+
+

रास्वपाभित्र गुनासो : हाम्रो विरोध प्रभावकारी भएन 

पार्टी केन्द्रले आन्दोलन प्रभावकारी बनाउन चुकेको र संकटमा नेतृत्वको अभाव देखिएको नेता कार्यकर्ताले आरोप लगाउन थालेका छन् । आन्दोलनका विषयलाई लिएर पार्टीभित्र असन्तुष्ट रहेको उनीहरुले प्रस्तुत गरेको विचार, प्रसारित सन्देश, केन्द्रलाई पठाइएको पत्र लगायतबाट देखिन्छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८१ कात्तिक २६ गते २०:१०

२६ कात्तिक, काठमाडौं। सहकारी ठगी प्रकरणमा २ कात्तिकमा सभापति रवि लामिछाने पक्राउ परेसँगै रास्वपा सडक प्रदर्शनमा छ । रास्वपा बन्नुअघि ग्यालेक्सी टिभीको प्रबन्ध निर्देशकका रुपमा लामिछानेले सहकारी बचत अपचलन गरेको अभियोगमा मुद्दा परे पनि रास्वपाले उनको पक्राउलाई वर्तमान सत्ताको प्रतिशोधपूर्ण व्यवहार भन्दै आएको छ ।

जिल्ला अदालत कास्कीले लामिछानेलाई थुनामा चारपटक म्याद थपिसकेको छ । रास्वपाले भने यो अदालत नभई सरकारकै प्रतिशोध रहेको दाबी गर्दै सरकारको रवैया विरुद्द सडक प्रदर्शन मार्फत खबरदारी गरिएको बताउने गरेको छ । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले भने, ‘कानुनी प्रकृयामा अघि बढेपछि हामीले अनदेखा गर्ने कुरा हुँदैन । तर आन्दोलनको कारणले राजनीतिक प्रतिशोध भएको स्थापित भएको छ ।’

पोखराबाट सुरु गरिएको प्रदर्शन काठमाडौं, चितवन लगायत देशका अन्य भागमा पनि भएको छ । यद्यपि, आन्दोलन प्रभावकारी हुन नसकेको ठम्याई पार्टी पंक्तिमा छ । आन्दोलनलाई उचाइमा पुर्‍याउन नसक्नुमा लुम्बिनी प्रदेश कमिटीले पार्टी केन्द्रलाई दोष लगाएको छ ।

कतिपय केन्द्रीय नेताहरुले आन्दोलनका लागि समय नदिएको र सडक प्रदर्शनप्रति अरुचि देखाएको आरोप खेप्नु परेको छ । अदालतमा प्रवेश गरेको विषयमा सडक आन्दोलनको औचित्य नरहेको मत पनि पार्टीभित्र छ ।

पार्टीमा आशंका र गुनासो हुनु स्वभाविक भएको केन्द्रीय सदस्य रामकृष्ण भट्टराई बताउँछन् । भट्टराईले भने, ‘केही नेता सक्रिय भएर लाग्नु भएन भन्ने गुनासो त भइ नै हाल्छ । पार्टी हो, घर हो । कोही सक्रिय हुन्छ । कोही निष्क्रिय हुन्छ ।’

करिब तीन साताको अवधिमा भएको गतिविधिबाट पार्टीभित्र असन्तुष्ट रहेको व्यक्त विचार, प्रसारित सन्देश, केन्द्रलाई पठाइएको पत्र लगायतबाट देखिन्छ ।

 पार्टी कार्यालयबाट कार्यकर्ताको दबाबः नो नट अगेन भन्ने दिन नआओस्

२४ कात्तिकमा रास्वपाको केन्द्रीय समितिको बैठक बसिरहँदा आन्दोलन प्रभावकारी बनाउन दबाब दिने उद्देश्यले केही कार्यकर्ता प्लाकार्डसहित प्राङ्गणमा उभिए।

आन्दोलन प्रभावकारी हुन नसकेको ठम्याईसहित उनीहरु दबाबका लागि केन्द्रीय कार्यालयमा प्रदर्शनमा थिए । प्लाकार्डमा नेताहरुलाई आन्दोलनका लागि दबाबका साथै चेतावनीयुक्त सन्देश थियो ।

सभापति लामिछाने प्रहरी हिरासतमा रहेको बेला नेताहरुले साथ नदिएको गुनासो उनीहरुको थियो । चेतावनीको शैलीमा लेखिका प्लाकार्डमा भनिएको थियो,‘कि संकटमा पार्टी सम्हाल कि ठाउँ छोड । आफ्नै नेतालाई ‘नो नट अगेन’ भन्ने दिन नआओस् । कि भन रबि दोषी हो, कि लड उसका लागि ।’

शुभचिन्तकले चासो राखेर केन्द्रीय कार्यालयमा दबाबमूलक प्रदर्शन गरेको केन्द्रीय सदस्य भट्टराई बताउँछन् । उनी भन्छन्,‘उहाँहरुको नजरमा कोही नेता सक्रिय नभएको जस्तो देख्नुभयो होला । सबैको नजर एउटै हुँदैन नि त ।’

समानुपातिक सांसद बनेका र सभापतिको पक्षमा भएको आन्दोलनमा सक्रिय नभएका समानुपातिक सांसदहरुलाई संकेत दबाबयुक्त भाषामा लेखिएको छ । समानुपातिक सांसद हुन रविले नाम दिएको तर अहिले रविका लागि साथ नदिने भन्दै प्रश्न गरिएको छ ।

प्लाकार्डमा नेताहरुलाई खबरदारी गर्दै लेखिएको थियो, ‘रविले नाम दिए, रविलाई पर्दा साथ नदिने? रविका नामबाट नेता र सांसद बन्नेहरु रविलाई संकट पर्दा पछि हट्नु धोका हो ।’

१० गते बसेको केन्द्रीय समिति बैठकले आन्दोलनको संयोजन गर्न उपसभापति डीपी अर्याललाई जिम्मेवारी दिएको छ । अर्यालले आफू नेतृत्वको समितिलाई विस्तार गरेर ३३ सदस्यीय पुर्‍याएका छन् । उक्त समितिले विरोधका थप कार्यक्रम सार्वजनिक गरेको छैन ।

शनिबार बसेको केन्द्रीय समिति बैठकले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय लिएपनि कस्तो प्रकृतिको गर्ने बारेमा आन्दोलन परिचालन समितिले निर्णय भने गरिसकेको छैन ।

पार्टीका उपसभापति अर्यालले दोस्रो चरणको आन्दोलन बुधबार घोषणा हुने बताएका छन् ।

 केन्द्रीय सदस्यको गुनासोः नेतृत्वको अभाव खड्कियो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेर ३ कात्तिकको बिहान पोखरा पुर्‍याएसँगै रास्वपाको शक्ति कास्कीमा केन्द्रित भयो । लामिछानेलाई अदालतले दोस्रोपटक (८ कात्तिकमा) म्याद थपेपछि अधिकांश नेताहरु काठमाडौं फर्के ।

राजनीतिक प्रतिशोधमा पक्राउ गरिएको भन्दै पोखराबाट सुरु प्रदर्शन काठमाडौंमा पनि चालु रह्यो। ९ कात्तिकमा माइतीघरमा रास्वपाले प्रदर्शन गर्‍यो । आन्दोलनका थप कार्यक्रम तय गर्न १० गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरिएको थियो । केन्द्रीय समिति बैठक आह्वान भएकै दिन एक केन्द्रीय सदस्यले चिन्ता र गुनासो मिश्रित सन्देश पार्टीका नेताहरुलाई पठाए । काठमाडौंमा आन्दोलन उठ्न नसकेको उनको गुनासो थियो ।

ती केन्द्रीय सदस्यको मेसेजमा भनिएको थियो,‘पोखरा आन्दोलनबाट निस्केको झिल्को काठमाडौमा ज्वालामुखी बन्नुपर्ने थियो तर केही नेतृत्वको अर्कमन्यताको कारण आज (१० कात्तिक) फुस्स भएको छ ।’

१० कात्तिकका लागि रास्वपाले अघिल्लो दिन विरोध कार्यक्रम तय गर्दा कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरलाई रोजेको थियो । विरोध प्रदर्शनका लागि उक्त स्थान रोज्नुको कारण एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गादान त्यस ठाउँमा हुनु थियो । जग्गादान प्रकरण जोडतोडका साथ उठिरहेको बेला रास्वपाले सम्बन्धित स्थानमा विरोध गर्ने निधो गर्‍यो ।

९ गते बसेको पार्टीको अनौपचारिक बैठकले १० गते गर्ने विरोधका लागि तय गरेको नारा थियो, ‘१०० करोडको जग्गा दान कि घुस?’ तर, १० गते विहान अकस्मात् विरोध स्थल परिवर्तन गरियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको गेटलाई विरोधस्थल बनाएको सूचना प्रसारित गरियो ।

रास्वपाका केन्द्रीय सदस्‍य गणेश कार्कीले सदस्यले विरोधस्थल परिवर्तन गर्नेबारे आधिकारिक जवाफ नपाएको जानकारी गराए ।  ‘एमालेको कार्यालय भवन बनाउन मीनबहादुर गुरुङले जग्गा दिएको ठाउँमा विरोध गर्ने भनेर अघिल्लो दिन साँझ निर्णय गरियो,’ कार्कीले भने, ‘विरोध स्थान परिवर्तन किन गर्नु परेको कारण अहिलेसम्म भनिएको छैन, जवाफ दिनु नपर्ने?’

१० गतेको विरोध प्रदर्शन फितलो रहेको बुझाई रास्वपाका नेताहरुमा रह्यो । प्रभावकारी सडक प्रदर्शन हुन नसकेपछि नेतृत्वको अभाव खड्किएको सन्देश प्रवाह पार्टी पङ्तिमा भयो । शीर्ष तहलाई सचेत गराउँदै एक नेताले पठाएको मेसेजमा भनिएको छ,‘दरिलो वैकल्पिक शक्ति बन्दै गइरहेको हाम्रो पार्टीमा चेन अफ कमान्डको कमी महशुस भयो । हामीले हाम्रो नेतृत्व क्षमता यस्तै विषम परिस्थितिमा देखाउनु पर्ने थियो । यसमा हामीहरु चुक्यौ साथीहरु ।’

व्यक्ति अनुसार फरक फरक निर्देशन र कमाण्डले पोखरामा पनि असहज अवस्था बनेको उनको गुनासो थियो । आन्दोलन गर्ने विषय व्यक्तिगत प्रतिस्पर्धाको आधारमा नहुने प्रमुख सचेतक समेत रहेका परियार बताउँछन् । परियार भन्छन्, ‘कोही अलि बढी देखिन्छन् । कोही त्यहीं हुन्छन्, तर देखिँदैनन । साथीहरु सबै सक्रिय भएर लागिरहनुभएको छ ।’

लुम्बिनी प्रदेशको निष्कर्ष : केन्द्रले आन्दोलन चर्काउन सकेन

रास्वपाको लुम्बिनी प्रदेश समितिको बैठक २२ र प्रदेशभरिका आन्तरिक समितिको बैठक २३ कात्तिकमा बस्यो । उक्त बैठकले पार्टी केन्द्र आन्दोलन गर्न चुकेको निष्कर्ष निकालेको छ ।

लुम्बिनी प्रदेश सभापति देवराज पाठकले आन्दोलनलाई केन्द्रले मूर्त रुप दिन नसकेको निष्कर्षसहित सुझाव उपसभापति डीपी अर्याललाई पत्र पठाएका छन् ।

केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका अर्याललाई लुम्बिनीबाट पठाइएको पत्रमा भनिएको छ,‘हालसम्मको आन्दोलनको ठोस योजना बनाएर मूर्तरुप दिन केन्द्र चुकेको’ छ ।

आन्दोलनको स्पष्ट खाका बनाएर वडा तहसम्म समिति परिचालन गर्न नेतृत्वलाई सुझाव दिइएको छ । साथै, मुद्धा केन्द्रित आन्दोलनमा एकता कायम गर्दै आन्दोलनको प्रारुप तयार गर्न नेतृत्वलाई आग्रह गरिएको छ ।

आन्दोलन भनेकै ढुङ्गा मुढा हो कि भन्ने परम्परा जस्तो बनेको रास्वपा उपसभापति अर्याल बताउँछन् । ‘हाम्रो साथीहरु पनि यही समाजमा हुर्किनु भएको हो । उहाँहरुलाई पनि त्यस्तो लाग्नसक्छ, अर्यालले अनलाइनखबरसँग भने,‘उहाँहरुको विचारलाई पनि म सम्मान गर्छु ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?