+

‘प्रदूषणले नेपालजस्ता देशका बच्चा दुई वर्ष कम आयु लिएर जन्मिन्छन्’

२०८१ मंसिर  ५ गते १२:१८ २०८१ मंसिर ५ गते १२:१८
‘प्रदूषणले नेपालजस्ता देशका बच्चा दुई वर्ष कम आयु लिएर जन्मिन्छन्’

काठमाडौं । वायु प्रदूषणले मानव शरीरमा कति असर गर्छ भन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गेटमा राखिएको फोक्सोको तस्वीरले प्रष्ट पार्छ । गत वर्ष चैतमा मन्त्रालयमा राखिएको कृत्रिम फोक्सोको रंग १५ दिनमा सेतो रहेको फोक्सो कालो भएपछि निकालिएको थियो ।

काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेसँगै एकै समयमा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई घरबाट बाहिर ननिस्कन विज्ञहरू आग्रह गर्छन् ।

वायु प्रदूषण स्वास्थ्यका दृष्टिले खतरनाक अवस्था हो । अर्थात्, वायु प्रदूषणले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ । यसले मानव शरीरमा असर नपुर्‍याउने कुनै त्यस्तो अंग छैन । ‘वायु प्रदूषण साइलेन्ट किलर हो । यो देखिंदैन । तर यसले पार्ने असर अत्यन्तै उच्च हुन्छ । यसले हाम्रो शरीरका प्रत्येक अंगलाई असर गर्न गर्छ’, छातीरोग विशेषज्ञ डा. राजु पंगेनी भन्छन् ।

प्रदूषणले स्वास्थ्यमा पार्ने असर र रोकथामका उपायबारे छातीरोग र सघन उपचार विशेषज्ञ डा. पंगेनीसँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्ला केही दिनदेखि उपत्यकामा प्रदषण तह एकदमै बढ्यो, यस्तो के कारणले हुन्छ ?

वायु प्रदूषण दुई प्रकारको हुन्छ- बाह्य र आन्तरिक । बाह्य प्रदूषण विशेष गरेर गाडीबाट निस्कने धुवाँ, विभिन्न फोहोर बाल्दा हुने प्रदूषण, घर, इँटा-भट्टा तथा विभिन्न कारखाना, उद्योगबाट निस्किने ग्यास, रसायन, धुलोका कणका कारणले हुनसक्छ । कहिलेकाहीं जंगलमा आगलागी, प्राकृतिक प्रकोपका कारणले वायु प्रदूषण हुनसक्छ ।

नेपालमा विशेषगरी सहरबजारमा वायु प्रदूषण बाह्य कारणले हुने गर्छ । आन्तरिक प्रदूषण घरभित्र हुने क्रियाकलापले हुन्छ । खाना पकाउन दाउरा प्रयोग हुने गुइँठा, कोइला, ग्यास चुलो, हिटरबाट आउने रसायन, चुरोट पिउँदा हुने धुवाँ आन्तरिक वायु प्रदूषणका स्रोत हुन् ।

प्रदषणको बढी असर त सहरी क्षेत्रमा नै देखियो नि ?

सहरमा बाह्य प्रदूषण बढी छ भने गाउँघरमा आन्तरिक प्रदूषण बढी छ । जति पनि स्वास्थ्य संस्थामा दमका बिरामी छन् उनीहरू अधिकांश ग्रामीण क्षेत्रका हुनुहुन्छ । चुरोट पिउने तथा दाउरा, गुइँठाबाट हुने धुवाँका कारणले हुने समस्या लिएर आइराख्नुभएको छ ।

नेपालको सन्दर्भमा काठमाडौं उपत्यकामा वायु प्रदूषणको प्रभाव बढी छ ।  त्यसैगरी भैरहवा, पोखरा, चितवन लगायतका सहरमा बढी प्रदूषण छ ।

वायु प्रदषणबाट स्वास्थ्यमा हुने प्रत्यक्ष असर के–के हुन् ?

वायु प्रदूषणमा धेरै खालका रसायन हुन्छन् । हाम्रो नाङ्गो आँखाले देख्ने धुलोका कणहरू ठूला साइजका हुन्छन् ।

रौंको रेसा ५० माइक्रोनभन्दा ठूलो साइजको हुन्छ । तर हामीले कुरा गरिरहेको वायु प्रदुषण १० माइक्रोग्राम भन्दा पनि सानो हुन्छ, जुन फोक्सोको भित्री तहसम्म पुग्छन् । ठूला साइजका धुलाका कण बाहिर बस्छन् । जसकारण हाम्रो शरीरको नाकबाट पानी बग्ने, घाँटी खसखस हुने, खोक्दा कालो खकार आउने गर्छ ।

अत्यन्तै साना कण फोक्सोको भित्री तहसम्म पुग्छन् । जसले दम, श्वासप्रश्वासमा समस्या, छातीमा संक्रमण हुन्छन् । साथै केहीमा पुरानो दमसँग सम्बन्धित समस्या छ भने अचानक दम हुने, श्वासप्रश्वासमा समस्या, अक्सिजनको मात्रा कम हुने र बेहोस नै हुने अवस्था आउँछ ।

प्रत्यक्षरूपमा खोकी लाग्ने, श्वासप्रश्वास समस्याजस्ता समस्या देखिन्छ भने कसैमा पुरानो रोगसमेत बल्झिन्छ । रोगसँग लड्ने क्षमता समेत घटाउँछ । साना बालबालिका, वृद्ध उमेरका मानिसमा निमोनिया हुने, छातीमा संक्रमण हुन्छ । जसको उपचारका लागि अस्पतालमा आउनुपर्ने हुनसक्छ ।

२.५ माइक्रोगामभन्दा साना कण फोक्सोबाट रक्तसञ्चार प्रणालीमा पनि छिर्न सक्छ । रक्तसञ्चार प्रणालीमा गएको खण्डमा शरीरका सम्पूर्ण अङ्गलाई असर गर्ने सम्भावना बलियो हुन्छ । जसले गर्दा मुटु, मिर्गौला, टाउकोसम्मै पुगेर पक्षघात, क्यान्सरसमेत हुने समस्या उत्पन्न हुन्छ ।

त्यसैगरी वायु प्रदूषणले गर्भवतीको पेटमा भएको बच्चालाई समेत असर गर्छ । त्यसकारण वायु प्रदूषणको असर श्वासप्रश्वास प्रणाली मात्रै नभएर अन्य अङ्गमा समेत हुन जान्छ ।

चिसो मौसममा वायु प्रदषण बढी हुनुका कारण के हुन् ?

चिसो मौसममा वायु प्रदूषण बढ्नुमा मुख्यतया दुई–तीन कारण छन् । तापक्रम बढाउन प्रयोग हुने हिटर, दाउरा बाल्छौं, त्यसबाट निस्कने धुलोका कणले प्रदूषण हुन्छ ।

विशेषगरी उपत्यकामा जाडो मौसममा बादल लाग्यो भने ‘कम्बल’को काम गर्छ । भित्रपट्टि प्रदूषणको चिसो हावा हुन्छ । त्यो हावा राम्रोसँग ओहोरदोहोर गर्न पाएन भने एकै ठाउँमा थिग्रेर बस्छ ।

बिहान तथा साँझको समयमा प्रदूषणको मात्रा अत्यधिक बढी हुन्छ । यसबाहेक सुक्खा मौसममा आगलागी भएमा एक जिल्लाबाट अर्को र एक देशबाट अर्को देशमा पनि जान्छ ।

हाम्रो सीमावर्ती क्षेत्र (भारत)मा पनि वायु प्रदूषणको गति एकदमै धेरै छ । त्यसकारण यो वायु ट्रान्सफर हुँदा सहरी क्षेत्रबाट अर्को ठाउँमा प्रदूषण जानसक्ने सम्भावना हुन्छ । त्यसबाहेक, अन्य मानवीय व्यवहारका कारणले पनि हुन्छ । वायु प्रदूषणको स्रोत हाम्रो घरदेखि नै सुरु हुन्छ ।

कस्ता–कस्ता रोग भएका मानिसलाई प्रदषणले गम्भीर अवस्थामा पुर्‍याउन सक्छ ?

वायु प्रदूषणको मात्रा ३०० माइक्रोग्राम भयो भने स्वस्थ मानिसलाई पनि असर गर्छ । तर वायु प्रदूषणको मात्रा थोरै मात्राभन्दा पनि बढी भएमा त्यसले विशेषगरी रोगसँग लड्ने क्षमता कम भएको मानिसलाई बढी असर गर्छ ।

जस्तै, पाँच वर्षभन्दा मुनिका बालबालिका, ६५ वर्ष नाघेका वृद्धवृद्धा, दम, एलर्जी, दीर्घरोगी जोकोहीलाई पनि प्रदूषणले असर गर्नसक्छ । साथै प्रदूषणका कारण खोक्न सक्ने क्षमता कम हुन्छ । जस्तै, वृद्धवृद्धालाई खोकेर खकार निकाल्न नसक्ने अवस्थामा समेत पुर्‍याउँछ ।

जुनसुकै अस्पतालमा पनि कुनै पनि मौसममा एक तिहाई बिरामी नसर्ने खालको दीर्घरोगका कारण आउने गरेका छन् । त्यसमध्ये आधाआधी श्वासप्रवाससम्बन्धी रोगका कारणले आउने गर्छन् । श्वासप्रश्वाससम्बन्धी समस्या धेरैजसो दम रोगी हुन्छन् । एलर्जीका कारण धुवाँधुलो र चुरोट सेवनका कारणले गर्दा दम भएर आउने बिरामी बढी छन् । श्वासप्रश्वाससँग सम्बन्धित समस्या र वायु प्रदूषण प्रत्यक्ष जोडिएको हुनाले छातीरोगको संक्रमण भएका बिरामी धेरै छन् ।

काठमाडौं विश्वकै प्रदषित सहरमध्ये पर्छ, प्रदषण बढ्दै जानुका कारण के हो ?

वायु प्रदूषण पहिलादेखि नै थियो । यसलाई हामीले इग्नोर गरेका हौं । अहिले ठूलाठूला धुलोका कण वायुमण्डलमा देख्यौं, गाडी चलाउँदा, यताउता हेर्दा देख्न छोड्यौं । यी सबै देख्यौं र पो बढेको चाल पायौं । वायु प्रदूषण गाडीबाट निस्कने सूक्ष्म धुलोका कण जुन हाम्रो आँखाले देख्दैन ।

नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड, नाइट्रेड सल्फेट, एमोनिया, धातुका टुक्रा, कार्बन तथा धातुहरूका रसायन वायु प्रदूषणमा मिसिएको हुन्छ । जुन धेरैजसो यस्ता कणलाई हाम्रो आँखाले देख्न सक्दैन । नदेखिने भएपछि यसको समस्या यसको सिभिरेटीको अन्दाज हुँदैन ।

यस बेलामा मौसमको कारणले ह्वात्तै बढ्न सक्छ । तर वायु प्रदूषणको मात्रामा विभिन्न अनुसन्धानमा नेपाल विश्वको खराब वायु प्रदूषण हुने देशमा उच्च स्थानमा पर्ने प्रतिवेदन आएका थिए । यस वर्ष अत्यन्तै बढेको हो । तर वायु प्रदूषणको समस्या केही वर्षदेखि नै सहरी क्षेत्रमा टड्कारो रूपमा देखिएको छ ।

प्रदषणले तत्काल देखिने स्वास्थ्य समस्यासँगै समग्र जीवनमा प्रभाव पार्छ हैन र ?

दैनिक कामकाजदेखि जीवनशैलीमा प्रभाव पारेको छ । समग्रमा ‘क्वालिटी अफ लाइफ’ कस्तो छ भन्ने हुन्छ । एक हिसाबले प्रदूषणले दीर्घ श्वासप्रश्वासको समस्या ल्याउँछ । मुटु, मिर्गौला तथा दीर्घरोगको समस्या ल्याउने हुन्छ ।

कोही बाँच्दा पनि ‘बेटर लाइफ’ हुन सक्दैन । जहिले पनि खोकी राख्नुपर्ने, छिट्टो हिंड्न नसक्ने, बस्दा पनि शारीरिकदेखि मानसिक समस्या आउने गर्छ । त्यसबाहेक, बाँच्ने आयुमा समेत प्रभाव पार्छ । पश्चिमा मुलुकमा जन्मिने बच्चामा ‘सर्भाइभर रेट’ को तुलनामा नेपालजस्ता कम विकसित मुलुकमा जन्मिने बच्चाको दुई वर्षले कमी हुन्छ । त्यसको प्रमुख कारण वायु प्रदुषण हो ।

वायुप्रदुषणका कारण विश्वमा वार्षिक ३० लाखभन्दा बढीको मृत्यु हुने तथ्याङ्क छ । त्यसैगरी नेपालमा १० हजारभन्दा बढीको मृत्यु हुन्छ । यसको मापन गर्ने प्रक्रिया अलि गाह्रो भएका कारण यसको यकिन तथ्याङ्क आउन सकेको छैन ।

यस्तो मौसममा बिहानबेलुका हिड्न उपयुक्त हुन्छ कि हुँदैन ?

यो ठाउँ र अवस्था अनुसार हुन्छ । यो मौसममा वायु प्रदूषण उच्च भएका बेला उपत्यकामा बिहान–बेलुका प्रदूषणका रसायन तल्लो लेभलमा बस्छन् । उपत्यकाभित्र बसोबास गर्ने मानिसले सकभर बिहान–बेलुका सकभर ननिस्कन राम्रो हुन्छ ।

तर यही कुरा उपत्यका बाहिर खुला ठाउँमा बस्ने मानिसका लागि लागू हुँदैन । विभिन्न ठाउँमा वायु प्रदूषणको यन्त्र पनि राखिएको छ । अहिले फोनमा पनि हेर्न सकिन्छ । त्यसकारण वायु प्रदूषणको मात्रा हेरेर मात्र बाहिर निस्कनु राम्रो हुन्छ ।

यसले दीर्घकालीन रूपमा कस्तो असर गर्छ ?

यो ठाउँ अनुसार फरक हुन्छ । नेपालका सबै ठाउँमा सहरी क्षेत्रमा वायु प्रदूषणको मात्रा बढी छ । यो प्रदूषण हरेक वर्ष बढ्दै गएको छ । यसलाई तत्कालै समाधानको उपाय खोजेनौं भने भोलिका दिनमा दीर्घरूपमा असर पार्ने पक्कापक्की नै छ ।

यसले अहिले तुरुन्तै देखिने खालको हुँदैन । यसले गर्भमा रहने बच्चालाई समेत असर गरेको हुन्छ । जन्मजात श्वासप्रश्वासका समस्या जन्मिंदा नै कम तौल, पछि क्यान्सर, मुटु र दीर्घरोग हुने सम्भावना बढी हुन्छ । गर्भमा हुँदादेखि जोखिम सुरू हुन्छ । यो ठूलो समस्या हो ।

यसको समाधानको उपाय खोजेनौं भने भविष्यमा ठूलो समस्या पार्ने निश्चित छ ।

प्रदषणलाई कम गर्न सरकारी तवरबाट कस्तो काम गर्नुपर्छ ?

नीतिगत रूपमा पहिलो कुरा के कारणले बढेको हो, त्यसका स्रोतहरू के—के हुन् पत्ता लगाउनुपर्छ । जुन हरेक क्षेत्रको एउटै नहुन सक्छ । मुख्य कुरा अनुसन्धान आवश्यक छ ।

कुनै ठाउँमा यातायातबाट हुने प्रदूषण कसरी कम गर्न सकिन्छ । त्यसलाई नीतिगत रूपमा पुराना गाडीलाई नचलाउने, विद्युतीय सवारीसाधन प्रयोग गर्ने गर्नुपर्छ ।

अत्यधिक लेभल पुगेको बेला सर्वसाधारणलाई जनचेतना जगाउनुपर्छ । सकेसम्म यस्तो बेलामा अनावश्यक साधन नचलाउन आग्रह गर्नुपर्छ । कुनै ठाउँमा औद्योगिक कारणले प्रदूषण बढेको रहेछ भने केही दिन बन्द गर्नुपर्छ ।

त्यसैगरी कुनै ठाउँमा दाउरा प्रयोगले प्रदूषण बढेको रहेछ भन्ने त्यसको विकल्पका रूपमा सुधारिएको चुलो प्रयोग गर्ने गर्नुपर्छ । त्यसकारण नीतिगत रूपमा कडाखालको नियम बनाउनुपर्छ र त्यसको अनुगमन पनि गर्नुपर्छ ।

नीतिगत रूपमा स्रोत पहिचान गरी त्यो स्रोतलाई कम गर्न विभिन्न तरिका अवलम्बन गर्नुपर्छ । सँगै जनचेतनाको काम पनि गर्नुपर्छ । वायु प्रदूषण उच्च भएका बेला व्यक्तिगत हिसाबमा पनि जथाभावी फोहोर नगर्ने, सकेसम्म बाहिर ननिस्कने, निस्कनै परेको खण्डमा मास्क प्रयोग गर्नुपर्छ । तर यसको दीर्घकालीन समाधान नीतिगत रूपबाट आउनुपर्छ ।

के अब यो समस्याबाट छुटकारा पाउनै सकिन्न त ?

वायु प्रदूषण साइलेन्ट किलर हो । यो देखिंदैन । तर यसले पार्ने असर अत्यन्तै उच्च हुन्छ । यसले हाम्रो शरीरका प्रत्येक अंगलाई असर गर्छ । यसले समाजलाई असर गर्छ । देशको छविमा समेत असर पार्छ । त्यसकारण वायु प्रदूषणलाई कम गर्न सरकारी तथा सामाजिक र व्यक्तिगत तहबाट एकजुट भएर लाग्नुपर्छ ।

यो आजको मात्र होइन, अहिले अत्यधिक बढेर मात्र चाल पायौं । यो साइलेन्ट किलरका रूपमा वर्षौंदेखि कायम छ । यसलाई दीर्घकालीन समाधान नखोजेसम्म चार–पाँच दिन कम गर्ने उपायले मात्र यसबाट लामो समयसम्म छुट्कारा पाउन सकिंदैन ।

डा. राजु पंगेनी प्रदूषण बालबालिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय