+
+

जाडोमा गिजरको प्रयोग, के हुनसक्छ जोखिम ?

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ४ गते १४:०९

जाडोयाम सुरु भएसँगै मानिस कडा चिसोबाट बच्न विभिन्न उपाय अपनाउँछन् । चिसोबाट बच्न हिटर र गिजरको प्रयोग धेरै हुन्छ । जाडोमा चिसो पानी छुन समेत डर लाग्छ । यस्तो अवस्थामा प्राय: मानिसले गिजर प्रयोग गरेर तातो पानीको प्रयोग गर्छन् । तर चिसो छल्न प्रयोग गरिने विद्युतीय वा ग्यास हिटर तथा गिजरका कारण दुर्घटनामा परी अस्पताल भर्ना भएका र मृत्यु भएका घटना वर्षैपिच्छे सुनिन्छ ।

सावधानीपूर्वक प्रयोग गरिएन भने यसले स्वास्थ्य समस्या निम्त्याउन सक्छ । लामो समय शौचालय बस्दा र गिजर चलाउँदा त्यसले स्वास्थ्यमा कस्तो असर गर्छ त ?

त्रिवि शिक्षण अस्पतालका सहप्राध्यापक एवं छातीरोग विशेषज्ञ डा. नीरज बम भेन्टिलेसन नभएको स्नान कक्ष वा कोठामा गिजरको प्रयोग गर्दा कार्बन मोनोअक्साइडको मात्रा धेरै भएर मान्छे बिरामी हुने वा कतिपय अवस्थामा मृत्यु समेत हुने गरेको बताउँछन् ।

‘ढोका बन्द गरेर हिटर वा गिजर चलाउँदा त्यसबाट कार्बन मोनोअक्साइड, कार्बन डाइअक्साइड र नाइट्रोजन डाइअक्साइड उत्पादन हुन्छ’, उनी भन्छन्, ‘बाथरुममा भेन्टिलेसन खुला छैन भने त्यही कोठामा ती हानिकारक ग्यास जम्मा भएर बस्छन् । त्यही ग्यास हामीले सास फेर्दा शरीरभित्र छिर्छ ।’

यसरी कार्बन मोनोअक्साइड फोक्सोबाट रगतमा बगिरहेका रक्तकोषिकासम्म पुग्छ । यसले अक्सिहेमोग्लोबिन कोषिकाभित्र हुन्छ । त्यो ग्यासमा रहेको हानिकारक पदार्थ रगतमार्फत मुटु, मिर्गौला र मस्तिष्कसम्म पुग्छ । त्यहाँ अक्सिजन रिलिज हुनुपर्नेमा त्यो ठाउँमा कार्बन मोनोअक्साइड बस्छ । यसरी अक्सिजनको सट्टामा कार्बन मोनोअक्साइड जम्मा भएपछि कलेजो र मिर्गौलामा समस्या निम्तिने डा. बम बताउँछन् ।

डा. बमका अनुसार यस्तो बेलामा शरीरले स्पष्ट सङ्केत गर्छ । त्यस्तो सङ्केत देखिएपछि तुरुन्त बाहिर निस्कने हो भने केहीबेरमा अक्सिजनले कार्बनमोनोअक्साइडलाई विस्थापित गरेर मान्छे पुरानै अवस्थामा आउँछ । अन्यथा मान्छेको अवस्था बिग्रँदै जान्छ । त्यसो त प्रयोग गर्दा नै झ्याल खोलेर पर्दा मात्रै लगाएर यस्ता मेसिन चलाउनुपर्छ । शरीरमा कार्बन मोनोअक्साइड धेरै हुँदै जाँदा टाउको दुख्ने, बान्ता हुने जस्ता लक्षण देखिन्छन् ।

स्नानगृहमा गिजरको प्रयोग गरेर झ्याल नखोली धेरैबेर नुहाउँदा अक्सिजनको मात्रा कम भएर सुरुमा अर्धचेत हुने र पछि पूर्णतः बेहोस हुने सम्भावना हुने जनरल फिजिसियन डा. सरस्वती भट्टराई बताउँछिन् ।

‘यसरी धेरै घण्टासम्म बेहोस भएर शौचालयमा नै थुनिएर बस्दा ४-५ घण्टामै मान्छेको मृत्यु समेत हुनसक्छ । तर मान्छे बेहोस भएपछि पनि तत्कालै थाहा पाएर अस्पतालको आकस्मिक सेवामा पुर्‍याइएन भने हाइपो अक्सिजन दिने विधिमार्फत यसको समाधान गर्न सकिन्छ’, उनी भन्छिन् ।

गिजरका कारण निम्तिन सक्ने अन्य समस्या

गिजरको तातो पानीको अत्यधिक प्रयोगले छालाको प्राकृतिक ओसिलोपन हटाएर सुक्खा बनाउँछ । साथै यदि छाला संवेदनशील छ भने धेरै तातो पानीले नुहाउँदा छाला जलन र रातो हुन सक्ने डा. भट्टराई बताउँछिन् ।

धेरै तातो पानीले कपाल धुँदा कपालको चिस्यान र प्राकृतिक तेल हट्न सक्छ, जसले गर्दा कपाल सुक्खा हुने र टुक्रिने सम्भावना हुन्छ । लामो समयसम्म यसो गर्दा कपालको गुणस्तर बिग्रिन्छ र कपाल झर्ने समस्या बढ्ने उनी बताउँछिन् ।

‘तातो पानीमा लामो समयसम्म नुहाउँदा शरीरको मांसपेशी र जोर्नीहरूमा बढी दबाब पर्न सक्छ, जसले तनाव र दुखाइ निम्त्याउँछ । यदि मांसपेशी सम्बन्धित समस्याहरू छन्, जस्तै गठिया वा मांसपेशी कठोरता छ भने झन् समस्या निम्तन सक्छ’, डा. भट्टराई भन्छिन् ।

अपनाउनुपर्ने सावधानी

गिजर प्रयोग गर्दा बिजुली, ग्यास र तातो पानी तीनवटा कुराको प्रयोग हुन्छ । तीनवटैमा गम्भीर चोटपटक लाग्ने सम्भावना हुन्छ । त्यसैले गिजरको प्रयोग सावधानीपूर्वक गर्नुपर्छ । साथै नियमित जाँच र मर्मत महत्त्वपूर्ण हुने डा. भट्टराई बताउँछिन् ।

‘गिजर खोलेको केही मिनेटमा पानी तातो हुन्छ । जसबाट सजिलै नुहाउन सकिन्छ । तर धेरै पटक गिजर अन गरेपछि मानिसहरूले लामो समयसम्म स्वीच अफ गर्दैनन् । यो लामो समयसम्म चल्छ’, उनी भन्छिन्, ‘यस्ता घटनामा कहिलेकाहीं गिजर विस्फोट पनि हुन्छ । त्यसैले गिजर प्रयोग गर्दा यो धेरै समयसम्म अन नहोस् भन्ने कुरामा ध्यान दिनुपर्छ ।’

बाथरुममा गिजर सही ठाउँमा जडान गर्नु धेरै महत्त्वपूर्ण हुन्छ । किनभने गिजरका कारण हुने धेरै दुर्घटना गिजरमा पानी खस्दा हुने गरेका छन् । त्यसैले बाथरुमको माथिल्लो भागमा पानी पस्न नसक्ने ठाउँमा गिजर लगाउन डा. भट्टराई सुझाउँछिन् ।

‘वाटर हिटरसँग ग्यास सिलिन्डर प्रयोग गर्दा सिलिन्डर राम्रोसँग हावा चल्ने ठाउँमा राखिएको हुनुपर्छ । चुहावटको अवस्थामा ग्यास फैलाउन उचित भेन्टिलेसन आवश्यक हुन्छ’, उनी भन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?