
१० मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा रहेको नगद उपलब्धताको अवस्थालाई तरलता भनिन्छ । कुनै पनि सम्पत्तिको तुरुन्त खर्च वा भुक्तानीयोग्य रकममा परिणत हुन सक्ने गुण वा क्षमतालाई तरलता भनिन्छ । बैंकिङ तथा वित्तीय क्षेत्रमा तरलतालाई तुरुन्त लगानीयोग्य पूँजीका रूपमा पनि बुझ्ने गरिन्छ ।
सर्वसाधारणले बैंकमा राखेको निक्षेप, बैंकहरूले केन्द्रीय बैंकमा राखेको रकम, बजारमा खरिद–बिक्री भइरहने वित्तीय उपकरण र सुनचाँदी जस्ता बहुमूल्य धातुमा अत्यधिक तरलता गुण हुन्छ ।
पछिल्लो समयम बैंकिङ तरलता अधिक भए पनि त्यसलाई व्यवस्थापन गर्नु चुनौतीपूर्ण बन्दै गएको छ । बैंकिङ प्रणालीमा बढी भएको तरलता केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरण मार्फत प्रशोचन गर्दै आएको छ ।
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा चाहिने तरलता पठाउने, अधिक भएको समयमा प्रशोचन गर्ने कार्य खुला बजार कारोबार हो ।
राष्ट्र बैंकले खुला बजार कारोबार मार्फत तरलता प्रवाह गर्ने रिपो र सोझै खरिद उपकरण प्रयोग गर्छ । तरलता प्रशोचनका लागि रिभर्स रिपो, सोझै बिक्री, निक्षेप संकलन उपकरण र नेपाल राष्ट्र बैंक ऋणपत्रको प्रयोग गर्ने गर्छ ।
हाल बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि राष्ट्र बैंकले निरन्तर तरलता प्रशोचन गर्दै आएको छ । तरलता प्रशोचन गर्ने चार औजारमध्ये राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरिरहेको छ । बोलकबोल माध्यम र निक्षेप संकलन दरमा पनि राष्ट्र बैंकले तरलता प्रशोचन गर्छ ।
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये एक निक्षेप संकलन बोलकबोल उपकरण हो ।
यसअन्तर्गत बोलकबोल आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ, जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप संकलन दरमा निक्षेप संलन गर्न सकिने व्यवस्था पनि छ । जसलाई स्थायी निक्षेप सुविधा भनिन्छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अपेक्षा गरेको अन्तरबैंक कारोबारमा प्रयोग हुने ब्याजदरको तल्लो सीमा र माथिल्लो सीमालाई ब्याजदर करिडोर भनिन्छ । ब्याजदर करिडोरको तल्लो सीमालाई नै निक्षेप संकलन दर भनिन्छ ।
मौद्रिक नीति सञ्चालन लक्ष्य प्रभावकारी कार्यान्वयन गर्न खुला बजार कारोबार प्रणाली सञ्चालन हुन्छ । राष्ट्र बैंकले मौद्रिक नीति सञ्चालन र तरलता प्रभावकारी कार्यान्वय गर्न ब्याजदर करिडोर सञ्चालनमा ल्याएको छ ।
केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भारित औसत अन्तरबैंक दरलाई मौद्रिक नीति सञ्चालन लक्ष्यका रूपमा राखेको छ । स्वचालित र नियममा आधारित खुला बजार कारोबार सञ्चालन मार्फत यसलाई नीतिगत दरकै हाराहारी कायम गर्ने लक्ष्य राखेको थियो ।
राष्ट्र बैंकले मौद्रिक नीतिको घोषणा अनुसार नीतिगत दर हाराहारीमा भारित औसत अन्तरबैंक दर राख्न सफल नभएपछि निक्षेप संकलन दर हाराहारी राखेको छ । त्यसका लागि राष्ट्र बैंकले निरन्तर तरलता खिचिरहेको छ ।
चालु आव मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंक दर ६.५ प्रतिशत र नीतिगत दर ५ प्रतिशत तथा ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दर ३ प्रतिशत तोकेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले एकापसमा सापटी आदान–प्रदान गर्दा प्रयोग हुने ब्याजदरलाई अन्तरबैंक ब्याजदर बुझिन्छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि तरलता प्रशोचन गर्न प्रयोग गर्ने औजार स्थायी निक्षेप सुविधा वा निक्षेप बोलकबोल उपकरण हुन् ।
अल्पकालीन तरलता व्यवस्थापनका लागि ग्राह्य सुरक्षणपत्रको धितोमा केन्द्रीय बैंकले प्रदान गर्ने ऋण सुविधालाई स्थायी तरलता सुविधा भनिन्छ । स्थायी तरलता सुविधा ब्याजदर करिडोर माथिल्लो सीमा र स्थायी निक्षेप सुविधा तल्लो सीमामा सञ्चालन हुन्छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई स्वीकारयोग्य धितोमा ऋण प्रदान गर्दा लिने ब्याजदर बैंक दर हो ।
गत आवबाट नै निरन्तर अधिक तरलता भएपछि ब्याजदर करिडोरको तल्लो सीमा निक्षेप संकलन दरमा केन्द्रीय बैंकले तरलता खिचेको हो । निरन्तर अधिक तरलता भएपछि राष्ट्र बैंकले निरन्तर खिचे पनि मौद्रिक नीति सञ्चालन लक्ष्यका रूपमा रहेको अन्तरबैंक ब्याजदर लक्षित सीमामा राख्न सकेको छैन ।
नीतिगत दर ५ प्रतिशत भए पनि अन्तरबैंक ब्याजदर भने चालु आव सुरुवातबाट नै करिब ३ प्रतिशत छ । ब्याजदर करिडोर कार्यान्वयन गर्न ल्याएको स्थायी निक्षेप सुविधाको व्यवस्थाकै कारण बचतको ब्याजदर ३ प्रतिशतभन्दा तल झर्न सकेको छैन ।
राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्ट तरलता व्यवस्थापन राष्ट्र बैंकको नियमित कार्य भएको र तरलता व्यवस्थापनका माध्यमबाट आर्थिक स्थायित्व, आर्थिक विकासलाई सहयोग पुगोस भन्ने राष्ट्र बैंक (मौद्रिक नीति) को उद्देश्य हुने बताउँछन् ।
‘तरलता अभाव हुँदा राष्ट्र बैंकले विभिन्न औजार मार्फत बजारमा पठाउने र तरलता धेरै हुँदा स्थायित्वमा असर गर्ने तथा अर्थतन्त्रमा अन्य गलत अभ्यास हुन सक्ने भएकाले प्रशोचन गर्ने गर्छ,’ उनले भने, ‘धेरै तरलता बजारमा हुँदा मुद्रास्फीति, भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) मा दबाब पर्न सक्छ । अधिक तरलता हुँदा वित्तीय स्रोत दुरुपयोग हुने जोखिम हुन्छ । जसले गर्दा बजारमा धेरै समय अधिक तरलता राख्नु हुँदैन भनेर राष्ट्र बैंकले त्यसलाई प्रशोचन गर्छ ।’
न्युन तरलता हुँदा आर्थिक वृद्धिमा असर गर्ने भएकाले त्यस्तो अवस्थामा केन्द्रीय बैंकले तरलता प्रवाह गर्ने गरेको उनले बताए ।
मौद्रिक नीतिको सञ्चालन लक्ष्यका रूपमा रहेको अन्तरबैंक ब्याजदरलाई नीतिगत दरको नजिक राख्ने मौद्रिक नीति सञ्चालन लक्ष्य भए पनि अहिले सुरुवाती चरणमात्र भएकाले त्यसको प्रभावकारी कार्यन्वयन हुन नसकेको उनले बताए ।
ब्याजदर करिडोर सीमालाई भोलिका दिनमा साँघुरो बनाउँदै लैजाँदा अन्तरबैक दर नीतिगत दरको नजिक राख्ने सकिने उनले बताए ।
विशेष गरेर मुद्रा बजार प्रभावकारी सञ्चालनमा नआउँदा बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन र ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
एक वर्षभित्र परिपक्व हुने उपकरण खरिद–बिक्री हुने बजारलाई मुद्रा बजार भनिन्छ । मुद्रा बजारले छोटो अवधिको लगानी गर्ने र सापटी लिने अवसर प्रदान गर्दछ ।
चालु आव लागेपछि राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न बजारमा तरलता पठाउनुपरेको छैन । निरन्तर तरलता प्रशोचन गर्दै आएको छ । ९ मंसिर आइतबारको तथ्यांक अनुसार बैंकिङ प्रणालीबाट प्रशोचन गरेको तरलता मौज्दात ३ खर्ब ९ अर्ब रहेको छ ।
राष्ट्र बैंकले चालु आव मौद्रिक औजार मार्फत १ सय १३ खर्ब ३ अर्ब तरलता प्रशोचन गरेको छ । छोटो अवधिका लागि राष्ट्र बैंकमा तरलता राख्ने र त्यो परिपक्व भए पनि पुनः राख्ने भएकाले प्रशोचन भएको रकम धेरै देखिने गर्छ ।
प्रतिक्रिया 4