२७ कात्तिक, काठमाडौं । विस्तारा एयरको सेवा पूर्णरुपमा बन्द भएको छ । यसको कमाण्ड आजदेखि भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाले सम्हालेको छ ।
करिब नौ वर्षअघि टाटा ग्रुप र सिंगापुर एयरलाइन्सको ज्वाइन्ट भेन्चरबाट विस्तारा एयरको सेवा सुरु भएको थियो । जनवरी २०१५ मा पहिलो उडान सुरु गरेको विस्तारा एयरले आफ्नो अन्तिम उडान ११ नोभेम्बर २०२४ मा गर्यो । आज १२ नोभेम्बरबाट यसको सञ्चालन एयर इण्डियाबाट हुने छ ।
सन् २०२२ को २९ नोभेम्बरको दिन एयर इण्डिया र विस्तारा एयरबीच मर्जर सम्झौता भएको थियो । सम्झौता अनुसार एयर इण्डियामा सिंगापुर एयरलाइन्सको हिस्सेदारी २५.१ प्रतिशत र टाटा ग्रुपको ७४.९ प्रतिशत कायम भएको छ ।
एयर इण्डिया निजीकरण भए पनि यसले भारतको राष्ट्रिय ध्वजाबाहकको मान्यता भने पाएको छ ।
विस्तारा र एयर इण्डियाबीच मर्ज किन भयो ?
एयर इण्डियासँग विस्तारा एयरको मर्जर टाटा ग्रुपको एक रणनीतिक हिस्सा हो । यसमार्फत् टाटा ग्रुपले विस्तारा एयरलाई विलय गरी एयर इण्डियाको ब्राण्डमार्फत् आफ्नो सेवा अझै प्रभावशाली बनाउन चाहेको छ । यसबाट टाटा ग्रुप उड्डयन क्षेत्रमा अझ मजबुत भएको छ ।
एयर इण्डियामा विस्तारा एयर विलय भएपछि विस्तारा एयरलाइन्सको फ्लाइट कोड २ अंकबाट सुरु हुने छ । उदाहरणका लागि विस्तारा एयरलाइन्सको फ्लाइट कोड UK ९५५ छ भने अब AI २९५५ हुने छ । यसबाट ग्राहकहरुलाई एयर इण्डियाले मर्ज गरेको विस्ताराको विमान चिन्न सहज हुने छ ।
टाटा ग्रुपले ग्राहकको सेवा र गुणस्तरमा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत जनाएको छ ।
भारतमा एयरलाइन्सको इतिहास हेर्ने हो भने पछिल्लो १७ वर्षको अवधिमा ५ ठूला एयरलाइन्सहरु बन्द भइसकेका छन् । यसमा विजय माल्याको किंगफिशर समेत छ । सन् २००३ मा स्थापना भएको किंगफिशरले २००५ देखि सेवा सुरु गरेको थियो । तर सात वर्षपछि यो पूर्णरुपमा बन्द भएको थियो ।
यसैगरी सुब्रत रोयको एयर सहारा पनि बन्द भएको थियो । यसलाई नरेश गोयलको जेट एयरले अधिग्रहण गरेको थियो । अधिग्रहणपछि नाम ‘जेटलाइट’ राखियो । तर सन् २०१९ मा यो पनि टाट पल्टियो । सन् २०२४ नोभेम्बर १२ बाट विस्तारा एयर पनि अब इतिहास बनेको छ ।
प्रतिक्रिया 4