+
+

अब पोखरेलीले पाउनेछन् मर्दी खोलाबाट सिधै प्रशोधित खानेपानी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १४ गते १७:४०

१४ मंसिर, काठमाडौं । पोखरा महानगरबासीलाई शुद्ध खानेपानी पुर्‍याउने लक्ष्यका साथ जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा बनिरहेको पोखरा खानेपानी सुधार आयोजनाका संरचना उद्घाटन भएको छ ।

खानेपानी मन्त्री प्रदीप यादवले शुक्रबार उक्त आयोजनाको अन्तर्गत बनिसकेका संरचनाको उद्घाटन गरेका हुन् । आयोजना उद्घाटन भएसँगै अब दैनिक ४ करोड लिटर शुद्ध र सुरक्षित खानेपानी ट्रिटमेन्ट प्लान्टले प्रशोधन गरी पोखरा पठाउने आयोजनाले जनाएको छ ।

आयोजनाको संरचना उद्घाटन गर्दै मन्त्री यादवले पर्यटन राजधानी पोखराका बासिन्दाले शुक्रबारदेखि नै धाराबाट शुद्ध खानेपानी पाउने दाबी गरे । ‘आजदेखि शुद्ध र सुरक्षित खानेपानी वितरण सुरु भएको छ, जुन शुद्ध अनि सफा छ, सिधै धाराबाट पानी पिउन सकिन्छ,’ मन्त्री यादवले भने, ‘सरकार पोखरावासीलाई शुद्ध खानेपानी खुवाउन तयार छ, हामीले मेलम्चीपछिको ठूलो आयोजना सम्पन्न गरी पोखरावासीलाई शुद्ध पानी खुवाउन सफल भएका छौं । अब पोखरावासीले हिलो मिसिएको पानी पिउनुपर्ने अवस्था आउने छैन् ।’

उक्त संरचना उद्घाटन भएसँगै पहिलो चरणमा पोखरा महानगरपालिका–१९ वडामा रहेका करिब ४ लाख नागरिकलाई शुद्ध खानेपानीको सुविधा पाउने आयोजनाले जनाएको छ । यो आयोजनासँगै अब पोखराबासीले माछापुच्छ्रे गाउँपालिमा पर्ने मर्दी खोलाको प्रशोधित पानी पाउने भएका छन् ।

पोखराबासीलाई शुद्ध खानेपानीको सुविधा उपलब्ध गराउने उद्देश्यले ०७६ देखि जाइकाको अनुदान सहयोगमा यो आयोजना सुरु भएको थियो । आयोजनाका लागि जाइकाले ४ अर्ब ८१ करोड रुपैयाँको अनुदान उपलब्ध गराएको थियो ।

यो आयोजनाका लागि २०७३ फागुन ४ मा जाइका र नेपाल सरकारबीच आयोजनाका लागि अनुदान सम्झौता भएको थियो । उक्त आयोजना पूरा गर्न हाजमा इन्डो कर्पोरेसनसँग संस्थानले २०७५ फागुनमा ठेक्का सम्झौता गरेर ०७६ देखि काम सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?