देखेका थिएनौं,’ पराजुलीले भने, ‘आकाशबाट पानी परिरहेको पनि छैन खोलामा पानी देख्दा अचम्म लाग्यो।’

अलि माथि पानी परेर त्यहाँको पानी बग्दै आएको होला भन्ने उनलाई लाग्यो। पानी नपरे पनि हावाहुरी अस्वभाविक ढंगले चलिरहेको उनले सुनाए ।

मौसम प्रतिकुल भएकाले उनले छोरालाई स्कुलबाट घर ल्याइसकेका थिए । साँझ पौने सात बजिसकेको थियो । उनी काममा जाने तरखरमा नै थिए ।  छोराले एक्कासी झ्यालबाट चिच्याउँदै भन्यो- ड्याडी हेर्नुहोस् त रोडमा पानी आयो ।

सबै मान्छेहरुले आ-आफ्नो गाडी जोगाउन अग्लो ठाउँतिर लादै गरेको उनले देखे । ‘मैले पनि सडक गाडी रोकेको थिएँ । घरमाथि बाट हेर्दा गाडीको टायर डुबाइसकेको थियो,’  उनले भने, ‘म पनि हतारहतार तल झरे । ब्याक गरेर नजिकै पार्कको अग्लो ठाउँमा गाडी लगे।’

उनलाई त्यहाँबाट घर फर्कन भने सहज भएन । कम्मरमाथि पानी आइसकेको थियो । घटनालाई सम्झदै पराजुली भन्छन्, ‘एक्कासि तीव्र गतिमा पानी सुनामी जस्तै बनेर बाटोमा आयो । म कसरी अघि बढे आफैंलाई थाहा छैन । जसोतसो मैले पानि छिचोलेर घर भित्र छिरे।’

उनी घरभित्र छिर्दा तल्लो तलामा पानी छिरिसकेको थियो । तीन तलामाथि उक्लिएपछि उनी काप्न थाले ।  केही मिनेटमा नै उनले हेर्दा हेर्दै गाडीहरु बग्न थाले । ‘मैले पहिले गाडी राखेको ठाउँका सबै गाडीहरु डुब्न लागिसकेका थिए । उनले भने, ‘केही मिनेट मात्रै मैले ढिला गरेको भए के हुन्थ्यो ? वा  रेष्टुरेन्ट बिहान बन्द नभएको भए सायद म बाटोतिर नै हुन्थे होला । त्यो दिन भाग्यले बाँचे जस्तो लाग्छ।’

अकस्मात चोक र सडक नदीमा परिणत भएको कमलले बताए। ‘हामी बसेको ठाउँतिर पानी परेको थिएन । त्यसैले धेरै मान्छेहरुले बाढीले त्यस्तो स्वरूप लिने अनुमान नै गरेकाथिएनन्,’ उनले भने, ‘काम चलिरहेको थियो । धेरै मान्छेहरु त गाडीमै थिए । मार्केटहरु सबै खुल्ला नै थिए । कति गाडीसहित बेपत्ता भए । कति अन्डरग्राउण्डमा नै परे।’

बाढीको त्रासदी बिर्सन लायक रहेको उनि बताउँछन् । ‘माथि चिभा क्षेत्रबाट परेको पानी बाढी बनेर हाम्रो क्षेत्रतिर आएको रहेछ,’ कमल भन्छन्, ‘चीभामा एक वर्ष बराबरको पानी जम्मा ८ घण्टामै परेको भन्ने सुनियो . त्यहाँको पानीले विभिन्न नगर हुँदै हामी बसेको कातारोखालाई पनि डुबायो।’

सडक, विद्यूत र सञ्चारमा देखिएको अवरोधका कारण आफूहरुले तीन दिनसम्म त्रासदीमा बाचेको कमलले सुनाए । ‘बुधबार बिहान सपिङ गर्नुपर्ने थियो। मंगलबार यस्तो घटना भइदियो । घरमा सामान सबै सक्किएको बेला पर्‍यो ।’ उनले दु:ख सम्झिंदै भने, ‘घरमा एक वर्षकी छोरी । ९ वर्षको छोरा । मोवाइलहरू अफ भइहाले । चार्ज गर्न विद्युत् छैन। राति १० बजेपछि त पानी पनि आउन छाड्यो । हामी धेरै नै आत्तियौं।’

सञ्चारमा भएको अवरोधका कारण उनको घरपरिवारसँग पनि सम्पर्क भएन। ‘बच्चाबच्ची भएको परिवार । कस्तो अवस्था आयो होला ? तपाईं आफैं अनुमान गर्नुहोस्। त्यो त्रासदीको क्षणलाई शब्दमा वर्णन गर्न ग्राह्रो छ,’ उनले थपे।

नेपाली समुदायले सामान्य हाल खबरसमेत नसोध्दा दु:ख लागेको उनले गुनासो पोखे। ‘स्पेनमा नेपाली दूतावास पनि छ । एनआरएनए पनि छ। म पनि कही कतै समुदायको हिस्सा हुँ,’ उनी भन्छन्, ‘प्रभावित क्षेत्रमा हामी छौं । राज्यको निकाय यही नै छ । तर सामान्य खोजखबर पनि छैन । असाध्यै दु:ख लाग्यो।’

भ्यालेन्सियाको अल्बोरायमा बस्दै आएका दिपक सुवेदी भने चार दिनपछि बाढी प्रभावित क्षेत्रमा पुगेको बताउँछन् ।

नवलपुर मूल घर भएका सुवेदीको पनि ‘नमस्ते नेपाल रेष्टुरेन्ट’ मा लगानी रहेको छ। ‘मैले प्रभावित क्षेत्रमा एकदमै भयावह अवस्था देखें । २५ मिनेटको बाटो पुग्न  डेढ घण्टा लाग्यो,’ उनले भने, ‘स्थिति अझै पनि विकराल नै छ। मार्केट सबै खाली छन् । हराइरहेका मान्छेको खोजी कार्य जारी रहेको छ।’

आफ्नो क्षतिग्रस्त रेष्टुरेन्ट देख्दा दु:ख लागेको उनले सुनाए । ‘अप्रत्यासित घटना घट्यो । अवस्था अलिकति सामान्य बन्न पनि महिनौं लाग्छ जस्तो लाग्छ । तत्काल रेष्टुरेन्ट खोल्ने बातावरण नै छैन,’ उनले भने ।

पहिलो तल्लामा बस्ने र डुबानमा बढी क्षति व्यहोरेका पीडितहरुलाई सरकारले उचित राहत दिन सुरु गरेको पनि उनले बताए ।

उनका अनुसार प्रभावित क्षेत्रमा नेपालीहरुको बसाइ बाक्लो नभए पनि भारतीय र पाकिस्तानीहरुको बसाइ बाक्लो रहेको छ ।

नेपालीहरुले गरे राहत वितरण

अक्कल कोपिला फाउन्डेसनले बिहीबार बाढी प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरेको छ । स्पेन निवासी व्यवसायी तथा समाजसेवी अक्कल बोहोराका अनुसार फाउन्डेसन मार्फत एक हजार युरो बराबरको खाद्यान्न सामग्री वितरण भएको हो। ‘हामी स्पेनमा नै बसेका छौं । हाम्रो फाउन्डेसनले नेपालमा सहयोग गर्दै आएको थियो । तर, यहाँको दु:खमा पनि साथ दिनुपर्छ भनेर म आफै प्रभावित क्षेत्र पुगेर राहत बितरण गरेको हु,’ बोहोराले भने ।

त्यहाँ पुग्दा यस्तो अवस्था सहेर पनि बाच्नु पर्ने रहेछ भन्ने आफूले महसुश गरेको उनले सुनाए । ‘मलाई त त्यहाँ पुग्दा चलचित्रमा देखेको जस्तो भयाभह दृश्य लाग्यो । मान्छेहरू धेरै पीडामा रहेछन् ,’ बोहोराले भने।

बार्सिलोना निवासी पण्डित टिकाराम शास्त्रीले पनि बुधबार बाढी प्रभावित क्षेत्र आलदाइआ पुगेर राहत वितरण गरेका छन् ।

नेपालीमार्फत बार्सिलोनामा संकलित सामग्री तथा जागरण क्लब बार्सिलोनामार्फत संकलित लत्ताकपडा र खाद्यान्न वितरण गरेको उनले बताए ।

‘हामीले स्थानीय प्रशासनको अनुमतिमा  ५ घण्टा लगाएर आफ्नै हातले सामान बाढ्यौं। जे चाहिएको छ त्यो सामग्री मात्रै राहत लिने यहाँको संस्कार देखेर मलाई अचम्म लाग्यो,’ पण्डित शास्त्रीले भने।

स्पेनको पूर्वी भ्यालेन्सीया प्रान्तमा गएको भीषण बाढीमा मृत्यु हुनेको सङ्ख्या दुई सय बढी पुगेको छ भने बाढीमा कैयौं मानिस अझै हराइरहेका छन् ।

लेखकको बारेमा
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?