२५ कात्तिक, काठमाडौं। अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले एलन मस्कलाई ‘राइजिङ स्टार’ अर्थात् उदाउँदो तारा भनेर सम्बोधन गरे ।
रिपब्लिकन पार्टीमा प्रभाव बढाइरहेका मस्कलाई कतिपयले अमेरिकाको भावी नेतृत्वको रूपमा अर्थ्याउन थालिसकेका छन् । अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्प जत्तिकै सक्रिय देखिएका मस्कलाई अहिलेको नतिजाको लागि उल्लेख्य रूपमा जिम्मेवार मानिन्छ ।
यसरी विश्वशक्ति राष्ट्र अमेरिकाको राजनीतिक नतिजा बदल्न भूमिका खेल्न सक्ने र विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका मस्क झण्डै तीन दशकअघि विद्यार्थी भिसामा अमेरिका छिरेका थिए । दक्षिण अफ्रिकामा संघर्षपूर्ण बाल्यकाल बिताएका उनी अहिले स्पेस एक्स र टेस्ला जस्ता विश्वविद्यात कम्पनीसँगै सामाजिक सञ्जाल ‘एक्स’को समेत मालिक बनेका छन् ।
मस्कले ओपन एआई, स्टारलिङ्क लगायत अन्य थुप्रै कम्पनी पनि स्थापित गरेका छन् । अमेरिकामा एक सफल उद्यमी हुँदै विश्वव्यापी परिचय बनाएका उनी जन्मजात अमेरिकी नागरिक भने होइनन् ।
दक्षिण अफ्रिकामा जन्मिएका मस्कको बाल्यकाल त्यति सुखद थिएन । उनी सानो उमेरमा साथीहरूबाट बुलीङको सिकार हुने गरेका थिए। एक समय शिविरमा गएका बेला उनीभन्दा बढी उमेरका साथीहरूले उनलाई जिस्काउने र बुलीङ गर्ने गरेको पनि उनले एक अन्तर्वार्ताका क्रममा सुनाएका थिए ।
त्यसपछि मस्कले जुडो र कराँते जस्ता रक्षात्मक तालिम पनि लिएका थिए भने १५ वर्षको उमेरसम्ममा उनी बुलीङबाट पनि मुक्त भए । यसका बावजुद मस्कले १२ वर्षको उमेरमा ‘ब्लास्टार’ नामक भिडियो गेम बनाएका थिए। उक्त गेमलाई उनले एक कम्प्युटर म्यागजिनलाई ५०० डलरमा बेचेका थिए र सानै उमेरमा उद्यमी बन्न सक्ने झलक संकेत गरिसकेका थिए ।
२२ वर्षको उमेरमा पढाइको सिलसिलामा अमेरिका गएका मस्क उपयुक्त अवसरको खोजीमा थिए । अमेरिकामा आफूलाई स्थापित गराउन विभिन्न प्रयासहरू गर्दै आएका उनी गैरकानुनी रूपमा अमेरिकामा बसेको भन्ने समाचारहरूले केही समयअघि चर्चा पाएको थियो ।
विशेषगरी उनलाई केही समयअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले गैरकानुनी रूपमा रहँदै आएको आरोप लगाउने गरेका थिए र वासिङटन पोस्टमा प्रकाशित एउटा रिपोर्टले पनि तिनै कुराहरूलाई उल्लेख गरेको थियो ।
अमेरिकामा उद्यम सुरु गर्न कानुनी कठिनाइ व्यहोरे पनि गैरकानुनी रूपमा काम गर्दै आएको आरोपको भने मस्कले खण्डन गरेका थिए ।
मस्कले त्यसबखत बाइडेनको आरोपलाई निराधार भन्दै आफूलाई अमेरिकामा काम गर्न अनुमति रहेको उल्लेख गरेका थिए । यद्यपि आफ्नो स्टार्ट-अपका लागि केही कानुनी अड्चन भने भएको खुलाएका थिए ।
आफू सुरुमा जे-१ भिसामा अमेरिका आएको र पछि त्यसलाई एच-१बी भिसामा परिवर्तन गरेको मस्कले दाबी गरेका थिए । जे-१ एक्सचेन्ज भिजिटर भिसाले विदेशी विद्यार्थीहरूलाई अमेरिकामा शैक्षिक प्रशिक्षण प्राप्त गर्न अनुमति दिन्छ भने एच-१बी भनेको अस्थायी रोजगारीको लागि दिइने भिसा हो।
यद्यपि मस्कले आफू विद्यार्थी भिसाबाट अस्थायी रोजगारी भिसामा परिवर्तित भएको समयबारे भने खुलाउन सकेका छैनन् । मस्कलाई कानुनी सहयोग आवश्यक भएको थाहा भएपछि उनका लगानीकर्ताले आफ्नो संस्थापक निर्वासित हुन नपरोस् भन्ने उद्देश्यले भिसा सुरक्षित गरिदिन समेत मद्दत गरेका थिए ।
मस्कले स्टानफर्ड विश्वविद्यालयमा पढ्न आवेदन दिएको तर कक्षाहरूमा भने उपस्थित नभएको स्मरण गर्दै भनेका थिए, ‘मसँग पैसा पनि थिएन अनि देशमा बस्ने कानुनी अधिकार पनि नभएकाले दुवै समस्यालाई हल गर्नका लागि भर्ना भइराखे पनि पढ्न चाहिं गइनँ ।’ मस्कले सन् १९९५ पछि पढाइभन्दा पनि उद्यमतर्फ बढी जोड दिन थाले ।
केही पूर्वसहकर्मीसँगको कुराकानी र कम्पनीसँग सम्बन्धित कागजातहरू पछ्याउँदा यही बीचमा मस्कले पढाइ छाडेर ‘जिप २’ नामक स्टार्टअप सुरु गरेको देखिन्छ जुन पछि गएर ३०० मिलियन डलरभन्दा बढीमा बिक्री भएको थियो, टाइम म्याग्जिनमा उल्लेख छ ।
जिप २ बाट भएको कमाइबाट केही मात्रामा उनले सन् १९९९ मा एक्स डटकम नामक अनलाइन बैंकमा लगानी गरे जुन पछि २००० मा गएर एउटा सफ्टवेयर कम्पनीसँग मर्ज भएर पे-पाल नामक संस्था बन्यो । पे-पाल पछि इबे नामक कम्पनीलाई बिक्री गरिएको थियो ।
अमेरिका प्रवेश गरेको १० वर्षमा अर्थात् २००२ मा मस्क कानुनी रूपमै अमेरिकाको नागरिक बने । त्यही वर्ष उनले स्पेस सम्बन्धी अनुसन्धान र काम गर्ने उद्देश्यले स्पेस एक्स नामक कम्पनी खोले जसले स्पेश उद्योगमा ठूलै हलचल ल्याएको थियो ।
सन् २००२ मै स्थापित गैरलाभकारी संस्था मस्क फाउन्डेशनमार्फत मस्कले नवीकरणीय ऊर्जा र बाल चिकित्सा अनुसन्धान तथा शिक्षालाई सहयोग हुने कामहरू गर्दै आएका छन् । जब मस्क २००४ मा टेस्ला कम्पनीमा मुख्य लगानीकर्ता तथा निर्देशक बोर्डको अध्यक्ष भएर पनि काम सुरु गरे, उनको जीवनले एउटा नयाँ मोड लिन थाल्यो । सन् २००८ देखि त उनी टेस्लाको सीईओकै जिम्मेवारीमा छन् ।
टेस्लाको इलेक्ट्रिक कार अहिले विश्वभर चर्चित छ भने त्यसकै सफलताले उनलाई संसारकै धनी व्यक्ति बनाएको छ ।
मस्कलाई अन्तरिक्ष अन्वेषणमा यति लगाव थियो कि उनले एक समय रूसबाट रकेट नै किन्नेसम्मको कल्पना गर्न भ्याएका थिए । उनी साथीहरूसँग रूस पनि गएका थिए भने रूसीहरूले दुई रकेट बेच्नसमेत तयार भएको एक अन्तर्वार्तामा मस्कले खुलाएका थिए । तर उनीहरूले मनोमानी मूल्य बढाएपछि मस्कले कुनै दिन आफैंले रकेट बनाउँछु भन्ने प्रण गरेका थिए । यो प्रतिज्ञा उनको जीवनको सबैभन्दा ठूलो उपलब्धिका रूपमा पूरा भइसकेको छ ।
मस्क केवल इलेक्ट्रिक कारहरू बनाएर मात्र सन्तुष्ट रहन सकेनन् । उनी नवीकरणीय ऊर्जा अनुप्रयोगहरू मार्फत विश्वको लागि दिगो ऊर्जाको भविष्य सिर्जना गर्न चाहन्छन् । टेस्लाको बढ्दो ऊर्जा उत्पादन र भण्डारण क्षेत्रले कम्पनीको कुल आयमा १० प्रतिनिधित्व प्रतिनिधित्व गर्दछ ।
यीबाहेक उनले सोलारसिटी, निउरालिङ्क, द बोरिङ कम्पनीसँगै चर्चित एआई मोडेल ओपन एआई समेत स्थापना गरेका छन् । पछिल्लो समय उनले सन् २०२२ मा चर्चित सामाजिक सञ्जाल कम्पनी ट्वीटर पनि किनेर त्यसलाई आफ्नो २० वर्ष पुरानो कम्पनीकै नाम झल्कने गरेर एक्समा नामाकरण गरी अहिले ‘एक्स’को पनि मालिकका रूपमा छन् ।
हालै मात्र उनको सम्पत्ति ३०० बिलियन डलर नाघेको छ । उनले धनाढ्यको सूचीमा प्रवेश गरेर बिल गेट्स, जेफ बेजस, मार्क जुकरबर्ग लगायतलाई पछि पार्दै आफूलाई धनाढ्यको सूचीमा शीर्ष स्थानमा पुर्याउन सफल मात्र नभएर जीवनमा केही बन्नका लागि चाहिने संघर्ष, मिहिनेत र लगनशीलताको प्रतीकात्मक जीवन भोगाइबाट सबैका निम्ति प्रेरणाको स्रोत पनि बनेका छन् ।
प्रतिक्रिया 4