२५ कात्तिक, पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
२ कात्तिकमा पक्राउ परेका पूर्व गृहमन्त्री लामिछानेलाई चौथो पटक म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराइएको थियो ।न्यायाधीश नवराज दाहालको इजलासले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धामा अनुसन्धान गर्न १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन भएको गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक तथा सञ्चालक रविसँगै गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीवी राईसँग मिलेर रकम अपचलन गरेको आरोपमा पक्राउ परेकी लिला पछाइलाई पनि १३ दिन नै हिरासतमै राख्न प्रहरीले अनुमति पाएको छ ।
म्याद थपका क्रममा न्यायाधीश दाहालले पीडितको बचत फिर्ताबारे समेत सचेत गराएका छन् । थुनुवाहरुलाई हिरासतमै राख्ने कि छाड्नेबारे पक्ष–विपक्षको बहसपछि न्यायाधीश दाहालले पक्राउ गरेर मुद्धा चलाउने र थुन्नेमात्रै हो कि बचतकर्ताले पैसा पनि फिर्ता पाउँछन् भनेर प्रश्न गरे ।
पक्राउ गर्नु, मुद्धा चलाउनु, दोषीले सजाय पाउनु र बचतकर्ताले रकम फिर्ता पाउनुलाई फरक हिसाबले हेरेर अनुसन्धान गर्नुपर्ने उनको भनाइ थियो । सहकारीका मुद्धामा रकम दुरुपयोग गर्नेहरुलाई सजाय भएपनि बचतकर्ताले रकम फिर्ता पाउन नसकेकोतर्फ इंगित गर्दै न्यायाशीध दाहालले पीडितले रकम फिर्ता पाउने स्थिति बनाउनु पनि अनुसन्धानकर्ताकै जिम्मेवारी भएको बताए ।
सरकारी वकिल, पीडित पक्षका अधिवक्ता, रवि लामिछाने र छविलाल जोशी पक्षका कानुन व्यवसायीले बहस गरेपछि जाहेरीकर्ता कृष्ण जैसीले समय मागेर बोले । उनीपछि पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले समय मागेर कुरा राखे । उनले असली सहकारी पीडितलाई रकम फिर्ता गराउनतर्फ नभई आफूमाथि राजनीति गर्ने काम भइरहेको जिकिर गरेपछि न्यायाधीश दाहालले उनलाई रोक्दै अनुसन्धानकर्तातर्फ सचेत गराएका थिए ।
न्यायाधीश दाहालले कसैलाई मुद्धा चलाएर थुन्नेतिर मात्र नभई बिगो भराउन सम्पत्ति रोक्का गर्ने, पीडितलाई पैसा फिर्ता गर्ने जिम्मेवारी पनि अनुसन्धानकर्ताकै भएको भन्दै ध्यान दिन आग्रह गरे ।
‘यो मुद्धा आयो, भोलि फैसला होला, दोषी ठहर पनि होलान् । ५/१०/१५ वर्ष सजाय पनि होला । तर ठहर हुनेबित्तिकै बिगो भराउने सम्पत्ति छ कि छैन ?’ न्यायाधीश दाहालले प्रहरीलाई सचेत गराए, ‘बिगो भराउन कुन बैंक, कुन सहकारीमा कति रकम छ ? दोषीका कहाँ कहाँ सम्पत्ति छन्, यो–यो सम्पत्तिबाट बिगो भराउनु भनेर देखाउने जिम्मेवारी पनि अनुसन्धानकर्ताकै हो । ठहर भइसकेपछि बिगो भराउने सम्पत्ति देखिएन भने पीडितको के अवस्था होला ?’
पुराना केही सहकारीको अवस्था त्यस्तै देखिएको र पीडितले रकम पाउने नपाई दोषी जेलमात्र जाने देखिएको न्यायाधीश दाहालले बताए । थुनामा रहेका थुनिने, फरार फरारै हुने, तर पीडितले पैसा नपाउने स्थिति भयो भने के होला भन्दै उनले कहाँ कहाँ सम्पत्ति छ, कति रोक्का राखिएको छ, त्यो पीडितलाई जानकारी गराउन अनुसन्धानकर्तालाई आग्रह गरेका छन् ।
न्यायाधीश दाहालले बिगो भराउने कानुनी प्रक्रिया पनि बुझ्न र पढ्न समेत सबैलाई आग्रह गरेका छन् ।
त्यसअघि रविका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्त, मेघराज पोखरेल, नारायण घिमिरे, अधिवक्ता नारायणदत्त कँडेलले गैरन्यायिक हिसाब रविलाई थुनिएको बताएका थिए । उनलाई म्याद थप्दै थुन्ने राज्यकै योजनाजस्तो देखिएको तर सहकारीपीडितलाई न्याय दिने गरी अनुसन्धानकर्ताले अनुसन्धान नै नगरेको उनीहरुको तर्क थियो ।
पूर्व डीआईजी समेत रहेका जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण थापा, जगन्नाथ ढकालले वहस गरेका थिए ।
सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, जिल्ला सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारीले सहकारी ठगीमात्रै नभएर संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्धामा पनि रविमाथि अनुसन्धान भइरहेको भन्दै अझै थुनामै राखेर अनुसन्धान गर्नुपर्ने देखिएको बताएका थिए ।
पक्राउ परेका व्यक्तिहरुले रविको संलग्नताबारे बयान दिएको, बैंकबाट विवरण मगाएर खाता रोक्का गर्न र मालपोतबाट सम्पत्ति रोक्का गर्न पत्र पठाइएकाले अझै थुनामै राखेर अनुसन्धान गर्नुपर्ने तर्क पेश गरेका थिए ।
जाहेरवालाका तर्फबाट बहस गरेका अधिवक्ता युवराज पराजुलीले लामिछानेलाई छोड्दा प्रमाण नष्ट हुनसक्ने, थप पक्राउ गर्नुपर्ने व्यक्ति पनि प्रभावित हुन सक्ने बताए । जाहेरीकर्ता कृष्ण जैसीले रवि गृहमन्त्री हुँदा आफूहरुको मुद्धा पटकपटक प्रभावित पारिएको र आफूहरुले असुरक्षित महसुस गर्नुपरेको बताए ।
जैसीले भनाइ राख्नेबित्तिकै रविले हात उठाएर आफूमाथि गम्भीर आरोप लगाइएको भन्दै बोल्ने समय मागेका थिए । रविले आफू मिडिया ट्रायलको शिकार बनेको बताउँदै सहकारी पीडितका नाममा ठूलो राजनीति भएको बताए । सहकारी पीडितका नाममा आन्दोलन गर्ने अभियन्ताले सहकारी पीडितको आँसुमाथि खेलवाड गर्दै आफूमाथि प्रहार गरिएको रविको बयान थियो ।
आफूले टेलिभिजन प्रस्तोता हुँदा सयौं सहकारी पीडितको मुद्धा उठाएको र गृहमन्त्री हुँदा पनि सहकारी पीडितको पक्षमा काम गरेको भन्दै उनले अहिले देखिएका सहकारी पीडित आफू कहाँ नआएको दाबी गरे । अहिले केही नक्कली सहकारी पीडितले पैसा उठाएर आफूविरुद्ध उत्रिएको र असली सहकारी पीडितलाई अन्याय गरेको समेत रविले दाबी गरेका थिए ।
रविले गम्भीर आरोप लगाएपछि न्यायधीश दाहालले उनलाई रोके । पीडित बचतकर्ता र प्रतिवादीबीच सूचनाको आदान–प्रदान नभएको देखिएको उल्लेख गरे । कसैले सहकारी पीडितहरुका नाममा पैसा उठाएर आन्दोलन गरेको भए १८ हजार सहकारी पीडितले आवाज उठाउने, त्यसविरुद्ध बोल्न सक्ने भन्दै उनले दुई पक्षबीच मिस–अन्डरइस्ट्यान्डिङ हुनसक्ने बताए ।
न्यायलयले न्यायको आँखाले हेर्ने बताउँदै न्यायाधीश दाहालले बहस गर्ने अधिवक्ताको मिसिलमात्र अध्ययन नगर्ने बताए । उनले पूर्वडीआईजी छविलाललाई समेत प्रश्न गरेका छन् ।
जाहेरीकर्ता जैसीले प्रमाण नष्ट गर्ने योजना भइरहँदा जीबी राईका पूर्व साझेदारसमेत रहेका छविलालको घरमा कम्प्युटरको हार्ड डिस्क भेटिएर धेरै तथ्य थाहा भएको दाबी गरे । उनीहरुलाई हिरासतमा नराखिए अरु प्रमाण नष्ट हुनसक्ने उनको दाबी थियो । छविलालले यो आरोप झुटो भएको भन्दै जीबीले आफ्नो घर भाडा लिएकाले उसले के–के ल्याएर राख्यो भन्ने आफूलाई थाहा नहुने बताएका थिए ।
न्यायाधीश दाहालले भने घर भाडामा दिएकोमात्र नभई जीबीका पूर्वसाझेदार समेत भएकाले आफ्नो घरमा केके छ भन्ने पूर्वडीआईजीसमेत रहेका व्यक्तिले अनभिज्ञता देखाउनु सान्दर्भिक नहुने उल्लेख गरे ।
साथै न्यायालयले सबै प्रमण र तथ्य हेरेर एउटा निश्कर्षमा पुग्ने भन्दै कोही आत्तिनु नपर्ने बताएका छन् ।
भर्याङमा नोकझोक
अदालतबाट फर्किने क्रममा रवि र संघर्ष समितिका संयोजक किरण श्रेष्ठबीच भर्याङमा नोकझोक भयो । पीडितलाई गुमराहमा राखेर आफूमाथि राजनीति गरेको भन्दै इजलासमै आक्रोश पोखेका लामिछानेले भर्याङबाट झर्ने क्रममै श्रेष्ठलाई भने, ‘तपाईंले चाहिँ नछाड्नुस् है, लागिरहनुस्, सिध्याउनुपर्यो नि ।’
संघर्ष समितिका संयोजक श्रेष्ठले भने पूर्व गृहमन्त्री लामिछानेलाई समयले बताउला भनेर जवाफ दिए ।
सहकारी ठगी प्रकरणमै आइतबार सूर्यदर्शन सहकारीका पूर्वउपाध्यक्ष देवकुमार नेपालीलाई पनि पोखरा ल्याएर सरकारी वकिलको कार्यालयमा बयान लिइएको छ । सूर्यदर्शन सहकारीमा अध्यक्ष हुन नपाएपछि उनले त्यही कर्मचारी लिएर इमेज सहकारी खोलेका थिए । इमेज सहकारीबाट झण्डै २ अर्ब रकम हिनामिना गरेर फरार रहेका नेपालीलाई ११ कात्तिकमा भारतमा पक्राउ गरिएको थियो ।
पोखराको सूर्यदर्शन सहकारीबाट झण्डै डेढ अर्ब अपचलन भएको छ, यसमध्ये गोर्खा मिडियामा ५ करोड रुपैयाँ गएको देखिएको छ ।
सहकारी छानबिन संसदीय विशेष समितिले सूर्यदर्शनसहितका सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन भएको निष्कर्षसहित जीबी राई, रवि, छविलाल र कुमार रम्तेललाई कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको थियो ।
जीबी फरारै छन् भने रवि र छवि प्रहरी हिसासतमा छन् । सूर्यदर्शन सहकारीका कोषाध्यक्षसमेत रहेका कुमार रम्तेल पुर्पक्षका लागि कास्की कारागारमै थुनामा छन् ।
प्रतिक्रिया 4