+
+

बाजुरामा पुरानै गठबन्धन ब्युँताउने प्रयासमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी

देउवा र ओलीले संघ र प्रदेश तहमा गरेको सत्ता समीकरण विपरीत हुने गरी बाजुरामा चुनावी तालमेल छलफल गर्दैछन् तीन दल

लिलु डुम्रे लिलु डुम्रे
२०८१ कात्तिक २७ गते १९:१६

२७ कात्तिक, काठमाडौं। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षको उपचुनावमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले साझा उम्मेदवार उठाउन कसरत गरिरहेका छन् ।

उनीहरु त्यो बेलामा यस्तो कोसिस गर्दैछन्, जुन बेला कांग्रेस र एमालेले केन्द्रमा सरकार र उच्चस्तरीय संयन्त्रमात्रै बनाएका छैनन्, बरु यो संयन्त्रलाई प्रदेश, जिल्ला र पालिका तहसम्मै बिस्तार गर्न चाहन्छन् ।

केन्द्र र प्रदेशमा कांग्रेस र एमालेले असार १७ गते बनाएको नयाँ सत्ता समीकरण प्रतिकूल हुने गरी तीन दलका नेताहरु साझा उम्मेदवार बनाउन प्रयत्नरत भएका हुन् ।

विगतमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री छँदा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीबीच गठबन्धन थियो। कांग्रेस सभापति शेरबहादुर देउवाकै प्रस्तावमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेसँगै उक्त गठबन्धन भत्के पनि बाजुरामा पुरानो गठबन्धन ब्युँताउने प्रयास चलिरहेको हो ।

चुनावी तालमेलका लागि छलफलमा जिल्ला तहका नेताहरु जुटिरहेकाले कांग्रेस, एमाले र माओवादी केन्द्रले आफ्ना उम्मेदवार चयन गर्न सकिरहेका छैनन्। कांग्रेसबाट पुल्तीसरा शाहीको नाममा सहमति जुटे पनि माओवादी र समाजवादीसँग छलफलको क्रममा रहेकाले उनको नाम सार्वजनिक गरिएको छैन ।

कांग्रेसका एक जिल्ला नेताका अनुसार पूर्वमन्त्री समेत रहेका जनकराज गिरी चुनावी तालमेलको पक्षमा देखिएका छन्। यसै पालिकाका स्थानीय व्यक्ति समेत रहेका गिरीले माओवादी र एकीकृत समाजवादीसँग समन्वय गरेर छलफल गरिरहेको कांग्रेसका जिल्ला नेताले जानकारी गराए ।

कांग्रेसको जिल्ला समितिमा रहेका एक सदस्यले माओवादी र समाजवादीसँग तालमेल गर्न उपयुक्त हुने भएकाले संवाद चलिरहेको अनलाइनखबरसँग बताए।

‘माओवादीसँग पनि गठबन्धन गरेर जाऔं भन्ने कुरा साथीहरुले गर्नुभएको छ,’ ती जिल्ला सदस्यले भने,‘स्थानीय कमिटीहरुको साथीहरुकै कुरा पनि त्यो आयो । तीन दल मिलेर चुनाव लड्दा सजिलो हो  भन्ने कुरा गर्नुभएको छ।’

तीन दल वीच चुनावी तालमेलका बारेमा छलफल चलिरहेको एकीकृत समाजवादीका नेता एवं सुदूरपश्चिम सांसद नरेश शाहीले जानकारी गराए । तीन दलमा कुरा चलिरहेको तर निष्कर्षमा पुग्न बाँकी रहेको शाहीले जानकारी गराए ।

गत स्थानीय तहको निर्वाचनमा यस पालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेको थियो । कांग्रेसबाट निर्वाचित मैना जोशीको गत माघमा निधन भएको थियो । तीन दलको संवादमा सबैले आफ्नो दलबाट साझा उम्मेदवार हुनुपर्ने दाबी गरिरहेका छन् ।

निर्वाचन पछि उपाध्यक्ष एमालेबाट जित्नुभन्दा अरु दलबाट भए अध्यक्षसँग काम गर्न सजिलो हुने विचार पार्टीमा रहेको बाजुराका एक कांग्रेस जिल्ला नेताले जानकारी गराए । ‘हाम्रो दीर्घकालीन प्रतिस्पर्धा हुने एमालेसँगै हो । सकेसम्म कांग्रेसकै हुनुपर्‍यो । त्यसो हुन नसके माओवादी वा समाजवादीबाट उपाध्यक्ष भए गाउँपालिका अध्यक्षलाई काम गर्न सजिलो हुन्छ,’ ती नेताले भने।

स्वामीकार्तिक खापर गाउँपालिकाको अध्यक्ष कांग्रेसबाट जितेका भरतबहादुर रोकाया छन् । उनी कांग्रेसको जिल्ला सचिव समेत हुन् । कांग्रेस स्रोतका अनुसार पालिका अध्यक्ष रोकाया समेत विपक्ष दलहरुसँग चुनावी तालमेलका पक्षमा छन् ।

कांग्रेसका नेताहरुका अनुसार चुनावी तालमेलका बारेमा छलफल गर्न कांग्रेस अब धेरै समय माओवादी र समाजवादीलाई प्रतिक्षा गर्ने पक्षमा छैन । तीन दल वीच तालमेलमा कुरा मिल्न नसके आ आफ्ना उम्मेदवारको नाम दर्ता गर्ने र पछि एकले अर्कोलाई सहयोग गर्ने गरी नाम फिर्ता लिन सकिने कांग्रेस नेताले बताए ।

‘माओवादी र समाजवादीले जित्न सक्ने अवस्था छैन,’ तालमेलका पक्षमा रहेका कांग्रेस नेता भन्छन्,‘हामीलाई पनि एक्लै जित्न गाह्रो छ । धेरै मतदाताहरु कामका लागि भनेर भारततिर गइसके ।’

कांग्रेसको केन्द्रीय निर्णय चुनावी तालमेल नगर्ने छ। तालमेलका पक्षमा देखिएका नेताले केन्द्रमा कुरा गरेर स्थानीय तहमा अरु दलसँग छलफल चलेको जिल्ला तहका नेताको दाबी छ । कांग्रेसले स्थानीय तहको उप निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्मालाई मूख्य जिम्मेवारी दिएको छ ।

‘चुनावी तालमेल गर्ने निर्णय लिए पनि केन्द्रको स्विकृति लिनुपर्ने हुन्छ । केन्द्रले सहमति नदिएसम्म अरु दलको उम्मेदवारलाई समर्थन नगर्न भन्नुभएको छ,’ तालमेल पक्षधर कांग्रेसका जिल्ला नेताले भने । कांग्रेसको जिल्ला नेतृत्व भने चुनावी तालमेल नगरेर आफ्नो उम्मेदवार उठाउने पक्षमा छ । जिल्ला सभापति रामसिंह रावलले कांग्रेसको आफ्नै उम्मेदवार हुने बताए । रावलले भने,‘ ‘हाम्रो उम्मेदवार पुल्तीसरा शाही हो । हाम्रो उम्मेदवारका लागि समर्थन खोज्न साथीहरुले छलफल गर्नुभएको होला ।’

१६ मंसिरमा ४४ पदका लागि स्थानीय तहमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगले २ मंसिरमा उम्मेदवारी दर्ताको कार्यतालिका बनाएको छ । उपनिर्वाचन हुने सबै स्थानका लागि आयोगले निर्वाचन अधिकृत समेत तोकिसकेको छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?