+
+

गुल्मीका सुन्तला बगैंचामा पाक्ने बेलामा देखियो रोग, किसान चिन्तित

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २६ गते ७:४५

२६ कात्तिक, गुल्मी । पाक्ने बेलामा सुन्तलामा रोग देखिएपछि गुल्मीका किसान चिन्तित भएका छन् ।

जिल्लाको धुर्कोट गाउँपालिका–७ वाग्लाका कृषक धनराज पौडेलेको सुन्तला बगैंचामा बोट पहेलो देखिने रोग देखा परेको छ । पौडेलको पौडेल कृषि फार्ममा एक हजार एक सय सुन्तलाका बोट रहेका छन् । बगैंचामा रहेका धेरैजसो बोटहरु पहेंलो हुने रोग देखा परेको पौडेलले बताए ।

पौडेलले गत वर्ष करिब चार लाखका सुन्तला बिक्री गरेका थिए । तर, अहिले रोग लागेको र फल लागेका सुन्तला पनि झरेकाले एक लाख भेट्न पनि मस्किल हुने हेरालु रामु गिरीले बताए ।

कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले अहिले उक्त बगैंचामा बोटका जरा कुहिने रोग देखा परेकाले बोट नै पहेलो भएको बताए ।

फेदमा बढी चिसोपना भएकाले पनि उक्त रोग देखा पर्ने गरेकाले ढुसीनासक विषादी प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।

कतिपय बिरुवाको फेदमा खन्दा वा मलजल गर्दा ध्यान नपुग्दा पनि जरा काटिने भएकाले मलजल गर्दा उचित ध्यान दिनुपर्ने उनको भनाइ छ ।

त्यहाँका कृषकलाई जम्मा गरेर बगैंचा व्यवस्थापन र रोगसम्बन्धी तालिम प्रदान गर्ने गरी कृषि ज्ञान केन्द्रले योजना बनाएको छ । यस वर्ष सुन्तला उत्पादन घट्ने वा बढने भन्ने बारेमा बगैंचाहरु अवलोकन पश्चात मात्र भन्न सकिने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

जिल्लामा कृर्षकहरुले परम्परागत रुपमा खेती गर्नु, बगैचामा सुक्ष्म तत्व , मलखादको प्रयोग नगर्नुका कारण बोट तथा रसिलो फलहरुमा कमी आउनु, विभिन्न रोगहरु देखा पर्नु, सिँचाइ तथा बोटहरुको काँटछाँटमा कम ध्यान दिनुलगायतका समस्या रहेको ज्ञानकेन्द्रले जनाएको छ ।

जिल्लामा गुणस्तरीय बिरुवा उत्पादनका लागि नर्सरी व्यवस्थापनमा सुधार गर्ने, बिरुवाहरुको न्यूनतम गुणस्तरको मापदण्ड निर्धारण गर्ने, जालीघर पद्धतीमा कलमी बिरुवामा उत्पादन प्रविधिको बिस्तार गर्ने, जिल्लामा बिजु बिरुवा रोपणको कार्यलाई पूर्ण रुपमा अन्त्य गर्ने गरी कार्यालयले काम गरिरहेको जनाएको छ ।

प्रभावकारी रुपमा रोगकीराको ब्यबस्थापन गर्ने, उत्पादन क्षेत्र थप निर्माण गर्दै जाने, फल टिपाइ, ग्रेडिङ, भण्डारण, ढुवानी र बजार व्यवस्थापनमा सुधार गर्दै लाने गरी आफूहरुले योजना बनाएको कार्यालयले जनाएको छ । यसका साथै स्थानीय तहका कृषि प्राविधिकहरुको क्षमता अभिवृद्धि गर्ने कार्य तय गरेको भण्डारीले बताए ।

जिल्लामा फल दिने नदिने गरी कुल एक हजार २७ हेक्टर क्षेत्रफलमा चार लाख १० हजार आठ सय बढी सुन्तलाका बिरुवा छन् । जसको ६० दशमलव ६ प्रतिशत अर्थात दुई लाख ४९ हजार दुई बोटहरुले उत्पादन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?