२५ कात्तिक, काठमाडौं । सरकारले उखु किसान र चिनी उत्पादकका समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरोकारवाला समेतको सहभागिता रहने गरी उच्च स्तरीय संयन्त्र बनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल सहितको टोलीसँग आइतबार भएको छलफलपछि अल्पकालीन र दीर्घकालीन रूपमा समस्या समाधान गर्न सरकारले उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गरेको हो ।
छलफलमा उद्योगमन्त्री दामोदर भण्डारीले उखु उत्पादक किसान र चिनी उद्योगका समस्या दीर्घकालीन रुपमा समाधान गर्न संयन्त्र बनाउन प्रस्ताव राखेका थिए ।
मन्त्री भण्डारीकै प्रस्ताव अनुसार उद्योग मन्त्रालयका सचिवको नेतृत्वमा कृषि मन्त्रालयका सचिव, चिनी उद्योग संघ, उपभोक्ता संघका प्रतिनिधि समेत सहभागी रहने गरी संयन्त्र निर्माण गरिएको अग्रवालले जानकारी दिए ।
उद्योग मन्त्री भण्डारीले छलफलपछि नेपालमा उखु किसान र चिनी उद्योगीका समस्या दीर्घकालीन रूपमा समाधान गर्न उच्च स्तरीय संयन्त्रले रणनीति बनाउने बताए ।
छलफलमा नेपालमा पछिल्लो समय भारतबाट राजस्व छली गरेको, तस्करी मार्फत आएको चिनी बिक्री हुँदा नेपाली उद्योगीको चिनीले बजार नपाएको उद्योगीहरूले गुनासो गरेका थिए ।
प्रतिक्रिया 4