२५ कात्तिक, काठमाडौं । चिनी उद्योगीले सरकारसँग पेट्रोलमा इथानोल मिश्रण गर्न माग गरेका छन् ।
आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग छलफल गर्दै उद्योगीले पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाउन सक्ने भन्दै सरकारले ध्यान दिनुपर्ने बताएका हुन् ।
नेपाल चिनी उद्योग संघ अध्यक्ष शशिकान्त अग्रवाल सहित टोलीले मन्त्री भण्डारी भेटेर इथानोल (ग्रिन इनर्जी) पेट्रोलमा मिश्रण गर्नुपर्ने भन्दै उखुबाट उत्पादन हुने चिनीको सहउत्पादन मोलासिसबाट उद्योगले इथानोल उत्पादन गर्न उद्योग सक्षम रहेको बताएका थिए ।
‘३ करोड लिटर उत्पादन गर्न सक्छौं’
चिनी उद्योग संघका अनुसार उद्योगको बढ्दो उत्पादन क्षमता र उखुको उपलब्धतामा भएको वृद्धिका कारण आगामी वर्ष करिब २.५ करोड क्विन्टल उखु उत्पादन हुने र त्यसपछिका वर्ष ३ करोड क्विन्टल र त्यसभन्दा बढी उखु उत्पादन हुने अनुमान छ ।
यो अवस्थामा उद्योगले करिब ३ करोड लिटरसम्म इथानोल उत्पादन गर्न सक्ने सम्भावनाबारे मन्त्रीलाई उद्योगीले सुनाएका थिए ।
सरकारको तयारी
सरकारले पेट्रोलमा इथानोल मिसाउने गरी कानुन निर्माण तयारी स्वरूप सरोकारवालासँग छलफल गरिरहेको छ ।
गत भदौमा मन्त्रालयले आफ्नो ‘सुधार कार्ययोजना’ मार्फत पेट्रोलमा इथानोल मिश्रण गर्ने सम्बन्धी कार्यविधि आगामी तीन महिनाभित्र तर्जुमा गरी कार्यान्वयनमा ल्याउने बताए पनि अहिलेसम्म गर्न सकेको छैन ।
त्यसो त सरकारले दुई दशक अगाडिदेखि नै पेट्रोलमा इथानोल मिसाउने निर्णय गरी तयारी समेत गरेको थियो । तर, कार्यान्वयनमा बेवास्ता गर्दा यो निर्णय कागजमा मात्र सीमित थियो ।
के हो इथानोल ?
इथानोल अन्न वा वनस्पतिबाट उत्पादन हुने एक प्रकारको रसायन हो । जसलाई ‘स्प्रिट’ पनि भनिन्छ । अथवा, यो मदिरा हो । नेपाल आयल निगमका एक उच्च अधिकारीका अनुसार भारतमा मकै र गहुँबाट समेत इथानोल उत्पादन हुने गरेको छ ।
भारतले अहिले पेट्रोलमा २० प्रतिशत इथानोल मिसाउने लक्ष्यसहित यसलाई कार्यान्वयन गरिरहेको छ । अन्तर्राष्ट्रिय मापदण्डमा योभन्दा माथि समेत इथानोल मिसाउन सकिने देखिएको उनले बताए ।
नेपालमा भने पहिलो चरणमा बढीमा १/२ प्रतिशतसम्म मिश्रण गरी परीक्षण गर्ने निगमका अधिकारीको भनाइ छ । उखुको मोलासेस (खुँदो) बाट इथानोल उत्पादन सम्भव हुने र यो नेपालमै उत्पादन हुने भएकाले पनि नेपालमा इथानोल मिश्रण सम्भव हुने विश्वास छ ।
नेपालमा मिश्रण गर्ने विषय ठूलो कुरा नभए पनि यसलाई कति निरन्तरता दिन सकिन्छ भन्ने ठूलो कुरा रहेको ती अधिकारीले बताए । ‘पेट्रोलको खपत धेरै हुन्छ, एक प्रतिशत मिश्रणका लागि समेत धेरै परिमाणमा इथानोल चाहिन्छ,’ उनले भने, ‘पेट्रोलमा मिसाउन इथानोल पनि आयात गर्नुपरे त्यो फाइदाजनक हुँदैन ।’
पेट्रोलमा इथानोल मिसाउन सके त्यसले कुल आयात कम गर्न सकिने र स्वदेशी उत्पादनले केही प्रतिशत भए पनि आयात प्रतिस्थापन हुने बताइएको छ । इथानोलमा सबैभन्दा सफल मुलुक ब्राजिल हो । त्यहाँ इथानोलबाटै सवारीसाधन चलाउनेदेखि पेट्रोलमा पनि २५ प्रतिशतसम्म इथानोल मिसाएको पाइन्छ ।
२०७१ सालमा आयल निगमको अमलेखगञ्ज डिपोमा इथानोल मिश्रण गर्ने मेसिन जडान गरेको थियो । तर, प्रयोगमा ल्याइएको छैन ।
समितिले खोल्यो बाटो
संसदीय समितिले समेत सरकारलाई पेट्रोलमा इथानोल मिश्रण गर्ने बाटो खुला गरिदिएको छ ।
‘नेपालमा बायो इथानोल उत्पादन गर्ने उत्पादकसँग तोकिएको गुणस्तर तथा मूल्यमा निश्चित परिमाणमा बायो इथानोल खरिद सम्झौता गरी पेट्रोलमा बायो इथानोल मिश्रण गरी आन्तरिक उत्पादन, वैदेशिक मुद्रा सञ्चिति र रोजगारीका साथै कुल गार्हस्थ उत्पादन बढाउन सकिनेतर्फ समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ आइतबारको समिति बैठकको निर्णयमा छ ।
समितिको निर्णयमा छ, ‘अतः नेपाल सरकारले गरेको निर्णय र विभिन्न समयमा संसदीय समितिले दिएको निर्देशन, समय–समयमा भएका अध्ययन समितिको निष्कर्ष कार्यान्वयन तत्काल गरी स्वदेशी उत्पादकलाई आह्वान गरी बायो इथानोल उत्पादन तथा प्रयोगमा ल्याउन आवश्यक प्रबन्ध गर्न नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने ।’
भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ६ लाख ८७ हजार ९ सय ३१ किलोलिटर पेट्रोल आयात भएको थियो । यसको खरिदमा ६८ अर्ब ८४ करोड रुपैयाँ विदेशिएको थियो । २०७९/८० मा ६ लाख ८० हजार ८०७ किलोलिटर पेट्रोल आयात भएको थियो । जसका लागि ६६ अर्ब ८४ करोड रुपैयाँ विदेशिएको थियो । पेट्रोलमा केही प्रतिशत मात्र इथानोल मिसाउन सके करोडौं रुपैयाँ स्वदेशमा बचाउन सकिने सम्भावना भने देखिन्छ ।
२५ किलोमिटर गोलाइ क्षेत्र माग
उद्योगीले चिनी उद्योगको २५ किलोमिटर गोलाइ क्षेत्र (कमान्ड क्षेत्र) कायम गर्न माग गरेका छन् । उद्योगमा २५ किलोमिटरभित्र उखुमा आधारित कुनै पनि उद्योग ( चिनी उद्योग, खाडँसारी, पावर क्रसर आदि) स्थापना एवं सञ्चालन गर्न नपाइने र अर्को नयाँ चिनी उद्योग कम्तीमा ५० किलोमिटर दुरीमा हुनुपर्ने माग गरेका छन् ।
उद्योगमन्त्रीसँग उद्योगीले प्रत्येक जिल्लामा एकमात्र चिनी उद्योग स्थापना तथा सञ्चालन अनुमति दिनुपर्ने माग गरेका छन् । चिनी उद्योगलाई उखु खेती समय र उत्पादनलाई सुरक्षित राख्न आवश्यक किटनाशक औषधि सहज ल्याउन पाउने सुविधा हुनुपर्ने, उखु खेती क्षेत्रका लागि आवश्यक मलखाद यकिन गरी खेती क्षेत्रफल अनुसार आवश्यक पर्ने मल कोटा अग्रिम छुट्याउनुपर्ने माग उद्योगीको छ ।
प्रतिक्रिया 4